अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य : गर्भनर अधिकारीे

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

National Bank's role in economic slowdown is zero: Governor Adhikari

काठमाडौँ — नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थतन्त्र शिथिल हुनुमा राष्ट्र बैंकको भूमिका शून्य रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनोमिक समिट २०२४’ को तेस्रो सत्र ‘गर्भनरलाई प्रश्नैप्रश्न’ मा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अर्थतन्त्र शिथिल रहे पनि सकंटमा नरहेको बताउँदै गर्भनर अधिकारीले शिथिल अर्थतन्त्र हुनुमा राष्ट्र बैंकको भूमिका नरहेको प्रस्ट्याएका हुन् । अर्थतन्त्रलाई चलायमान बनाउन नीतिगत स्थिरता हुनुपर्ने बताउँदै उनले राष्ट्र बैंकले लिने नीति स्थिरभन्दा पनि पूर्वानुमान गर्न सकिने हुनुपर्ने बताए ।

‘सरकारी वक्तव्यहरुमा समेत अर्थतन्त्र शिथिल छ भन्ने आइसक्यो, वर्तमान अवस्थामा अर्थतन्त्र शिथिल छ,’ उनले भने, ‘अर्थतन्त्र शिथिल भए पनि केही व्यक्तिहरुले भनेजस्तो अर्थतन्त्र संकटमा छैन । यद्यपि केही क्षेत्रमा संकट छ ।’

राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको तथ्यांकले पनि १९ खर्ब ११ अर्ब विदेशी विनिमय मुद्रा सञ्चिति रहेको देखाएको छ । गर्भनर अधिकारीले विदेशी विनिमय मुद्रा सञ्चितिले १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात गर्न सकिने बताए । बाह्य क्षेत्र सबल रहेको बताउँदै चाहिएको समयमा जुनसुकै बेला विदेशी मुद्रा खर्च गर्न सकिने अवस्था रहेको उनको भनाइ छ  । ‘भोलिका दिनमा आर्थिक वृद्धिदरका लागि सरकारले कार्यक्रम ल्याउँदा , निजी क्षेत्रले काम गर्छु भनिराख्दा, निजी क्षेत्रसँग पर्याप्त तरलता छ जुनसुकै बेला प्रयोग गर्न सक्छौं,’ उनले भने ।

दुई वर्षअघिको नीतिसँग तुलना गर्दा आजको दिनमा २ प्रतिशत विन्दुले घटिसकेको उनले बताए । ‘बैंकहरूको ऋण योग्य ब्याजदर साढे २ प्रतिशतले घटिसक्यो,’ उनले भने, ‘यति हुँदाहुँदै पनि निर्माण क्षेत्र, त्यससँग सम्बन्धित उद्योगहरुमा प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । जसका कारण उत्पादन ऋणात्मक छ ।’ सहकारीलगायत विविध कारणले पनि अर्थतन्त्र शिथिल भएको उनले बताए ।

कान्तिपुर

Link copied successfully