कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कालीगण्डकी करिडोरमा यातायात ठप्प

प्रकाश बराल

बागलुङ — शुक्रबार दिउँसोदेखिको अविरल वर्षात्‌ले कालीगण्डकी करिडोर ठप्प भएको छ । जैमिनी नगरपालिका १ को जैमिनीधाम नजिकै खसेको अजंगको ढुंगाले सडक अवरुद्ध भएको हो । करिडोरको दर्जनभन्दा बढी स्थानमा पहिरोसमेत खसेको छ । पहिरोले नजिकका बस्तीमा पुग्नसमेत अवरोध गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । 

कालीगण्डकी करिडोरमा यातायात ठप्प

करिडोरसँगै जोडिएका दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध छन् । मुख्य सडक नै रोकिएपछि ग्रामीण सडक मर्मतका लागि समेत अप्ठ्यारो परेको उनले बताए । जैमिनी ५ को लामाबगरमा झण्डै २ सय मिटर खण्ड पहिरो खसेको छ । नेपाली सेनाले बनाएको ठेउलेखोला बेलीब्रिजमा पनि पहिरो र खोलाको कटानले क्षति पुगेको छ । नजिकैको स्थानीय लक्ष्मी श्रेष्ठको घर ठेउलेखोलामा खसेको छ । उनीहरु घरबारविहीन भएका छन् ।

करिडोरकै बागलुङ गुल्मी सिमानामा पर्ने बरालबा भन्ने स्थानमा पहिरोले सडक ठप्पै भएको छ । पैदलयात्रीले पनि आउजाउ गर्न नसक्दा सास्ती भएको जैमिनी ८ का ओमकार थापाले बताए । वडा नं ५ को बिनामारे ६ को अर्जेवा र ७ को जैदीमा पनि करिडोरका पहिरोले यातायात सञ्चालन हुन सकेको छैन ।

बागलुङ नगरपालिका १० को दब्ल्याङमा पनि पहिरोले करिडोरमा क्षति पुगेको छ । एक्लेसालको पहिरोले करिडोरमा क्षति पुगेको हो । बागलुङ नगरपालिकाले डोजर पठाएर एकतर्फी सडक खुलाएपछि बलेवासम्म सवारी साधन चलिरहेको छ । करिडोर निर्माण गरिरहेको कालिका कन्स्ट्रसनका ईन्जिनियर बिशाल घिमिरेले बताए । उनले ब्रेकर ल्याएर ठूला ढुंगा फोड्ने काम थालिसकेको जनाए । दर्जनौं पहिरो भएकोले शनिबार संभव नभए आइतबार वा सोमबारसम्म सडक नियमित संचालनमा ल्याउने गरी काम भइरहेको उनले बताए । त्यसबाहेक जैमिनी ९ को पैयुँथन्थाप, सर्कुवा, जैदी, कुश्मीसेरा, दमेक लगायतका गाउँका दर्जनभन्दा बढी सडक पहिरोले अवरुद्ध भएका छन् । शनिबार डोजर लगाएर सदरमुकामतर्फ आउने सडकमात्रै खुलाउन सकेको शर्माले बताए ।

प्रकाशित : असार १५, २०८१ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×