कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री दाहाल

लुम्बिनी — प्रधानमन्त्री पुष्पकमल दाहालले गौतम बुद्धको शिक्षामा विश्वास गरे व्यक्ति, समुदाय र राष्ट्रहरूबीच रहेका विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत पुग्ने बताएका छन् । 

सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री दाहाल

आज २५६८औँ बुद्धजयन्तीको पूर्वसन्ध्यामा बुधबार आयोजित चित्रकला प्रदर्शनी कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धका शाश्वत वाणी विश्वमा झनै सान्दर्भिक हुँदै गएको बताए । 'बुद्धको शाश्वत अहिंसा, करुणा र आन्तरिक शान्तिको सन्देश आजको विश्वमा झन् सान्दर्भिक भएको छ', प्रधानमन्त्री दाहालले भने, 'म विश्वस्त छु, बुद्धको शिक्षाको विश्वासपूर्ण अनुसरणले व्यक्ति, समुदाय र राष्ट्रहरूबीच विवाद समाधान गर्न र सद्भाव फैलाउन मद्दत गर्नेछ ।'

लुम्बिनी आउँदा आफूलाई सधैँ खुसी अनुभूत हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लुम्बिनीले विश्वका सम्पूर्ण मानवका लागि शान्तिको केन्द्रका रूपमा ऐतिहासिक र सांस्कृतिक महत्त्व राख्ने बताए । उनले भने, 'नेपाल सरकारले लुम्बिनीलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिकस्थलका रूपमा मात्र नभई बुद्ध धर्मको स्रोत र शिक्षा र बौद्धिक खोजको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पटकपटक व्यक्त गरेको छ ।'


सांस्कृतिक सम्पदाको प्रदर्शनका लागि गरिएका अथक प्रयासहरूप्रति धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विशिष्ट कलाकारहरूको सिर्जनशीलता र जोश प्रेरणादायी भएको बताए । नेपाल–भारत सम्बन्धको सन्दर्भमा सांस्कृतिक आयामले विशेष स्थान ओगटेको बताउँदै प्रधानमन्त्रीले दुई देशका जनतालाई प्राचीनकालदेखि नै सांस्कृतिक आयामले नजिक राखेको उल्लेख गरे ।

'हाम्रो सांस्कृतिक सम्पदा गर्वको स्रोत मात्र होइन', प्रधानमन्त्री दाहालले भने, 'यो ज्ञान, मूल्य र परम्पराहरूको खजाना हो, जसले हाम्रो जीवनलाई समृद्ध बनाउँछ र हाम्रो पहिचानलाई आकार दिन्छ ।'

परस्पर समझदारी, विश्वास, सम्मान र सहयोगले नेपाल–भारत प्राचीनकालदेखि चलेको बहुआयामिक सम्बन्धलाई परिभाषित गर्ने बताउँदै प्रधानमन्त्री दाहालले भौगोलिक निकटता र विभिन्न तहमा बढ्दो क्रस–सेक्टोरल र बहुपक्षीय संलग्नताद्वारा अझ बलियो बनाइएको स्पष्ट पारे । 'हाम्रा जनताको आकांकाअनुसार नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार पूर्ण प्रतिबद्ध छ', प्रधानमन्त्री दाहालले भने, 'उपलब्ध अवसरहरूका सन्दर्भमा विभिन्न क्षेत्रमा अर्थपूर्ण साझेदारीका लागि बदलिँदो वास्तविकता र अवसरहरूलाई ध्यान दिनुपर्नेछ ।'


प्रकाशित : जेष्ठ ९, २०८१ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?