२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना तथा सञ्चार प्रविधि भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताएकी छन् । यूनियन अफ आइसिटीएस प्रोफेसनल्स नेपालले शुक्रबार गरेको ‘नेपालमा दिगो रोजगारी आर्थिक वृद्धिका लागि सञ्चार क्षेत्रको सुदृढीकरण’ विषयक सामाजिक संवादलाई सम्बोधन गर्दै उनले सूचना प्रविधिको विकासका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्नुपर्ने बताइन् ।

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

सूचना तथा सञ्चार प्रविधिको विकासका लागि सरकारले नीति, कानुन र पूर्वाधार निर्माणका काम गर्ने उल्लेख गर्दै उनले निजी क्षेत्रले लगानी बढाउनुपर्ने बताइन् ।

‘सरकारले चालु आर्थिक वर्षको बजेटबाटै आत्मनिर्भर अर्थतन्त्रको आधारः स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ सूचना प्रविधि क्षेत्रलाई पनि समेटेर सबै स्थानीय तहमा राष्ट्रिय उत्पादन र रोजगार प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिसकेको छ,' मन्त्री शर्माले भनिन्, 'सूचना प्रविधिमा आधारित उत्पादन वृद्धि र रोजगार प्रवर्द्धनका लागि संघीय सरकारले कानुन, पूर्वाधार र जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गरेको छ भने प्रदेश र स्थानीय तहहरुलाई पनि यसका लागि हामीले प्रोत्साहन गरिरहेका छौं ।'

उनले मुलुकभर द्रूतगतिको इन्टरनेटको पहुँच विस्तार गर्दै सूचना प्रविधि ज्ञान पार्कहरु स्थापना गर्न सकियो भने देशका जुनसुकै ठाउँमा बसेर पनि सूचना प्रविधिमा आधारित उद्यम सञ्चालन गर्न सहज हुने बताइन् ।

सूचना प्रविधिमार्फत आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने गरी सरकारले जनशक्ति उत्पादन, उत्पादन वृद्धि र त्यसको बजारीकरणलगायतका क्षेत्रमा सहजीकरण गरिरहेको र यो पर्याप्त नभएकाले अझै बढाएर लैजाने तयारी गरिएको उनको भनाइ थियो । यो वर्षदेखि देखि सूचना प्रविधि विषयमा उच्च तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको ब्यवस्था गरिएको उल्लेख गर्दै मन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा थप आकर्षित गर्ने गरी डिजिटल च्याम्पियन, आइटी एक्जिविसनलगायत कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको समेत जानकारी दिइन् ।

प्रकाशित : आश्विन ५, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?