२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

कोशीमा चलखेल गरेर एमालेले मन्त्री छिराइहालेछ : प्रधानमन्त्री दाहाल

'कोशीमा दुइटा गठबन्धन बनेका छन्- एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट कांग्रेस समूहको गठबन्धन' 
अर्जुन शाह

धनगढी — प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कोशी प्रदेशमा दुई वटा गठबन्धन बनेको बताएका छन् । सोमबार धनगढीमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चलखेल गरेर कोशी सरकारमा एमाले सहभागी भएको बताएका हुन् । 

कोशीमा चलखेल गरेर एमालेले मन्त्री छिराइहालेछ : प्रधानमन्त्री दाहाल

कोशीमा सत्तारुढ गठबन्धन र एमाले र कांग्रेसको असन्तुष्ट समूहको अर्को गठबन्धन रहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । ‘कांग्रेस त पार्टी हो कि मञ्च हो कि मोर्चा । कोशीमा दुइटा गठबन्धन बनेका छन्; एउटा हाम्रो गठबन्धन र अर्को एमाले र असन्तुष्ट कांग्रेस समूहको गठबन्धन । एमालेले चलखेल गरेछ र मन्त्री छिराइहालेछ,’ उनले भने ।

कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले सत्ता गठबन्धनले दिँदै आएको दबाबका बीच एमालेसहितको सरकार गठन गरेका छन् । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेसमा विद्रोह गरेका शम्शेर राईलाई मुख्यमन्त्री कार्कीले विनाविभागीय मन्त्री नियुक्त गरेर शपथ लिएपछि बुधबार विश्वासको मत लिन लागेका छन् ।

त्यस्तै प्रधानमन्त्री दाहालले पछिल्लो समय विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि उल्ट्याउने प्रयास भइरहेको पनि बताए । ‘अहिलेका उपलब्धि नचाहनेले विगतमा संविधान उल्लंघन गर्ने र प्रतिगमनतिर लैजान खोज्ने प्रयास गरेकै हो,’ उनले भने, ‘मैले प्रधानमन्त्री भएर धेरै बोल्ने अवस्था छैन । त्यसैले अलिअलि क्रान्तिकारी, अलिअलि प्रधानमन्त्री र अलिअलि विद्रोही हुनुपर्ने अवस्था छ ।’

प्रधानमन्त्री दाहालले केपी शर्मा ओली 'संघीयतावादी र रियल कम्युनिस्ट' नभएको आरोप पनि लगाएका छन् । उनले भने ‘एमालेको प्रमुखमा माधव नेपाल नभएको भए अहिलेको परिवर्तनको सम्भावना नै थिएन ।’ उनले यो गठबन्धन भत्काउनै पर्छ भन्नेहरूलाई यो सरकारका कामहरू मन परिरहेका छैनन् । उनले एमालेतर्फ लक्षित गर्दै भने ‘७० करोड त्यहीं छ, यती, ओम्नी त्यहीँ छ ।’

अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म चल्ने पनि प्रधानमन्त्री दाहालको दाबी छ ।‘देउवाजीले गठबन्धनको विकल्प देख्नु भएको छैन, कसैले पनि देखेका छैनौं । यही गठबन्धन पाँच वर्ष जान्छ,’ उनले भने । साथै उनले अहिलेको समाजवादी मोर्चा नै आफ्नो अन्तिम उद्देश्य नभएको बताए । ‘एउटै पार्टी केन्द्र बनाउने लक्ष्य हो,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकार, संसद् र सडक तीनवटै मोर्चाबाट अगाडि बढ्नुपर्ने अवस्था रहेको पनि बताए ।‘सरकारका कामहरूलाई आक्रामक बनाएर लैजानुपर्छ । यसपछि ठूला सहरहरूमा जनपरिचालन तुरुन्तै गर्नुपर्ने आवश्यकता छ,’ उनले भने । उनले शिक्षकहरूसँग भएका सम्झौताहरू कार्यान्वयन हुने र कुनै धोका नहुने पनि बताए ।

सन्देश सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका छन् । उनले अनेक कारणले अहिलेका उपलब्धि गुम्ने खतरामा भएको दाबी गरे । ‘हाम्रै गल्तीले लोकतन्त्र गुम्न सक्ने खतरा छ,’ उनले भने ‘जातीय द्वन्द्व फैलाउने सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाउने प्रयास भइरहेको छ ।’

नेकपाका महासचिव नेत्रविक्रम चन्दले देश जटिल मोडमा पुगेको बताए । समाजवादी धारका कम्युनिस्टहरू एकठाउँमा आउनुपर्ने उनको भनाइ थियो । समाजवादी मोर्चालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले माओवादी केन्द्रको पनि प्रशंसा गरे ।

प्रकाशित : आश्विन २९, २०८० १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?