कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको दोहोरो दाउ

पहिले कांग्रेसको पक्षमा जनमत नहुँदा देउवालाई प्रधानमन्त्री बनाएको तर्कसहित नयाँ सरकारमा नेतृत्व दाबी गर्ने माओवादीको तयारी

काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ करिब १० प्रतिशत मात्र सिट जितेपछि मनोबल केही खस्किए पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालको महत्वाकांक्षा कमजोर भएको छैन । गठबन्धनबाटै प्रधानमन्त्री बन्ने प्रयासमा लागेका उनले अन्यथा विकल्प पनि खोज्न सक्ने सन्देश दिइरहेका छन् ।

दाहालको दोहोरो दाउ

गठबन्धनमा ठूलो दलको हैसियतले कांग्रेसले आगामी सरकारको नेतृत्वमा मुख्य दाबी गरिरहेको छ । प्रत्यक्षतर्फ कांग्रेसले एक तिहाइभन्दा बढी सिट जितेको छ । तर अघिल्लो पटक संसद्मा कांग्रेस कमजोर हुँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको तर्कसहित माओवादीले नयाँ सरकारको नेतृत्व गर्ने पहल गरिरहेको छ ।

देउवा र दाहाल दुवै प्रधानमन्त्री हुन चाहे पनि छिनोफानो हुने गरी संवादमा प्रवेश गरेका छैनन् । ‘अब कांग्रेसले माओवादी अध्यक्षलाई प्रधानमन्त्री बनाउँदा राम्रो हुन्छ, अध्यक्ष कमरेडको भित्री मनसाय पनि त्यस्तै छ,’ दाहाल निकट स्रोतले भन्यो, ‘साइड बैठकमा केही कुराकानी भएका होलान् । तर खुलस्त कुराकानी भइसकेका छैनन् ।’

देउवालाई दबाबमा राख्न दाहाल निकटका नेताहरूले एमालेसँग पनि सहकार्य हुन सक्ने बताइरहेका छन् । शनिबार पार्टी बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले सरकार निर्माणमा पाँचदलीय गठबन्धनको विकल्प खुला रहने स्पष्ट बताएका थिए । लगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले माओवादी अध्यक्ष दाहालसँग फोन संवाद गरेका थिए । खड्कासँगको संवादमा दाहालले गठबन्धन नटुट्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । कांग्रेसलाई आश्वस्त बनाउन उनले आइतबारको बैठकमा गठबन्धनकै पक्षमा धारणा राखेका छन् ।

चुनावी समीक्षा गर्न शनिबार र आइतबार बोलाइएको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष दाहालले गठबन्धन सरकारमै सहभागी हुने बताएका थिए । ‘हामी गठबन्धनमै छौं, यसमा कुनै भ्रम नहोस् । पार्टीको निष्कर्ष पनि यही हो,’ उनको भनाइ थियो, ‘कांग्रेस र अरू दललाई विश्वासमा लिएर मैले गठबन्धन बनाएको हो । यसको विकल्प खोज्नु नैतिक र राजनीतिक रूपमा अनुचित हुन्छ ।’

निकट नेताहरूका अनुसार भने दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिहरूसँग पनि संवाद जारी राखेका छन् । गठबन्धनको स्थायित्वमा देउवा र दाहाल दुवै ढुक्क नरहेकाले पहिले आफैं सरकारको नेतृत्व लिन चाहन्छन् । यसमा सहमति भएन भने गठबन्धनको विकल्पमा जाने सम्भावना पनि छ ।

संसद्को शक्ति सन्तुलनका दृष्टिले कांग्रेसले सरकारको नेतृत्व लिँदा माओवादीलाई, माओवादीले सरकारको नेतत्व लिँदा कांग्रेसलाई राष्ट्रपति पद दिनुपर्ने गरी समझदारी बनाउनुपर्ने मत गठबन्धनभित्र छ । प्रधानमन्त्री पद आलोपालो गर्न सकिने भए पनि राष्ट्रपति पाँच वर्ष रहनेछन् ।

सरकारको नेतृत्व आलोपालोमा गए पनि राष्ट्रपति माओवादीलाई दिन नहुने मत कांग्रेसभित्र बलियो छ । ‘आलोपालो सरकारमा जाने, पहिला कांग्रेसले प्रधानमन्त्री लिने र राष्ट्रपति माओवादीलाई दिने हो भने साढे दुई वर्षपछि कांग्रेसको भागमा केही पर्दैन, पार्टीका लागि त्योभन्दा क्षति अरू हुन्न,’ कांग्रेसका एक नेता भन्छन्, ‘तत्कालका लागि होइन, भोलिका दिनसम्म संसद्को सन्तुलन मिल्ने गरी हिसाब गर्नुपर्छ ।’

दाहाल नेतृत्वको सरकारले २०६६ मा तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई हटाउन खोज्दा राष्ट्रपति रामवरण यादवले रोकेका थिए । अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि कतिपय विषयमा सरकारको नेतृत्वमा रहेको दलअनुरूप भूमिका निर्वाह गरेको आरोप लाग्दै आएको छ ।

माओवादी प्रवक्ता महराले सरकार निर्माणमा एमालेसँग पनि सहकार्य हुन सक्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सक्रिय बनाएका थिए । उपसभापति खड्का माओवादी अध्यक्ष दाहालसँग निरन्तर सम्पर्कमा रहेको र अहिलेकै गठबन्धनबाट सरकार बन्नेमा शतप्रतिशत ढुक्क रहेको बताउँछन् । ‘गठबन्धनको सरकार बनाउन प्रचण्डजी दृढ हुनुहुन्छ, हामीबीच कुनै आशंका र अन्योल छैन,’ खड्काले कान्तिपुरसँग भने, ‘चुनावमा सँगै रहेका पाँच दललाई निरन्तरता दिँदै अन्य साना दललाई समेत सहभागी गराएर दायरा फराकिलो बनाउन हामी जुटेका छौं ।’

माओवादी सचिव दीनानाथ शर्माले गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्नका लागि पार्टी पदाधिकारी बैठक एकमत रहेको बताए । ‘अहिले गठबन्धनबाट दायाँबायाँ गर्नु हुँदैन भन्नेमा एकमत छ,’ उनले भने । माओवादीका एक नेताका अनुसार पदाधिकारी बैठकले पार्टीको आधिकारिक सूचना महासचिव देव गुरुङमार्फत मात्रै जानकारी गराउने निर्णय गरेको छ । दोस्रो दिनको बैठकमा महरा उपस्थित भएनन् । ‘यो गठबन्धनको विकल्प सोच्ने पक्षमा माओवादी छैन, यसो भन्दैमा प्रधानमन्त्रीमा कांग्रेसलाई स्विकारेको र माओवादीले दाबी नै नगरेको भन्ने होइन,’ ती नेताले भने, ‘प्रधानमन्त्री देउवासँगको छलफलमा अध्यक्ष कमरेडले यस विषयमा प्रस्ट धारणा राख्नुहुनेछ, अहिले गठबन्धनलाई निरन्तरता दिने पक्षमा माओवादी छ ।’

महासचिव गुरुङले संसद्को समीकरणले आपसी मेलमिलापबिना सरकारको नेतृत्व लिन सम्भव नहुने भएकाले सबै विषय आपसी सहमतिबाटै टुंगो लगाइने बताए । शान्ति प्रक्रिया र परिवर्तनको एजेन्डामा नेतृत्वकर्ताको हैसियतले माओवादी अध्यक्ष दाहालको नेतृत्वमा सरकार गठन हुनु राम्रो हुने उनको धारणा छ । ‘तर संसद्को समीकरण नै त्रिशंकु छ । आपसी सहमतिबिना एउटाले माग दाबी गर्दैमा केही हुन्न । संसद्को शक्ति सन्तुलन मिलाएर दलहरू अघि बढ्नुपर्ने अवस्था छ,’ गुरुङले भने । उनले पार्टी पदाधिकारी बैठकमा गठबन्धनको विकल्प खोज्ने कुरा नभएको बताए ।

माओवादी महासचिव गुरुङका अनुसार चुनावमा अपेक्षा गरेअनुसार परिणाम नआएको निष्कर्ष पदाधिकारी बैठकले निकालेको जनाए । ‘जति पनि उपलब्धि भएको छ, त्यसलाई परिणामुखी मान्दै कमीकमजोरी सच्याएर अघि बढ्ने कुराकानी भएका छन्,’ उनले भने । बैठकमा अध्यक्ष दाहालले कांग्रेसको मत माओवादीमा ‘ट्रान्सफर’ नभएको उल्लेख गर्दै त्यसको आगामी दिनमा समीक्षा गर्ने बताएका थिए । ‘कांग्रेसको मत हामीलाई आएन । कांग्रेसको मत कांग्रसलाई पनि गएन,’ दाहालको भनाइ थियो, ‘त्यसैले गठबन्धनका उम्मेदवारले अपेक्षित रूपमा जित्न सकेनन् ।’

एमाले र माओवादीका दोस्रो तहका केही नेताबीच सरकारको विकल्प खोज्ने दिशामा छलफल भएको चर्चा चलिरहेका बेला गठबन्धनले सबै खालका आशंका हटाउन भन्दै मंगलबार बैठक बोलाएको छ । अपराह्न ३ बजे बोलाइएको बैठकमा निर्वाचनको समीक्षाका साथै कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार निर्माणमा केही सिट नपुग्ने भएकाले साना दललाई मिलाएर गठबन्धनकै सरकारलाई निरन्तरता दिने र त्यसका लागि सीके राउत नेतृत्वको जनमत पार्टी सहकार्यका लागि तयार भइसकेको कांग्रेस उपसभापति खड्काले बताए । प्रधानमन्त्री देउवालाई बिहीबार भेटेरै सत्ता सहकार्य गर्न प्र्रतिबद्ध जनाएका राउत आइतबार उपसभापति खड्कालाई भेट्न उनकै निवास हात्तीगौडा पुगेका थिए । ‘सीकेजीले शिक्षा, स्वास्थ्य, रोजगार र नागरिकताको एजेन्डा अघि सार्नुभएको छ । यसमा समस्या छैन । यो एजेन्डा हाम्रो पनि हो,’ खड्काले कान्तिपुरलाई भने, ‘जनमत पार्टी लोकतान्त्रिक विचार बोकेको दल हो । ऊ सरकारमा आउनेमा अब कुनै शंका छैन ।’ चुनावमा सँगै गएका गठबन्धन दलबीच समीक्षा गरेर आगामी सत्ता समीकरणमा अन्य दलको सहभागिताबारे छलफल गर्ने उनले जानकारी दिए ।

जनमत पार्टीले साथ दिँदा सत्ता गठबन्धनलाई मुस्किलले बहुमत पुग्छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ सिट जितिसकेको छ । समानुपातिकतर्फ उसले ३२ सिट पाउने देखिन्छ । योसहित कांग्रेसको सिट ८९ हुन्छ । माओवादीले प्रत्यक्षमा १७ जितेको छ भने समानुपातिकतर्फ १४ सिट पाउने देखिन्छ । मतगणना बाँकी रहेको दोलखामा एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा छ । दोलखामा जित्न सके माओवादीको प्रत्यक्षमा १८ र समानुपातिकतर्फ १४ सिट हुन्छ । एकीकृत समाजवादीले समानुपातिकमा तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ कटाउन सकेको छैन । प्रत्यक्षतर्फ एकीकृत समाजवादीको १०, लोकतान्त्रिक समाजवादी पार्टीको ४ र राष्ट्रिय जनमोर्चाको १ सिट गरी गठबन्धनसँग १ सय ३६ सांसद पुग्छ । जनमत पार्टी र स्वतन्त्र प्रभु साह समूहका

जोड्दा १ सय ४२ सदस्य पुग्ने सम्भावना छ । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका साह पुरानो पार्टी माओवादीमा फर्कन सकारात्मक रहेको माओवादी उपमहासचिव मातृका यादवले बताए । ‘उहाँ अझै शक्ति आर्जन गरेर माओवादीमा फर्कनुहुन्छ,’ यादवले भने ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?