२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नास्टको उपकुलपतिमा प्राध्यापक सुब्बा नियुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपतिमा प्राध्यापक डाक्टर दिलीप सुब्बा नियुक्त भएका छन् ।

नास्टको उपकुलपतिमा प्राध्यापक सुब्बा नियुक्त

सिफारिस समितिबाट सिफारिस भएका प्राडा सुब्बालाई प्रधानमन्त्री एवं नास्टका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहालले उनियुक्त गरेका हुन् । उपकुलपतिको कार्यकाल ४ वर्ष हुने व्यवस्था छ ।

यसअघि असार तेस्रो साता कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्राडा सुब्बालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए । नास्टमा उपकुलपति नभएको अवस्थामा कुलपतिले निमित्त उपकुलपति तोक्न सक्ने प्रावधान छ । सोही व्यवस्थाबमोजिम प्रा सुब्बालाई निमित्त तोकिएको थियो ।

नास्टका पूर्वसचिव (२०६३ देखि २०६७सम्म) काम गरिसकेका प्रा सुब्बा नास्टका हरेक विषय र गतिविधिका जानकारसमेत छन् । सुब्बा धरानस्थित केन्द्रीय खाद्य प्रविधि विभाग स्थापना गर्न महत्वपूर्ण योगदान गरेका प्राज्ञको रूपमा चिनिन्छन् । नेपालको विज्ञान तथा प्रविधि नीति पुनरावलोकन समितिको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान समिति सदस्यसमेत भएर उनले काम गरेका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयले विशिष्ट सेवा पुरस्कारबाट २०६१ सालमा सम्मान गरेको थियो ।

निर्वतमान उपकुलपति सुनिलबाबु श्रेष्ठले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर गत वर्षको माघ ३ गते नास्टबाट बिदा भएदेखि नास्टमा उपकुलपति रिक्त थियो ।

असार पहिलो साता प्रधानमन्त्री दाहालले भिसी नियुक्तका लागि सिफारिस समिति गठन गरेका थिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति अध्यक्ष हुने सिफारिस समितिमा नास्टका व्यवस्थापन परिषद् सदस्यद्वय प्रा शैलेन्द्रकुमार मिश्र र भरतमणि पोखरेल सदस्य छन् । उक्त समितिले ७ दिनको म्याद राख्दै असार १० गतेभित्र उपकुलपति हुन इच्छुक व्यक्तिहरूलाई आवेदन दिन माग गरेको थियो । जसमा ३१ जनाले आवेदन दिएका थिए ।

प्राप्त आवेदनहरूबाट सिफारिस समितिको बैठकले सुब्बासहित अन्य २ जनाको नाम सिफारिस गरेको थियो ।

प्रकाशित : श्रावण १९, २०८० १६:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?