कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आजदेखि

पोखरा — पोखरेलीले पाँच दशकअघि देखेको अन्तर्राष्ट्रिय विमानस्थलको सपना आइतबार पूरा हुँदै छ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्दै छन् । उद्घाटनका दिन हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्ने भए पनि अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आजदेखि

अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ । राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएको खुसीमा बिदा दिइएको यो सम्भवतः पहिलो पटक हो । उद्घाटन समारोहमा स्थानीयको व्यापक सहभागिताका लागि महानगरका कर्मचारी, शिक्षकलगायत सबैलाई अनिवार्य उपस्थितिको आह्वान गरिएको छ । बाँकी पृष्ठ ११ड

पुरानो विमानस्थलदेखि तीन किलोमिटर पूर्व छिनेडाँडा क्षेत्रको २ सय हेक्टर क्षेत्रफलमा करिब २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो । नयाँ विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा आउनुअघि पुरानो विमानस्थलबाट जोमसोम चल्ने साना जहाज, हेलिकोप्टर र अल्ट्रालाइट चल्नेछन् । त्यसपछि ६ दशक पुरानो विमानस्थल पूर्णरूपमा विस्थापित हुनेछ ।

पोखरा विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग नभएको ‘प्यासेन्जर बोर्डिङ ब्रिज’ को सुविधा छ । अन्तर्राष्ट्रिय गन्तव्यमा आवागमन गर्ने यात्रुलाई टर्मिनल र जहाजमा सिधैं एरोब्रिजले जोड्नेछ । पोखरा विमानस्थल छोटो हवाई रुटमा जोडिइसकेको छैन । सुरुआती चरणमा पोखरा आउने अन्तर्राष्ट्रिय वायुयानले सिमराको आकाशबाट प्रवेश गर्नुपर्नेछ । पोखराबाट बाहिरिने वायुयानले पूर्वतर्फ काठमाडौं हुँदै र पश्चिमतर्फ भैरहवा र महेन्द्रनगर रुट हुँदै निस्किनुपर्नेछ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न अन्तर्राष्ट्रिय वायुयानका लागि ‘सिंगल अप्रोच’ विधि मात्रै छ अर्थात् ठूला जेट विमानले धावनमार्गको पूर्वी बिन्दु (विजयपुर खोला) बाट मात्रै उडान तथा अवतरण गर्नुपर्नेछ । घरेलु वायु सेवाले भने धावनमार्गका दुवै बिन्दुबाट आन्तरिक उडान गर्न सक्नेछन् । विमानस्थलमा ११ जहाज पार्किङ गर्न सकिनेछ, जसमा अन्तर्राष्ट्रियतर्फ तीनवटा र बाँकी साना जहाज हुनेछन् । वार्षिक आठ लाख यात्रु आवागमन हुने विमानस्थलको आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ ६ वटा उडान तथा अवतरण गर्ने क्षमता छ ।

नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुला हुनेछ । ‘पुस अन्तिमसम्ममा एरो थाइले क्यालिब्रेसन (यान्त्रिक परीक्षण) उडानको विस्तृत प्रतिवेदन बुझाउँछ,’ भुलले भने, ‘त्यसपछि प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधानअनुसार एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा प्रतिवेदन प्रकाशन गर्नेछ । यसको अवधि ४२ दिन हुन्छ । त्यसपछि मात्रै पोखरा अन्तर्राष्ट्रिय उडानका लागि योग्य मानिनेछ ।’

पोखरा विमानस्थललाई प्राधिकरणले ‘क्याटगोरी २’ भनेको छ, जहाँ जहाजलाई अवतरण गर्न न्यूनतम ३ हजार ८ सय मिटर र उडानका लागि १ हजार ५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । यस विमानस्थलमा १ सय ५० देखि १ सय ८० सिट संख्या भएका एयरबस ३२० र बोइङ ७५७ वा सो सरहका जहाजले उडान गर्न सक्छन् । ‘फोर डी’ श्रेणीको भएकाले यसको रनवेको लम्बाइ २ हजार ५ सय मिटर छ । अग्नि नियन्त्रण विधामा यो ‘क्याटगोरी ८’ मा पर्छ, जसअन्तर्गत विमानस्थलमा तीनवटा दमकल राखिएका छन् ।

पोखरा विमानस्थल प्रमुख विक्रम गौतमका अनुसार पुरानो विमानस्थलमा रात्रि उडान सेवा थिएन तर नयाँ विमानस्थलमा रात्रि उडानका लागि आवश्यक पर्ने प्रविधि जडान गरिएको छ । विमानस्थलमा भन्सार, अध्यागमन, प्रहरी, सेना, कृषि तथा पशु क्वारेन्टाइन, गोदाम तथा पारवहन, मेडिकल, बैंक, श्रमलगायतका सरकारी निकाय आइसकेको उनले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ हालसम्म बुद्ध एयरले पोखराबाट बनारस उडानका लागि पहल गरेको छ । अन्य विदेशी वायुसेवाले मौखिक रूपमा पोखरा विमानस्थलबाट उडान भर्न चासो देखाएका छन् । विमानस्थल प्रमुख गौतमका अनुसार हिमालय एयरलाइन्स, फ्लाई दुबई, थाई स्माइलले पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चासो राखेका छन् । यस विमानस्थलबाट बुद्ध, यती र सौर्यले पुस पहिलो साता साना विमानबाट परीक्षण उडान गरेका थिए । आइतबार भने हिमालय एयरलाइन्सले एयरबस ३२० मार्फत पहिलो डेमो उडान गर्दै छ । अन्तर्राष्ट्रिय उडान सुरु नहुँदासम्म काठमाडौं, भरतपुर, भैरहवा, नेपालगन्ज र धनगढी हुने आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०३२ मा जग्गा अधिग्रहण सुरु भएको थियो । त्यतिबेला ३ हजार १ सय ६ रोपनी जग्गाको मुआब्जा दिई अधिग्रहण गरिएको थियो । हाल ३ हजार ८ सय ९९ रोपनीमा विमानस्थल निर्माण भएको छ ।

प्रकाशित : पुस १७, २०७९ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?