कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएका छन् । भारतीय जनता पार्टी(भाजपा) नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन(एनडीए) ले बहुमत ल्याएपछि मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्री बन्ने तयारीमा छन् । 

मोदीको शपथमा नयाँदिल्ली जाँदै प्रधानमन्त्री दाहाल

शुक्रबार एनडीए गठबन्धनले सरकारमा दाबी पेस गर्ने जनाइएको छ भने मोदीले शनिबार शपथ ग्रहण गर्ने तयारीसमेत छ । प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा उपस्थित हुन निम्तो आइसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि सन् २०१४ मा मोदी पहिलो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्दा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नयाँदिल्ली गएका थिए ।

भारतको कार्यवाहक प्रधानमन्त्रीका रूपमा रहेका मोदीले प्रधानमन्त्री दाहालसहित दक्षिण एसियाका विभिन्न देशका सरकार प्रमुखलाई समेत निम्तो पठाएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीमा हुने शपथ ग्रहणका लागि श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधामन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री परविन्द जगन्नाथलाई समेत निमन्त्रणा पठाइएको छ ।

तेस्रो पटक प्रधानमन्त्री बन्न लागे पनि मोदीको भाजपा एक्लैले भने बहुमत ल्याएको छैन । भाजपालाई चन्द्रबाबु नायडुको तेलुगु देसम पार्टी(टीडीपी) र नीतीश कुमारको जनता दल युनाइटेड(जेडीयू) लगायतका गठबन्धनका दलहरूको साथ चाहिन्छ । बुधबार एनडीए गठबन्धनको दिल्लीमा सम्पन्न बैठकले सरकार बनाउने निर्णय भइसकेको जनाएको छ । त्यस्तै २३४ सिट जितेको विपक्षी 'इन्डिया' गठबन्धनले पनि टीडीपी र जेडीयूसँग कुराकानी भइरहेको जनाएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८१ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

×