कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

महामन्त्रीको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौं : रास्वपा सांसद खनाल

सभापति लामिछानेलाई बुझाएको प्रतिवेदनमा ढकालले लेखेका छन्, 'अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन र गोपी हमाललगायत स्वतन्त्र पक्षधर व्यक्तिहरूसँग मिल्नु सबैभन्दा उपयुक्त हुन्छ'

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापतिसमक्ष पेस गरेको समीक्षा यात्रा प्रतिवेदनलाई पार्टीले गम्भीरताका साथ अध्ययन गर्ने बताएका छन् । महामन्त्री ढकालले बुधबार उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए ।

महामन्त्रीको प्रतिवेदन गम्भीरतापूर्वक अध्ययन गर्छौं : रास्वपा सांसद खनाल

महामन्त्रीले दिएको प्रतिवेदनबारे सोधिएको प्रश्नको जवाफमा रास्वपा सांसद खनालले पार्टी कमजोर भयो कि भन्ने आवाज पार्टीभित्रैबाट उठेपछि अध्ययन गरेर प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिएको बताए । बिहीबार सांसद खनालले पार्टीले समीक्षा यात्रामा पठाएका महामन्त्री ढकालले प्रतिवेदन दिएको बताएका हुन् ।

‘स्वाभाविक रुपमा अहिले चारैतिर हामी कमजोर भयौँ कि भन्ने आवाज हाम्रै पार्टी पंक्तिका साथीहरूले नभनेका कुराचाहिँ होइनन् । महामन्त्रीले जुन प्रतिवेदन हिजो सभापतिलाई बुझाउनुभयो, इलामको निर्वाचनपछि पार्टी सचिवालयले यही कुरा पत्ता लगाउन भनेर पार्टीले नै उहाँलाई खटाएको हो,' सांसद खनालले भने, 'उहाँ स्वेच्छाले भन्दा पनि पार्टी नेतृत्वले नै केही भइरहेको छ कि ? केही समस्या छ कि ? भनेर पत्ता लगाउन खटाएको हो । उहाँले केही कुरा पत्ता लगाएर ल्याएको छु भनेपछि स्वाभाविक रुपमा त्यसलाई हामीले अत्यन्त गम्भीरतापूर्वक अध्ययन गर्छौं । अध्ययनको आधारमा निष्कर्ष आइसकेपछि थप प्रतिक्रिया राख्नु उचित हुन्छ होला ।’

महामन्त्री ढकालले प्रतिवेदनमा किन्तु र परन्तु नलगाइ प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने कुरा उल्लेख गरेको बताएका छन् । 'किन्तु/परन्तु नलगाई पार्टी प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने लेखेका थियौं तर त्यसमा हाम्रा नेताहरूले मुखरित रूपमा गर्न सकेनन्, जोडतोडले पार्टीका नेताहरूले त्यसलाई उठाउनुपर्छ,' प्रतिवेदनमा रहेका विषयबारे ढकालले भनेका छन्, 'अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन र गोपी हमाललगायत स्वतन्त्र पक्षधर व्यक्तिहरूसँग मिल्नु सबैभन्दा उपयुक्त हुन्छ ।'

पार्टीको अहिलेको अवस्था निराशाजनक रहेको र त्यसलाई आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको ढकालले बताएका छन् । पार्टीले जनतामा देखाएको आशा पूरा गर्न नसकेको हो कि भन्ने कुरा पनि प्रतिवेदनमा उल्लेख गरिएको उनले बताए ।

पार्टी सरकारबाट बाहिरिँदा थप हानी पुग्ने निष्कर्ष आफ्नो रहेको बताउँदै ढकालले सरकारमा सहभागिताको पुष्टि भने गर्नुपर्ने बताए । पार्टी वर्तमान अवस्थामा कमजोर रहेको समीक्षा यात्रामा पाएको उनको भनाइ छ । 'मेरो प्रतिवेदनअनुसार अहिले पार्टी जुन अवस्था छ त्यसअनुसार राष्ट्रिय पार्टी मात्रै बन्न सक्छ वा केही सिटमात्रै जित्न सक्छ भन्ने हो,' उनले भनेका छन् । रास्वपा बिरामी रहेको र अस्पतालमा लगेर उपचार गर्नुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो । अस्पताल लगेर पार्टीमा देखिएका बिमारलाई उपचार गर्नुपर्ने र निको पार्नुपर्ने उनले बताएका छन् ।

समीक्षा प्रतिवेदन सभापतिलाई हस्तान्तरण गरिएकोबारे बुधबार विज्ञप्ति जारी गरेर महामन्त्री ढकालले पार्टीभित्र आफ्नाविरुद्ध अराजनीतिक क्रियाकलाप भएको आरोप पनि लगाएका छन् । उनले आफूले गर्दै नगरेका कामको दोष लगाइएको विज्ञप्तिमा लेखे पनि कसले र के विषयमा त्यस्तो गरिएको हो भन्ने उल्लेख गरेका छैनन् ।

‘यो प्रतिवेदनले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुका साथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने मेरो विश्वास छ । त्यसैले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यसलाई तपाईं (सभापति लामिछाने)मा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्‍याइदिनुहुन हार्दिक अनुरोधसमेत गर्दछु,’ महामन्त्री ढकालले भनेका छन्, ‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ । मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो ।’

लामिछानेको नेतृत्वमा रास्वपा २०७९ असार ७ मा स्थापना भएको थियो । स्थापना भएको ६ महिना नबित्दै २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ ८ सांसद (उपनिर्वाचनसहित) र समानुपातिकतर्फ १३ सिट जितेको थियो । रास्वपा यसबीचमा दुई पटक सरकारमा गएको छ । पहिलोपटक ०७९ मा सरकारमा गएको महिना दिनमै बाहिरिएको रास्वपा दोस्रोपटक ०८० फागुन २३ देखि सरकारमा सहभागी छ । रास्वपाले एमाले–माओवादी केन्द्रको गठबन्धनमा सहभागिता जनाएको छ । बीचमा कांग्रेस सहभागी सत्ता गठबन्धन हुँदा भने रास्वपा प्रतिपक्षको बेन्चमा बसेको थियो ।

इलामको उपनिर्वाचनमा रास्वपा सरकारमा रहेकै अवस्थामा होमिएको थियो । तर, ०८१ वैशाख १५ मा भएको इलाम २ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत भएको थियो । सरकारमा सहभागिता, पहिले उठाउँदै आएका एजेन्डा छोड्नु, पार्टी र संगठन निर्माणमा सक्रिय नहुँदाका परिणामस्वरुप रास्वपाको जनमत खस्किएको रास्वपाका नेताहरूले बताउँदै आएका छन् ।

महामन्त्री ढकालले पनि पुराना एमाले र माओवादी केन्द्रजस्ता दलहरूसँग सत्ता सहकार्य गर्नुभन्दा पनि नयाँ नेताहरूसँग जानुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगायतका कुरा प्रतिवेदनमा उल्लेख गरेको बताइएको छ । तर, प्रतिवेदन पार्टी सभापति लामिछानेले सार्वजनिक गरिनसकेकाले त्यसमा थप के-के विषय उल्लेख गरिएको छ भन्ने खुलिसकेको छैन । रास्वपाका नेताहरूले उक्त प्रतिवेदन सभापतिले सार्वजनिक गरेपछि अध्ययन गरिने बताएका छन् ।

प्रकाशित : असार १३, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×