कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

अस्पतालमा एउटा यस्तो प्रदीप

पार्टी राजनीतिमा स्वतन्त्र विचारको खडेरी पर्दै गएका बेला प्रदीप गिरिजस्तो निर्भीक र तर्कशील पात्र पाउन मुस्किल पर्दै गएको छ । नेपाली कांग्रेसमा मात्रै नभएर समकालीन सबै राजनीतिक पार्टीहरूमा यस्तै खडेरी छ ।
दीपकुमार उपाध्याय

प्रदीप गिरि भन्नासाथै सधैं म अपनत्वको सम्बन्ध सम्झिरहेको हुन्छु । मित्रता पनि कुनै स्वार्थको होइन, आत्मिक मित्रता । मेरो जन्म नै २००७ सालको क्रान्तिताका तराई जलेश्वर (महोत्तरी) मा भएको हो; क्रान्तिका कमान्डरचाहिँ रुद्रप्रसाद गिरि हुनुहुन्थ्यो, प्रदीपजीका काका ।

अस्पतालमा एउटा यस्तो प्रदीप

त्यो बेला मेरा बुवा गोपालप्रसाद उपाध्याय भने न्याय सेवामा अमिनीको हाकिम हुनुहुन्थ्यो । क्रान्ति जारी रहेकै अवस्थामा उचित सुरक्षासहित मलाई काठमाडौं ल्याउन प्रबन्ध गरिदिने रुद्रप्रसाद गिरि नै हुनुहुन्थ्यो । जलेश्वरमा जन्मेको ४५ दिनपछि मलाई काठमाडौं ल्याइएको थियो ।

त्यसपछि हाम्रो त्रिपुरेश्वरको घरमा रुद्रप्रसाद गिरिहरू आइरहनुहुन्थ्यो । त्यस्ता भेटघाट र भेलाहरूमा राजनीतिक संवाद, परामर्श पनि चल्ने गरेको मेरो स्मरणमा छ । पछि प्रदीपजीसँग भेट भएपछि मेरो अत्यन्त आत्मिक र राजनीतिक मित्रता कायम भयो । नेपाली कांग्रेसभित्रको राजनीतिमा मूल्यमान्यताले प्रश्रय पाउनुपर्छ भनेर हामी किशुनजी, गणेशमानजीसँग अलिक बढी नजिक भयौं । अझ २०५१ असारमा नेपाल कांग्रेसभित्र अन्तर्घात प्रकरणसँगै विद्रोही छत्तीसे समूह जन्मेपछिको हाम्रो सहकार्य र सम्बन्ध अलग रह्यो ।

जसको भए पनि गलत कुराको विरोध गर्न सक्ने समकालीन नेतामा प्रदीपजीजत्तिको अर्को मान्छे मैले देखेको छैन । बीपीसँग पनि सीधा संवाद गर्न सक्ने वा प्रतिवाद गर्नेमा उहाँ नै हुनुहुन्थ्यो । पछि गिरिजाबाबुले मलाई सम्झेर बोलाइरहनुहुन्थ्यो, पार्टीका वा अन्य काम लगाउनुहुन्थ्यो । यस्ता अह्राएका काममा तालमेल नमिल्दा वा तलमाथि पर्दा गएर गिरिजाबाबुसँग झगडै गर्ने स्वभाव थियो प्रदीपजीको । अहिले पनि नेपाली कांग्रेसको मात्र होइन, अरू सबै पार्टीका नेताहरूसँग आँखामा आँखा जुधाएर संवाद गर्न सक्ने, प्रदीपजीले भनेका कुरालाई ‘अन्डरमाइन’ गर्न सक्ने मैले कोही देखेको छैन । अरू नेता चिढिन्छन् वा रिसाउँछन् कि भनेर आफ्ना कुरा राख्नै नचाहने कोटिमा उहाँ पर्नुहुन्न । प्रदीप गिरि हुनुको विशेषत नै यही हो ।

बनारस बस्दैदेखि प्रदीपजीमा अत्यन्त खरो स्वभाव थियो, प्रस्ट वक्ता हुनुहुन्थ्यो । लागेका कुरा अखबारमै लेखिदिने । तर, नेताहरूलाई त्यस्तो पाच्य नहुँदो रहेछ । स्वस्थ आलोचना भए पनि ‘यो त हाम्रो विरोधी रहेछ’ भन्ने छाप पर्ने । त्यस्तो खालको संस्कार नेपाली कांग्रेसमा पनि थियो नै । मूल्यमान्यता, चरित्र, इमान भन्ने कुरा राजनीतिमा क्रमशः स्खलित हुँदै गयो ।

प्रदीपजी एकदमै दार्शनिक र अध्ययनशील । अरूका अगाडि अत्यन्त अराजक भनेर चिनिए पनि उहाँ अर्कै तहको बौद्धिक–प्राज्ञिक व्यक्तित्व । मार्क्सवादी साहित्यका अध्येता, यसबारे उहाँसँग वाद–प्रतिवादमा उत्रन सक्ने समकालीन नेताहरू कमै छन् । यो कुरा सबैले स्वीकार गर्छन् । पञ्चायतकालमै ‘लेनिन : एक अध्ययन’ (सन् १९८४) पुस्तक लेखेर कम्युनिस्ट कित्ता र विचारको अर्को पाटो उधिन्ने काम प्रदीपजीले गर्नुभयो । कुनै लेखकको कुनै किताबको कति पृष्ठमा के लेखिएको छ भन्न सक्ने क्षमताका प्रदीपजीको स्मरणशक्ति, तार्किक क्षमता र उदाहरण दिएर बोल्ने अद्भूत प्रतिभालाई पनि सबैले स्वीकार गर्नैपर्छ ।

आफ्नो विचार र अडानमा एकदमै दृढ रहने स्वभावका प्रदीपजी कहिलेकाहीँ विरोधी कित्ताको झैं लाग्नुहुन्थ्यो, सधैंको विरोधी खेमा जस्तो । संविधानसभाले संविधान पास गर्दा पार्टीको आदेश र दबाबविरुद्ध गएर सबै कुरालाई बेवास्ता गर्दै प्रदीपजी अनुपस्थित रहनुभयो, ‘यसमा मेरो सहमति छैन’ भन्दै । त्यसरी अडान राख्न सक्ने हैसियत उहाँमा छ ।

उहाँ असंगठित जस्तो हुनुहुन्थ्यो, घरबारमा रुचि नभए जस्तो । काठमाडौंमा प्रायः भाडावालकै रूपमा रहनुभयो । समयमा भाडा नतिर्ने वा आफूसँग भएको बेला भने घरबेटीलाई जति पनि पैसा दिने स्वभाव उहाँमा थियो । तर, भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने । घरबेटीले महिनौंमहिनाको बिजुलीको बिल, पानीको बिल के–के जोड्छ; अधिकांशतः हिसाब मिलिरहेको हुँदैन; प्रदीपजी ‘मैले सबै भाडा चुक्ता गरिसकेको छु’ भन्ने, घरधनी भने विवादमा उत्रिरहने । सधैंको त्यस्तो कचकच देखेर मैले ‘होइन प्रदीपजी, मेरो त्रिपुरेश्वरको घरमा बस्नुहोस्’ भनें र २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मकहाँ नै बस्नुभयो । कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि !’

त्रिपुरेश्वरमा मेरो छिमेकमा जर्नेल विकास पोखरेलको घर थियो । प्रदीपजी मकहाँ बस्दा उनको छोरा जन्मेको थियो । नवजात शिशु र सुत्केरी आमा भर्खरै घर भित्रिएको बेला रहेछ । यता प्रदीपजीकहाँ भने रातको बाह्र बजेपछि सधैंजसो सांगीतिक उत्सव सुरु हुन्थ्यो । त्यस रात पनि पूरा झ्याल–ढोका खोलेर राग ध्रुपद फुल भोल्युममा बजाउन सुरु भएको रहेछ । रातको एक बजेतिर ती छिमेकीले मलाई फोन गरेर भने, ‘अंकल, एउटा सानो कुरा गर्न मिल्छ कि ? प्रदीप अंकललाई त्यो भोल्युम अलि सानो गर्न भनिदिनुस् न, यता आमा–छोरा सुत्नै सकेनन् ।’

मैले प्रदीपजीलाई फोन गरें, भाग्यवश रिसिभ भयो । मैले अनुरोध गरें, ‘प्रदीपजी, छेउमा छिमेकीले हस्पिटलबाट सानो बच्चा ल्याएका छन्, सुत्न डिस्टर्ब भयो रे । लौन, त्यो भोल्युम घटाइदिनुस्, झ्यालढोका पनि लगाइदिनुस् ।’

‘त्यो को हो ? त्यसले बुझेकै रहेनछ यस्ता रागरागिनीबाट उसको बच्चाले कति मज्जा लिन सक्छ, बच्चामा अझ तीक्ष्णता बढ्न सक्छ भनेर । तैपनि तपाईंले भनिहाल्नुभयो, म झ्यालस्याल लगाउँछु, भोल्युम अलि सानो गराएर सुन्छु ।’ अनि अलिक शान्ति छायो ।

हामीकहाँ बस्दा उहाँ प्रायः सांसद पनि रहनुभएकै थियो । विशेष घटनाक्रम वा भोटिङका बेला नेपाली कांग्रेसका प्रमुख सचेतक आनन्द ढुंगाना, लक्ष्मण घिमिरेहरूले मलाई ‘ल है, प्रदीपजीलाई भोटिङमा उपस्थित गराइदिनुहोला, हामीले भनेर त मान्दै मान्दैनन्’ भन्नुहुन्थ्यो । तर, प्रदीपजीमा कसैको कुरा सुन्ने स्वभाव नै थिएन । भन्नुहुन्थ्यो, ‘भोट हालेर के हुन्छ ! देश राम्रोसँग अगाडि बढेको छैन !’ संसद्‌मा पनि उहाँले बोल्दा अरूले ध्यान दिएर सुन्ने गर्थे । उहाँले बोल्दाको अभिलेख मात्रै हेर्ने हो भने पनि एउटा छुट्टै दस्ताबेज बन्न सक्छ । हुन त सबै व्यक्ति सार्वभौम हुन्छन्, तर त्यो सार्वभौमिकताको अर्थ हामी सबैले देखिराखेका हुँदैनौं ।

नेपाली कांग्रेसको अधिवेशन, संसद्का प्रमुख कामकारबाही वा आफ्नै निर्वाचनका बेला पनि अरूहरूले जस्तो उपस्थिति र सहभागिताको तदारुकता नदेखाए पनि उहाँ एउटा दह्रो विम्बका जहिल्यै खडा । चुनावमा आफ्नै प्रचारमा समेत ननिस्कने अनौठो स्वभाव । बाहिर निस्किएपछि कुनै कार्यकर्ता वा कोही शुभेच्छुकलाई गाली गर्ने, घोक्र्याउने अवस्था आइपर्न सक्छ र त्यसका कारण जनमत झनै घट्न सक्छ भन्ने लेखाजोखा गरेरै बाहिर उहाँ प्रचारप्रसारमा त्यति जानुहुन्नथ्यो जस्तो लाग्छ मलाई ।

क्रान्तिमा लागेका वा अझ बनारस बस्दादेखि नै दुःख पाएका कार्यकर्ताहरूलाई नेताहरूले भेटसम्म नदिएको प्रसंग सधैंजसो निस्कने गर्थ्यो, कुनै सरसहयोग गर्नु त टाढैको कुरा भयो । प्रदीपजी मकहाँ बस्दा त्यस्ता मान्छेहरू आइरहन्थे । बरु आफ्नो क्षेत्रका, आफूलाई भोट हालेका मान्छेलाई भेट नदिने, उल्टै गाली गर्ने र ‘तेरो एउटा भोटले मलाई किनेको होस् र ? तेरो व्यक्तिगत काम गर्ने नोकर हुँ र म ?’ भन्दै ढोकैबाट फर्काइदिने, उस्तै परे बेलामौकामा कोही जिद्दी कार्यकर्तालाई घोक्र्याउन पनि पछि नपर्ने, तर साँच्चै दुःख पाएको मान्छे अथवा क्रान्तिमा हिँडेको कोही आयो भने उसलाई भेट दिने र सहयोग गर्ने । किशुनजीको पनि यस्तै स्वभाव थियो ।

इमानदार मान्छेलाई त अहिले पनि पीडा छँदै छ, समस्या छँदै छ । जसले नैतिकता, इमान–जमानसँग ‘कम्प्रोमाइज’ गरे, तिनीहरू अगाडि गए । जो झुकेनन्, बिकेनन्, ती पछाडि नै रहिरहे । साँच्चिकै दुःखी–पीडित आएमा र आफूसँग दिने केही नभएमा प्रदीपजी मकहाँ आई मेरी श्रीमतीलाई भन्नुहुन्थ्यो, ‘ल–ल भाउजू, तपाईंसँग कति पैसा छ, झिक्नुस् । हिसाब गरेर राख्नुहोला, म कुनै दिन डबलचाहिँ तिर्छु ।’

प्रदीपजी त सांसद मात्रै हुनुभयो, कहिल्यै सत्ताशक्तिमा जानुभएन । प्रधानमन्त्री भएका बेला किशुनजीले ‘प्रदीप, तिमी मेरो सरकारको प्रवक्ता बनिदेऊ’ भन्दा उहाँले उम्किनलाई भन्नुभएको थियो, ‘किशुनजी, म समयमा सुत्न सक्दिनँ, समयमा उठ्न सक्दिनँ । किताब पढ्न लागें भने रात बितेको थाहै पाउँदिनँ । यसकारण म हरतरहले अयोग्य र असमर्थ छु ।’

०००

प्रदीपजी अहिले कष्टसाध्य रोगका कारण अस्पतालमा हुनुहुन्छ । हामी धेरै जना उहाँको सुस्वास्थ्यको कामना गरिरहेका छौं । अस्ति भर्खरै कांग्रेसका युवा नेता गगन थापासँगै संयोगवश म पनि अस्पताल पुगेको थिएँ । उहाँको स्वास्थ्यबारे हाम्रो चासोमा प्रदीपजीले भन्नुभयो, ‘जीवन सत्य हो भने मृत्यु पनि शाश्वत सत्य हो । म मृत्युसँग डराएको छैन, डराउन्नँ । तपाईंहरू नि ?’ यसरी हामीलाई उल्टै जिस्क्याउनुभयो उहाँले । अगाडि भन्नुभयो, ‘देश राम्रो हुन सकेको छैन । मलाई चिन्ता छ, तपाईंहरू पनि चिन्ता गर्नुस् । युवा पुस्तालाई अलि बढी विश्वास गर्नुस् ।’ उहाँले गगनतिर हेर्दै भन्नुभयो, ‘खोइ, तिमी किन बोल्दैनौ ?’

अस्पतालको शय्यामा रहे पनि प्रदीपजीको दिमागी तीक्ष्णता र स्मृतिमा कमी आएको छैन । उहाँ अहिले पनि सांसद हुनुहुन्छ, आवश्यक पर्दा उहाँको उपचारमा नेपाल सरकारले पनि खर्च गर्छ । तर उहाँ सक्दो कडा स्वरमा भन्नुहुन्छ, ‘मेरो उपचार राज्यलाई भार पारेर गर्न हुँदैन ।’ नैतिकता, मूल्यमान्यता भन्ने कुरा भाषणले होइन, आफ्नो कर्मले देखिनुपर्छ भन्नुहुन्छ उहाँ । उपचारका क्रममै दिल्ली, मुम्बईमा अहिलेसम्म कति खर्च भइसक्यो होला तैपनि उहाँ राज्यकोषबाट उपचार स्वीकार गर्नुहुन्न । नेताहरूले अस्पताल पुगेर ‘तपाईंको लागि के गर्नुपर्छ ?’ भनी सोध्दा उहाँ भन्नुहुन्छ, ‘व्यक्तिगत इमानदारीले कमाएको पैसाले सहयोग गर्ने भए गर । म त जोगी हुँ; यहाँ कतै खातासाता खोलेका होलान्, या अस्पतालमा तिर्नुपर्ने होला, तिर्लान्; होइन भने राज्यकोषको पैसा मलाई नबाँड ।’

प्रदीपजी जस्तो अराजक र लहडी व्यक्तिले चुनाव कसरी जित्नुहुन्छ भनेर धेरैले सरोकार राख्ने गरेको पाइन्छ । तर, यथार्थतः उहाँ सिरहाको आफ्नो चुनाव क्षेत्रमा जनस्तरमा भिजेको र आवाज नहुनेका लागि आवाजको काम गर्नेमा पर्नुहुन्छ । उहाँको सिरहास्थित आश्रममा आउनेहरूको आशा र भरोसाले जनभरोसा तथा जनस्तरकै सम्बन्धको झल्को दिइरहेको हुन्छ । आफ्ना वरपर रहने जनसाधारणका कुरा उनीहरूकै भाषा र लवजमा सुनिदिने र सकेको काम गरिदिने प्रदीपजीसँग दलगतभन्दा बढी जनस्तरको सम्बन्ध गाँसिएको हो भन्ने मलाई लाग्छ । त्यसबाहेक, कमला, खाँडो, वाग्मतीजस्ता त्यस क्षेत्रका मुख्य नदीहरूमा सिरानदेखि पुछारसम्म दोहोरो तटबन्ध तथा बिजुली, बाटोका भौतिक पूर्वाधार निर्माणमा पुर्‍याएको सहयोगले प्रदीपजीको राजनीतिक उचाइमा ओज भर्ने काम गरेको देखिन्छ । यही कारण उहाँको चुनाव क्षेत्रका सर्वसाधारण ‘हाम्रा व्यक्तिगत काम कुरा नसुने पनि उनी दार्शनिक, चिन्तक हुन्; उनी हाम्रा नेता हुन् भन्न पाउँदा हामीलाई गर्व लाग्छ’ भन्दै हिँडिरहेका भेटिन्छन् ।

पार्टी राजनीतिमा स्वतन्त्र विचारको खडेरी पर्दै गएका बेला प्रदीप गिरिजस्तो निर्भीक र तर्कशील पात्र पाउन मुस्किल पर्दै गएको छ । नेपाली कांग्रेसमा मात्रै नभएर समकालीन सबै राजनीतिक पार्टीहरूमा यस्तै खडेरी छ । प्रदीपजीमा रहेको बेजोड प्रस्तुति क्षमता, दार्शनिक र चिन्तन पक्ष अहिलेको युवा पुस्ताका लागि अनुसन्धानकै विषय हो । प्रदीपजी राष्ट्रको सम्पत्ति हुनुहुन्छ, आफैंमा एउटा संस्था हुनुहुन्छ ।

उपाध्याय भारतका लागि नेपालका पूर्वराजदूत हुन् ।

प्रकाशित : भाद्र १, २०७९ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?