'निर्वाचन सम्पन्न भएसँगै महाभियोग निष्प्रभावी, प्रधानन्यायाधीश नियमित काममा फर्कन सक्छन्'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
संसद् सचिवालयको पत्र

'निर्वाचन सम्पन्न भएसँगै महाभियोग निष्प्रभावी, प्रधानन्यायाधीश नियमित काममा फर्कन सक्छन्'

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचन भएर नयाँ सांसद निर्वाचित भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि तत्कालीन संसद्ले लगाएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको जनाएको छ ।

संसद् सचिवालयले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र संवैधानिक परिषदलाई महाभियोग प्रस्ताव निष्क्रिय भएको बेहोराको पत्र पठाएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

पाण्डेले निर्वाचन सकिएसँगै जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र गएको बताए । सोमबार जबरालले संसद् सचिवालयमा 'महाभियोग निष्प्रभावी भएको जानकारी गराई पाउँ' भन्दै निवेदन दिएका थिए । त्यसको जवाफमा संसद् सचिवालयले महाभियोग प्रस्ताव निष्प्रभावी भएको उल्लेख गर्दै प्रधानन्यायाधीशले नियमित रूपमा कार्यसम्पादन गर्न पाउने जानकारी गराएको छ ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमद्वारा जारी पत्रमा भनिएको छ, 'महाभियोगको प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस, प्रारम्भिक छलफल र महाभियोग सिफारिस समितिबाट प्रतिवेदन बुझाइएको तर तत्पश्चातको प्रक्रिया अगाडि नबढेको अवस्थामा २०७९ मंसिरमा नयाँ प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेकोले २०७८ फागुन १ मा तत्कालीन समयमा महासचिवबाट सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर जबराले कार्य सम्पादन गर्न नपाउने भन्ने व्यहोराको पत्र समेत निष्प्रभावी भएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु। प्रधान न्यायाधीशको नियमित कार्य सम्पादन गर्नको लागि उँहाले दिनु भएको निवेदनको छायाँ प्रति यसै साथ संलग्न रहेको छ ।'

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए । महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए ।

त्यसपछि जबरामाथि लागेका विभिन्न आरोपमाथि अनुसन्धान गर्न महाभियोग सिफारिस समिति गठन भएको थियो । समितिले जबरालाई महाभियोग लगाउन सिफारिससमेत गरेको थियो । सिफारिस समितिका बहुमत सदस्यले राणालाई महाभियोग लगाउन सिफारिस गरेका थिए ।

एमाले र लोसपाका सदस्यले निर्णय प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत लेखेका थिए । महाभियोग सिफारिस समितिले प्रतिनिधिसभाको कार्यकालको अन्तिम दिनसम्म प्रतिवेदन दिन नसक्दा संसद्ले महाभियोग प्रस्ताव टुंगोमा पुर्‍याउन सकेको थिएन ।

सम्बन्धित समाचार
जबरा प्रधानन्यायाधीशबाट हट्नुपर्ने १७ कारण

महाभियोगसँगै जबरा पनि अलपत्र

प्रकाशित : मंसिर २१, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्

उत्पादन कटौती हुँदा पनि कच्चा तेलको भाउ घट्यो 

एजेन्सी

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८० अमेरिकी डलरभन्दा तल झरेको छ । बुधबार साढे १२ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९.५ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७७.७, डब्लूटीआई तेलको मूल्य ७४.३ डलरमा झरेको छ ।

एक महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १७ डलर हाराहारीमा घटेको छ । तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले नोभेम्बर महिनामा कटौती गरेको परिमाणलाई निरन्तरता दिने निर्णय गरेको छ । नोभेम्बर महिनादेखि ओपेक प्लसले कच्चा तेलको उत्पादन दैनिक २० लाख ब्यारेल कटौती गर्दै आएको छ । यसैलाई केही दिनअघि बसेको ओपेक प्लस बैठकले निरन्तरता दिने निर्णय गरेको हो । अर्कोतर्फ युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । जसले गर्दा चीन र भारतले रसियन तेलको आपूर्ति बढाएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन विभिन्न प्रयास गरिरहेका छन् । विश्वमा धेरै तेल उत्पादन गर्ने मुलुकमा रुस दोस्रो ठूलो मुलुक हो । अन्तर्राष्ट्रिय बजारबाट खरिद गरेको मूल्यअनुसार भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई प्रशोधित पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँछ । तसर्थ अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य उतारचढावले नेपालको अर्थतन्त्रमा नै प्रभाव पर्दछ ।


प्रकाशित : मंसिर २१, २०७९ १२:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×