नेपालले कसरी फाइदा लिने ?- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
जलवायु परिवर्तन विशेष

नेपालले कसरी फाइदा लिने ?

ग्रिड रणनीतिको एउटा प्रमुख अंश हरित अर्थतन्त्रमा रोजगारी सिर्जना गर्नु हो, नेपालमा कम्तीमा ४६ अर्ब डलरको हरित लगानी गर्न सकिने अनुमान छ
निकोला पोलिट

जलवायु परिवर्तनलाई सम्बोधन गर्न कदम चाल्नुपर्ने आवश्यकतामाथि कोप–२६ ले संसारको ध्यान केन्द्रित गरेको थियो तर ओमिक्रोनको लहरले जनस्वास्थ्य र अर्थतन्त्रमा ल्याएका चुनौती र आसन्न निर्वाचनसँगै नेपालका अरू पनि प्राथमिकता छन् ।


नेताहरू ग्लास्गोमा भेटेर कार्बन उत्सर्जन घटाउने र अनुकूलनका प्रयासहरू बढाउने प्रतिबद्धता गरेको पनि धेरै अगाडि जस्तो लाग्छ । बेलायतले त्यो कार्यक्रम आयोजना गरेपछि मात्र साढे सात अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भइसकेको छ, जसले विश्वव्यापी तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडमा सीमित गर्ने हाम्रो लक्ष्य हासिल गर्न अझ गाह्रो बनाउनेछ । जलवायु परिवर्तनको प्रभाव साँच्चै परिरहेको छ, जुन मैले भर्खरै मुगुको भ्रमणमा जाँदा दुर्गम क्षेत्रका समुदायसँगको भेटबाट थाहा पाएँ । त्यसैले कोप–२६ मा थुप्रै देशले प्रतिबद्धता देखाएको जलवायुसम्बन्धी महत्त्वाकांक्षी लक्ष्य प्राप्त गर्नमा ध्यान केन्द्रित गर्नु महत्त्वपूर्ण छ ।

यी प्रतिबद्धताहरू पूरा गर्न सजिलो छैन । नेपालमा धेरै चुनौती पनि छन् । त्यसैले विद्यमान दायित्व नै धेरै भएको नेपालले जलवायुसम्बन्धी थप प्रतिबद्धता कसरी लिन सक्छ ? भन्ने प्रश्न उठ्न सक्छ । यसमा मेरो जवाफ यो प्रश्न हो– नेपालले आफ्नो पर्याप्त

हरित वृद्धि र हरित रोजगारीको सम्भावनाको फाइदा किन नउठाउने ?
नेपालले कोप–२६ मा गरेका जलवायुसम्बन्धी प्रतिबद्धता कसरी सही छन् भनेर विश्लेषण गर्नु उपयुक्त हुन्छ । नेपालमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न चाहने जो कसैले पनि यी के हुन्, किन अर्थपूर्ण छन् भनेर बुझ्नुपर्छ । र, नेपाल सरकारलाई यी प्रतिबद्धता पूरा गर्न सघाउनुपर्छ ।

कोप–२६ का प्रतिबद्धता : १. नेपालले सन् २०२२–२०४५ मा शून्य कार्बन उत्सर्जन गर्नेछ र त्यसपछि कार्बन नकारात्मक हुनेछ अरू देशको तुलनामा नेपालको खनिज इन्धनबाट हुने उत्सर्जन निकै कम छ र वनको कार्बन सञ्चिति पनि जोड्ने हो भने नकारात्मक नै छ । तर त्यो निकै द्रुत गतिमा अर्थात् प्रतिवर्ष ७ प्रतिशतले बढिरहेको छ । तेल, ग्यास, कोइला र कोइलाबाट निकालिएको विद्युत्को बढ्दो आयातले यो दरलाई बढाइरहेको छ– यस वर्ष मात्र नेपालले २ अर्ब अमेरिकी डलरभन्दा बढीको सामग्री आयात गरेको छ । तर, परिस्थिति चाँडै बदलिइरहेको छ ।

नयाँ जलविद्युत् आयोजनाहरू प्रसारण लाइनमा जोडिँदै छन् र सौर्य ऊर्जा पनि किफायती बन्दै गएको छ । यसले सुक्खायाममा नदीमा पानी घट्दा जलविद्युत्मा आउने कमी पूरा गर्न मद्दत गर्छन् । उद्योग, खाना पकाउन र यातायातमा चाँडै सफा ऊर्जाको प्रयोग बढाउन सकियो भने खनिज इन्धनबाट भइरहेको उत्सर्जनको वृद्धिलाई उल्ट्याउन पनि सकिन्छ । नेपाल अहिले आफ्ना क्षेत्रीय छिमेकीहरूसँग सफा ऊर्जाको व्यापार गर्ने स्थानमा पनि पुगेको छ र यो व्यापार प्रतिवर्ष ९ अर्ब बराबरको हुन सक्छ । त्यसैले नेपालले कोप–२६ मा ‘पावरिङ पास्ट कोल एन्ड ग्रिनिङ द ग्रिड इनिसिएटिभ’ नाम गरेको पहलमा हस्ताक्षर गरेको छ, जसले खनिज इन्धनको प्रयोग घटाउने र सफा ऊर्जा बढाउने उद्देश्य राखेको छ । यूकेले नेपाललाई यी पहल अघि बढाएर ऊर्जा व्यापार बढाउँदै कोइला, एलपीजी ग्यास र दाउराको सट्टा सफा जल र सौर्य ऊर्जाको प्रयोग बढाउन सघाइरहेको छ ।

प्रतिबद्धता २. सन् २०३० सम्ममा वन विनाश रोक्ने र वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याउने विश्व प्रसिद्ध सामुदायिक वनसमेत गरेर नेपालको ४२ प्रतिशत क्षेत्रमा वन छ । यी वनले उल्लेख्य मात्रामा कार्बन शोषण गरेका छन्, जसले गर्दा नेपालले खनिज तेलको प्रयोगबाट गरेको प्रदूषित उत्सर्जन सन्तुलन भएको पछिल्ला अनुसन्धानले देखाएका छन् । उत्सर्जनको दृष्टिकोणबाट मात्र नभएर अर्थतन्त्र, उत्थानशीलता र वातावरणको दृष्टिकोणबाट पनि यो राम्रो कुरा हो । वनमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा दिगो रूपले १५ प्रतिशत योगदान दिने र ९ प्रतिशत रोजगारी सिर्जना गर्ने सम्भावना पनि छ । यसका साथै, नेपालका वन जैविक विविधतामा धनी छन्, जसले पर्यटक आकर्षित गर्छन्, जो कोभिड–१९ को महामारीपछि फर्केर नेपालको कुल गार्हस्थ्य उत्पादनमा योगदान दिनेछन् भन्ने हामी आशा गर्छौं । नेपालका वनले जलाधार कायम राख्न, भिरालो जमिनलाई स्थिर राख्न र जीविकोपार्जनलाई सहयोग गर्न पनि मद्दत गर्छन् । त्यसैले कोप–२६ मा नेपालले वन विनाश रोक्ने प्रतिबद्धता देखाएको छ, जसले निजगढ विमानस्थलको स्थान र लिफ कार्यक्रमजस्ता महत्त्वपूर्ण प्राथमिक वन क्षेत्रमा विशेष महत्त्व राख्छन् । वनजंगलमा लगानी बढाएर उत्सर्जन घटाउने लिफ (लोवरिङ एमिसन्स बाइ एक्सेलेरिटिङ फरेस्ट फाइनान्स) कार्यक्रमबाट नेपालले वन संरक्षणबापत कार्बन भुक्तानीका रूपमा ३० करोड डलर पाउनेछ ।

कोप–२६ प्रतिबद्धता : ३. सन् २०३० सम्ममा जोखिममा रहेका सबै मानिस जलवायु परिवर्तनबाट सुरक्षित रहेको सुनिश्चित गर्ने मनसुनी अतिवृष्टि, पहिरो, उष्णलहर, खडेरीजस्ता जलवायु परिवर्तनका कारण हुने चरम घटनाबाट नेपाल जोखिममा छ । झन्डै ६० प्रतिशत जनसंख्या जोखिममा छन् । यी प्रवृत्ति र चरम घटनाका कारण नेपालले प्रत्येक वर्ष कुल गार्हस्थ्य उत्पादनको २–३ प्रतिशत गुमाइरहेको छ र हालको प्रवृत्ति कायम रहेमा सन् २०५० सम्ममा यो १३ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।

यी घाटाहरू अवश्यम्भावी होइनन् । यिनको सम्बोधन गर्न नेपालले प्रभाव न्यूनीकरण गर्न र मानिसहरूलाई चाँडै पुरानो अवस्थामा फर्किन सघाउनमा लगानी गर्नुपर्ने हुन्छ । नेपालले अवश्यम्भावी तापमान वृद्धि र मौसम परिवर्तनको सामना गर्नका लागि समुदायहरूलाई अनुकूलन गर्न सघाउनमा लगानी गर्नुपर्छ । नेपालले विपद् जोखिम न्यूनीकरणमा पनि लगानी गर्नुपर्छ । यसअन्तर्गत अझ राम्रो पूर्वानुमान गर्ने प्रविधि, चाँडै चेतावनी दिने प्रणाली र पूर्वाधारको सुरक्षा पर्छन् । जस्तै– सडकमा पानीको निकास र भिरालो ठाउँको सुरक्षामा सुधार गर्ने ।

अझ राम्रो तयारी गर्नका लागि र प्रतिक्रिया दिनका लागि स्थानीय सरकारलाई सहयोग आवश्यक छ । यी लगानीले जीवन, जीविकोपार्जन र लगानी जोगाउने कुरा प्रमाणित भइसकेको छ– १ डलर खर्च गर्दा २.७ डलर जोगिएको पाइएको छ । जलवायु परिवर्तनका सबै प्रभावहरू रोक्न असम्भव भएको र सबैभन्दा जोखिममा रहेका मानिस धेरै प्रभावित हुने हामीलाई थाहा छ, जुन दुःखको कुरा हो । प्रतिक्रियाको गति र उपयुक्तताले मानिसहरू फेरि पुरानै अवस्थामा फर्किन लाग्ने समयलाई उल्लेख्य रूपमा प्रभाव पार्ने पनि प्रमाणहरूले देखाएका छन् । त्यसैले नेपालले जोखिममा रहेका मानिसलाई अझ राम्रोसँग सुरक्षा दिनका लागि आघात–प्रतिरोधी सामाजिक सुरक्षा, आघात बिमा र स्थानीय सरकार र नागरिक समाजको क्षमतामा लगानी गर्नु आवश्यक छ ।

यी महत्त्वाकांक्षी प्रतिबद्धताका लागि नेपाललाई पुरस्कृत गरिनुपर्छ तर यी तीनवटै प्रतिबद्धतामा एउटा कुरा साझा छ– लगानीको आवश्यकता । नेपालको राष्ट्रिय अनुकूलन योजना, वन मूल्यांकन र उत्सर्जन न्यूनीकरणको दीर्घकालीन रणनीतिले नेपाललाई सन् २०२१–२०५० मा अनुकूलनका लागि ४७ अर्ब ४० करोड डलर र न्यूनीकरणका लागि १ खर्ब ९६ अर्ब १० करोड डलर आवश्यक पर्ने देखाएका छन् ।

यी रकमको परिमाणले नेपालको अर्थतन्त्र अब हरित, उत्थानशील र समावेशीमा परिणत हुनुपर्ने देखाउँछन् । नेपाल सरकारले यी प्रतिबद्धतालाई साकार पार्न लगानीको स्रोतको पहिचान गर्नका लागि ग्रिड कार्ययोजना बनाइरहेको छ । काठमाडौं घोषणापत्रमा नेपालका १४ विकास साझेदारले आगामी ५–७ वर्षमा ४ अर्ब २० करोड लगानी गर्ने प्रतिबद्धता जनाइसकेका छन् । नेपाल सरकार पनि उत्तिकै प्रतिबद्ध छ र सफा ऊर्जा, उत्थानशील पूर्वाधार, वन र दिगो पर्यटनका लागि आफ्नै बजेटमा स्रोतहरू पहिचान गरिसकेको मेरो जानकारीमा छ ।

तर अझ बढी लगानी आवश्यक छ । त्यसैले ग्रिड रणनीतिको एउटा प्रमुख अंश निजी क्षेत्रमा उल्लेख्य लगानी सिर्जना गर्नु र हरित अर्थतन्त्रमा रोजगारी सिर्जना गर्नु हो । निजी क्षेत्रको लगानीबिना नेपालको महत्त्वपूर्ण लक्ष्य प्राप्त हुन सक्दैन । नेपालमा कम्तीमा पनि ४६ अर्ब डलर बराबरको हरित लगानी गर्न सकिने अनुमान छ, जसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उल्लेख्य चासो हुन सक्छ तर यस्ता कामका लागि विद्यमान अवरोधहरू हट्न सकेमा मात्रै यो लगानी आउँछ । जस्तै– परियोजनाको स्वीकृति ढिलो दिने प्रवृत्ति, शुल्क र करमा अस्पष्टता र अन्तर्राष्ट्रिय लगानीकर्तामाथिका बन्देज । लगानी बोर्डलाई सुदृढ बनाउन, यीमध्ये केही चुनौतीको सम्बोधन गरेर हरित लगानीलाई प्रोत्साहित गर्न र थप लगानी परिचालन गर्नका लागि निजी क्षेत्रसँग नयाँ साझेदारी निर्माण गर्नका लागि यूकेले नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा नेपाललाई सहयोग गर्नका लागि यूकेले ५० करोड डलर लगानी गरिसकेको छ । यसैमा थप्दै, नेपाललाई जलवायु परिवर्तनसम्बन्धी आफ्ना सबै प्रतिबद्धता पूरा गर्न सघाउनका लागि हामीले नयाँ परियोजना र नीति निर्माण गरिरहेका छौं । यसअन्तर्गत नेपालमा ग्रिड कार्यक्रमका लागि ३० करोड डलरसम्मको यूकेको सहयोग हुनेछ । हामी अरूलाई पनि त्यस्तै गर्न आग्रह गर्छौं ।

(पोलिट नेपालका लागि बेलायती राजदूत हुन् ।)

प्रकाशित : फाल्गुन ७, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्

नेपालका मुद्दा र अन्तर्राष्ट्रिय प्रतिबद्धता

अहिलेकै जस्तो तापमान वृद्धि निरन्तर भइरहे ३० वर्षभित्रमा यसको असर हाम्रो कुल गार्हस्थ्य उत्पादनमा १७ प्रतिशत हाराहारी र शताब्दीको अन्त्यसम्ममा ६५ प्रतिशतसम्म पुग्ने आकलन
मञ्जित ढकाल

अझै पनि छलफलहरूमा जलवायु परिवर्तन अन्तर्राष्ट्रिय मुद्दा भएकाले यसमा हाम्रो जिम्मेवारी खासै केही नहुने भन्दै अरूलाई दोष थुपार्ने र जिम्मेवारीबाट पन्छिने विचार प्रस्तुत हुन्छन् । दशक अघिदेखि नै यस विषयप्रतिको हाम्रो बुझाइ र सिकाइमा केही कमजोरी रह्यो । अरूलाई दोष थुपार्ने प्रवृत्तिकै कारण यो विषयको गहिराइमा पुग्ने र हाम्रो परिवेशअनुसार बुझ्ने अवसरबाट हामी वञ्चित भयौं । समयमा पानी नपर्दा वा एकै पटक ठूलो पानी पर्दा किसानले भोग्नुपरेको दुःख होस् वा स्वच्छ ऊर्जा उत्पादनबाट हुने दूरगामी फाइदाका बारेमा विश्लेषण नै भएनन् । जसले गर्दा नेपाली समाजले यसलाई सहायक विषय वा समस्याका रूपमा मात्रै चित्रित गर्‍यौं ।

दशकौंअघि हामी राज्य व्यवस्थामा राजनीतिक परिवर्तन र प्रजातन्त्र स्थापनाका लागि लडिरहेका बेला विश्व जगत् जलवायु परिवर्तनका समस्या समाधान गर्न साझा धारणा बनाउनेबारे कूटनीतिक र वैज्ञानिक स्तरका छलफलमा केन्द्रित थियो । नेपालमा प्रजातन्त्र स्थापना भएकै वर्ष ०४८ को अन्त्यतिर (सन् १९९२) ब्राजिलको रियो दि जेनेरियोमा आयोजित पृथ्वी सम्मेलनमार्फत वातावरण संरक्षण र जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्न विशेष अन्तर्राष्ट्रिय महासन्धिहरू अनुमोदन भए ।

नेपालले ०५१ सालमा संसद्बाट जलवायु परिवर्तन महासन्धि अनुमोदन गर्‍यो । यसको एक दशकपछि (०६१ मा) नेपालले पहिलो पटक जलवायु परिवर्तनसम्बन्धी सञ्चार प्रतिवेदन संयुक्त राष्ट्रसंघमा बुझाएको थियो । पछि राजाको प्रत्यक्ष शासनकाल (२०६२) मा नेपालले जलवायु परिवर्तनसम्बन्धी क्योटो महासन्धि मन्त्रीस्तरीय निर्णयबाट अनुमोदन भयो । यहाँसम्म आइपुग्दा नेपालले अन्तर्राष्ट्रिय महासन्धिहरूले निर्दिष्ट गरेका विषयमा चासो राखे पनि जलवायु परिवर्तनकेन्द्रित छुट्टै नीति बनाएन ।

हाल नेपालमा जलवायु परिवर्तनसम्बन्धी छुट्टै नीति छ । विगत दुई दशकमा नेपालले यसबारे भए/गरेका क्रियाकलापलाई समेटेर तीनवटा सञ्चार प्रतिवेदन संयुक्त राष्ट्रसंघमा बुझाइसकेको छ । जलवायु परिवर्तनको मुख्य कारक रहेको कार्बन उत्सर्जन घटाउने र प्रभावसँग जुध्ने अनुकूलनसम्बन्धी मध्यकालीन र दीर्घकालीन योजना बनिसकेका छन् । वार्षिक बजेटमा जलवायु परिवर्तनसम्बन्धी विनियोजित रकमलाई रेकड गर्ने छुट्टै बजेट कोडको व्यवस्था छ । अन्तर्राष्ट्रिय हरित जलवायु कोषबाट कुनै मध्यस्थकर्ताबेगरै नेपाली संस्थाले सिधै आर्थिक सहयोग प्राप्त गर्न सक्ने पूर्वाधार तयार भइसकेको छ । विश्वविद्यालयहरूले जलवायु परिवर्तनसम्बन्धी विषय अध्ययन गराउन थालेको पनि धेरै वर्ष भइसकेको छ ।

यससँगै प्रभावकारी समन्वयका लागि संघमा प्रधानमन्त्रीको अध्यक्षतामा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद् र प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रादेशिक समन्वय समितिको व्यवस्था गरिएको छ । काम गर्नका लागि सबै पूर्वाधार हामीसँग भए पनि यसलाई आवाश्यकताअनुसार परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ । यी नीति तथा योजनाको कार्यान्वयन र समन्वय समितिको प्रभावकारी परिचालनबाट जलवायु परिवर्तनसम्बन्धी तत्काल गर्नुपर्ने र दीर्घकालीन महत्त्वका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता छ ।

राजनीतिक बेवास्ता

पछिल्लो समय जलवायु परिवर्तनको क्षेत्रमा, विशेषगरी अध्ययन–अनुसन्धान र नीति–निर्माणमा धेरै उपलब्धिहरू भए पनि नेपालको राजनीतिक वृत्तमा यो विषयले खासै प्राथमिकता पाउन सकेको छैन । यसो हुनुको कारण सम्बन्धित विषय विज्ञहरूले यसको प्राविधिक पक्षलाई सरलीकरण गर्न नसक्नु र सामाजिक–आर्थिक पक्षका बारेमा कम विश्लेषण गरिनु हो । साथै हाम्रो राजनीतिक नेतृत्वको बुझाइको स्तर र यस्ता दूरगामी महत्त्वका विषयमा चिन्तन गर्ने संस्कृतिको अभाव पनि उत्तिकै जिम्मेवार देखिन्छ ।

नेपालको अर्थतन्त्रमा मुख्य योगदान पुर्‍याउने कृषि, जलविद्युत्, पर्यटनजस्ता क्षेत्रमा जलवायु परिवर्तनको असर प्रत्यक्ष रूपमा परिरहेको छ । तापमान वृद्धिलाई नियन्त्रण गर्न जति ढिला हुन्छ, जलवायुजन्य प्रकोप र क्षतिहरू त्यति नै बढ्दै जान्छन् र यससँग जुध्न आवश्यक स्रोत पनि त्यही अनुरूप धेरै चाहिन्छ । जलवायु परिवर्तनका कारण अहिलेकै जस्तो तापमान वृद्धि निरन्तर भइरहे आगामी ३० वर्षभित्रमा यसको असर हाम्रो कुल गार्हस्थ्य उत्पादनमा १७ प्रतिशत हाराहारीमा र शताब्दीको अन्त्यसम्ममा ६५ प्रतिशतसम्म पुग्ने आकलन छ । यसरी देशको कुल गार्हस्थ्य उत्पादनमा मुख्य योगदान पुर्‍याउने क्षेत्रहरूमा प्रत्यक्ष असर परिरहँदा र भविष्यमा अझ बढ्दै जाने अध्ययनहरूले भनिसकेको अवस्थामा पनि राजनीतिक नेतृत्वले यो विषयमा गम्भीरता प्रकट नगर्नु दुःखद हो ।

उच्चस्तरीय प्रतिबद्धता

संयुक्त राष्ट्रसंघअन्तर्गतका अन्तर्राष्ट्रिय मञ्चहरूमा हालसम्म तीन पटक नेपालको उच्चस्तरीय सहभागिता भइसकेको छ । ०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, ०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारी र यसै वर्ष प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको थियो ।

०६६ मा डेनमार्कको कोपनहेगनमा भएको पन्ध्रौं सम्मेलनमा जानुअघि सगरमाथाको आधारशिविर कालापत्थरमा मन्त्रिपरिषद् बैठक आयोजना गरेर नेपालले अन्तर्राष्ट्रियस्तरमा विशेष चर्चा पाएको थियो । कार्बन उत्सर्जनको हिसाबले नेपालको योगदान कम भए पनि अन्तर्राष्ट्रिय वार्ताहरूमा यही समयबाट नेपालले पनि सक्नेजति पहलकदमी लिने र पृथ्वीको औसत तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्ने प्रतिबद्धता अनुमोदन गरेको थियो । ०७५ मा पोल्यान्डमा भएको राष्ट्रप्रमुखको पहिलो उपस्थितिले जलवायु परिवर्तनसम्बन्धी विषयमा नेपालको उच्च प्राथमिकता रहेको प्रकट भएको थियो ।

यस पटक ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधनमा अरूबाट आस गर्नेभन्दा पनि के गर्न सक्छ भन्ने सन्देश धेरै थियो । सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्त गर्ने, सन् २०३० सम्ममा १५ हजार मेगावाट स्वच्छ ऊर्जा उत्पादन गर्ने र वनको क्षेत्रफल ४५ प्रतिशत पुर्‍याउनेलगायतका घोषणाले जलवायु परिवर्तनका क्षेत्रमा नेपाल नेतृत्वदायी भूमिका लिन अग्रसर भएको प्रमाणित गर्‍यो ।

फरक ट्र्याक

हामीले राष्ट्रिय–अन्तर्राष्ट्रिय छलफलहरूमा लामो समयसम्म जलवायु परिवर्तनले पार्ने असरबारेका विषय उठान गर्‍यौं । हाम्रो भौगोलिक बनोट र आर्थिक अवस्थाका कारण जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा हामीलाई अरूभन्दा धेरै मार परेको कुरामा शंका रहेन । तर, अबका छलफलमा हामीले के–कस्ता अवसर लिन सक्छौं ? अन्य देशले गरेको जस्तो गल्ती नदोहोर्‍याउन के गर्नुपर्छ ? उपलब्ध स्रोत, साधन र प्रविधिको प्रयोगबाट कसरी दीर्घकालीन फाइदा लिन सकिन्छ ? भन्ने विषयहरूमा केन्द्रित हुन जरुरी छ ।

जलवायु परिवर्तन गराउने मुख्य कारक कार्बन उत्सर्जनका हिसाबले नेपालको योगदान न्यून छ तर सही नीति अवलम्बन नगरी पुरानै ढाँचाको कार्बनकेन्द्रित विकास अवलम्बन गरिरहने हो भने क्रमिक रूपमा हाम्रो पनि कार्बन उत्सर्जन बढ्दै जाने निश्चित छ । यसरी अर्थतन्त्र गलत दिशामा गएपछि फेरि ट्र्याकमा ल्याउन अत्यन्त खर्चिलो हुन्छ । अहिले धेरै विकसित मुलुकलाई परेको अप्ठ्यारो पनि यही हो । त्यसैले उनीहरू कार्बन उत्सर्जन घटाउन आनाकानी गरिरहेका हुन्छन् ।

विकासका योजनामा जलवायुको प्रभाव मूल्यांकन गरी जलवायुमैत्री विकासको बाटो अपनाउँदा वा जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यास उत्पादन कम गर्दा हाम्रो अर्थतन्त्रलाई सहयोग नै पुग्ने देखिन्छ । उदाहरणका लागि हाम्रो कुल आयातको ३३ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । जुन देशले गर्ने कुल निर्यातभन्दा दोब्बरजस्तो छ । यस आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै एक खर्बको पेट्रोलियम पदार्थ आयात भइसकेको छ । एकातिर हामीसँग जलविद्युत्बाट उत्पादन भएको ऊर्जा बढी भइरहेको छ भने अर्कातिर पेट्रोलियम पदार्थको आयात उसैगरी बढिरहेको छ ।

त्यसैगरी विकास निर्माणका योजना बनाउँदा जलवायु परिवर्तनका आर्थिक र प्राविधिक पक्षलाई पनि लेखाजोखा गर्ने परिपाटीको विकास हुन सके, त्यस्ता पूर्वाधारहरूले दीर्घकालीन प्रतिफल दिन सक्छन् । साथै, दीर्घकालीन आर्थिक फाइदाका लागि कस्ता क्षेत्रमा लगानी गर्ने, कस्तामा नगर्ने भन्नेमा पनि प्रस्ट हुन जरुरी छ । जस्तै : विद्युतीय सवारीको विकास द्रुत गतिमा भइरहेका बेला चार्जिङ स्टेसनमा लगानी गर्नुका सट्टा पेट्रोलियम पाइप लाइनमा लगानी गरे त्यस्तो लगानीको प्रतिफल पाउन सकिँदैन ।

विकासको दौडमा हामी केही पछि रहे पनि अन्य देशले गरेको गल्तीबाट सिक्ने अवसर छ । हामीले विकासको एउटा चरण पार गरेपछि फेरि पछाडि फर्किनु नपरोस् । साथै हामीले निर्माण गरेका पूर्वाधारहरू परिवर्तित जलवायुसँग जुध्न सक्ने होऊन्, जसको उपयोग आउँदो पुस्ताले समेत गर्न पाऊन् ।

प्रकाशित : फाल्गुन ७, २०७८ १२:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×