२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

श्रम ऐनको कार्यान्वयन निकै फितलो : जेटीयूसीसी

काठमाडौँ — नेपालका मान्यता प्राप्त १० वटा ट्रेड युनियन महासंघहरूका साझा मञ्च संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले  श्रमिकका थुप्रै मुद्दाहरू सम्बोधन गरिएको श्रम ऐन र सामाजिक सुरक्षा ऐनको कार्यान्वयनको पाटो निकै फितलो रहेको जनाएको छ ।

श्रम ऐनको कार्यान्वयन निकै फितलो : जेटीयूसीसी

१३८ औं मे दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै जेटीयूसीले अनौपचारीकरण बढ्दै गएको श्रम बजारमा श्रमसम्बन्धी कानुन, नीति र अन्तर्राष्ट्रिय श्रम मापदण्डको कार्यान्वयन अपर्याप्त रहेको जनाएको हो ।

सन् १८८६ मे १ को दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दै अमेरिकाको सिकागो सहरमा गरिएको श्रमिक आन्दोलनको सम्झनास्वरूप मे दिवस मनाइने गरेको छ । ‘रोजगारीको अभावमा ठूलो युवा शक्ति विदेशिएको अवस्था छ । एकातिर मुलुकभित्र रोजगारीको अवसर सिर्जनार्थ उचित तालिम प्रदान गर्नु पर्ने अवस्था छ भने अर्कोतर्फ कामको खोजीमा विदेश गएको श्रमशक्तिलाई ठोस योजनासहित स्वदेश फर्काउने वातावरण बनाउनु आवश्यक छ,’ जेटीयूसीसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले भने,‘विश्वभरी नै श्रमिक अधिकारहरु कटौती भइरहेका छन् । कामको प्रकृति परिवर्तन, रोजगारीको अनौपचारीकरण, स्वचालन र एआई जस्ता नयाँ प्रविधिहरूको उदय, रोजगारी र पारिश्रमिकको न्यूनता, कार्यस्थलमा लैंगिक विभेद, आप्रवासन र आप्रवासी कामदारहरूको अधिकार हनन् भइरहेको छ ।’ उनले न्यायिक श्रम बजार, मर्यादित काम, श्रमिकको सम्मान एवं सामाजिक न्यायका लागि बृहत् संवाद र छलफल आवश्यक रहेको बताए ।

ट्रेड युनियनहरुले राज्यका सम्पूर्ण संरचनामा १० प्रतिशत श्रमिक वर्गको प्रतिनिधित्व, अर्धन्यायिक अधिकारसहितको संवैधानिक श्रम आयोग गठन, श्रमिकहरुको वर्गिय प्रतिनिधित्वको लागि संविधानमा छुट्टै कलस्टरको व्यवस्था श्रमिक वर्गलाई कार्यस्थलबाट मताधिकारको अधिकार, श्रम निरीक्षण प्रणाली, श्रम कार्यालय विस्तारलगायतका विषयहरू अविलम्ब कार्यान्वयन हुनुपर्ने माग राखेका छन् ।

प्रकाशित : वैशाख १९, २०८१ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?