१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्थानीय तहमा महिला प्रतिनिधित्वको सशक्तीकरण

राजनीतिक दलहरूले लैंगिक समावेशितामा अर्थपूर्ण प्रगति चाहने हो भने, नेतृत्वदायी पदमा महिलाको संख्या बढाउनु जरुरी छ र मनोनयन प्रक्रियामा इच्छुक महिलाहरूले भोग्नुपर्ने झन्झटिला अवरोध पनि हटाउनुपर्ने हुन्छ ।

राणा शासनको अन्त्यपश्चात् विक्रम संवत् २०१० मा भएको काठमाडौं नगरको निर्वाचनमा साधनादेवी प्रधानले नेपालको पहिलो स्थानीय महिला जनप्रतिनिधिका रूपमा इतिहास रचेकी थिइन् । त्यस बेलादेखिको प्रगतिलाई नियाल्दा, नेपालको राजनीतिमा नेपाली महिलाहरूले मध्यम स्तरको उपलब्धि मात्र हासिल गरेको देखिन्छ ।

स्थानीय तहमा महिला प्रतिनिधित्वको सशक्तीकरण

२०४९ मा भएको स्थानीय निर्वाचनमा प्रत्येक २०० जना निर्वाचित जनप्रतिनिधिहरूमध्ये केवल १ महिला थिए । योभन्दा ठूलो उपलब्धि २०५४ को निर्वाचनमा हासिल भयो । सो स्थानीय निर्वाचनमा २१ प्रतिशत निर्वाचित प्रतिनिधिहरू महिला थिए । २०७४ मा भएको संघीय संरचना अन्तर्गतको नेपालको पहिलो स्थानीय तहको निर्वाचनमा मुख्यतया आरक्षणको प्रावधानका कारण पालिका र वडा स्तरमा महिलाहरूको प्रतिनिधित्व बढेर ४१ प्रतिशत पुगेको थियो ।

]आउँदो २०७९ को स्थानीय तहको निर्वाचन हालसम्मका उपलब्धिहरूलाई अझ बढोत्तरी गर्ने राम्रो अवसर हुने देखिन्छ । २०७४ को निर्वाचनमा लैंगिक समावेशितामा उल्लेखनीय उपलब्धि हासिल गरिएको भए पनि महिला राजनीतिकर्मीहरूको पदानुक्रम पुरुष राजनीतिकर्मीहरूका तुलनामा निम्न स्तरमा देखिन्छ । नेपालको संविधानले राजनीतिक दलहरूलाई पालिकाप्रमुख (मेयर) र उपप्रमुखको उम्मेदवारमा कम्तीमा एक महिला हुनुपर्ने प्रावधान राखेको छ । संवैधानिक प्रावधान यस्तो भए पनि, २०७४ को निर्वाचनमा प्रायः दलले पालिकाप्रमुखको भूमिकामा पुरुषलाई र उपप्रमुखको भूमिकामा महिलालाई उम्मेदवार बनाए । परिणामस्वरूप ७५३ पालिकामध्ये केवल १८ वटामा महिला पालिकाप्रमुख (मेयर) निर्वाचित भए । वडाध्यक्षहरूका हकमा पनि, जहाँ कोटा प्रणाली छैन, त्यहाँ महिलाहरूको प्रतिनिधित्व न्यून छ र यसलाई संख्यामा हेर्दा, ६४७३ वडाध्यक्षमध्ये केवल ६२ जना महिला छन् ।

नेतृत्वदायी भूमिकामा महिलाहरूको निकै न्यून प्रतिनिधित्वले कोटा प्रणालीको डिजाइनका साथसाथै राजनीतिक दलहरूले उम्मेदवार चयन गर्ने परिपाटीलाई प्रतिविम्बित गर्छ । सबै दलको महिला प्रतिनिधित्वको औसत हेर्ने हो भने, २०७४ को स्थानीय तहको निर्वाचनमा पालिकाप्रमुखमा केवल ६ प्रतिशत र वडाध्यक्षमा ३.३ प्रतिशत उम्मेदवार महिला थिए ।

के यो परिपाटी २०७९ मा परिवर्तन होला ? अहिले ठूलो संख्यामा महिला राजनीतिकर्मीले पालिका उपप्रमुख र वडा सदस्यका रूपमा काम गरेको ठोस अनुभव लिएका छन् र अब आउँदो निर्वाचनमा माथिल्ला पदमा प्रतिस्पर्धा गर्न इच्छुक छन् । २०७७ को चैतमा हाम्रो अनुसन्धान टोलीले देशैभरिका स्थानीय तहका जनप्रतिनिधिहरूबीच एउटा सर्वेक्षण गरेको थियो, जसमा हामीले कुरा गरेका ७०२ पालिका उपप्रमुखहरूमध्ये ४६.६ प्रतिशतले आउँदो स्थानीय निर्वाचनमा पालिकाप्रमुख (मेयर/अध्यक्ष) पदका लागि निर्वाचनमा उत्रने मनसाय व्यक्त गरेका थिए । अन्य ४० प्रतिशत पालिका उपप्रमुखहरूले मेयर/अध्यक्ष पदका लागि निर्वाचनमा भाग लिने वा नलिने भन्नेबारे निर्णय लिइसकेका थिएनन् । यसले मेयर पदमा दाबी गर्ने उपप्रमुखहरू ४६.६ प्रतिशतभन्दा पनि बढी हुन सक्ने जनाउँछ ।

त्यसका अलावा, काठमाडौं विश्वविद्यालय, इन्टरडिसिप्लिनरी एनालिस्ट तथा एसिया फाउन्डेसनले सन् २०१८ र २०२० मा गरेको नागरिक सर्वेक्षणले नेपालमा महिला प्रतिनिधिहरू आ–आफ्ना निर्वाचन क्षेत्रमा नागरिकहरूको विश्वास जित्न सफल भएको दर्साएको छ । सन् २०१८ को सर्वेक्षणमा केवल ७३ प्रतिशत नागरिकहरूले पालिका उपप्रमुखले नेतृत्व गर्ने ‘न्यायिक समिति’ प्रति विश्वास जनाएका थिए भने सन् २०२० मा यो संख्या बढेर ८०.६ प्रतिशत भएको थियो । भलै यो सर्वेक्षणमा उपप्रमुखहरूमाथि विश्वास छ कि छैन भनी सोझै प्रश्न गरिएको थिएन । पालिकाप्रमुख (मेयर/अध्यक्ष) माथि नागरिकहरूको विश्वासचाहिँ सन् २०१८ (८१.८ प्रतिशत) र सन् २०२० (८०.६ प्रतिशत) बीच बढेको देखिँदैन, यद्यपि पालिकाप्रमुखमाथि नागरिकहरूको विश्वास चाहिँ धेरै देखिन्छ ।

यी तथ्यहरूले महिलाहरू आउँदो निर्वाचनमा माथिल्लो पदका लागि पक्का अगाडि आउँछन् भनी सुनिश्चित भने गर्न सक्दैनन् । राजनीतिमा लैंगिक कोटा प्रणाली लागू भएका मुलुकहरूको इतिहास हेर्दा, लैंगिक कोटामा आधारित पद ग्रहण गरेपछि महिलाहरूलाई उच्च नेतृत्वमा जान चुनौतीपूर्ण हुने गरेको देखिएको छ । स्पेनमा स्थानीय निर्वाचनका उम्मेदवारहरूमध्ये कम्तीमा ४० प्रतिशत महिला हुनुपर्ने प्रावधान सन् २००७ देखि लागू भयो, तर म्यानुअल बगेस र पामेला काम्पाले सन् २०२१ मा गरेको अध्ययनमा यस्तो लैंगिक कोटा प्रणालीले महिलाहरूलाई उच्च, प्रभावशाली र गैर–आरक्षित पदसम्म लैजान (जस्तै, पार्टीनेता वा पालिकाप्रमुख) अरू तीनवटा निर्वाचनमा पनि त्यति टेवा नपुर्‍याएको पाइएको छ ।

यसर्थ आउँदो स्थानीय तह निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व बढाउन राजनीतिक दलहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ । सर्वप्रथम, राजनीतिक दलको वडा कमिटीले वडाध्यक्षका लागि र पालिका कमिटीले पालिकाप्रमुख (मेयर/अध्यक्ष) का लागि नामहरू सिफारिस गर्दा महिला आकांक्षीहरूले त्यो पाउन सक्ने वातावरण बनाउनु अत्यावश्यक छ । २०७४ को निर्वाचनलाई हेर्ने हो भने, एकदमै न्यून संख्यामा महिलाहरू मेयर र वडाध्यक्ष पदका लागि सिफारिस भएका थिए । हाम्रो अनुसन्धान टोलीले सर्वेक्षण गरेका भूकम्प अति प्रभावित १४ जिल्लाको तथ्यांक हेर्ने हो भने मेयर र वडाध्यक्ष पदमा सिफारिस भएकाहरूमा क्रमशः ३.२ प्रतिशत र २ प्रतिशत मात्र महिला थिए । राजनीतिक दलहरूले लैंगिक समावेशितामा अर्थपूर्ण प्रगति चाहने हो भने, नेतृत्वदायी पदमा महिलाको संख्या बढाउनु जरुरी छ र मनोनयन प्रक्रियामा इच्छुक महिलाहरूले भोग्नुपर्ने झन्झटिला अवरोध पनि हटाउनुपर्ने हुन्छ ।

सम्बन्धित समितिबाट सिफारिस हुनु त पहिलो चरण मात्र हो । महिलाहरूले टिकट पाउनका लागि राजनीतिक दलहरूको आन्तरिक छनोट समितिहरूले सो निर्णय लिनुपर्छ । यदि आन्तरिक छनोट प्रक्रियामा बलियो महिला आवाज नभए महिलाहरूले टिकट पाउने सम्भावना घटेर जान्छ । यसको अर्थ उम्मेदवार छनोट समितिहरूमा महिलाहरूको अर्थपूर्ण र प्रभावकारी भूमिका सुनिश्चित गर्नु आवश्यक छ । २०७४ को स्थानीय निर्वाचनको डाटा प्रयोग गरी हामीले गरेको अनुसन्धानले पनि पार्टीको आन्तरिक छनोट समितिको अत्यधिक महत्त्वलाई दर्साएको छ । यसै समितिले चुनावी दौडमा कसलाई उतार्ने भन्ने निर्धारण गर्छ । उम्मेदवार छनोट प्रक्रियाको अद्वितीय महत्त्व भएकाले महिला समावेशिताको मुद्दामा उपलब्धि हासिल गर्नका लागि छनोट समितिका सदस्यहरूलाई महिला आकांक्षीहरूप्रति सकारात्मक धारणा राख्न प्रोत्साहित गर्नुका साथै यी समितिहरूको संरचना महिला आवाज सशक्त हुने गरी परिमार्जन गर्न जरुरी छ ।

२०७४ को स्थानीय निर्वाचन सकिएलगत्तै, हाम्रो अनुसन्धान टोलीले भूकम्प अति प्रभावित ११ जिल्लामा प्रमुख राजनीतिक दलहरूका उम्मेदवार छनोट समितिका लगभग १००० सदस्यहरूबीच सर्वेक्षण गरेको थियो । यस दौरान हामीले यी सदस्यहरूलाई ‘इम्प्लिसिट एसोसिएसन टेस्ट’ नामक सामाजिक मनोविज्ञानको क्षेत्रबाट लिइने एउटा सशक्त प्रयोगात्मक परीक्षण गर्न लगाएका थियौं । यस परीक्षणले व्यक्तिको कुनै समूहप्रतिको लुप्त–पूर्वाग्रह छ कि छैन भनी ठम्याउन सहयोग गर्छ । हाम्रो विश्लेषणले के देखायो भने, छनोट समितिका सदस्यहरूलाई महिलालाई भन्दा पुरुषलाई नेताका रूपमा देख्न धेरै सजिलो भयो । यसको अर्थ, राजनीतिक दलहरूले छनोट समितिमा त्यस्ता फेरबदल र सुधार गर्नुपर्छ (उदाहरणका लागि, ‘डि–वायस ट्रेनिङ’ अथवा कसरी पूर्वाग्रहरहित हुने भन्नेबारे तालिम) जसका माध्यमले छनोट समितिका सदस्यहरूको व्यवहारमा महिलाप्रति पूर्वाग्रही नहुने गरी परिवर्तन ल्याउन सकिन्छ ।

अझ योभन्दा महत्त्वपूर्ण कुरा त, राजनीतिक दलहरूले छनोट समितिको संरचना र गठन प्रक्रियाबाट महिलाहरूको आवाजलाई बेवास्ता गर्ने वा बेफाइदा हुने काम नहोस् भनी सुनिश्चित गर्नुपर्छ । २०७४ को स्थानीय निर्वाचनमा मेयर र वडाध्यक्षहरूको उम्मेदवारमा पुरुषहरूको संख्या अत्यधिक हुनुको एउटा कारण छनोट समितिमा महिलाको आवाज पर्याप्त नहुनु पनि हुन सक्छ, औसतमा हेर्दा २०७४ को निर्वाचनमा छनोट समिति सदस्यमा महिलाको संख्या ८ प्रतिशत मात्र थियो । आउँदो स्थानीय निर्वाचनमा, उम्मेदवार छनोट समितिभित्रको लैंगिक संरचना महिलाहरूको पक्षमा हुने गरी सुधार हुने सम्भावना देखिन्छ, किनकि राजनीतिक दल ऐन–२०७३ अनुसार हरेक राजनीतिक दलले सबै तहका पार्टी कमिटीमा कम्तीमा एकतिहाइ महिला सदस्य हुनुपर्ने प्रावधान राखेको छ । तर ध्यान दिनुपर्ने कुरा के छ भने, उम्मेदवार छनोट समितिमा महिलाको संख्या मात्र बढाउँदैमा महिलाहरूको आवाज सुनिन्छ र सोही अनुसार काम पनि प्रभावकारी ढंगले हुन्छ भनेर ढुक्क हुन सकिँदैन । उदाहरणका लागि, यदि पार्टी कमिटीहरूमा मुख्य पदाधिकारीहरू — जस्तै, अध्यक्ष वा सचिव जो प्रायः पुरुष हुने गर्छन् — को भूमिका नै उम्मेदवार छनोटमा निर्णायक हुन्छ भने महिलाहरूको आवाज बेवास्ता गरिने सम्भावना रहन्छ । तसर्थ छनोट समितिमा महिलाहरूको आवाजलाई मुखर पार्न आवश्यक सुधारात्मक परिवर्तन ल्याउन निकै जरुरी देखिन्छ ।

२०७९ को स्थानीय तह निर्वाचनले राजनीतिमा महिलाहरूको प्रतिनिधित्व बढाउने र २०७४ मा हासिल गरिएका महत्वपूर्ण उपलब्धिहरू अझ सशक्त पार्ने एउटा महत्त्वपूर्ण अवसर दिनेछ । यो कार्य सामाजिक न्यायका लागि मात्र राम्रो नभई निर्वाचनमा सर्वाधिक सिट ल्याउन चाहने राजनीतिक दलहरूका लागि पनि गतिलो अवसर हुन सक्छ । विगत चार वर्षमा स्थानीय शासनमा कार्य–अनुभव हासिल गरेकासहित अन्य धेरै महिला राजनीतिक क्षेत्रमा प्रवेश एवम् प्रगति गर्न इच्छुक देखिएका छन् । निर्वाचन क्षेत्रका बासिन्दाहरूले पनि महिलाहरूमा विश्वास गरेको देखिन्छ, जुन दिन–प्रतिदिन बढ्दो छ । यी सबै पृष्ठभूमि हेर्दा धेरै निर्वाचन क्षेत्रमा महिलाहरूले चुनाव जित्ने राम्रो सम्भावना देखिन्छ । यस्तो महत्त्वपूर्ण परिपाटीलाई बुझ्ने वा ध्यान दिने राजनीतिक दलहरू नै २०७९ को निर्वाचनमा सफल हुनेछन् ।

पाण्डे अमेरिकाको येल विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक तथा आर्थिक वृद्धि केन्द्रकी निर्देशक हुन् भने पौडेल उक्त केन्द्रको नेपाल परियोजनामा कार्यरत छन् । वस्ती गभर्नेन्स ल्याब नेपाल तथा हार्वर्ड विश्वविद्यालयको अर्थशास्त्र विभागमा आबद्ध छन् ।

प्रकाशित : पुस २९, २०७८ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?