२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सर्वोच्चले 'गुन्डा नाइके' रिगललाई माफी दिनुको लिखित कारण माग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालगन्जका गुन्डा नाइके रिगल भनिने योगराज ढकाललाई छाड्नुपर्नाको कारण लिखित रूपमा सात दिनभित्र पेस गर्नका लागि सर्वोच्च अदालतले माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले भारती शेर्पाद्वारा दायर रिटमा लिखित कारण माग गरेको छ भने पीडित परिवारको सुरक्षा व्यवस्था गर्न पनि आदेश जारी गरिएको छ । 

सर्वोच्चले 'गुन्डा नाइके' रिगललाई माफी दिनुको लिखित कारण माग्यो

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिएका थिए । पूर्वपतिका हत्यारालाई राष्ट्रपतिले माफी दिनु संविधानविपरीत भन्दै शेर्पाले सर्वोच्चमा रिट दायर गरेकी थिइन् । जसमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँकेलगायतलाई लिखित जवाफ पेस गर्न र पीडित परिवारको सुरक्षा व्यवस्था गर्न आदेश दिएको हो ।

तरुण दल बाँके–३ का तत्कालीन सभापतिसमेत रहेका गुन्डा नाइके रिगल भनिने योगराज ढकालले भारतबाट सञ्चालन हुने बसहरूबाट अवैध हप्ता असुली गर्थे ।

असुलीमा व्यवधान गरेको भन्दै २०७२ असार २८ अपराह्न ३ बजे मानन्धरलाई नियन्त्रणमा लिएर सुर्खेत रोडस्थित एक होटलमा खुँडा प्रहार गरी हत्या गरेका थिए । हत्या अभियोगमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ मा रिगललाई हत्याका मुख्य योजनाकारका रूपमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

त्यस घटनामा छविलाल बस्नेत, प्रशान्त भन्ने प्रेमध्वज खत्री, मोहनलाल खड्का र नवराज खत्रीलाई जन्मकैद, सोहनसिंह ढकाललाई १० वर्ष, दीपेन्द्र मल्ललाई ५ वर्ष तथा हरि वली, यामबहादुर बुढामगर, मनीष चौलागाईं, विवाद पाठक, केशव रोकाय, माधव परियार, प्रीतम थापालाई ३/३ वर्ष कैद सजाय सुनाएको थियो ।

हत्यापछि फरार रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए । त्यो बेला गुन्डा नाइकेहरूविरुद्ध प्रहरीले इन्काउन्टर शृंखला चलाएपछि रिगलले ज्यान जोगाउने उद्देश्यले आत्मसमर्पण गरेका थिए ।

साविक मुलुकी ऐन २०२० अनुसार उनी २० वर्ष कैद बस्नुपर्ने हो, गत असोज २ सम्म उनी कैद बसेको अवधि ८ वर्ष पुग्दै थियो । तर, कांग्रेससहितको गठबन्धन सरकारले उनलाई रिहा गरेको थियो ।



प्रकाशित : आश्विन १८, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?