कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युक्रेन एक युद्ध–प्रयोगशाला

केशरबहादुर भण्डारी

रुस–युक्रेन युद्धले दुई महिना पार गरिसक्दासमेत यसको अन्त्यको निश्चितता छैन । युद्ध त कुनै न कुनै रूपमा एक दिन रोकिन्छ नै तर सोभन्दा अगाडि युक्रेनले अरू केकति मानवीय–भौतिक क्षति र दुर्दशा भोग्नुपर्ने हो, त्यो अहं चिन्ता र चासोको विषय हो, सभ्य ठान्ने विश्वका लागि । रुसले युक्रेनको नाटोमा संलग्न हुने प्रयासलाई आफूमाथिको प्रत्यक्ष सुरक्षा चुनौती मानेको छ । यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र उसका सहयोगी मुलुकहरूतर्फ इंगित गर्दै, युक्रेनको मामिलामा हस्तक्षेप गरे इतिहासमा देख्नु नपरेको दुर्दशा भोग्नुपर्ने चेतावनी दिएका छन् ।

युक्रेन एक युद्ध–प्रयोगशाला

यस अवस्थामा युक्रेनलाई लिएर रुसी स्वार्थ र सर्तहरूको व्यावहारिक सम्बोधन नहुन्जेल युद्ध रोकिने देखिँदैन । अर्कातर्फ, अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन द्वन्द्वमा अमेरिकी सेना रुसी सेनासँग नलड्ने भनिरहे पनि नाटो र अन्य केही मुलुकको आर्थिक, सैनिक र भौतिक सहयोग तथा नैतिक समर्थनमा युक्रेन एक्लैले लड्नुको विकल्प पनि छैन । र, समस्या यहीँनेर छ ।

पुटिनले लुहान्स्क र दोनेस्कका रुसीभाषी युक्रेनीहरूको रक्षाका लागि आक्रमण गरेको भने पनि खास उद्देश्यचाहिँ युक्रेनलाई रुसको पूर्ण नियन्त्रण र संरक्षणमा राख्नु हो भन्ने प्रस्ट छ । सन् १९९१ मा सोभियत संघ विखण्डन हुनुअगाडिसम्म युक्रेन रुसको एउटा अति महत्त्वपूर्ण तथा हरक्षेत्र र दृष्टिकोणबाट विकसित भाग थियो भने रुसबाट अलग भएका अन्य देशमा झैं प्रजातान्त्रिक परिवर्तनका लागि संघर्षरत पनि ।

अन्तर्राष्ट्रिय सम्बन्धमा तेलसहित अन्य महत्त्वपूर्ण वस्तुहरूका लागि अमेरिकाले रुसमाथि भर पर्नु त पर्दैन तापनि युक्रेन युद्धका कारण अमेरिका–रुस सम्बन्ध सामान्यीकरण हुन अब झन् समय लाग्ने पक्का छ, शीतयुद्धजस्तै स्थिति नदोहोरिए पनि । तर, युरोपको अवस्था भने त्यस्तो छैन । रुस युरोपका लागि प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो । रुसले विश्वको १० प्रतिशत तेलको माग पूर्ति गर्दै आएको छ । रुस संसारकै सबभन्दा ठूलो गहुँ निर्यातक देश हुनुका साथै युरोपमा खाद्यवस्तुको प्रमुख आपूर्तिकर्ता पनि हो ।

युद्ध–प्रयोगशाला

युद्ध थालेको केही दिनमै युक्रेनलाई कब्जामा लिन सकिने भनी बनाएको रणनीतिक योजनामा रुस पूर्णतया असफल भएको छ । युक्रेनलाई कम र आफूलाई बढी आकलन गर्दा रुसले धोका पायो । यो द्वन्द्वमा रुस र युक्रेनका जर्नेल र राष्ट्रिय सुरक्षा सल्लाहकारहरूमा राष्ट्रिय सुरक्षाप्रतिको व्यावहारिक रणनीति ज्ञान र व्यावसायिकतामा कमजोरी देखियो ।

अर्कातर्फ, अमेरिका र युरोपले बिनाकुनै लगानी रुसी सैन्य क्षमता र सीमितताबारे वास्तविक आकलन गर्न पाएका छन्, जुन उनीहरूको बृहत् सामरिक उपलब्धि हो । अर्बौं डलर खर्चेर पाउन नसकिने जानकारीहरू उनीहरूलाई अहिले फोकटमा मिलेका छन् । अमेरिका र युरोपले सहयोगका नाममा पठाएका कतिपय हातहतियारको परीक्षण रुस–युक्रेन युद्धमैदानमै स्थलगत रूपमा गर्न पाएका छन् । रुसले पनि अनेकन् हातहतियारदेखि हाइपरसोनिक मिसाइलसम्मको परीक्षण गर्न भ्याएको छ । युद्ध अर्थ–नीतिमा टिकेको अमेरिकाका लागि यो युद्ध अवसर पनि बनेको छ, आफ्नो सैन्य संलग्नताबिनै ।

युक्रेनीहरूले रुसले त के, संसारले नै नसोचेको प्रतिकारात्मक क्षमताको प्रदर्शन गरेका छन् । युक्रेनीहरूको अदम्य साहस, राष्ट्रियता र राष्ट्रवादको स्वस्फूर्त प्रदर्शन, स्वाभिमान र अस्तित्वका लागि देखाएको त्याग र बलिदानको भावनाले संसारलाई नै अचम्मित तुल्याएको छ । अन्य देशका नागरिकले पनि युक्रेनीहरूबाट पाठ सिक्ने मौका पाएका छन् ।

दोस्रो विश्वयुद्धपछिको युरोपमा युद्ध शरणार्थी र मानवीय संकटको व्यवस्थापन र समस्यालाई लिएर संसारले नयाँ सन्देश पाएको छ । युक्रेनमा अहिले र अफ्रिका तथा एसियामा युद्धका कारण उत्पन्न मानवीय संकट समाधानमा कथित ‘पहिलो विश्व’ ले अपनाएको रणनीतिले, संवेदनशीलताको मात्राले उसको दोहोरो मापदण्ड उजागर गरिदिएको छ ।

ठूला तथा शक्तिशाली मुलुकहरूका छिमेकी साना मुलुकहरूले भौगोलिक अवस्थिति, भू–राजनीति तथा आर्थिक बाध्यता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा आफ्नो अस्तित्व, स्वाभिमान, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रता जोगाउँदै कसरी उन्नति गर्नुपर्छ एवं गल्ती गर्दाको हविगत के हुन्छ भन्ने उदाहरण पनि भएको छ युक्रेन । युक्रेन घटनाबाट नेपालले राम्रो पाठ सिक्न सक्नुपर्छ ।

आर्थिक, सैन्य तथा अन्य नाकाबन्दी

आर्थिक नाकाबन्दीका कारण रुसको आर्थिक वर्चस्वमा राम्रैसँग नकारात्मक प्रभाव परे पनि तेल, ग्यास, औद्योगिक खनिज वस्तु, खाद्यान्न तथा कच्चा पदार्थको बजारमा रुसको हालीमुहाली कायमै रहने देखिन्छ । संसारमा मुख्यतः पाँच क्षेत्र तेल, ऊर्जा, खाद्यान्न, स्टक मार्केट र वित्तीय बन्डहरूमा नकारात्मक प्रभावस्वरूप घाटा बढेको छ । तेलको मूल्य अनपेक्षित रूपमा बढ्नाले विश्व प्रताडित भएको छ । रुसबाट ४० प्रतिशत तेल र ग्यासको आयात गर्ने युरोपेली देशहरू युक्रेन युद्धका कारण बढी मारमा परेका छन् ।

रुस र युक्रेन मिलरे संसारलाई चाहिने एकचौथाइ गहुँ निकासी गर्छन् भने इजिप्ट र टर्कीलाई चाहिने ७० प्रतिशतभन्दा बढी गहुँ रुसले आपूर्ति गर्छ । यसैले पनि ब्ल्याक सीबाट बाहिरिने र भित्रिने रुसी जहाजलाई नाकाबन्दीले रोक्न सक्तैन ।

अमेरिका र युरोपेली मुलकहरूको लहलहैमा लागेर रुसको भर्त्सना तथा नाकाबन्दीमा साथ दिएर रुसलाई सजाय दिने र पाठ सिकाउने खेलमा चीन र भारत निरपेक्ष रहँदा नेपालले भने विगतमा गरेका सन्धि, सम्झौताझैं असंलग्न परराष्ट्रनीतिको बर्खिलाफ फेरि पनि उत्ताउलोपन देखायो । अमेरिकालाई टक्कर दिने हैसियत बनाएका रुस र चीन तथा उदीयमान शक्ति भारतलाई चिढ्याएर नेपालले आफ्नो राष्ट्रिय हित तथा स्वार्थको रक्षा गर्न सक्तैन भन्ने तथ्य नेपालले मनन गर्न नसकेको देखिन्छ । यी र यस्ता कार्यहरू नेपालको राष्ट्रिय सुरक्षाका हिसाबमा अपरिपक्व र प्रत्युत्पादक हुन सक्छन् ।

अमेरिका र युरोपले रुसलाई कमजोर पारी आफ्नो प्रभाव र वर्चस्व बढाउने अवसरका रूपमा प्रयोग गरेका छन्, युक्रेन द्वन्द्वलाई । अमेरिका आफ्नो पहलकदमीमा साथ दिन चीन र भारतलाई धम्काउनसमेत पछि परेको छैन भने समर्थन जुटाउन अमेरिकी अधिकारीहरूले नेपालसहित संसारभर दौडाहा पनि थालेका छन् । आर्थिक तथा सामरिक दृष्टिले नकारात्मक प्रभाव पार्न हाललाई अमेरिका र युरोप सफल भए पनि रुस उनीहरूले चाहेजस्तो कमजोर भने हुनेछैन, स्रोत, साधन, प्रविधि र क्षमताका कारण ।

भू–राजनीतिक र शक्तिराष्ट्रहरूको स्वार्थी रणनीतिक खेलको परिबन्दमा परेको नेतृत्वको आवेगपूर्ण निर्णय र अडानका कारण युक्रेन तहसनहस हुँदै छ । विशेषतः अमेरिकाको भूमण्डलीय वर्चस्व कायम राख्ने धृष्ट प्रयासको उक्साहटमा वास्तविक भू–राजनीतिको आकलन गर्न नसकी अन्धराष्ट्रवादका नाममा बहकिएका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अपरिपक्वताका कारण युक्रेनले यो दिन भोग्नुपरेको हो । रणनीतिक जित त रुसकै नै हुनेछ भने अप्रत्यक्ष रूपमा सामरिक जितचाहिँ अमेरिका र युरोपको । विडम्बना, समग्रमा हारचाहिँ युक्रेन र युक्रेनी जनताको हुनेछ र हुँदै छ भने कमाइ भनेको चाहिँ पुस्तौंपुस्तासम्म रुससँगको दुस्मनी । अझ उदेकलाग्दो कुरा त, मानवीय संवेदनशीलता गुमाएका विभिन्न देशका मानिसहरूचाहिँ युक्रेन द्वन्द्वलाई ‘वार मुभी’ हेरेजस्तो गरी रमाइरहेका छन् ।

युद्ध सुरु गर्नु त सजिलो हुन्छ तर अन्त्य गर्ने काम भने अति कठिन र जटिल । युक्रेन द्वन्द्व तबसम्म तेस्रो विश्वयुद्धको कारक भने बन्न सक्तैन जबसम्म रुसले धम्काउने बहानामा आणविक हतियार प्रयोग गर्ने मूर्खता गर्दैन । यसैले कामना गरौं, युक्रेन द्वन्द्वले चाँडो निकास पाओस् र युक्रेनी जनताले थप दुःख नपाऊन् !

भण्डारी नेपाली सैनिक भूपू संघ तथा नेपाल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजमा आबद्ध छन् ।

प्रकाशित : वैशाख २२, २०७९ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?