२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३९

डेटायुगमा शैक्षिक क्रान्तिको अनिवार्यता

भियतनाम र ट्युनिसियामा शैक्षिक लगानी बराबर छ तर नतिजा भने भियतनामको ९४ प्रतिशत हुँदा ट्युनिसियाको जम्मा ६४ प्रतिशत छ । त्यसैले नतिजामुखी बलियो शिक्षा प्रणाली आवश्यक छ ।
द लर्निङ जेनेरेसनसम्बन्धी सन् २०१६ को रिपोर्टअनुसार, प्रविधि विकासका कारण २०३० सम्ममा विश्वका करिब ५० प्रतिशत रोजगारीलाई अटोमेसनले प्रतिस्थापन गर्नेछ, कुनै देशमा त ८० प्रतिशत हाराहारी । 
वाईपी आचार्य

अहिलेको युग ज्ञानपुँजीको हो । जोसँग ज्ञान छ, त्यो धनी छ, शक्तिशाली छ, पहुँचवाला छ । यहाँ मानिसको दिमागमा कैद भएको ज्ञानलाई मात्र नभएर ज्ञानको परिणामस्वरूप भएका अन्वेषणलाई समेत संकेत गरिएको हो । अहिलेको डिजिटल प्रविधि मानव ज्ञानको उपज हो । त्यसैले यो ज्ञानपुँजी हो ।

डेटायुगमा शैक्षिक क्रान्तिको अनिवार्यता

विश्व बैंकको सन् २०२२ को एउटा रिपोर्टअनुसार, विश्वको लगभग ७० प्रतिशत पुँजी मानव ज्ञान वा डिजिटल बौद्धिकता (अटोमेसन, एप्स, डिजिटल प्रणाली, कृत्रिम बौद्धिकता) मा आधारित छ । फेसबुक, गुगल, अमेजन, एप्पल, अलिबाबा जस्ता बिग डेटा सेन्टरहरू र अन्य उद्योग क्षेत्रमा व्यवस्थापकीय र बजारीकरणमा प्रयोग भएको डिजिटल बौद्धिकतालाई हेर्दा पुँजीको ठूलो हिस्सा डिजिटल प्रविधिवरिपरि रहेको देखिन्छ । यो अझै बढ्दै जानेछ । रोजगारीको मूल क्षेत्र पनि यही डिजिटल विश्व हुनेमा दुईमत छैन । इतिहासकार युवल नोवा हरारीका अनुसार, मानव इतिहासमा पहिलो पटक संक्रामक रोगका कारण भन्दा बुढेउलीका कारण मर्नेहरूको संख्या बढी छ । मानव प्रयत्न, प्रविधि र आविष्कारका परिणाम हुन् यी । यहाँ शिक्षाले ठूलो भूमिका खेलेको छ ।

कृषि क्रान्ति, औद्योगिक क्रान्ति जस्तै डिजिटल क्रान्ति पनि एउटा विशाल क्रान्ति हो । हरेक क्रान्तिपछि शिक्षामा समेत आमूल परिवर्तन हुने गर्छ । यस्तै शैक्षिक क्रान्तिको खोजीमा छ नेपाली समाज । डिजिटल क्रान्ति उत्तर–औद्योगिक क्रान्ति पनि हो । अहिले कृत्रिम बौद्धिकता, जेनेटिक इन्जिनियरिङ, अटोमेसन, नानो टेक्नोलोजी, डेटा मालका रूपमा प्रयोग, सर्भाइलेन्स इकोनोमी, डिजिटल करेन्सी, भर्चुअल ठूला डाटा केन्द्रहरू, थ्रीडी प्रिन्टिङ आदिको प्रयोग भइरहेको छ । यो युग मुताबिकको शिक्षा अहिलेको आवश्यकता हो ।

सन् २०१६ मा प्रकाशित द लर्निङ जेनेरेसनसम्बन्धी रिपोर्टअनुसार, प्रविधिको विकासका कारण सन् २०३० सम्ममा विश्वका करिब ५० प्रतिशत रोजगारीलाई अटोमेसनले प्रतिस्थापन गर्नेछ, कुनै देशमा त ८० प्रतिशत हाराहारी । नयाँ रोजगारीहरू पनि सिर्जना हुनेछन् तर निकै कम मात्रामा । नयाँ सिर्जना भएका र परिवर्तन भएका रोजगारीका क्षेत्रहरूमा उच्च दक्षतायुक्त जनशक्ति चाहिनेछ । भएकामा पनि निरन्तर परिवर्तन हुने हुँदा लगातार सीप विकास आवश्यक पर्नेछ । यसो हुँदा धेरैजसो जनशक्तिले रोजगारी नपाउने र रोजगारदाताले दक्ष र सीपयुक्त जनशक्ति नपाउने अवस्था हुन्छ । विश्व बैंकको २०२२ को रिपोर्टअनुसार, हाल रोजगारीको दुनियाँमा माग र आपूर्तिबीच ४० प्रतिशतको खाडल छ । यसबाट बजारले खोजेअनुसारको जनशक्ति शिक्षा प्रणालीले उत्पादन गर्न नसकेको स्पष्ट हुन्छ । त्यस्तै, कुनै सीप सिकेर रोजगारीमा लागेकाहरू त्यो कामको क्षेत्रमा आएको परिवर्तनका कारण अर्को काममा संक्रमण गर्न नसक्ने दर पनि लगभग ५० प्रतिशत आसपास छ । यसले पनि निरन्तर शिक्षाको खाँचोलाई चित्रित गर्छ ।

सेक्टर एनालाइसिस रिपोर्ट–२०२० अनुसार, नेपालजस्ता मुलुकका ६९ प्रतिशत विद्यार्थीले प्राथमिक तहको आधारभूत सीप सिकेका छैनन् । जम्मा ८ प्रतिशत विद्यार्थीले मात्रै माध्यमिक तहको आधारभूत सीप सिकेका छन् । यस विपरीत विकसित देशका ८ प्रतिशत विद्यार्थीले मात्रै प्राथमिक तहको आधारभूत सीप सिकेका छन् भने ७० प्रतिशत विद्यार्थीले माध्यमिक तहको । लर्निङ जेनेरेसन रिपोर्ट–२०१६ अनुसार, प्राथमिक तह पूरा गर्ने सवालमा धनी र गरिबबीच ३० प्रतिशतको खाडल छ । त्यसैगरी राज्यको लगानीमध्येको ४६ प्रतिशत १० प्रतिशत धनीका छोराछोरीमाथि भएको छ । यसरी सार्वजनिक शिक्षाको लगानीले धनीलाई नै पोस्ने गरेको तथ्यले देखाउँछ । प्रविधिको विकासले विकसित र अविकसित देशका एवं धनी र गरिब देशका बालबालिकाको सिकाइमा ठूलो खाडल देखिनेछ जुन अबको दुनियाँको शिक्षा प्रणालीका लागि ठूलो चुनौती हुनेछ । यो विषय नेपालको शिक्षा प्रणालीले गम्भीरतापूर्वक मनन गर्न सकेको छैन ।

खाडी मुलुकमा काम गर्न जाने नेपालीहरूमा १२ कक्षा पूरा गरेकाको संख्या अत्यधिक छ । दक्षिण कोरियामा श्रमिकका रूपमा जानेहरूमा स्नातक र स्नातकोत्तर सकेका धेरै छन् । यी सबै अदक्ष वा अर्धदक्ष कामदारका रूपमा त्यहाँ जान्छन् । उनीहरूका शैक्षिक प्रमाणपत्रले त्यहाँ काम गर्दैनन् । खरिदार र नायब सुब्बामा नाम निकाल्नेहरूमध्ये लगभग ९५ प्रतिशत स्नातक वा सोभन्दा बढी पढेका छन् । २०७६ सालमा प्राथमिक तहका शिक्षकका लागि लिइएको परीक्षामा ८० प्रतिशतभन्दा बढी स्नातक वा सोभन्दा माथि योग्यता भएकाहरूले नाम निकाले । ठूलो संख्याका स्नातकोत्तरहरूले पूर्वबालविकास सिकाइ केन्द्रमा न्यूनतम पारिश्रमिकसम्म नलिई काम गरेका छन् । विद्यावारिधि गरेकाहरू पनि जागिरको खोजीमा दौडिरहेका देखिन्छन् । यो सब ‘प्रमाणपत्र स्फीति’ को नतिजा हो । प्रविधिको विकासले शैक्षिक योग्यताको मूल्यलाई अझै घटाउनेछ । यसलाई नेपालको शिक्षा प्रणालीले कसरी सम्बोधन गर्छ, यो यक्ष प्रश्न हो ।

औद्योगिक युगमा मानिसहरूलाई मेसिन जस्तो बनाउन खोजिन्थ्यो तर अहिले मेसिनलाई मानिस जस्तो बनाइँदै छ । पहिले मेसिनले मानिसको शारीरिक बललाई प्रतिस्थापित गरेकामा अहिले शारीरिक र बौद्धिक दुवै रूपमा मानिसभन्दा मेसिन अब्बल हुने भयो । अझ मानिस व्यक्तिगत हुन्छ । सबैका ब्रेनलाई एकअर्कामा कनेक्ट गर्न सकिँदैन । त्यसैले सञ्चार ढिलो हुन्छ । अपडेट गर्न पनि एक–एक गरी पढाउनुपर्छ । तर, डिजिटल बौद्धिकता एकअर्कामा कनेक्ट गर्न सकिन्छ र एकै क्लिकका आधारमा सबैलाई अपडेट गर्न पनि सकिन्छ । अर्कातिर, बायोनिक प्रविधि (जैविक पक्ष र अजैविक प्रविधिको मिश्रण) का कारण मानिस क्रमशः कृत्रिम बन्दै जानेछ । बायो इन्जिनियरिङ र ब्रेन इन्जिनियरिङका कारण मानिसको स्वाभाविक क्षमतालाई बढाउने काम हुँदै छ । जिनमा इन्टरभेन्सन गरेर आयु लम्ब्याउने, दिमागमा चिप्स राखेर दिमाग बढाउने प्रविधि आइरहेका छन् । हरारीको भाषामा, कसैलाई सुपर ह्युमन बनाइँदै छ भने कोही अवसर नपाएको एक पीडित मानिस हुनेछ । यस्तो अवस्थामा मानिसको ब्रेनलाई ट्रेन गर्ने शिक्षाले मात्रै कसरी अबको दुनियाँको चुनौतीलाई सामना गर्न सक्छ ?

भौतिक पुँजीभन्दा ज्ञानपुँजीको प्रभाव बढ्न थालेसँगै विकसित मानिने देशहरूले अध्ययन–अनुसन्धानमा व्यापक विस्तार गरे । अन्य देशका राम्रा मस्तिष्कहरूलाई छात्रवृत्ति दिएर आफूप्रति आकर्षित गरे । उनीहरूको मस्तिष्कलाई उपयोग गरेर नयाँ ज्ञान र प्रविधि विकास गरे । त्यसलाई बेचेर अचुक पुँजी आर्जन गरे । अझै राम्रा मस्तिष्कलाई त्यहीँ राखेर लामो समय पुँजी निर्माण गर्न स्थायी आवासीय अनुमतिसमेत दिए । जसरी भौतिक पुँजी युद्धबाट हडप्न सकिन्छ, त्यसरी ज्ञानपुँजी हडप्न सकिँदैन । त्यसैले विकसित देशहरूले लोभ देखाएर ज्ञानपुँजी हडप्ने काम गरेका छन् । नेपालमा बौद्धिक पलायनको डरलाग्दो अवस्था देखिनुको कारण यही हो ।

कम्प्युटर र स्मार्ट फोनको प्रयोग बढेसँगै र गुगल, एप्पल जस्ता ठूला डेटा सेन्टरमा व्यापक भर पर्न थालेसँगै आम मानिसले मस्तिष्कको प्रयोग कम गर्न थालेका छन् । यसबाट, संज्ञानवादी मनोवैज्ञानिकहरूले भनेजस्तो, सूचना ग्रहण, कोडिङ, डिकोडिङ हुँदै रचनात्मकता उत्पादन गर्ने मानसिक प्रक्रिया अवरुद्ध हुने सम्भावना छ । सबै जिज्ञासा र प्रश्नको उत्तर गुगलले दिने भयो । शिक्षकले भनेको कुरा सत्य हो कि होइन भनेर विद्यार्थीले गुगललाई सोध्ने भए । सबै सूचना र ज्ञान स्टोर भएर रहने भएपछि ज्ञान निर्माणको प्रक्रियामा मानिसले टाउको दुखाउने भएन । यसो हुँदा जीव वैज्ञानिक लेमार्कले भने जस्तै जुन चीज वा अंग प्रयोग हुँदैन, त्यो कालान्तरमा विलुप्त भएर जान्छ । मानिसको मस्तिष्कको काम एआई र डेटा सेन्टरले गर्ने हो भने कालान्तरमा मानिसको दिमाग पनि कमजोर हुँदै जाने र लोप हुने खतरा नआउला भन्न सकिँदैन । शिक्षामा ग्राम्सीले भने जस्तो सामजिक–सांस्कृतिक आधिपत्य नभएर प्रविधिको आधिपत्य हुने खतरा छ । यसो हुँदा हिजो जसरी ब्रेन ड्रेनको डर थियो, भोलि ब्रेन लस्टको खतरा आउँदै छ ।

जब गरिबी, प्राविधिक उथलपुथल, युवा पलायन र भू–राजनीतिक दुरवस्था कमजोर शिक्षा प्रणालीसँग मिल्छन्, तब अस्थिरता, असमानता, द्वन्द्व र आर्थिक संकट देखिन्छन् नै । शिक्षामा लगानीले मात्रै पनि परिवर्तन नहुने रहेछ भन्ने कुरा ट्युनिसियाको उदाहरणले प्रस्ट पार्छ । भियतनाम र ट्युनिसियामा शैक्षिक लगानी बराबर छ तर नतिजा भने भियतनामको ९४ प्रतिशत हुँदा ट्युनिसियाको जम्मा ६४ प्रतिशत छ । त्यसैले नतिजामुखी बलियो शिक्षा प्रणाली आवश्यक छ । अब नेपालमा विकासका मोडलहरू फेर्नुपर्छ । भौतिक विकास मात्रै विकास होइन । ज्ञानपुँजीको युगमा ज्ञानमै लगानी, ज्ञानकै विकास, ज्ञानकै प्रसार र ज्ञानकै बिक्री गर्ने हो । यो सबै बलियो शिक्षा प्रणालीबाट मात्रै सम्भव हुन्छ । वैज्ञानिक, अनुसन्धाता, टेक्नोक्रेट, इन्जिनियर आदिले डिजिटल क्रान्ति गरे, त्यसको उपयोग राजनीतिले शिक्षामार्फत गर्ने हो । जहाँ राजनीति, शिक्षा र अन्वेषणबीच तालमेल हुँदैन, त्यहाँ दुर्घटना अनिवार्य हुन्छ । त्यसैले डिजिटल क्रान्ति जस्तै शिक्षामा पनि नीतिगत क्रान्ति गरेर अन्वेषण र उपयोगबीच तालमेल मिलाउन जरुरी छ ।

आचार्य त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

प्रकाशित : भाद्र ३, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?