कतारको अल जावर पार्टनर्स कम्पनीमा १५ सय कामदार तलबविहीन

कामदारलाई आपत्कालीन सहयोग भइरहेको छ : एनआरएन

वैशाख १४, २०८१

होम कार्की

काठमाडौँ — कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ ।

पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ । कम्पनीले कामदारलाई तलब दिन सकेपछि खाना पनि दिएको छैन ।

‘यो ठूलो कम्पनी हो । कम्पनीले हामीलाई तलब दिन्छ भनेर पर्खिवसेका थियौ । हामीले खाना आफ्नै पैसाले नै खाँदै आएको थियौं । अहिले हामीसँग पैसा नै छैन । बिचल्लीको अवस्थामा आउनुपर्‍यो,’ एक कामदारले भने । 

उनीहरूले अल जावरमार्फत कतारको सरकारी प्रोजेक्टमा काम गर्थे । कतार सरकारले नै ठेक्काको पैसा उपलब्ध नगराएको कारण आफूहरूले तलब दिन नसकेको सूचना कामदारलाई दिएको छ ।  पीडित कामदारले नेपाली दूतावाससमक्ष तलब दिई तत्काल उद्धार गर्न अनुरोध गरेको छ ।

कामदारको समस्या समाधान गर्न एनआरएन, कतारले कतारको श्रम मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गरेका थिए । कतारको श्रम मन्त्रालयको प्रवासी श्रमिक मामिलाका लागि सहायक उपसचिव शेखा नजवा अल–थानीले कामदारलाई खाद्यान्नको अभाव हुन नदिने बताउँदै समस्या समाधान गर्न पहल गरिने प्रतिबद्धता जनाएकी छन् ।

एनआरएन, कतारका श्रमिक कल्याण समितिका प्रमुख कृष्ण पन्थीले कामदारलाई खाद्यान्न अभाव हुन नदिने गरी काम भइरहेको बताए । ‘यो समस्या समाधान हुनेमा हामी आशावादी छौं । उहाँहरुले पाउनुपर्ने तलब दिलाउन सम्बन्धित निकायको ध्यानकर्षण भइरहेको छ,’ उनले भने ।

यो कम्पनीमा साढे दुई वर्षदेखि करिब २० वर्षसम्म काम गरेका कामदार रहेका छन् । कम्पनीका ४ वटा साइड चलेका थिए । स्थानीय प्रहरीले कम्पनीसमक्ष दुई पटक कुरा गरिसकेका छन् । कम्पनीले तलब दिने भाका सार्दै गइरहेको छ । कम्पनीले सोमबारसम्म बक्यौता तलब दिई स्वदेश फिर्ता गर्ने जनाएको छ । 

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully