अर्थतन्त्रको मूल समस्या समाजवादउन्मुख आर्थिक नीति हो : सीके राउत

वैशाख ३०, २०८१

कान्तिपुर संवाददाता

The main problem of the economy is the economic policy oriented towards socialism: CK Raut

काठमाडौँ — राष्ट्रिय जनमत पार्टीका अध्यक्ष सीके राउतले देशमा राजनीतिक अस्थीरता, आर्थिक अराजकता र नीतिगत एवं संरचनागत भ्रष्टाचार विद्यमान रहुन्जेल लगानीमैत्री वातावरण बन्न वा आर्थिक गतिविधि मौलाउन अत्यन्तै कठीन रहेको बताएका छन् । 

आइतबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘इकोनमिक सम्मिट २०२४’ को सत्र 'अर्थमन्त्र: राजनीतिक नेतृत्वको प्रतिबद्धता’ मा  आफ्ना विचार राख्दै सांसदसमेत रहेका राउतले राजनीतिक सेरोफेरोमा रहेको समस्या आर्थिक क्षेत्रमा पनि प्रतिबिम्बित हुने भएकाले नेतृत्व तहमा स्थिरता आवश्यक रहेको बताए । उनले लगानीकर्ताले एक नेतृत्वसँग छलफल गरेर लगानी भित्र्याउन नपाउँदै प्रधानमन्त्री र अर्थमन्त्री नै बदलिने अवस्था रहुन्जेल समस्या उस्तै रहने विचार व्यक्त गरेका हुन् । 

आर्थिक अस्थीरतासँगै भ्रष्टाचार र निजी क्षेत्र लुट्नकै लागि आएका हुन् भन्ने धारणाविरूद्ध खरो विचार राखेका राउतले देशको आर्थिक नीतिको सिद्धान्त सही नभएसम्म गहिराइमा गएर केही पनि हुन नसक्ने धारणा राखे । 'जसले जान-पहिचानको आधारमा काम गर्न जानेको छ, उसका लागि यहाँ सजिलो छ, म २ सय ३ सय डलरका लागि तीनवटा बैंकमा तीन-तीन घण्टा लाइन बसेको छु,’ उनले भने, 'एयरपोर्टमै ५ सय डलर लिन पाइदो रहेछ, नयाँ भएकाले त्यो थाहै भएन । सानो ऋण लिनेदेखि हरेक कुरामा यस्ता झमेला हुन्छन् । म यसलाई पनि भ्रष्टाचारको रुपमा लिन्छु ।' 

राउतले संविधानमै समाजवाद उन्मुख अर्थनीति उल्लेख भएकाले त्यसमा संशोधन आवश्यक रहेको धारणा राखे । 'संविधानमै सरकारले चाहे निजी क्षेत्रलाई निषेध गर्ने गरी ऐन बनाउन सक्नेछ भनिएको छ,’ राउतले भने, 'आर्थिक नीति समाजवादउन्मुख भनिदिएपछि निजी क्षेत्रलाई डर र त्रासले गाँज्छ । आफ्नो लगानी कुनै बेला राज्यले नै खोसिदिने हो कि भन्ने भय हुन्छ । यसरी हाम्रो आर्थिक नीतिमै त्रुटि छ, देशमा कम से कम सामाजिक लोकतन्त्रको नीति लिऊँ, उत्पादनका साधनमा निजी क्षेत्रलाई लगानी गर्न छुट दिऊँ, संरक्षण दिऊँ । शिक्षा, स्वास्थमा मात्र सरकारले हस्तक्षेप गरोस् भन्ने धारणा हो । '   

राउतले आर्थिक नीतिको सिद्धान्तमा सामाजिक लोकतन्त्रको अवधारणा लागू गर्ने, खुला बजार र उदारवादलाई प्रश्रय दिँदै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, उत्पादनमूखी अर्थतन्त्रलाई जोड दिने, कृषि, उद्योग र सेवा क्षेत्रको सन्तुलित विकास गर्ने, अस्थिरता अन्त्यका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्ने र कर्मचारीतन्त्रमा हायर एन्ड फायरको प्रणाली लागू गर्ने आफ्नो पार्टीको प्रतिबद्धता रहेको स्पष्ट पारे ।

कान्तिपुर

Link copied successfully