कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छायाशक्तिमाथि अनुसन्धान छायामा

मञ्जु आफैं सम्पर्कविहीन, आरजुलाई देउवाको आड
खाँण दम्पतीलाई ‘फसाएर’ आरजुलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेस संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई निवासमै भेटेर चेतावनी दिएको छ

काठमाडौँ — आफ्नो कार्यकालका गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ‘सन्देहपूर्ण’ मौनता देखिएको छ । मानव बेचबिखन जस्तो जघन्य अपराधमा पक्राउ परेका खाँणलाई पार्टीको पदबाट निलम्बन गर्न नागरिक अभियन्ता र कांग्रेस नेता/कार्यकर्ताले दबाब दिँदा पनि देउवा प्रतिक्रियाविहीन छन् ।

छायाशक्तिमाथि अनुसन्धान छायामा

खाँण मन्त्री भए पनि गृह मन्त्रालयमा रजगज चलाएकी आरजु राणामाथि अनुसन्धान हुन नदिन देउवाको दौडधुप छ ।

‘प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, प्रहरीका अधिकृतहरूलाई पनि पटकपटक फोन गरेर देउवाले आरजुको विषयमा सोधखोज गरिरहनुभएको छ । प्रहरी अधिकारीलाई दिनमा पाँच पटकसम्म फोन गर्नुभएको छ, सत्यतथ्य छानबिन होस् भन्नेमा ध्यान छैन, आरजुको नाम कुनै पनि अवस्थामा नआओस् भनेर दबाब दिइरहनुभएको छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘खाँण दम्पतीबाट आरजुको नाम नआओस् भन्नेमा पनि उहाँको चासो देखिन्छ ।’

तत्कालीन गृहमन्त्री खाँण थुनामा छन् भने पत्नी मञ्जु सार्वजनिक सम्पर्कबाहिर छिन् । जबकि प्रतिनिधिसभाकी सदस्यसमेत रहेकी उनले गत बुधबार सदनको शून्य समयमा बोल्न नाम पनि लेखाएकी थिइन् । तर पति पक्राउ परेपछि उनी संसद् गइनन् ।

अर्को दिनदेखि उनको मोबाइल बन्द (स्विच अफ) छ । फेसबुक ‘डिएक्टिभ’ गरिएको छ । भाइबर, ह्वाट्स एपमा पनि उनी छैनन् । मन्त्री निवासबाट बाहिरिएपछि खाँण मैजुबहालमा बस्दै आएका थिए भने मञ्जु कुपन्डोलमा बुबासँगै बस्थिन् ।

सार्वभौम संसद्की सदस्य, आफूमाथि गलत आरोप कसैले लगाए प्रस्ट बोल्न सक्ने मञ्च र शक्ति उनीसँग छ । तर उनी सार्वजनिक प्रतिवाद गर्न छाडेर सम्पर्कविहीन छिन् । मञ्जुले बोले आरजुको नाम आउने निश्चित भएको कांग्रेस सांसदहरूकै भनाइ छ ।

‘कुनै कारण मञ्जु भाउजू कानुनी दायरामा तानिए आरजु भाउजूको समेत नाम लिने निश्चितजस्तै छ, किनकि गृहमन्त्री खाँण दाइ भए पनि रजगज आरजु भाउजूको थियो,’ कांग्रेसकै सांसदहरूको भनाइ छ ।

खाँण दम्पतीलाई ‘फसाएर’ आफ्नी श्रीमतीलाई मात्र बचाउन खोजेको भन्दै कांग्रेसको संस्थापन पक्षकै सांसदको एक समूहले सभापति देउवालाई भेटेर चेतावनी दिएको छ । खाँण पक्राउ परेको र मञ्जु सम्पर्कविहीन भएको अर्को दिन कान्तिका सेजुवाल, नागिनाकुमारी यादव, सीताकुमारी राना, रूपा विक, सुशीला थिङलगायत सांसदले देउवालाई भेटेरै खबरदारी गरेका थिए । सहमहामन्त्री महेन्द्र यादवले कान्तिपुरसँग भने, ‘महिला सांसदहरूको टोलीले सभापतिलाई भेटेर आफ्नो चासो स्पष्ट राखेका छन् । खाँण दाइलाई फसाउन खोजिएको हो भन्ने कुरा प्रस्ट छ ।’ कसले फसाउन खोजेको भन्नेबारेमा भने उनले केही बताउन चाहेनन् । यति मात्र भने, ‘निष्पक्ष छानबिन होस् ।’

आफ्नालाई बचाउन पार्टीका अरू नेतामाथि अन्याय नहोस् भनेर पार्टी नेतृत्वसँग कुरा राखेको सांसदहरूको भनाइ छ । सहभागी एक सांसदले भनिन्, ‘हिजो प्रधानमन्त्री र आज सभापतिका रूपमा सम्पूर्ण जिम्मा तपाईंले लिनुपर्छ । आफ्नो परिवारलाई बचाउने मूल्यमा अरूमाथि अन्याय भए हामी सहँदैनौं, आवश्यक परे सांसद पदबाट राजीनामा दिन तयार छौं भनेर प्रस्ट भनेका छौं ।’

खाँण पक्राउ परिसकेपछि पनि मञ्जुसँग सम्पर्कमा रहेकी एक सांसदले भनिन्, ‘खाँण दाइ मात्रै किन ? त्यसभन्दा माथिका पनि तानिनुपर्छ, तानिएनन् भने हामी पनि चुप लागेर बस्दैनौं । हदै होला पार्टीको कारबाही भोगिएला । भोग्न तयार छौं ।’

आरजुतर्फ लक्षित गर्दै ती सांसदले भनिन्, ‘गृह मन्त्रालयमा सधैं हस्तक्षेप भयो भनेर खाँण दाइ–भाउजूको गुनासो थियो । गृह प्रशासनमा एक दिन पनि अनुभव नभएका टेकनारायण पाण्डेलाई गृह मन्त्रालयको सचिव बनाएर ल्याउने काममा पनि खाँणले आफ्नो हात नभएको बताउनुभएको थियो, ल्याउने र मिलिभगत गर्नेलाई कारबाही नभएसम्म यो प्रकरण सकिनुहुन्न ।’

त्यसो त कांग्रेस सत्तामा रहेका बेला गृहमा मात्रै होइन, स्वार्थ भएका सबै मन्त्रालयमा सचिव को राख्ने भन्नेबारे आरजुकै हस्तक्षेप भएको गुनासो पहिलेदेखि नै छ । माओवादी अध्यक्ष दाहाल २०७३ मा प्रधानमन्त्री हुँदा उपप्रधानसहित गृहमन्त्री थिए विमलेन्द्र निधि । ‘आरजुको रोजाइमा गृह सचिव भएका लोकदर्शन रेग्मीले गृहमन्त्रीभन्दा आरजुको आदेश कार्यान्वयन गर्न खोज्थे, जसका कारण आरजु र निधिबीच द्वन्द्व बढेको थियो, जुन पछि प्रहरी महानिरीक्षक नियुक्तिको प्रकरणमा छताछुल्ल बनेको थियो,’ कांग्रेसका अर्का नेता भन्छन् ।

यसपालि पनि नियति त्यही थियो । तर, देउवाको छाया पाएका खाँण भने पार्टी महाधिवेशन र संसदीय दलको नेता चयनमा समेत राज्य प्रशासनको दुरुपयोगमा उत्रिएका थिए । दलको नेतामा प्रतिस्पर्धी बनेका गगन थापाको पिछा गर्दै लाजिम्पाटको होटल एम्बास्डर पुगेका प्रहरीलाई कांग्रेस कार्यकर्ताले नै समातेका थिए । तर, यो विषयमा कसैमाथि कारबाही भएन ।

तर खाँणको बफादारिता आरजुका लागि अपर्याप्त थियो । खासमा आर्थिक लेनदेनमा ‘दुई भाउजू आमनेसामने भएको’ कांग्रेस सांसदहरूको भनाइ छ । सार्वजनिक भएको अडियोमा आरजुले साढे २ करोड र मञ्जुले ६ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । ‘निष्पक्ष अनुसन्धान हुन्छ र सबै हिसाबकिताब आउँछ भने हामीलाई आपत्ति छैन,’ एक सांसदको भनाइ छ ।

आरजुले हिमालय टीभीलाई अन्तर्वार्ता दिँदै पूर्वगृहमन्त्री खाँणले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज खाएको विषयमा टिप्पणी मात्र गरेकी छैनन्, मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारेकी छन् । ‘म कागज खाने, घाँस खाने मान्छे होइन । भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन । अडियो फेक हो । मञ्जुका बारेमा मलाई थाहा छैन । म उसको जिम्मेवारी लिन सक्दिनँ । ऊ मसँगै २४ सै घण्टा हिँड्ने मान्छे हो र ?’ उनले प्रतिप्रश्न गरेकी छन् ।

यता खाँणमात्रै नभई सबै दोषी कारबाहीको दायरामा आउनुपर्ने भन्दै कांग्रेसको इतरपक्षले अडान लिएको छ । उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको प्रतिष्ठा र जनआवाजलाई कदर गर्दै पदाधिकारी बैठकमै खाँणलाई निलम्बन गर्नुपर्ने माग उठाएका थिए । तर, खाँणलाई कारबाही गर्न देउवा डराएका छन् ।

बुधबार र बिहीबार बसेको पदाधिकारी बैठकमा देउवाको कुनै धारणा नआएपछि महामन्त्री थापाले यस प्रकरणमा सभापतिजीको धारणा के हो भनेर दोहोर्‍याएका थिए । प्रस्ट जवाफ नदिई देउवाले यति मात्रै भने, ‘परामर्श गरिरहेको छु ।’ देउवाले परामर्श त गरिरहेका छन्, तर पार्टीका नेताहरूसँग होइन, प्रधानमन्त्री, गृहमन्त्री र पदाधिकारीसँग । कारबाही गर्न होइन, आफ्नालाई बचाउन ।

पूर्वन्यायाधीश एवं पूर्वसुरक्षा अधिकारीहरू राष्ट्रकै प्रतिष्ठा र मर्यादामा आँच आउने गरी मन्त्री र सचिवसहितको मिलेमतोमा भएको अपराधमा जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताउँछन् । ‘देशकै बेइज्जत हुने गरी भएको यो अपराधमा जोसुकै मुछिएका हुन्, छानबिन र अनुसन्धानको दायरामा आउनैपर्छ, अहिलेसम्म प्रहरीले अनुसन्धानमा उच्च मनोबल र साहसका साथ काम गरिरहेको देख्न सकिन्छ । यसमा खुट्टा कमाउनु हुँदैन,’ पूर्वन्यायाधीश गौरीबहादुर कार्की भन्छन्, ‘तथ्य र प्रमाणले जो–जो मुछिएका छन्, जो तानिन्छन्, उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनैपर्छ । अपराधसँग जोडिएका तथ्यहरू आएको भए त्यससँग सम्बन्धित देखिने पात्रलाई पनि हिरासतमा राखेर वा नराखेर बयान लिइनुपर्छ ।’

प्रहरीका पूर्वएआईजी प्रद्युम्न कार्की पनि तथ्य र प्रमाणले भेटेसम्म अपराधमा जोडिएकामाथि अनुसन्धान गर्न प्रहरी सक्षम रहेको बताए । शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीकै पत्नी जोडिएको अडियो प्रकरणबारे पूर्वएआईजी कार्कीले ‘प्रमाणले पुष्टि गरेसम्म अपराधको अनुसन्धानमा व्यक्ति वा ओहोदा बिर्सिनुपर्ने बताउँछन् ।

अडियोका आधारमा पनि अनुसन्धान गर्नुपर्ने विज्ञहरूको धारणा छ । ‘घटनासँग जोडिएका तथ्य र प्रमाण जुटाउँदा बयान पनि एउटा महत्त्वपूर्ण पक्ष हो । बयान साक्षी प्रमाणका रूपमा एउटा हुन्छ भने अर्को ‘शंकास्पद व्यक्ति’ सँग सोधपुछ/केरकार,’ कार्की भन्छन्, ‘यदि शंकास्पद व्यक्तिको संलग्नता पुष्टि हुने अरू आधार भेटियो भने त्यस्तो व्यक्तिलाई थुनेर बयान लिइनुपर्छ । यो अनुसन्धानको स्वाभाविक प्रक्रिया पनि हो ।’ शरणार्थी प्रकरणसँग जोडिएको अडियो ल्याबबाट पुष्टि भए संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख ३१, २०८० ०६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?