२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७४

'झन्डै ८ करोड रुपैयाँबराबरका मोबाइल लुटिए, राज्यले क्षतिपूर्ति दिनुपर्छ'

कान्तिपुर संवाददाता

काठमाडौँ — मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

'झन्डै ८ करोड रुपैयाँबराबरका मोबाइल लुटिए, राज्यले क्षतिपूर्ति दिनुपर्छ'

सोमबार यातायात मजदुरहरूको प्रदर्शनका क्रममा ल्होत्से मलमा सञ्चालित मोबाइल पसलमा लुटपाट भएको थियो । पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको थियो । पसल तोडेर मोबाइल लुट्दै गरेको दृश्य कैद भएका भिडियोहरू सामाजिक सञ्जालमा पोस्ट भएका छन् । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघका उपाध्यक्षसमेत रहेका पसलका सञ्चालक अर्जुन चालिसेले करिब ८/९ करोड रुपैयाँबराबरको मोबाइल लुटिएको कान्तिपुरलाई जानकारी दिए । ल्होत्से मलमा रहेका उनको दुई वटा मोबाइल पसलमा लुटपाट भएको हो । चालिसेको एसीडीसी मोबाइल पसल र डायमन्ड स्टार इन्भेस्टमेन्ट ग्रुप प्रालिमा लुटपाट भएको हो । चालिसेका अनुसार मलमा भएको काठमाडौं सुपर मार्केटमा समेत लुटपाट भएको छ ।

नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराईले सोमबारको घटनामा संलग्नलाई कारबाही र व्यवसायीलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने बताए । कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष भट्टराईले भने, '२ वटा पसलमा करिब ८/९ करोड रुपैयाँबराबरको लुटपाट भएको छ । दिनदहाडै हाम्रा पसलमा लुटपाट भएको छ । व्यवसायीले गरीखाने वातावरण देखिएन ।राज्यले क्षतिपूर्ति नदिए हामीले संघर्षका कार्यक्रमहरू अगाडि बढाउँछौँ ।'

दिउँसै यसरी लुटपाट हुँदा व्यवसायीहरूको आत्मबल कमजोर हुने उनले बताए । आफूहरूलाई विभिन्न ९ वटा व्यवसायी संघको समर्थन रहेको पनि अध्यक्ष भट्टराईले बताए । महासंघले मंगलबार नै पत्रकार सम्मेलन गरेर संघर्षका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । आगामी फागुन ५ गते माइतीघरमा प्रदर्शन गर्ने पनि उनले जानकारी दिए ।

प्रकाशित : फाल्गुन २, २०७९ १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?