२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३५१

साढे ५ करोडसम्ममा आफैं बिकेर नागरिकलाई बेच्न हिँडे उच्च पदस्थ

राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध, मानव बेचबिखन तथा ओसारपसार, किर्ते, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पद दुरुपयोग, भ्रष्टाचारलगायतमा मुद्दा चलाउने गरी प्रतिवेदन बनाउने तयारी
मातृका दाहाल

काठमाडौँ — भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, सचिव र तत्कालीन मन्त्रीका सल्लाहकारले गिरोहबाट मोटो रकम बुझेको तथ्य प्रहरी अनुसन्धानबाट खुलेको छ ।

साढे ५ करोडसम्ममा आफैं बिकेर नागरिकलाई बेच्न हिँडे उच्च पदस्थ

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनीहरूले गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीमार्फत ‘गिफ्ट’ भन्दै रकम बुझेका थिए । अहिलेसम्म प्राप्त तथ्य प्रमाणले खुलेको भन्दा आरोपितहरूले बढी रकम लिएको हुनसक्ने प्रहरी अधिकारीहरूको भनाइ छ ।

पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, उनका तत्कालीन प्रमुख स्वकीय सचिव नरेन्द्र केसी, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहमन्त्री थापाका छोरा (स्वकीय सचिवसमेत) ले गिरोहबाट रकम बुझेको खुलेको प्रहरीको भनाइ छ । तीमध्ये हाल प्रतीक फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना फत्ते गर्न गिरोहका सदस्यले उनीहरूलाई मोटो रकम बुझाएका हुन् । ‘अनुसन्धानबाट प्राप्त सबुत प्रमाण र तथ्यले नक्कली शरणार्थी बनाउने धन्दामा काम गर्ने ग्यारेन्टी गरेर रकम लिएको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘प्राप्त तथ्य र प्रमाणलाई आधार बनाएर अनुसन्धान प्रतिवेदन बनाउने तयारी छ ।’

प्रहरी अधिकारीका अनुसार यस प्रकरणमा गिरोहबाट सबैभन्दा बढी रकम बुझ्नेमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राई देखिएका छन् । उनले ५ करोडभन्दा बढी नगद बुझेको तथ्य प्रहरीले संकलन गरेको छ । यस्तै तत्कालीन गृहमन्त्री खाणले १ करोड २३ लाख ५० हजार रुपैयाँ ‘गिफ्ट’ बुझेको भेटिएको छ । उनका स्वकीय सचिव केसीले ५ लाख बुझेको खुलेको छ । केसीले पैसा बुझेको विवरण सचिव पाण्डेको मोबाइलबाट खुलेको हो । तत्कालीन गृहसचिव (हाल प्रधानमन्त्री कार्यालय) पाण्डेले ५० लाख लिएको फेला परेको छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीकले १ करोड बुझेको प्रमाण भेटिएको स्रोतले जनाएको छ ।

शरणार्थी प्रकरणमा सुरुदेखिकै मुख्य पात्रका रूपमा देखिएका पूर्वउपप्रधानमन्त्री एवं एमाले सांसद रायमाझीले किस्ता–किस्तामा गरेर ३ करोड बुझेको प्रमाण रहेको प्रहरीले जनाएको छ । उनका छोरा सन्दीपको बैंक खातामा ४० लाख भेटिएको छ । स्रोतका अनुसार गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीसँग पैसाको डिल गरेको देखिन्छ । त्यसरी प्राप्त भएको रकम उनले छोरा सन्दीपमार्फत व्यवस्थापन गरेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकारीले बताए । गिरोहका नाइके भण्डारीले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ‘मामा’ भनेर सम्बोधन गर्थे ।

सन्दीपले बयानमै ‘व्यावसायिक प्रयोजन’ का लागि आर्थिक कारोबार गरेको उल्लेख गरेका छन् । तर खाताबाट भएको कारोबार नक्कली शरणार्थी प्रकरणसँग जोडिएको तथ्य पुष्टि गर्ने अरू आधार भेटिएको प्रहरीले जनाएको छ । प्रहरी हिरासतमा रहेका दुवै पूर्वमन्त्रीले गिरोहबाट रकम बुझेको आरोप इन्कार गरेका छन् । उनीहरूले बयानमा जवाफ पनि तौलिएर दिएको अनुसन्धानमा संलग्न अधिकारीले बताए । ‘आरोपितले कसुर सहजै स्वीकार गर्दैनन् । यसमा पनि सार्वजनिक लाभको पदमा रहेकाले यस्तै किसिमको बयान दिएका छन्,’ उनले भने, ‘बयानमा इन्कार गरे पनि प्रमाणले त्यसलाई सहयोग गर्दैन, आरोपितले कसुर गरेका बलिया प्रमाण छन् ।’

तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईले काम सम्पन्न गर्ने जिम्मा लिएर रकम बुझेको पोल गिरोहका नाइके दुलाल र भण्डारीले नै खोलेको प्रहरीले जनाएको छ । ‘त्यसलाई पनि पुष्टि गर्ने थप तथ्य र प्रमाण खुलेको छ,’ एक प्रहरी अधिकारीले भने । राईले पनि रकम बुझेको इन्कार गरेका छन् । आरोपितहरूले अहिलेसम्म प्राप्त तथ्य–प्रमाणभन्दा बढी रकम पनि लिएको हुन सक्ने प्रहरीको अनुमान छ । गिरोहलाई रकम बुझाएका सबै प्रहरी सम्पर्कमा पुगेका छैनन् । प्रहरीका अनुसार हालसम्म १ सय ८ जनाको उजुरी परेको छ, जसमा २४ करोडभन्दा बढी रकम उठाइएको उल्लेख छ । प्रहरीले भने यस प्रकरणमा एक अर्बभन्दा बढी असुली भएको अनुमान गरेको छ ।

शरणार्थी बनेर अमेरिका उड्ने प्रलोभनमा रकम बुझाएकाहरूले दिएको उजुरीका आधारमा २०७९ चैत १२ मा दुलाल र भण्डारी तथा टंक गुरुङलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । गिरोहका सदस्य सागर थुलुङ राई चैत १५ र सन्देश शर्मा पोखरेल चैत २९ मा समातिएका थिए । उनीहरूकै बयान र थप प्रमाणका आधारमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वमन्त्री खाण, सचिव पाण्डे, पूर्वमन्त्रीका सल्लाहकार राईलगायत पक्राउ परेका हुन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा फरार छन् । तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईका छोरा नीरज अमेरिका र प्रतीक हङकङ भागेको प्रहरीको आशंका छ । दुवैलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।

हिरासतमा रहेका आरोपितलाई प्रभाव पार्न खोजेको आरोपमा पूर्वसभासद आङटावा शेर्पा पनि प्रहरी नियन्त्रणमा छन् । हिरासतमा रहेका १४ जनाकै बयान सकिएको प्रहरीले जनाएको छ । आरोपितविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, मानव बेचबिखन तथा ओसारपसार, किर्ते, सम्पत्ति शुद्धीकरण, सार्वजनिक पदको दुरुपयोग/ भ्रष्टाचारलगायतमा कारबाही गर्ने गरी प्रतिवेदन बनाउने प्रहरीको तयारी छ । यसका लागि काठमाडौं प्रहरी परिसरले सरकारी वकिलको कार्यालयसँग समन्वय गरिरहेको एक प्रहरी अधिकारीले बताए ।

गृह मन्त्रालयअन्तर्गत नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पनि यस प्रकरणको अनुसन्धानको घेरामा छन् । मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए । जुन दलको सरकार बन्छ, त्यसैका नेता/कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास थियो । मियाँ भने अपवाद बने ।

स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि अहिले सम्पर्कविहीन छन् । अहिले पनि उनी हज समितिकै अध्यक्ष हुन् ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार तत्कालीन गृहमन्त्री थापाका पालामा रायमाझी, राई र प्रतीकले पैसा बुझेर योजनाअनुसार काम हुन नसके पनि नक्कली शरणार्थी बनाउने प्रयास जारी राखेका थिए । प्रयास सफल नहँॅदै केपी शर्मा ओली नेतृत्वको सरकार हटेको थियो । त्यसपछि २०७८ असार २९ मा बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेता खाण गृहमन्त्री बनेका थिए । मन्त्री बनेको महिना दिनभित्रै खाणले गृह सचिवमा पाण्डेलाई ल्याएका थिए । त्यसपछि नक्कली शरणार्थीको तानाबाना मन्त्री खाण र सचिव पाण्डेमार्फत अघि बढेको थियो । ‘अघिल्लो सरकारका पालामै सुरु भएको अपराध योजनामा खाण–पाण्डेमार्फत गिरोहका दुलाल र भण्डारी जोडिएको खुलेको छ,’ अनुसन्धानमा संलग्न अधिकारीले भने ।

नक्कली शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित बनाउन निकै चलखेल भए पनि त्यसलाई परवाह नगरी अघि बढिरहेको एक अधिकारीले बताए । बहालवाला सचिव, सांसद र प्रभावशाली पूर्वमन्त्रीहरू नै जोडिएकाले अनुसन्धान कमजोर बनाउन सबैतिरबाट चलखेल जारी छ । दबाबका बीच पनि राजनीतिक र प्रशासनिक क्षेत्रका उच्च पदस्थ आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भएको छ । ‘शक्तिको दबाब’ का कारण केही व्यक्तिलाई अनुसन्धानमा नतानिएको आरोप पनि प्रहरीलाई लागेको छ ।

यो संगठित अपराधको जालो भत्काएर संलग्नलाई कारबाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षक वसन्त कुँवर, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी निरन्तर खटिरहेका छन् । ‘प्रहरीलाई विभिन्न च्यानलमार्फत दबाब आएको होला, त्यसलाई परवाह नगरी अनुसन्धान गर्न निर्देशन दिइएको छ,’ गृहमन्त्री नारायणकाजी श्रेष्ठनिकट स्रोतले भन्यो, ‘यो मुद्दा कमजोर बनाउने गरी कुनै दबाब हुँदैन ।’

सम्बन्धित समाचार

प्रकाशित : जेष्ठ ३, २०८० ०६:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?