पुराना ९ क्षेत्र गुमाएको कांग्रेस ४३ वटा नयाँ क्षेत्रमा पुग्यो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुराना ९ क्षेत्र गुमाएको कांग्रेस ४३ वटा नयाँ क्षेत्रमा पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले ५ वर्ष अघिको चुनावको तुलनामा यो चुनावमा उल्लेखनीय प्रगति गरेको छ । शक्तिशाली वाम मोर्चासँग एक्लै लड्दा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस अहिले अघिल्लो चुनावमा एमालेसँगको गठबन्धनमा रहेका दलहरूलाई समेत मिलाएर नयाँ गठबन्धन बनाएर चुनावमा गएको थियो ।

उक्त गठबन्धनको लाभ कांग्रेसले मजैसँग लियो, अहिलेसम्म प्राप्त मत परिणाममा कांग्रेसले ५२ सिट जितिसकेको छ, दुई सिटमा अग्रता लिएको छ । यो ५ वर्षअघिको तुलनामा दुई गुणाभन्दा बढी हो ।

यद्यपि कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै क्षेत्र जोगाउन भने सकेको छैन । उसले जितेकामध्ये केबल ९ क्षेत्र जोगाएको कांग्रेसले ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएको छ ।

कांग्रेसले अघिल्लोपटक जितेकामध्ये चार वटा क्षेत्रको मतान्तर एक हजारभन्दा कम थियो । तीमध्ये तीन वटामा (सुनसरी–३, उदयपुर–१ र बर्दिया–१) एमाले तथा एउटा (काठमाडौं १) मा विवेकशील साझा प्रमुख प्रतिष्पर्धी थिए । यी चारमध्ये बर्दिया–१ र काठमाडौं–१ कांग्रेसले जोगाएको छ भने सुनसरी–३ र उदयपुर–१ को मतगणना सकिएको छैन । सुनसरीमा कांग्रेसका विजयकुमार गच्छादारलाई एमालेकी भगवती चौधरीले फराकिलो अन्तरले पछाडी छाडेकी छन् भने उदयपुरमा पनि परराष्ट्रमन्त्री नारायण खड्कालाई एमालेकै मन्जुकुमारी चौधरीले पच्छाइरहेकी छिन् ।

अघिल्लो चुनावमा कांग्रेसले जितेकामध्ये मतान्तर ५ हजार भन्दा कम तर १ हजार भन्दा बढी भएका क्षेत्र १२ थिए । जसमध्ये सात वटामा एमाले निकटतम प्रतिद्वन्द्व थियो । ती सात क्षेत्रमध्ये तीन वटा (रौतहट–४, रसुवा र काठमाडौं–४) कांग्रेसले जोगाएको छ । तीन वटा (मोरङ–२, सिरहा–१ र बारा–१) एमालेले लग्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा (काठमाडौं–६) जितेको छ । २०७४ मा कांग्रेस उम्मेद्वारले ५ हजार भन्दा कम मतान्तरले जितेकामध्ये २ वटामा (काठमाडौं–१० र नवलपरासी सुस्ता बर्दघाट पूर्व–१) मा माओवादी केन्द्र, दुई वटामा (रौतहट २ र कपिलवस्तु ३) फोरम र एउटामा (सर्लाही–४) राजपाका उम्मेद्वार प्रमुख प्रतिष्पर्धी थियो । माओवादी केन्द्र प्रमुख प्रतिष्पर्धी रहेका दुवै क्षेत्र कांग्रेसले जोगाएको छ । भने फोरम प्रतिष्पर्धी रहेकामध्ये एउटामा स्वतन्त्र उम्मेद्वार (रौतहट–२) तथा एउटामा एमालेका उम्मेद्वार (कपिलवस्तु–३) विजयी भएका छन् । तत्कालीन राजपा प्रमुख प्रतिष्पर्धी रहेको सर्लाही–४ मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका अमरेशकुमार सिंहले चुनाव जितेका छन् ।

कांग्रेसले २०७४ मा जितेका २३ क्षेत्रमध्ये ९ वटा मात्र अहिले जोगाउन सक्यो । बचेका १४ वटा क्षेत्रमध्ये एमालेले ६ वटा (मोरङ–२, सुनसरी–२, सिरहा–१, बारा–१, रूपन्देही–५ र कपिलवस्तु–३) कांग्रेसबाट खोस्न सफल भयो । सुनसरी–३, सुनसरी–४ र उदयपुर–१ को नतिजा आइसकेको छैन । स्वतन्त्र उम्मेद्वार दुई वटामा (सर्लाही–४ र रौतहट–२), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र लोसपाले एक/एक क्षेत्रमा क्रमश: काठमाडौं–६, नवलपरासी बर्दघाट पश्चिम सुस्ता–२ र रूपन्देही–४ मा विजयी भए । कांग्रेसले अहिलेसम्म जितेका ५३ वटा क्षेत्रमध्ये आफूले अघिल्लोपटक जितेकाबाट ९ वटा जोगाएको हो भने ४३ वटा नयाँ क्षेत्रमा आफूलाई फैलाएका हो । जसमध्ये एमालेबाट ३२ वटा, माओवादी केन्द्रबाट ५ वटा, तत्कालीन फोरमबाट ४ वटा र तत्कालीन राजपाबाट दुई वटा प्राप्त गरेको हो ।

विस्तृत रिपोर्ट

प्रकाशित : मंसिर १३, २०७९ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

सुवाल इन्टरनेसनल कलेज सञ्चालक पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अवैध शिक्षणसंस्था संचालन गरी विद्यार्थी अभिभावबाट शुल्क असुल्ने सुवाल इन्टरनेशनल कलेज सुर्यविनायक भक्तपुरका संचालक प्रकाश सुवाललाई भक्तपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

विद्यार्थीले प्रहरी वृत्त जगातीमा जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीका डिएसपी राजु पाण्डेले जानकारी दिए । ‘बिहान आरोपीलाई सोधपुक्षका लागि बोलाएका थियौं, दिउँसो कलेजका दुई जना विद्यार्थीले जाहेरी दिनुभयो, त्यसपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अब ठगी अन्र्तगत मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढ्छ ।’ दुई छात्रछात्राले दिएको जोहरीमा उक्त कलेजका एक सय भन्दा बढि विद्यार्थीले हस्ताक्षर समेत गरेको प्रहरीले जनाएको छ ।

मंगलबार कान्तिपुरले भक्तपुरको सूर्यविनायक घतालेमा नियामक निकायको अनुमति र सम्बन्धन बिनै सुबाल इन्टरनेशनल कलेज स्थापना गरेर विद्यार्थी भर्ना गरी शुल्क असुलेको समाचार प्रकाशित गरेको थियो । समाचारबाट विद्यार्थीले अवैध रहेको थाहा पाएपछि बिहानै कलेजमा घेराउ गरेका थिए । अभिभावकहरु समेत कलेज पुगेपछि जगाती प्रहरीले उनलाई सोधपुक्षको लागि बोलाएको थियो । विद्यार्थी समेत प्रहरी वृत्त पुगेर नाराबाजी गरेका थिए । ‘कलेज संचालकले कम्पनी रजिष्ट्रार कार्यालयमा संस्था दर्ता गरेको बाहेक शैक्षिक कार्यक्रम संचालन गर्न पाएको कुनै पनि अनुमति देखाउन सक्नुभएन,’ एक अभिभावकले कान्तिपुरसँग भने, ‘शिक्षणसंस्था संचालन गर्ने अनुमति बिनै विद्यार्थी भर्ना गराएर शुल्क लिएको थाहा पाएपछि प्रहरीमा जाहेरी दिइएको हो ।’

कलेजले नर्सिङ, फार्मेसी र एचएमा २ सय ७० जना भन्दा धेरै विद्यार्थी भर्ना गरेर शुल्क उठाएको पाइएको छ । संचालक सुबालले अमेरिकी विश्वविद्यालयबाट सम्बन्धन लिएको दाबी गर्दै नर्सिङ, फार्मेसी र एचएमा पठनपाठन थालेका थिए भने इन्जिनियरिङ, चिकित्सा शिक्षा लगायतमा भर्नाका लागि सूचना आह्रवान गरेको छ । प्रति विद्यार्थी ७५ हजारको दरले शुल्क लिएर २ करोडभन्दा बढि जम्मा गरेको अनुमान गरिएको छ । उक्त कलेज संचालनमा रहेको बारे शिक्षा मन्त्रालय, त्रिभुवन लगायतका विश्वविद्यालय, सीटीईभीटीले अनविज्ञता जनाएका छन् । यी मध्ये कुनै एक निकायको स्वीकृति बिना कलेज संचालन गर्ने व्यवस्था छैन । भर्ना भएका विद्यार्थीसँग ३ लाख ५० हजारको दरले पढाई शुल्क लिने संचालकको तयारी रहेको थियो । भर्ना हुनेमा अधिकांश कर्णाली र सुदुरपश्चिमका विद्यार्थी छन् । एचए, फार्मेसी, नर्सिङ पढाउन सीटीईभीटीले मात्रै सम्बन्धन दिने गरेको छ । कुनै विदेशी विश्वविद्यालयबाट सम्बन्धन पाएपनि पठनपाठनका लागि शिक्षा मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था छ । बिदेशी सम्बन्धनमा स्थापित कलेजले समकक्षताको लागि त्रिविको पाठ्यक्रम विकास केन्द्रमा सुचीकृत हुनुपर्छ । तर सुबाल कलेलजे स्वीकृति पनि नलिएको शिक्षा मन्त्रालयले जनाएको छ । समकक्षताको लागि शिक्षा मन्त्रालयको सिफारिसमा केन्द्रमा सुचीकृत पनि नभएको पाइएको हो । कलेजले गत कात्तिक २० गतेबाट कक्षा संचालन गर्न सुरु गरेको थियो । ‘धन्न कलेज अवैध रहेको बेलैमा थाहा पाएर विद्यार्थी बिचल्ली हुनबाट जोगिए,’ ती अभिभावकले पढें, ‘पढाई सकिसकेपछि प्रमाणपत्र नपाउने अवस्था भएको भए, विद्यार्थीको भविष्य नै बर्बाद हुने थियो ।’

त्यस्तै अखिल क्रान्तिकारीले मंगलबार कलेजमा ताला लगाएको छ । नेत्रविक्रम चन्द्र विप्लब निकट क्रान्तिकारीले विज्ञप्ति प्रकाशित गरेर सधैका लागि बन्द गर्न ताला लगाइएको जनाएको छ । ताला लगाउन पुगेका क्रान्तिकारीका कार्यकर्ताले कलेज तोडफोड समेत गरेका थिए । क्रान्तिकारीले अनुमति बिनै विद्यार्थी भर्ना गरेर कलेज संचालकले शैक्षिक अपराध गरेकाले छानविन गरी कारवाही गर्न माग समेत गरेको छ । विद्यार्थीबाट उठाएको रकम फिर्ता भर्न समेत माग गरिएको छ । ‘कलेजमा तालाबन्दी गरी पूर्ण रुपमा सधैंका लागि बन्द गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : मंसिर १३, २०७९ २१:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×