विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण

नवीन पौडेल

परासी — बढ्दो गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित हुन थालेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका शिक्षकलाई ‘लु’ बाट जोगिने उपाय र बालवालिकालाई सुरक्षित राख्नेबारे सचेतना मुलक प्रशिक्षण प्रदान गरिएको छ । तापक्रम बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रामग्राम नगरपालिका र रामग्राम जेसीजले शिक्षकहरुलाई प्रशिक्षण प्रदान गरेको हो ।

विद्यार्थीलाई ‘लु’ बाट जोगाउन रामग्रामका शिक्षकलाई प्रशिक्षण

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाद्वारा सञ्चालित बृहत् सामुदायिक स्वास्थ्य परियोजनाको सहयोगमा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयमा स्वास्थ्य शिक्षा अध्यापन गराउने शिक्षकलाई तालिम प्रदान गरिएको हो ।

सहभागी शिक्षकहरुले अब आफ्नो विद्यालयका विद्यार्थीहरुलाई ''लु'' बाट जोगिने उपाय तथा पूर्व तयारीका विषयमा सिकाउने रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले बताए । कार्यक्रममा रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजन र शुक्रौली स्वास्थ्य चौकीका ईन्चार्ज बलराम सापकोटाले गर्मी मौसममा बालवालिका र वृद्धवृद्धालाई यसको असरबाट जोगाउने उपायका विषयमा सहजीकरण गरेका थिए ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले 'लु' बाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न समयमै तयारी र सकेसम्म 'लु' हुनै नदिन आफ्नो विद्यालयका विद्यार्थीहरुलाई सचेत गराउन र विद्यालय नै बन्द गराउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।

'लु' बाट बच्न गर्मीको समयमा खानपानमा ध्यान दिने, प्रशस्त पानी पिउने, घाममा सकेसम्म नहिाड्ने र हिाड्नै परे सावधानी अपनाउने लगायतका विधि प्रयोग गर्न विज्ञले सुझाव दिएका छन् ।

पश्चिम नवलपरासीमा अत्याधिक गर्मी र तातो हावाको कारण जनजीवन प्रभावित बनेको छ । ४१ डिग्री सेल्सियससम्म तापक्रम बढ्दा दिउँसोको समयमा घरबाट बाहिर निस्कनसमेत असहज छ ।

प्रकाशित : वैशाख १६, २०८१ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?