काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले कमजोरीहरूलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको कान्तिपुर इकोनमिक समिट-२०२४ अन्तर्गत दोस्रो सत्र प्रि-बजेट वक्तव्यमा अर्थमन्त्री पुनले मुलुकको समग्र स्थितिलाई आलोचनात्मक रूपले हेर्नुपर्ने बताएका हुन् ।
'हाम्रो देशको समग्र स्थितिका बारेमा आलोचनात्मक रूपले नै हेर्नुपर्ने र विश्लेषण गर्नुपर्ने हुन्छ,' उनले भने, 'सबै चिज खराब छन्, सबै खत्तम भइसक्यो, सबै निराशाजनक छ भन्ने नि होइन ।' राजनीतिक दलहरू र नेताहरूमा पनि कमी-कमजोरीहरू रहेकाले त्यसलाई निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने अर्थमन्त्री पुनको भनाइ छ । 'हामीले जुन आशा जगाएका थियौं, त्योअनुसार काम गर्न सकेनौं,' उनले भने, 'अहिले आर्थिक शिथिलताका बीच पनि राम्रा कामहरू भएका छन्, हस्पिटालिटी, हाइड्रो पावरलगायतका क्षेत्रमा राम्रो भएको छ ।'
निर्माण क्षेत्रमा पुँजीगत खर्च बढाउन नसकिएको अर्थमन्त्री पुनले स्वीकारेका छन् । 'निर्माणसँग सम्बन्धित उद्योगहरुमा कमजोर छ, नकारात्मक वृद्धिदर छ, जसले गर्दा पुँजीगत खर्च सरकारले समयमै गर्न सकेन, जति गर्न पर्थ्यो, त्यति खर्च गर्न सकेको छैन,' अर्थमन्त्री पुनले भने ।
संघीय सरकारको कोषमा १ खर्ब ६१ अर्ब रुपैयाँ अपुग रहेको अर्थमन्त्री पुनले बताए । 'प्रदेश र स्थानीय तहमा २ खर्ब ५६ अर्ब त्यसै बसिरहेको छ, खर्च गर्न सकिएको छैन,' उनले भने, 'त्यसैले हामीले समन्वयात्मक रुपले काम गर्न सकेनौँ ।'
निर्माण क्षेत्र चलायमान हुन नसक्दा समस्या देखिएको पनि अर्थमन्त्री पुनको भनाइ छ । 'निर्माण क्षेत्र चलायमान भएन, निर्माण सामग्री उत्पादन गर्नेहरू समस्यामा हुनुहुन्छ,' उनले भने, 'यो कुरा बुझ्न सकिने कुरा हो, अरुलाई दोष दिने कुरा होइन । यो सरकारले लिने विषय हो ।'
