२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

डाक्टर कुट्नेलाई ‘कारबाही’

आक्रमणकारीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनबमोजिम कारबाही गर्ने सहमति, स्वास्थ्य संस्था बन्दलगायतका पूर्वघोषित सबै विरोध कार्यक्रम फिर्ता
अतुल मिश्र

काठमाडौँ — आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्य संस्था बन्दलगायतका पूर्वघोषित सबै विरोध कार्यक्रम फिर्ता लिएको छ ।

डाक्टर कुट्नेलाई ‘कारबाही’

संघले डाक्टरमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको मागसहित आइतबार देशभरिका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा ठप्प पारेको थियो । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति बनाएका थिए । वार्ता समिति र चिकित्सक संघका पदाधिकारीबीच स्वास्थ्य मन्त्रालयमा दिनभर भएको वार्तापछि ६ बुँदे सहमति भएको हो । सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि आक्रमणको आरोपमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका ५ जनासहितका दोषीहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) ऐन २०७९’ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।

ऐन कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय र चिकित्सक संघसँगको सहकार्यमा यसै आर्थिक वर्षदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमतिसमेत भएको छ । ऐनको दफा ५ अनुसार ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति’ लाई सक्रिय बनाउन स्वास्थ्य मन्त्रालयले मासिक रूपमा बैठक बस्ने व्यवस्था मिलाउने सहमति भएको छ ।

चिकित्सकहरूको सेवा, सुविधा, सुरक्षा, जनशक्ति परिचालन, क्षमता अभिवृद्धि तथा विदेशिने प्रवृत्ति कम गर्नेलगायतका समस्या समाधान गर्ने गरी तीन महिनाभित्र चिकित्सा सेवासम्बन्धी विधेयकको मस्यौदा तयार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति पनि दुवै पक्षबीच भएको छ । ‘तत्काललाई आन्दोलन स्थगित भएको छ तर थप ५ जनालाई पक्राउ गरिएन भने पुनः आन्दोलन गर्नुपर्ने हुन सक्छ,’ संघका अध्यक्ष अनिलविक्रम कार्कीले भने ।

स्वास्थ्य संस्था, चिकित्साकर्मी र चिकित्सकमाथि आक्रमण र हातपातजस्ता घटनामा प्रहरीले स्वस्फूर्त कारबाही गर्नुपर्ने बताए । ‘सबै पक्षले हेक्का राख्नुपर्छ, यस्ता घटना हुँदा हामीलाई कानुनसम्मत कारबाहीका लागि बारम्बार आन्दोलनमै ओर्लनुपर्ने जस्तो अप्रिय निर्णय गर्न बाध्य हुनु नपरोस्,’ उनले भने ।

संघले आइतबार देशभरिका स्वास्थ्य संस्थामा सेवा ठप्प पार्दा बिरामीले सास्ती पाए । ‘यो बाध्य भएर गरिएको अप्रिय निर्णय हो, हामीले ७२ घण्टाअघि नै दिएको अल्टिमेटममा काम भएको भए यसरी विरोध गर्नुपर्ने थिएन,’ संघका महासचिव डा. सञ्जीव तिवारीले भने । अस्पताल पुगिसकेका अधिकांश बिरामीलाई आइतबार आकस्मिक कक्षबाटै उपचार गरेको उनले दाबी गरे । संघले गत बिहीबारै सरकारलाई संशोधित ऐनबमोजिम कारबाही नगरिए ७२ घण्टापछि देशव्यापी विरोध सुरु हुने चेतावनी दिएका थिए । भदौ २७ मा सन्चो अस्पताल हेटौंडामा बिरामीको उपचार गरिरहेका डा. विकास थापा र डा. प्र्रशान्त बिडारीमाथि आक्रमण भएको थियो ।

प्रकाशित : आश्विन १, २०८० ०६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?