कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चट्याङले लियो १० वर्षमा साढे ८ सयको ज्यान

जनचेतनामूलक गतिविधि, क्षमता विकास, प्रचारप्रसारको काम भए पनि जोखिम न्यूनीकरण र पूर्वतयारीमा कमजोरी नै कमजोरी
चट्याङ जमिनको सतहमा करेन्टजसरी बग्दा मृत्युदर बढ्ने हो, ४० प्रतिशत मृत्यु जमिनको सतहबाट बगेर जाने करेन्टले हुन्छ, सोझै चट्याङ लागेर मृत्यु हुने दर ५ प्रतिशत मात्र छ : श्रीराम शर्मा, चट्याङ विज्ञ
विद्या राई

काठमाडौँ — गत शनिबार दिउँसो हावाहुरी र असिना–पानीसँगै परेको चट्याङ लागेर दैलेखकी एक बालिकाको मृत्यु भयो । बाख्रा चराउन जंगल गएका बेला एक्कासि परेको चट्याङ लागेर भैरवी गाउँपालिका–६ तोरीमूलकी १३ वर्षीया शर्मिला कँडेल अचेत भएकी थिइन् ।

चट्याङले लियो १० वर्षमा साढे ८ सयको ज्यान

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार उनलाई उपचारका लागि सुर्खेत लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । यसअघि बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु र सात जना घाइते भएका थिए । वडाध्यक्ष नरेन्द्रबहादुर सिंहका अनुसार चैत ९ गते शुक्रबार राति साढे ९ बजेतिर घरमा चट्याङ परेर जयपृथ्वी नगरपालिका–६ नौरामा एकै परिवारमा उक्त क्षति पुगेको हो ।

बझाङको घटनाभन्दा तीन दिनअघि चट्याङ लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको पनि मृत्यु भयो । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाका अनुसार चैत ७ राती ११ बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको थियो । उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएपछि करिब राति १२ बजेतिर उनलाई मृत घोषित गरिएको थियो ।

उल्लिखित घटनाजस्तै चट्याङ लागेर देशैभरि बर्सेनि औसत ८७ जनाको अकालमा ज्यान जाने गरेको नेपाल प्रहरीको अभिलेखले देखाउँछ । जलवायु परिवर्तनले गर्दा चट्याङ पर्ने र यसको क्षति तथा जोखिम पनि बढ्दै गएको छ । सरकार भने गाउँ–गाउँसम्म जोखिम न्यूनीकरण र पूर्वतयारी पुर्‍याउनुको साटो सामाजिक सञ्जालमा मात्रै सीमित छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा देशभर २ हजार ३ सय ८० वटा चट्याङ परेका छन् र तिनमा परेर ८ सय ६६ जनाको मृत्यु, २ हजार ५ सय ७५ जना घाइते, ३ हजार ७५ परिवार प्रभावित र ३ हजार २ सय ४५ पशु चौपायामा क्षति पुगेको छ ।


२०७०/०७१ देखि गत वर्षसम्मको एक दशकमा ८ करोड ५२ लाख ५९ हजार बराबरको धनजन र पशुचौपायाको क्षति भएको छ । चालु आर्थिक वर्षको चैत १९ सम्ममात्रै चट्याङ लागेर देशभर १६ जनाको मृत्यु भैसकेको छ । यी तथ्यांक चट्याङले क्षति पुगेर प्रहरीमा रिपोर्टिङ भएका आधारमा अभिलेखीकरण गरिएकामात्रै हुन् ।

चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बादल र पृथ्वीको बीच वा बादल–बादलकै बीच बग्ने विद्युतीय करेन्टबाट हुने प्राकृतिक प्रकोप नै चट्याङ हो । प्राकृतिक प्रकोप भएकाले जलवायु परिवर्तनसँग चट्याङ अन्तरसम्बन्धित छ । वातावरणीय क्षेत्रमा काम गर्ने जर्मनीको संस्था ‘जर्मनवाच’ ले सार्वजनिक गरेको पछिल्लो ‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स २०२१’ को रिपोर्टअनुसार विश्वमा नेपाल जलवायु परिवर्तनको जोखिमको १० औं स्थानमा छ  । विज्ञका अनुसार चट्याङलाई रोक्न सकिंदैन, क्षति कम गर्न सकिन्छ । यसतर्फ सरकारले ठोस पहल नगरेको चट्याङविज्ञ शर्मा बताउँछन् । ‘हरेक एक डिग्री तापक्रम वृद्धि हुँदा चट्याङ पर्ने दर १० देखि १२ प्रतिशत बढ्छ,’ उनी भन्छन्, ‘चट्याङ न्यूनीकरण र पूर्वतयारीमा राज्यको ठोस कुनै पहल छैन ।’ जलवायु परिवर्तनले चट्याङ एक–दुई वर्ष घट्ने र फेरि बढ्ने उनले बताए ।

स्थानीय वायुको प्रभावले चट्याङ

स्थानीय वायु र पश्चिमी वायुको प्रभावले गर्दा नेपालमा चट्याङ पर्ने गरेको जल तथा मौसम विज्ञान विभागकी सिनियर डिभिजनल मेटेरियोलोजिस्ट सूचना अधिकारी विभूति पोखरेल बताउँछिन् । ‘चैत/वैशाखमा स्थानीय वायुले गर्दा बाफ बढी हुन्छ, एकदम तात्ने, छिट्टै बादल बन्ने, बादलमा मेघ गर्जन बन्ने, चट्याङ पर्ने, हावाहुरीसँगसँगै आउने, सँगै असिना झार्ने हुन्छ र एकैछिनमा वर्षा हुन्छ,’ पोखरेलले भनिन्, ‘पश्चिमी वायु, कहिलेकाही बे अफ बंगाल, अरेबियन सीको वायुले पनि नेपालमा चट्याङ पर्छ ।’

चट्याङविज्ञ शर्माका अनुसार सामान्यतः चट्याङ प्रि–मनसुनदेखि मनसुन भित्रिने अवधिसम्म पर्छ । चैत अर्थात् मार्चदेखि जुन महिनासम्म रहन्छ । मे र जुनमा एकदमै बढी चट्याङ पर्छ । मनसुन भित्रिएपछि चट्याङ पर्ने दर घट्छ । फेरि अगस्ट र सेप्टेम्बरमा र कर्णालीमा जाडो याममा पनि केही असर पारेको पाइन्छ । सन् २०१० यताको तथ्यांक हेर्दा नेपालमा चट्याङ घुमिरहेको उनले बताए । पहाडी भेग र तराई भेगमा चट्याङ पर्ने क्रम पनि फरक छ । सन् २०१५ देखि २०२० सम्मको तथ्यांक हेर्दा पहाडी भेगमा दिउँसो २ बजेपछि सुरु भएर बेलुकी ७ बजेसम्म र तराईमा बेलुकी ६ बजेदेखि सुरु भएर राती १२ बजेसम्म चट्याङ पर्छ ।

धेरैलाई लाग्छ माथिबाट सिधै आएको चट्याङ लागेर क्षति पुर्‍याउँछ । चट्याङ आफैंमा जमिनबाट बग्ने करेन्ट भएकाले ५ सय मिटर पर खस्दासमेत क्षति पुग्छ । गत असोज ३० मा दिउँसो १ बजेतिर लमजुङको मर्स्याङ्दी गाउँपालिका–५ को दिलेपाखाखर्कमा वर्षात्सँगै चट्याङ पर्दा १८ वटा भेडाबाख्रा मरेका थिए । चट्याङको आवाजले तर्सिएर भाग्दा भीरबाट खसेर सञ्जापू र बडालबिसौनाको सीमा क्षेत्र खाजे चौतारानजिकै गोठमा बाँधेर राखिएको गर्भिणी भैंसी मरेको थियो । भेडीगोठाला धनराज घले बेहोस भएका थिए । ‘चट्याङ जमिनको सतहमा करेन्टजसरी बग्दा मृत्युदर बढ्ने हो, ४० प्रतिशत मृत्यु जमिनको सतहबाट बगेर जाने करेन्टले हुन्छ,’ चट्याङविज्ञ शर्माले भने, ‘सोझै चट्याङ लागेर मान्छे मर्ने दर ५ प्रतिशत छ ।’ गम्भीर प्रकृतिको मेघ गर्जन र चट्याङले शृंखलाबद्ध रूपमा कर्कस आवाज निस्कन्छ । चट्याङको गड्याङगुडुङ आवाजले मान्छेको कानको जाली फाट्ने, दृष्टिविहीन हुने, प्यारालाइज्ड हुने, झिल्को देख्नेबित्तिकै मान्छे डराउनेजस्ता अन्य असरहरू पर्ने गर्छ । जुन कुरा सर्वसाधारणलाई जानकारी नै हुँदैन ।

चट्याङ बिस्तारै सहरतिर सर्दै

एक दशकको तथ्यांकलाई हेर्दा चट्याङ पर्ने दर २०७६/७७ सम्म बढेको देखिन्छ । २०७७/७८ र २०७८/७९ सम्म केही घटेको छ र गत वर्षदेखि फेरि बढ्न थालेको हो । एक दशकमा चट्याङ लागेर मृत्यु हुनेको संख्या २०७१/७२ मा सबैभन्दा धेरै १ सय १७ थियो भने २०७०/७१ मा १ सय ७ र २०७३/७४ मा १ सय ३ जनाले ज्यान गुमाएका थिए । यसपछि मृत्युदर सयभन्दा माथि नरहेको भए पनि मृत्यु हुने क्रम कायमै छ । खेतबारीमा काम गर्दागर्दै, घाँसदाउरा गर्दागर्दै, गाईवस्तु चराउँदाचलाउँदै चट्याङ लागेका घटना सुनिन्छ । पछिल्ला वर्षमा बजार र सहरतर्फ आन्तरिक बसाइँसराइ वृद्धि भएसँगै चट्याङको क्षति सहरतर्फ सर्न थालेको छ । ‘मान्छेहरू सहरकेन्द्रित बसाइँ सरेकाले गाउँमा कम क्षति देखिएको हुन सक्छ,’ चट्याङबिज्ञ शर्माले भने, ‘गाउँमा कृषि गतिविधि घट्यो, खेतमा काम गर्दागर्दै चौरमा बस्तु चराउँदाचराउँदै हुने क्षति कम देखिने नै भयो ।’

गाउँमा बस्ने मानिसलाई चट्याङको जोखिम जहिल्यै हुने उनले बताए । तर जहाँसुकै चट्याङ पर्छ । सहरमा बाक्लो जनसंख्या हुने र चट्याङ परेको खण्डमा प्रयोग गरिने विद्युतीय उपकरण, विद्युतीय तारमार्फत आगलागी हुने, बस्ती नै जोखिममा पर्ने हुन्छ । ‘गाउँभन्दा सहर अलि सुरक्षित हो,’ शर्माले भने, ‘तर सहरको बसाइमा जति पनि विद्युतीय उपकरण प्रयोग गर्छौं, चट्याङबाट जोगाउने खालको प्रविधि भएन भने विद्युतीय तार र उपकरणबाट आगलागी र बस्तीको जोखिम बढ्दै जान्छ ।’

अध्ययन र लगानीमा बेवास्ता

गाउँ वा सहरमा चट्याङबाट क्षति हुन नदिन घरमा ‘अर्थिङ’ गर्नुपर्छ । यसले चट्याङ पर्दा निस्केको करेन्ट र घरको विद्युत् करेन्टलाई जोडिन दिँदैन र करेन्ट प्रवाहबाट हुने क्षति कम गर्छ । तर, देशभर कति घरमा अर्थिङ गरिएको छ वा कति छैन भन्ने यकिन तथ्यांक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा काम गर्ने गृह मन्त्रालय मातहतको प्राधिकरणसितै छैन ।

जलवायु परिवर्तनका कारण मौसममा आउने विषमताले विपद्लाई बढाउने कुरामा जानकार सरकारी निकायले भूकम्प, बाढीपहिरो न्यूनीकरण, रोकथामका लागि अध्ययन र केही पूर्वतयारीहरू हुने गरे पनि चट्याङको क्षति देख्दादेख्दै यसै लक्षित अध्ययनहरू पनि हुन सकेका छैनन् । ‘जति पनि नयाँ घर–आवासहरू बनिरहेका छन्, चट्याङ सुरक्षित बनाउन शहरी विकासको आवास निर्माण मापदण्ड पालना गर्न गराउन स्थानीय तहमार्फत निगरानी भैरहेको छ,’ प्राधिकरणकी उपसचिव एवं प्रवक्ता तथा सूचना अधिकारी गोमादेवी चेम्जोङ भन्छिन्, ‘तर कति घरहरू सुरक्षित छन्, कति छैनन् भन्ने यकिन छैन, हामीले चट्याङको सन्दर्भमा व्यापक रूपमा काम गर्नुपर्ने छ ।’ चट्याङसम्बन्धी विज्ञहरूकै पृष्ठपोषण अनुसार जनचेतनामूलक गतिविधि, क्षमता विकास, प्रचारप्रसारमा काम गरिरहेको भए पनि अपेक्षित रूपमा लगानी र अध्ययन हुन नसकेको उनले बताइन् ।

अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि जलवायु परिवर्तनले चट्याङ बढी पर्ने र क्षति बढ्ने सचेत गराइरहेको अवस्थामा चट्याङबाट जोगिने सचेतनाका लागि व्यापक काम भैरहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल बताउँछन् । चट्याङ क्षति न्यूनीकरण र पूर्वतयारीका लागि कार्यक्रम योजनाहरू व्यापक बनाउँदै, पूर्वसूचना प्रणालीलाई ‘रियल टाइम’ नजिक हुने गरी प्रवाहमा काम गरिरहेको उनले बताए । हालसम्म प्राधिकरणले सामाजिक सञ्जालबाट सचेतनाका सामग्री फैलाउने र चट्याङबाट हुने धनजनको क्षतिमा भूकम्प र बाढीपहिरोको क्षतिजस्तै पुनःनिर्माण राहतमा सहायता दिने काम मात्रै गर्दै आएको छ ।

जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल मेटेरियोलोजिस्ट पोखरेल भने जलवायु परिवर्तनले स्थानीय वायुमा विषमता ल्याउने भएकाले पूर्वानुमान मुस्किल पर्ने गरेको बताउँछिन् । ‘चट्याङको फैलावट एकदमै छिटो हुन्छ, एक–दुई घण्टामै देशभरि नै फैलिन्छ, एक–दुई घण्टाको अवधिमा कति सतर्कता अपनाउन सकिन्छ भन्ने पनि छ,’ उनले भनिन्, ‘एक–दुई दिनअघिसम्म मेघ गर्जन, वर्षाको सम्भावना छ भने पनि कुन हदसम्म गम्भीर प्रकृतिको हुन्छ भन्ने ठ्याक्कै पूर्वानुमान गर्न मुस्किल छ ।’ विभागले आफूसित भएका सूचनाहरू विपद् प्राधिकरणलाई प्रदान गरेर सबैखाले सञ्चारमाध्यमबाट पूर्वजानकारी दिने गरिरहे पनि बढ्दो चट्याङका घटना र क्षतिलाई कम गर्न र अनुकूलन गर्नेमा थप काम गर्नुपर्ने उनले बताइन् ।

सावधानी अपनाउँदा चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ । आकाशमा गड्याङगुडुङ हुनेबित्तिकै सुरक्षित ठाउँ (इन्डोर वा घरैभित्रै) जानुपर्छ । रुख वा बिजुलीको पोलमुनि बस्ने र छाता ओढ्ने गर्नु हुँदैन । चट्याङ परिरहेका बेला पौडी खेल्ने, डुंगा चलाउने, खेतबारीमा काम गर्ने गर्नु हुँदैन । सुरक्षित ओत नभेट्दै चट्याङ परे दुवै हातलाई टाउको माथि राखेर निहुरिने र कुर्कुच्चा जोडेर थुचुक्क बस्नुपर्छ तर भुइँमा लम्पसार पर्नुहुँदैन । घरभित्रै भए पनि तारवाला फोनको प्रयोग गर्नु हुँदैन । टिभी कम्प्युटरजस्ता विद्युतीय उपकरण चलाउन हुँदैन, बरु प्लग नै छुटाइदिनुपर्छ । बाथरुमभित्र नुहाउने, कपडा धुने, भाँडा माझ्ने, झ्याल, ढोका र बरन्डाको ग्रिल छुने गर्नु हुँदैन ।

प्रकाशित : चैत्र २३, २०८० २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×