२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

बीपीको समाजवादबाट टाढिएको कांग्रेस

डीला संग्रौला

नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको नेपाली राजनीतिमा विशिष्ट स्थान छ । बीपीले उग्र दक्षिणपन्थी र उग्र वामपन्थीको भड्काउबाट देशलाई बचाएर प्रजातान्त्रिक बाटो हिँडाउन राष्ट्रियता र प्रजातान्त्रिक समाजवादको मार्ग अवलम्बन गर्नुभएको थियो ।

बीपीको समाजवादबाट टाढिएको कांग्रेस

तत्कालीन विश्व परिवेश र अन्तर्राष्ट्रिय राजनीतिको परिदृश्यलाई हेरेर उहाँले नेपाली कांग्रेसलाई मध्यमार्गी र समन्वयवादी विचारधाराको पार्टीका रूपमा अघि बढाउनुभएको थियो । तर, नेपाली कांग्रेसको आजको सैद्धान्तिक भावभूमि नियाल्दा बीपीको विचारबाट निकै टाढा पुगेको प्रतीत हुन्छ ।

बीपीको राजनीतिक, सामाजिक, आर्थिक र विदेश नीतिलाई आजको नेपाली कांग्रेसले कसरी राजनीतिक जीवनमा अभ्यास गरिरहेको छ, बुझ्न सकिएको छैन । उदार मध्य–वामपन्थ नै बीपीले प्रतिपादन गर्नुभएको राजनीतिक विचारधारा हो । यो नीतिले राष्ट्रियताको जगेर्ना गर्दै देश र समाजलाई लोकतान्त्रिक प्रक्रियाबाट अगाडि लैजान मद्दत पक्कै पुगेको थियो । तर आज नेपाली कांग्रेसले बीपीको अवधारणाबाट अलग भई गठबन्धन संस्कृतिलाई अँगालेको छ । बीपीले राजनीतिक जीवनको पूर्वार्द्धमा आफ्नो संघर्षलाई एकाइसौं शताब्दीको नागरिकको प्रजातान्त्रिक अधिकारसँग जोड्नुभएको देखिन्छ भने उत्तरार्द्धमा प्रजातन्त्र र राष्ट्रियतालाई सँगसँगै लिएर जानुपर्नेमा दृढता लिनुभएको पाइन्छ । उहाँका निम्ति राष्ट्रियता देशको अस्तित्व र जनताको प्रजातान्त्रिक अधिकारसँगै गाँसिएको थियो ।

नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादको बाटोमा हिँडेको छ कि पुँजीवादतर्फ बढी उन्मुख भएको भन्नेमा स्पष्ट हुनु जरुरी छ । शिक्षा र स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई समेत निजीकरणका नाममा व्यापारीलाई सुम्पने नीति लिनु आफैंमा विडम्बना हो । यसले समाजवादलाई छायामा पारेको छ । नागरिकले शिक्षा किन्न नसक्दा समाजमा दुई खाले वर्ग निर्माण गर्न मद्दत पुगिरहेको छ ।

२०४८ सालको एकल सरकार बनाएपछि नेपाली कांग्रेसले आर्थिक उदारीकरणको नीतिलाई कार्यान्वयन गर्ने क्रममा निजीकरणलाई प्रमुख अस्त्रका रूपमा लियो तर जुन उद्देश्य प्राप्तिका लागि यसो गरिएको थियो सो अनुसार परिणाम सकारात्मक आएन । निजीकरणको लाभ राजनीतिकर्मी र सबै खाले प्राधिकार वर्गले मात्र पाए । जनतालाई निजीकरणले सकारात्मक प्रभाव पारेन । धनी र गरिबको खाडललाई पुर्दै उत्पादनमा वृद्धि गरी नेपालीको सर्वमुखी विकासको कल्पना बीपीले गर्नुभएको थियो, जुन अधुरै छ ।

नेपालमा सीमित सम्पन्न परिवारले राज्यको अधिकांश धन सम्पत्ति ओगटेका छन् । देशको सम्पूर्ण आर्थिक कारोबार उनीहरूकै हातमा हुने गर्छ । यस्ता वर्गमा हिजोका सामन्त/पुँजीपति, आजका केही राजनीतिकर्मी, वैध–अवैध आर्थिक कारोबारी, सेयर बजार तथा घरजग्गा कारोबारी, कर्मचारी, बुद्धिजीवी, गैससकर्मी, केही सञ्चारकर्मी, सहकारीकर्मी, यातायात व्यवसायी, शैक्षिक एवं स्वास्थ्य/चिकित्सा शिक्षा व्यवसायी, बिचौलिया आदि पर्छन् । यिनले नै राजनीति (तिनै तहको सरकार), अर्थतन्त्र, शिक्षा, व्यापार, भूमिको कारोबार तथा सञ्चारमाध्यममा पहुँच बढाएका छन् । यो बहुआयामिक सम्भ्रान्त समूहले नै मूलतः देशको मूल नीति राजनीतिमा प्रत्यक्ष–परोक्ष नियन्त्रण कायम गरी आ–आफ्नो स्वार्थ सिद्ध गरिरहेको छ । राज्यको समावेशीकरण नीतिअनुरूप महिला, दलित, आदिवासी, जनजाति, मधेशी वा पिछडिएको क्षेत्र वर्गको पनि शासनमा पहुँच बढाउन त खोजिएको छ, तर त्यहाँ पनि सम्पन्न परिवार, तिनका नातागोताकै प्रतिनिधित्व भएको पाइन्छ । यस्तो समाजको कल्पना बीपीले गर्नुभएको थिएन, उहाँको विचारसँग यस्तो परिस्थति मेल खाँदैन ।

पहिले नेपालको आन्तरिक राजनीतिक मामलामा आर्थिक प्राधिकार समूह (जमिनदार, पुँजीपति, व्यापारी र सहरिया सम्भ्रान्त वर्ग) को परोक्ष भूमिका हुन्थ्यो भने अहिले विदेशी स्वार्थ समूहको भूमिका पनि महत्त्वपूर्ण हुन थालेको छ, जसका कारण नेपालको कानुनी शासन, लोकतान्त्रिक अभ्यास, शासकीय स्वरूप, आर्थिक विकास, सामाजिक–सांस्कृतिक सह–सम्बन्ध, जातीय एवं धार्मिक सहिष्णुता लगायत सवाल जटिल भइरहेका छन् । नेपालको प्रजातान्त्रिक समाजवादको सफल कार्यान्वयनका निम्ति आर्थिक प्राधिकार र विदेशी स्वार्थी समूहहरू बाधक देखिन थालिएको महसुस भइरहेको छ ।

बीपीले प्रजातान्त्रिक समाजवादको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनको बाधक तत्त्वका रूपमा सक्रिय राजतन्त्र, जमिनदारी प्रथा, व्यापारी, धार्मिक अतिवाद, प्रशासनिक एवं सहरिया सम्भ्रान्त वर्गलाई चित्रित गर्नुभएको थियो । अहिले देशमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता छ, यस्तो प्रतिकूल अवस्थामा समाजवादी नीति र कार्यक्रम लागू गरिनुपर्ने हो तर सकिएको छैन । बीपीले समाजवादको नीति लागू गर्न बाधक तत्त्वका रूपमा चित्रण गर्नुभएको सम्भ्रान्त वर्गको स्वरूपमा परिवर्तन त आएको छ तर राज्य सञ्चालनमा तिनको प्रभाव यथावत् छ । सम्भ्रान्त वर्ग, पुँजीपति तथा व्यापारीको दलको निर्णय प्रक्रिया तथा राज्यको हरेक संयन्त्रमा देखिएको प्रभाव नियाल्दा नेपाली कांग्रेस बीपीको विचारबाट टाढिँदै गएको देखिन्छ ।

नेपालको राष्ट्रिय स्वार्थलाई सर्वोपरी मान्दै बीपीले परराष्ट्रनीतिको दिशा केन्द्रित गर्नुभएको थियो । बीपीलाई सत्ता स्वार्थ, पार्टी स्वार्थभन्दा धेरै माथि उठी नेपाल राष्ट्रको स्वाभिमान र अस्तित्व रक्षा गर्नु थियो । राष्ट्रियताको सवालमा राजासँग असहमत हुनुहुन्थ्यो बीपी । जनताको बृहत्तर हित, राष्ट्रिय धरोहरहरूको सम्मान र राष्ट्रिय शक्तिहरूबीचको एकताले नै देशलाई मजबुत बनाउने र छिमेकी लगायत मित्र राष्ट्रको सम्बन्धलाई सहअस्तित्वका आधारमा स्थापित गर्न सकिन्छ भन्ने उहाँको मान्यता थियो । अहिले बीपीको यो विचारमा नेपाली कांग्रेस हिँडेको छैन ।

बीपी अहिंसावादी नेता हुनुहुन्थ्यो, त्यसैले राजनीतिक परिवर्तनमा हिंसाभन्दा शान्तिपूर्ण जनप्रदर्शन र सहभागितालाई जोड दिनुहुन्थ्यो । नेपालको विविधतालाई मध्यनजर गर्दै धर्म, भाषा, जाति, संस्कृतिजस्ता संवेदनशील विषयलाई राजनीतिक अस्त्रका रूपमा प्रयोग गर्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्थ्यो । विदेशीका प्रभाव र दबाबका कारण राजनीतिक परिवर्तन गर्ने कुरा सधैं घातक हुनेमा विश्वास गर्नुहुन्थ्यो । आजको नेपाली कांग्रेसले आफूलाई बीपी मार्गमा फर्काउन सकेन भने इतिहासमै सीमित हुनुपर्ने अवस्था आउन सक्छ ।

समग्रमा, नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवादउन्मुख नेपाल निर्माणमा बीपीको विचार अझै सान्दर्भिक छन् । यसर्थ उहाँको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा विदेश नीति सम्बन्धी विचारलाई व्यवहारमा लागू गर्नु लोकतान्त्रिक समाजवादउन्मुख नेपालको हितमा हुनेछ ।

संग्रौला (पन्त) प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित : भाद्र २४, २०७९ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?