कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश

घनश्याम भूसाल

२०७४ असोज तेस्रो हप्ता नेपालको राजनीतिमा अचानक असाधारण मोड आयो— नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) चुनावमा गठबन्धन गर्न र भविष्यमा पार्टी एकता गर्न तयार भए । त्यसले नेपालको कम्युनिस्ट आन्दोलनको इज्जत, प्रतिष्ठा, शक्ति, प्रभावलाई ह्वात्तै बढायो । सुदूर गाउँका कम्युनिस्ट सदस्य र समर्थकहरूमा समेत आफू कम्युनिस्ट पार्टीको सदस्य वा शुभचिन्तक भएकामा आत्मगौरव बढ्यो ।

कम्युनिस्ट पार्टीको भविष्य : एकता वा सत्यानाश

कम्युनिस्टहरूले चुनाव जिते । संघ र प्रदेशहरूमा कम्युनिस्ट पार्टीका सरकारहरू बने । त्यसले मुलुकको राजनीतिमा स्थायित्व, सुशासन, राष्ट्रिय हितको प्रवर्द्धन, विकासजस्ता हाम्रा राष्ट्रिय प्राथमिकताको भविष्य सुनिश्चित बनायो । तर नेताहरूका सत्तास्वार्थ र अहंकारका कारण, केवल स्वार्थी अहंकारका कारण त्यो एकता र त्यसले देखाएको सम्भावना अर्को चुनाव देख्नै नपाईकन अकालमै एकै झड्कामा गर्ल्यामगुर्लुम ढल्यो ।

अब केही दिनमा स्थानीय निर्वाचनका लागि पार्टीका घोषणापत्रहरू प्रकाशित हुनेछन् । त्यस क्रममा, नेपाली कांग्रेसले कम्युनिस्टविरुद्ध कम्युनिस्टहरूलाई नै लडाएर कांग्रेसको बहुमत ल्याउने घोषणा गर्नेछ भने कम्युनिस्टहरूले कम्युनिस्टको विरोध गरेर कम्युनिस्टको बहुमत ल्याउने घोषणा गर्नेछन् । त्यो एकता नेताका र तिनका गुटको स्वार्थको जगमा भएको हुँदा विभाजनको खतरा छ भनेर सुरुदेखि नै चिच्याउँदै आएको र विभाजनपछि पनि सार्वजनिक र औपचारिक रूपमा समेत कम्युनिस्ट आन्दोलनको पुनर्एकीकरणको पक्षमा बोल्दै, लेख्दै आएको व्यक्तिका नाताले पार्टीका रूपमा कम्युनिस्ट आन्दोलनका खतरा र सम्भावना के छन् र अहिले पनि कम्युनिस्टहरू एक ठाउँमा उभिनेबित्तिकै नेपालको राजनीतिको दिशा र गति तुरुन्तै बदलिन सक्छ भन्ने विषयमा यस लेखमा छलफल गरिएको छ ।

अपमानको आहालमा कम्युनिस्टहरू

राष्ट्रिय राजनीतिको रंगमञ्च कस्तो देखिँदै छ भने, कांग्रेस एउटा सुनौलो पालकीमा बसेको छ, केही कम्युनिस्टले पालकी बोकेका छन् र कांग्रेसले पालकी बोकेका कम्युनिस्टहरूलाई खिसिट्युरी गर्दै छ, गिज्याउँदै छ, दुत्कार्दै छ । मानौं कांग्रेस राजा नहुष हो, कम्युनिस्टहरू ऋषि हुन् । नहुषले छिटछिटो हिँड्न ऋषिहरूको काँधमा खुट्टाले घुच्याउँदै छ, ऋषिहरू लुरुलुरु पालकी बोक्दै छन् । जस्तो कि, उपसभापति धनराज गुरुङले कमरेड प्रचण्ड र माधव नेपालको मुटु हल्लिने गरी भने, ‘हात्तीका कानमा चमेराले गुँड लगाउन खोज्दै छन् ।’ त्यस्तै, महामन्त्री गगन थापाले पुरानो गिरिजासूत्रको सम्झना गर्दै भने, ‘माले–मसाले–मण्डले एकै हुन् ।’

अर्का नेता शेखर कोइरालाले संसदीय निर्वाचनमा संसद्को सुन्दरताका लागि प्रचण्ड, माधव र ओलीलाई ‘जिताइदिने’ घोषणा गरे । यो कम्युनिस्टमाथि खनिने मौसम हो भन्ने थाहा पाएपछि हूलमूलमा बटुवामध्ये कुनैले थप्यो— त्रिभुवन विमानस्थल बन्न लाग्दा कम्युनिस्टहरूले विरोध गरेका थिए । अरुण–३ को एजेन्डा तामेलीबाट निकालेर फेरि झन्डा बनाइयो । कहीँकतै कमरेड प्रचण्डले आफूले अदबका साथ पालकी बोक्दाबोक्दै दुनियाँले सुन्ने गरी अपमानित नगर्न केही गुनासो गरे । त्यसबाहेक कसैले चुँसम्म बोलेन । अर्कातर्फ, संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले संसद्मा ६ महिनादेखि नारा लगाइरहेको छ । संसद् न रोकिएको छ न चलेको छ । हिजोसम्म नेपालको इतिहासमै एक जना शक्तिशाली प्रधानमन्त्री रहिसकेका कमरेड केपी ओलीको उपस्थितिमै ६ महिनासम्म नाराजुलुस गर्दा पनि कसैले चासो राखेर ‘के हो तिम्रो कुरा’ भनेर सोधेकोसम्म छैन ।

अरू छ महिना पनि एमालेको सन्चोबिसन्चो कसैले सोध्लाजस्तो देखिन्न । आज पनि, फुटेर तीन टुक्रा भैसक्दा पनि संसद्को सबैभन्दा ठूलो दल एमाले नै हो । तर एमसीसीजस्तो मुलुकलाई प्रभावित पारेको मुद्दामा संसदीय निर्णय गर्दा कुनै सोधखोज नहुँदासमेत एमालेका अनुहारमा न कुनै आक्रोश देखियो न त ग्लानि नै । कांग्रेसी अपमानको आहालमा बसेर कम्युनिस्टहरू आपसमै गालीगलौजमा उत्रेका छन् । माओवादी जनयुद्धको प्रशस्तिमा लेखिएको दस्तावेजमा हस्ताक्षर गर्नेहरू माओवादीलाई ‘हत्यारा’ को आरोप लगाउने हदसम्म अनैतिक बन्दै छन् भने अर्कातर्फ एमालेको गौरवपूर्ण गाथामा हस्ताक्षर गरेकाहरूले एमालेलाई ‘धूलोपीठो बनाउने’ शपथ खाएका छन् । हाम्रो आँखैअगाडिका यी घटना सामान्य देखिन्छन् तर कम्युनिस्ट आन्दोलनको दारुण भविष्य बताउन पर्याप्त छन् ।

कस्तो विरोधाभास छ भने, १५ महिनाअघिको कम्युनिस्ट पार्टीलाई यथार्थ मानेर हेर्दा आजको बेहाल सपना होजस्तो लाग्छ, आजको हालत वास्तविक हो भनेर हेर्दा हिजोको सत्ता र शान सपना थियोजस्तो लाग्छ । वस्तुतः दुवै यथार्थ हुन् । हिजो कृष्णको विराट् स्वरूपले चकित अर्जुनजस्तै कम्युनिस्ट दिग्विजयलाई नेपाली कांग्रेस र बाँकी दुनियाँले हेरेको पनि साँचो हो अनि आज आआफैं फुटेर कांग्रेसलाई सत्ता बुझाएर एक थरीले सत्ताको पालकी बोक्ने र अर्का थरीले छँदाखाँदाको आफ्नो सरकार झन्डीबुर्जाको च्याँखेमा हारेर रनाहामा भौंतारिँदै हिँडेको पनि साँचो हो । रमिता कस्तो छ भने, कमरेड ओलीले कमरेड प्रचण्ड–माधवका नालायकीको भण्डाफोर गर्दै छन्, कमरेड प्रचण्ड–माधवले ओलीका नालायकीको भण्डाफोर गर्दै छन् र नेपाली कांग्रेस दुवै थरीका नालायकिको भण्डाफोर गर्दै छ । कम्युनिस्ट ‘आत्मा’ को यो हरिबिजोगबारे पार्टी सत्ताका खोपीमा छलफलसम्म भएको पनि कुनै समाचार छैन । उनीहरूलाई डुब्दै गरेको जहाजको चिन्ता छैन बरु आफ्नो बर्दीमा कुन फुली सुहाउँछ भनेर ऐना हेर्दै ठिक्क छ । राजनीतिलाई केवल निजी श्रीवृद्धिको धन्दा नठान्ने पार्टी कार्यकर्ता, सामान्य सदस्य र शुभचिन्तकहरूमा देखिने अपमानबोधको बेचैनीले गुटतन्त्रको संरचनामा कुनै प्रभाव परेको देखिँदैन । नेताहरूमा अपमानबोधको ग्रन्थि हराएको यस्तो दुर्दिन कम्युनिस्ट आन्दोलनले सम्भवतः कहिल्यै देखेको थिएन ।

यसभन्दा पहिले पनि गिरिजाकालमा कम्युनिस्टहरू अपमानित भएका थिए । कांग्रेसीहरूलाई के चिन्ता थियो भने, संसारभरि लखेटिँदै गरेका कम्युनिस्टहरू २०४७ सालको आन्दोलनको नेता हौं भनेर हाकाहाकी बाटामा हिँड्दै थिए । अर्थात्, प्रजातन्त्रको विश्वव्यापी लपेटमा कुनै पनि बेला ‘लखेटिनु’ पर्ने हेक्कै नराखीकन कम्युनिस्टहरूले गरेको चकचकी नेपाली कांग्रेसलाई असह्य थियो । अझ, तिनै कम्युनिस्टहरू प्रमुख प्रतिपक्ष बनेर संसद्मा आएका थिए । तिनै कम्युनिस्टलाई ‘प्रजातन्त्रको पाठ सिकाउन’ पुलिस र तरुण दल सँगसँगै जस्तो सडकमा थिए । पुलिससँग बन्दुक र अश्रुग्यास थियो, तरुण दलसँग लाठी र ढुंगा थिए । तिनैताका कांग्रेसले नारा लगाएको थिए— ‘माले–मसाले–मण्डले एकै हुन्’, ‘दुलाबाट निस्केर नेता बन्न पाइन्न’ आदि । अर्थात्, नेता हुने कांग्रेस मात्रै हो, कम्युनिस्ट होइन । कम्युनिस्टहरू पनि कतिपय हिसाबले केटौले थिए, प्रजातान्त्रिक अभ्यासमा पाइला टेक्दै थिए । तर उनीहरूले कांग्रेसी अपमानको राम्ररी प्रतिवाद गरे । त्यस सामर्थ्यको मुख्य कारण के थियो भने, त्यस बेला पार्टीमा पर्याप्त आन्तरिक लोकतन्त्र थियो ।

पार्टीमा एक से एक नेताहरू थिए । आफ्नो स्तरको अर्को नेतासँग नतर्सिने, ऊसँगसँगै काम गर्न सक्ने नैतिक साहस र गरिमा भएको नेतृत्व थियो । गुटहरू थिए, तर नेतृत्वले क्रान्ति र पार्टीको भविष्यलाई देखादेखी दाउमा लगाउन्नथ्यो । आफ्नै गुटको नेतालाई प्रश्न सोध्ने र असहमत हुन सक्ने वातावरण थियो । त्यस्तो मनोवैज्ञानिक स्वतन्त्रता र अधिकारले पार्टी, सिद्धान्त, क्रान्तिको भविष्यप्रति विश्वास र त्यो विश्वासले सृजना गरेको एकता थियो ।

दोस्रो, त्यो अपमान नेपाली कांग्रेसले थोपरेको थियो, त्यसले कम्युनिस्टहरूलाई एकताबद्ध बनाएको थियो । तर यो अपमान कम्युनिस्ट पार्टीका नेताहरू आफैंले थोपरेको अपमान हो । भाग्योदय चिट्ठामा पाएको सत्ताको चुलीमा बसेर आज कांग्रेसीहरूले कम्युनिस्टहरूका बारेमा जे भनेका छन्, त्योभन्दा बढी कम्युनिस्टहरूले कम्युनिस्टहरूकै विरुद्ध भनेका छन् ।

कसरी खेलियो भोरजुवा ?

हरेक राजनीतिक संगठन हरबखत आफैंभित्र अन्तरविरोधका अनेक रूप र प्रक्रियाबाट गुज्रिरहेको हुन्छ । योग्य नेताले अन्तरविरोधको समाधान संस्थागत विधिका आधारमा खोज्छ भने अयोग्य नेताले हरेक समस्याको समाधान आफ्नो निजी विवेकमा खोज्छ । निजी विवेक भनेको निजी स्वार्थ हो । यस आधारमा हेर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विभाजन, संघीय र प्रादेशिक सरकारहरूको विघटन, पुनः नेकपा (एमाले) को विभाजन र त्यस क्रममा उत्पन्न भएका अरू समस्या कम्युनिस्ट नेताका अनगिन्ती अयोग्यताका प्रत्यक्ष प्रमाण हुन् । विवाददेखि विभाजनसम्मको करिब एक वर्ष राजनीतिक मैदानमा उनीहरूले प्रदर्शन गरेका नालायक दण्डबैठकको फेहरिस्त धेरै लामो हुन्छ । तीमध्ये चारवटा मुख्य घटना यस्ता थिए जसले अरू अनेकौं घटना जन्माए, कार्यकर्ताबीच दुस्मनीको आगो लगाए अनि कम्युनिस्ट पार्टी र सरकारलाई एकपछि अर्को भीरबाट खसाले ।

१. नाजायज स्वार्थको जगमा एकता : संविधान जारी भएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकीकरणको सैद्धान्तिक र राजनीतिक आधार तयार भएको थियो । त्यस अर्थमा त्यो एकता ऐतिहासिक आवश्यकता थियो । त्यसका लागि कमरेड ओली र प्रचण्डले पहलकदमी लिएर ऐतिहासिक थालनी गरेका थिए । तर त्यसलाई निजी आकांक्षाहरूको बन्दोबस्त गर्ने अवसरका रूपमा प्रयोग गर्न उनीहरूले जेजे गरे, त्यसले पार्टी एकताको आधारलाई सुरुदेखि नै कमजोर बनायो । खास गरी उनीहरूले सत्ता साझेदारीको जुन गुप्त सम्झौता गरे, त्यो पार्टीको संस्थागत जीवनविरुद्ध सम्झौता थियो । उनीहरूबीच सम्झौता पालन नभएको अवस्थामा अथवा उनीहरूको स्थार्थ बाझिएको अवस्थामा पार्टी एकता जुनसुकै अवस्थामा पनि भत्किन सक्ने खतरा बोकेर एकीकृत पार्टी जन्म्यो । पार्टीभित्र करिब ९ महिनासम्म चलेको विवाद र कचिंगलपूर्ण घटना शृंखलाको जग नै कमजोर बन्यो । संक्षेपमा, आरम्भमै ती दुई नेताका नाजायज स्वार्थको बन्धक भएर नयाँ पार्टी जन्म्यो ।

२. संसद्को विघटन : नेपाली राजनीतिलाई अस्थिर पार्न खोज्ने शक्तिहरूले आक्रमण गर्ने हाम्रो लोकतन्त्रको मर्मस्थल हिजो पनि संसद् थियो र आज पनि संसद् नै हो । हाम्रो लोकतान्त्रिक स्थिरताको सबैभन्दा संवेदनशील मामिलामाथि खेलबाड गर्दै असंवैधानिक बाटोबाट संसद् विघटन, त्यो पनि कम्युनिस्ट पार्टीको नेताबाट, अकल्पनीय धृष्टता हो । पार्टी अनुशासनका हिसाबले पनि संसद्को विघटनजस्तो मुद्दामा एक्लै निर्णय गर्नु गलत हो । अझ, कम्युनिस्ट पार्टीको अत्यधिक बहुमत भएको संसद्को विघटनलाई कुनै पनि वामपन्थीले उचित ठहर्‍याउन सक्दैन । परिणामस्वरूप पार्टी राजनीतिक रूपमा विभाजित भयो । संसद्को विघटन र पार्टी फुटाइदिने फागुन २३ गतेको अदालती फैसला कुन दुरभिसन्धिको खेल थियो भन्ने कुरा भविष्यमा खुल्दै जाला । कमरेड ओलीले संसद् विघटनको औचित्यबारे जतिसुकै दलिल पेस गरे पनि यो संवैधानिक व्यवस्था रहुन्जेल त्यो दाबी स्थापित हुन सक्दैन ।

३. फागुन २८ को कथित बैठक : अदालतबाट नेकपा (एमाले) र माओवादी केन्द्र बनाइएपछि पनि संसद्मा नेकपा एमालेका १२१ सिट थिए र फेरि कुनै पनि बेला कम्युनिस्ट गठबन्धनको सरकार बन्न सक्थ्यो । कम्तीमा नेकपा एमालेको नेतृत्वको सरकार बन्ने त ग्यारेन्टी नै थियो । ठीक त्यही बेला, ढिलो नगरीकन, हतारहतारमा कमरेड ओलीले आफ्नो गुटको बैठक बोलाएर नेकपा एमालेको केन्द्रीय कमिटी विघटन गरेको र आयोजक कमिटी बनाएको घोषणा गरे । त्यसको अर्थ उनको गुटले पार्टी कब्जा गर्‍यो । त्यसपछि विवाद बढ्दै गएर अन्ततः फेरि संसद्को विघटन र स्वयं एमालेका समेत सांसदहरूद्वारा अदालतमा मुद्दा पुग्यो । लोकतान्त्रिक स्थिरतामाथि अरू खतरा बढ्दै गयो । नेतृत्वबाटै एकपछि अर्को गरी पार्टी विधि, पद्धतिको उल्लंघन हुँदै गयो । यसै क्रममा पार्टी र संसदीय दलको विधानको उल्लंघन गर्दै यो पंक्तिकारसमेत सांसदहरू अदालत पुगे । संक्षेपमा, फागुन २८ गतेको कथित बैठकले नेकपा (एमाले…) लाई फेरि वाम गठबन्धनको नेता बन्ने ठाउँबाट तल झार्‍यो । यस तथ्यलाई पनि कसैले इन्कार गरेको छैन, गर्न सक्दैन ।

४. अध्यादेशमा पार्टी गठन : आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १० बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले सम्भवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् । कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए । त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्नेछैन । ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।

जुवा खेलको पनि समय हुन्छ, नियम हुन्छ भनिन्छ । जब जुवाडेहरूले समय र जुवाका नियमसमेत उल्लंघन गर्छन्, त्यो भोरजुवामा परिणत हुन्छ । यति लामो इतिहास र समृद्ध परम्परा भएको कम्युनिस्ट आन्दोलनका नेताहरूले पार्टीको एकीकरणदेखि विभाजनसम्म जेजस्ता चर्तिकलाको नग्न प्रदर्शन गरे, त्यो प्रकारान्तरले हाम्रो लोकतान्त्रिक स्थिरता, समृद्धि र समाजवाद, कम्युनिस्ट आन्दोलनको भविष्यमाथि खेलिएको भोरजुवा नै थियो । हाम्रो इतिहासमा गरिएका कृत्यहरू कसैले मेटाउन नसक्ने गरी रहिरहनेछन् । यद्यपि एउटा पार्टी विभाजन भएर तीनवटा भैसक्दा पनि उनीहरू नै ती पार्टीका नेता छन् । त्यसको अर्थ के हो भने, यी तीनवटा पार्टी अहिले पनि गम्भीर संकटबाट गुज्रिँदै छन् । तर उनीहरू आफैं पार्टीको अध्यक्ष पदमा नरहेका दिन अरू कसैले ती कृत्यको भारी बोक्न सक्दैन, आज उनीहरूको गुटमा लागेर अरूमाथि गिर खेलिरहेकाहरूले पनि सक्नेछैनन् । संक्षेपमा, आज कम्युनिस्टहरूको यो हालत हुनुमा धेरैको साथ होला तर मुख्य भूमिका अरू कसैको होइन, कम्युनिस्टहरूकै, तिनका नेताहरूकै अयोग्यताले खेलेको छ ।

विभाजनको परिणाम के हुन्छ ?

जुनसुकै बहानाबाजीमा होस्, आजको विभाजनलाई कायमै राखेर कम्युनिस्ट पार्टीको नेतृत्वमा समृद्धि र समाजवादको कुरा गर्नु दुनियाँलाई ढाँट्नु हो । अहिले एकातिर नेपाली कांग्रेसको नेतृत्वमा एमालेको विरुद्ध ‘समृद्धि र समाजवादका लागि’ कमरेड प्रचण्ड–माधव नेपाल परेड खेल्न खोज्दै छन् भने अर्कातर्फ प्रचण्ड–माधवलाई ‘देखाइदिन’ राप्रपा, लोसपा वा समाजमा छुटेफुटेकाहरूको नेतृत्व गर्दै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउन कमरेड ओली लामबन्द हुन खोज्दै छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ती दुई पंक्तिको तनाव बढ्दै जानेछ । कमरेड प्रचण्ड–माधवले ‘एमालेलाई धूलो चटाउन’ सम्पूर्ण सामर्थ्य लगाउनेछन् भने प्रचण्ड–माधवलाई ‘सडकमा ल्याउन’ कमरेड ओलीले आकाश–पाताल गर्नेछन् । दुवैतिर गैरवामपन्थी, कम्युनिस्टविरोधी, चाकरी, पैसा, टिकटको ग्यारेन्टी वा संसदीय निर्वाचनको आश्वासनको प्रभाव बढ्दै जानेछ । ती पार्टीभित्र रहेका वामपन्थीहरू कमजोर बन्नेछन्/बनाइनेछन् । सहमतिको सूची पढेर वा आवश्यकता अनुसार कहीँकहीँ लोकतान्त्रिक अभ्यासको नाटक गरेर आआफ्ना गुटलाई टिकट बाँडिनेछ, सबै गुटमा नयाँ प्रवेशी थैलीवालाहरूको महत्त्व बढ्नेछ । र, कम्युनिस्ट पार्टीका नाममा ती सबै दक्षिणपन्थी बन्दै जानेछन् । स्थानीय तह र संघीय तथा प्रादेशिक तहमा केही अस्तित्व भएसम्म तिनले राज्यका सुविधा पाई नै रहनेछन्, केही थुर्मी सत्ताको चास्नी आफ्नो भागमा पर्नेछ ।

सत्ताधारी दलले ठेक्कापट्टा, नियुक्ति, आसचपु, कमिसनको केही हिस्सा दिइहाल्छ । पार्टी नामको खेलो चलिरहन्छ, गुटका मतियार पाल्न पुगिहाल्छ । पोहोर साल अध्यादेशबाट भएका नियुक्तिमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको भागमा मात्रै होइन, प्रधान न्यायाधीश चोलेन्द्रशमशेरका भागमा समेत बम्पर उपहार परेको उदाहरण छँदै छ । कम्युनिस्ट पार्टीका नाममा बने पनि यसरी बन्ने पार्टी वैचारिक/सैद्धान्तिक रूपमा अर्को कांग्रेस नै हो । यसरी एकअर्कालाई गाली गर्दै दुवै थरीले कम्युनिस्ट आन्दोलनको कांग्रेसीकरण गर्नेछन् । नेताहरूका एजेन्डा, जीवनशैली, पार्टीभित्र र बाहिरका सम्बन्ध, उनीहरूको विचार हेर्दा यो आन्दोलन आधाउधी कांग्रेसजस्तो भैसकेको छ । विभाजन बढाउँदै कार्यकर्तालाई पनि कांग्रेस बनाएपछि यो अझ बढी कांग्रेस बन्दै जान्छ । त्यसपछि फुकुयामाबाट शिक्षित नेपाली उदारवादी बुद्धिजीवीहरूले केही समयसम्म विभिन्न परियोजना अन्तर्गत ‘इतिहासको अन्त्य र अन्तिम मानिस’ शीर्षकवरिपरि लेख–रचनाहरू लेख्नेछन् ।

निर्वाचन परिणाम जेसुकै होला, एउटा कुरा निश्चित छ— कम्युनिस्ट भनेर उभिनेहरूको हुर्मतको धुलाइ हुनेछ । कम्युनिस्टसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने कांग्रेसभित्रको अहिलेको विवाद एक त कांग्रेसको भाग्यले गर्दा कम्युनिस्ट पार्टीको त्यत्रो वर्चस्व हेर्दाहेर्दै धरमराएर ढल्यो भने चुनाव पनि एक्लै जितिन्छ भन्ने सहज विश्वासको उत्पन्न परिणाम हो । दोस्रो, कांग्रेसभित्रै कचिंगल देखाएर प्रचण्ड–माधवलाई तर्साउन र भागबन्डामा निचोर्न सजिलो हुनेछ भन्ने योजना पनि हुन सक्छ । त्यस्तो चलखेलका लागि उनीहरूलाई सुविधा छ । फेरि, एमसीसी कार्यान्वयनको भूअर्थ–राजनीतिक आयाम अबको नेपाली राजनीतिको यथार्थ पनि हो । यस क्रममा, गठबन्धन भत्काउने धन्दामा एमालेले कांग्रेसलाई धेरै सहुलियत दिएर प्रचण्ड–माधवलाई अहिले नै ‘सडकमा ल्याउन’ पनि सक्छ । वा, कांग्रेसले प्रचण्ड–माधवलाई अझ बढी सहुलियत दिएर एमालेलाई ‘साइज’ मा ल्याउन पनि सक्छ । यी सबै अवस्थामा नेपाली कांग्रेस सुरक्षित हुनेछ तर कम्युनिस्ट पार्टी भने सत्यानाशको डिलमा पुग्नेछ ।

एकता सजिलो समाधान

कम्युनिस्ट आन्दोलनमा नेताहरूको स्वार्थ, अहंकार, थिति हराएको, मति हराएको, बिग्रिँदै–भत्किँदै गरेको प्रसंगले पाठकलाई के लाग्न सक्छ भने, यो लेखक स्वयंले निराशाको खेती गर्दै छ । वस्तुतः कुरा त्यसो होइन । यहाँ नेताहरूका कर्मको विवरण मात्रै दिन खोजिएको हो । यसको सम्भावनाको पक्ष धेरै छ र त्यो अझ सजिलो छ । सुरुमै भनिएझैं, कम्युनिस्ट पार्टीहरूले अहिलेको निराशा, कुण्ठा, अनिश्चय, आशंकालाई एकै झड्कामा चिर्न सक्छन् । उल्लेखनीय के छ भने, सत्यानाशको बाटो जति गाह्रो, पट्ट्यारलाग्दो र लामो छ, त्योभन्दा सजिलो र छिटो कम्युनिस्ट पार्टीको पुनरुदयको बाटो छ । एकताको पहिलो पाइलामै वामपन्थीहरूको सरकार बन्न सक्छ, स्थानीय तहमा धेरै राम्रो परिणाम आउन सक्छ । अर्को संसदीय निर्वाचनको परिणामलाई पनि करिब–करिब सुनिश्चित गर्न सक्छ ।

यसै पनि कम्युनिस्ट आन्दोलन नेपाली राजनीतिमा मात्रै होइन, बरु धेरै फराकिलो र गहिराइसम्म पुगेको सामाजिक आन्दोलन हो । कम्युनिस्ट पार्टी र यसका अग्रज नेताहरूले हामीलाई त्यो विरासत दिएर गएका छन् । हामी स्थानीय तहको चुनावको मुखमा छौं । कुनै एउटा कम्युनिस्ट पार्टीले कम्युनिस्ट एकताको आवश्यकता र सम्भावना भन्ने विषयलाई बैठकको एजेन्डा बनाएर छलफल सुरु गर्‍यो भने कम्युनिस्ट एकताले आफ्नो बाटो बनाइहाल्छ । भनिन्छ, जंगलमा बाटो बिराइयो भने सबैभन्दा पहिले जहाँबाट बाटो बिराएको हो, त्यहीँ पुग्नुपर्छ । कम्युनिष्ट पार्टीको विगतका सन्दर्भमा पनि सबैका कमजोरी सुधार्न तयार हुनुपर्छ र वैचारिक/सैद्धान्तिक आधारमा पार्टी एकताका लागि तयार हुनुपर्छ । त्यसलाई स्वीकार गर्नेबित्तिकै समस्या समाधानको राजमार्ग खुलिहाल्छ । पार्टी एकताको कुरा गर्दा नेताले पार्टीबाट कारबाही गर्दैनन् भन्ने मात्रै ग्यारेन्टी हुने हो भने विभाजनमा मालामाल भैरहेको सानो झुन्डबाहेक सबै कम्युनिस्ट एकताको पक्षमा खडा भैहाल्नेछन् । कम्युनिस्ट पार्टीका लाखौं कार्यकर्ता र शुभचिन्तक त्यसको पक्षमा उभिनेछन् ।

अन्यमा, अनेकौं नालायकीका बावजुद आज नेपालका कम्युनिस्टहरूका अगाडि गुमाउन केवल केही नेताको निजी अहंकार छ भने पाउनका लागि कम्युनिस्ट एकता छ, समाजवादी भविष्य छ ।

प्रकाशित : चैत्र १, २०७८ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?