कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैरआवासीय नेपालीलाई नागरिकता

विकसित मुलुकहरूले नागरिकता वा बसोबास अनुमतिको विषयलाई धेरै लचिलो र अन्तरक्रियात्मक बनाउँदै लगेका छन् । नेपाल यही समकालीन विश्वचेतनासँग नजिकिँदै जानु सुखद हो ।
बद्री केसी

नागरिकता विधेयक पारित भएसँगै गैरआवासीय नेपाली (एनआरएन) हरूलाई आफ्नो मातृभूमिको नागरिकता हात पर्ने विषय व्यवहारतः सम्भव हुने दिन नजिकिँदै गएको छ । नेपालको संविधानको धारा ९४ ले व्यवस्था गरे पनि ऐन–नियमावली लगायतका प्रमुख कानुनी दस्तावेजहरूबिना गैरआवासीय नेपालीहरूका निम्ति नागरिकता एउटा अमूर्त सपना बराबर थियो ।

गैरआवासीय नेपालीलाई नागरिकता

अहिले आएको मूल ऐन हो, जसले गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ । ती अधिकार अन्तर्गत केके पर्छन् भनेर विस्तृत परिभाषाचाहिँ गैरआवासीय नेपाली सम्बन्धी विधेयकले गर्नेछ । उक्त विधेयकको मस्यौदा नेपाल कानुन आयोगले तयार गरेर परराष्ट्र मन्त्रालयमा पेस गरिसकेको छ । त्यसबारे विभिन्न तहमा अझ व्यापक छलफल गरी संसद्बाट पारित गर्नु सरोकारवाला सबैको अर्को महत्त्वपूर्ण कार्यभार हो ।

गैरआवासीय नेपाली संघका लागि नागरिकता ऐनको यो उपलब्धि एउटा ऐतिहासिक अनुभव हो । स्थापनाकालदेखिको प्रमुख संस्थागत एजेन्डा र त्यसभन्दा अघि पनि व्यक्तिगत रूपमा गरिएका कतिपय पहलले यो स्वरूप लिन यतिका वर्ष लगायो । करिब फलीभूत भएको अवस्थाबाट फर्केर हेर्दा यो आफ्नै बन्धुबान्धवहरूसँगको एक किसिमको सौदाबाजीजस्तो प्रतीत हुन्छ । एनआरएनलाई कुनै पनि कानुनी हैसियत दिने विषयप्रति विभिन्न तहमा रहेका शंका र अवरोध अबका दिनमा नरहलान्, त्यो नै सबैभन्दा ठूलो उपलब्धि हो । गैरआवासीय नेपाली अभियानको एउटा सामान्य अभियन्ताका रूपमा म के विश्वास गर्छु भने, यो उपलब्धिले समुन्नत नेपाल निर्माणको अभिप्राय साकार पार्न जगको काम गर्न सक्छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्थापनाका दुई दशकमा गैरआवासीय नेपालीलाई नागरिकताको एजेन्डा जन्माएर निरन्तर हुर्काइरह्यो । यसबीचको संवाद, रस्साकस्सी र बोधबीच यो अभियानले नेपाली बन्धुत्व र समभावलाई नयाँ उचाइमा पुर्‍याएको यथार्थलाई बिर्सनु हुन्न । आज संसारका ८५ मुलुकमा गैरआवासीय नेपालीहरू एनआरएनएको छातामुनि संगठित भएर बसेका छन् । यिनै गैरआवासीय नेपालीहरूको महिनावारी कमाइ विप्रेषणका रूपमा भित्रिएर मुलुकको अर्थतन्त्र धानिएको छ । लगानीका हकमा गैरआवासीय नेपालीहरूको उपस्थिति निरन्तर बढ्दो छ । एक्काइसौं शताब्दीको प्रतिस्पर्धात्मक व्यापार युगमा वैदेशिक व्यापारका अनेक सर्त र आयाम हुन्छन्, तर संसारभर छरिएर कमाइधमाइ गरिरहेका नेपालीहरूको मनमा भने आफ्नै मातृभूमिले चाहिँ पत्याए मात्र पनि हुन्थ्यो भन्ने अत्यन्त निम्छरो पुकार छ । आज नागरिकताको बाटो खुलेको छ, नियमावली बनाएर नागरिकताको प्रमाणपत्र पाउने दिन सायद धेरै टाढा नहोला । यो घटनाक्रमले गैरआवासीय नेपालीहरूको नेपाल–लगानी अद्भुत ढंगले बढ्ने प्रस्ट छ । एनआरएन नेपाल डेभलपमेन्ट फन्डले एउटा चरणको कार्य सकिसकेको छ; नेपालको सबैभन्दा ठूलो वित्तीय संस्थाका रूपमा स्थापित भएर उत्पादनमुखी परियोजनाहरूमा लाग्ने यसको लक्ष्य चाँडोभन्दा चाँडो साकार हुने निश्चित छ ।

नागरिकताको औचित्यलाई विदेशमा बसेका नेपालीले भित्र्याउन सक्ने पैसा वा लगानीको परिमाण वा प्रवृत्तिसँग मात्र जोड्नु अल्प–विवेक वा अन्याय हो । आज संसारकै सर्वशक्तिमान् अमेरिकादेखि भारत अनि सिरियासम्मले आफ्ना गैरआवासीय नागरिकलाई दोहोरो नागरिकताको सुविधा दिएका छन् । त्यो सुविधाको अन्तर्यमा पैसा मात्र छैन; त्यो त खासमा भूमण्डलीकरणको रापभित्र खोजी भइरहेको राष्ट्रियता हो । आजको मानव जातिलाई कुनै तन्त्र वा भूगोलले बाँधेर राख्न सक्दैन; मानिसले आफ्नो जीवनको अनुकूलतालाई हेर्छ र नयाँ क्षितिजमा गएर नयाँ अनुभव गर्न चाहन्छ । ‘जहाँ पुगे पनि तिमी हाम्रै हौ’ भन्ने सांस्कृतिक चेत जोगाइराख्न खासमा दोहोरो नागरिकताको अवधारणा जन्मेको हो । र, कुनै पनि समाजको मानवीय विकास र उत्पादन क्षमता त्यहाँको सांस्कृतिक चेतनाबाट निर्देशित हुन्छ । विकसित मुलुकहरूले नागरिकता वा बसोबास अनुमतिको विषयलाई धेरै लचिलो र अन्तरक्रियात्मक बनाउँदै लगेका छन् । आफ्ना मान्छे जोगाएर अरूलाई आफूतिर तान्ने नीतिले उनीहरू विश्वमञ्चमा झन्झन् बलिया बन्दै गएका छन्; उनीहरूको राष्ट्रियता झन्झन् कसिलो बन्दै गएको छ । नेपाल यही समकालीन विश्वचेतनासँग नजिकिँदै जानु सुखद विषय हो ।

विश्वसमाज फुक्दै जाने नियमले विस्तारित हुँदै छ । यस्तोमा जुन समाज संकुचनको पक्षमा हुन्छ, त्यसले अरूको गति पक्रन असम्भव छ । हामी नेपालीहरूले नेपालमा नागरिकता कानुनलाई समयसापेक्ष बनाउने उपक्रम सुरु गरेर संकुचन तोड्ने काम गरेका छौं । यसका लागि हामी सबै बधाईका पात्र भयौं । अबका कार्यभारहरू झन् मिहिन छन्; जस्तो- गैरआवासीय नेपाली परिचयपत्रलाई नागरिकतासरह अधिकारसम्पन्न बनाउनु, नेपाली जाति–संस्कृतिमै रहिरहे पनि पुस्तान्तरका कारण टाढिनुपर्ने अवस्थाका बन्धुबान्धवहरूलाई नजिक ल्याउनु । अर्थात्, अन्ततः नेपाल सारा नेपाली जातिका लागि खुला देश हो भन्ने भावनालाई काठमाडौंबाटै कानुनतः उद्घोष गराउनु । नेपाल दस वर्षमा आर्थिक रूपान्तरणको विराट् रूप लिन सक्ने सम्भाव्यता बोकेको मुलुक हो । त्यो सम्भव गराउने एउटै उपाय हो- बेरोकतोक नेपालित्व । एनआरएनएको नारा ‘एक पटकको नेपाली सधैंको नेपाली’ यही भावबाट उब्जेको हो ।

प्रवासी नेपालीहरूलाई हेर्ने केही विशेष दृष्टिकोणहरूमाथि बहस भइरहन्छ, जुन स्वाभाविक हो । नेपालीहरू नयाँनयाँ अवसरको खोजीमा बिदेसिएका हुन् । भूगोल परिवर्तनले मात्र संस्कृतिका गुण एवम् व्यवहारका दोषहरूलाई तलमाथि गर्न सम्भव छैन । जस्तै- पश्चिमा सयलमा बसे पनि नेपालीहरू एकअर्काका दुःखमा पग्लिन्छन्, सहयोगी हातहरू अगाडि बढाइहाल्छन् । त्यो हाम्रो सांस्कृतिक गुण हो । यसले नै हामीलाई बचाएको छ । कोभिड महामारीका बेला करिब २८ हजार नेपाली दाजुभाइ–दिदीबहिनीको उद्धार गर्ने बृहत् अभियानलाई हाँक्ने अवसर पंक्तिकारले पायो । त्यति बेला नेपालीहरूले एकअर्कालाई के मात्र दिएनन्, के मात्र गरेनन् ! यस्तो सांस्कृतिक संवेदना नेपाली जातिमा बाहेक अन्यत्र कमै भेट्न सकिन्छ । बस, यो गुणलाई जोगाइराखौं ।

अनि, देशको सीमा छाडे पनि नेपाली दाजुभाइले छाड्न नसकेका केही स्वाभाविक प्रवृत्ति सतहमा आइराख्छन् । हामी विदेशी भूमिमा पनि नेपालकै दलीय प्रतिस्पर्धा खोजिरहन्छौं भन्ने आरोप छ । यसबारे गम्भीर छलफल हुनुचाहिँ पर्छ । हामीले हाम्रो कमजोरी स्विकार्‍यौं र दलीय आस्थालाई राजनीतिक छनोटको तात्कालिक व्यवहार मात्र मान्यौं भने हामीमाथि आरोप लाग्न छाड्छ । प्रवासलाई राजनीतिक वञ्चितीकरणको बुझाइबाट हेर्न छाड्नुपर्छ । हामीले बढीभन्दा बढी उत्पादनशील भएर नेपालको विकासमा योगदान पुर्‍याउनुपर्छ । र, त्यसकै आधारमा नेपाल आफैंले राजनीतिक अधिकार पनि लिइदिनोस् भनेर आग्रह गर्ने दिन आउँछ । त्यो पनि धेरै टाढा छैन । एनआरएनहरूसँग पैसा छ, यिनीहरूलाई राजनीति गर्न दियो भने सिध्याउँछन भन्ने भ्रम एक तहमा जबर्जस्त भएर नबसेको होइन, तर त्यो गलत धारणा हो जसका लागि प्रवासी नेपालीहरू स्वयम् पनि जिम्मेवार छन् । हरेक महत्त्वपूर्ण रूपान्तरण क्रमबद्ध ढंगले आउँछ ।

आशा गरौं, त्यो दिन चाँडै आउनेछ, जहिले हामीले भूगोल परिवर्तनका कारण नेपाली नागरिकको हैसियत गुमाउनुपर्नेछैन, अनि हाम्रो राजनीतिक विवेक पनि यो देशको भविष्य निर्माणसँग जोडिनेछ ।

केसी गैरआवासीय नेपाली संघका अध्यक्ष हुन् ।

प्रकाशित : श्रावण २२, २०७९ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?