२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : ओली

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् । विपक्षी र सञ्चारमाध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए । 

पार्टीभित्र निर्वाचनमा नजाऔं, आफ्नै साथीको मन दुख्छ : ओली

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चारमाध्यमप्रति पनि गुनासो गरे । उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्कसमेत गरे ।

कसैको पनि मन नदुखाइकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाइ थियो । उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

‘प्रतिस्पर्धाबाट जितेर पनि के–के न ठूलो कुरो पाइने होइन । फेरि सबैले जित्ने होइन । एउटाले जित्छ । अर्काले हारेपछि मन पनि दुख्छ । सहमति गर्‍यो भने मन दुख्दैन । मन नदुखाइकन अगाडि बढ्ने काम सबभन्दा राम्रो हो नि त ! किन मन दुखाउने ? उठेपछि मन दुख्दोरहेछ । यसो म ठाउँठाउँमा हेर्छु । मन दुख्दोरहेछ साथीहरुको,' ओलीले भने, 'उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौं । हामी साँच्चै उच्चस्तरीय लोकतान्त्रिक अभ्यास समझदारी र त्यसबाट सहमति ।’

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनै पनि खालको निर्देशन नदिएको पनि दोहोर्‍याए ।

प्रकाशित : आश्विन १९, २०८० १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?