कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

बदलियो राजनीतिक परिदृश्य

संघीय राजधानीसहित मध्य नेपालमा राष्ट्रिय स्वतन्त्र, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदय 
स्थापित दलहरु परम्परागत प्रभाव क्षेत्रमा खुम्चिए, नयाँमा फैलिए
तुफान न्यौपाने

काठमाडौँ — मंसिर ४ मा सम्पन्न आमनिर्वाचनले संसद्को समीकरणमा व्यापक फेरबदल ल्याएको छ । संघीय राजधानीसहित मध्य नेपालमा राष्ट्रिय स्वतन्त्र, पश्चिम तराईमा नागरिक उन्मुक्ति र मधेसमा जनमत पार्टीको उदय भएको छ । स्थापित दलहरू आफ्ना परम्परागत प्रभाव क्षेत्रमा खुम्चिएका छन् भने केही नयाँ क्षेत्रमा फैलिएका छन् । 

बदलियो राजनीतिक परिदृश्य

प्रत्यक्षतर्फको १६५ मध्ये सोमबार रातिसम्म १५८ क्षेत्रको परिणाम आउँदा कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा दोब्बरभन्दा बढी सिट जितेको छ । एमाले र माओवादीले भने आधाजसो सिट गुमाएका छन् । सात सिट जितेको राप्रपा राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट हात पारेको छ भने मधेसका दुई प्रमुख दल जसपा र लोसपा पहिलेभन्दा खुम्चिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ ।

एमाले : पहिला ८०, अहिले ४२

०७४ मा माओवादीसँग गठबन्धन गरेर स्थायी सरकार र समृद्धिको नारासहित चुनावमा होमिएको एमालेले प्रत्यक्षतर्फ ८० सिट जितेको थियो । माओवादीसँग भएको एकता टुटेको र साबिकको पार्टी पनि फुटेर एकीकृत समाजवादी बनेको अवस्थामा निर्वाचनमा जाँदा करिब आधा क्षेत्र गुमाउँदै एमाले ४२ सिटमा सीमित भएको छ ।

०७४ मा वाम गठबन्धनको मतले एमालेका उम्मेदवारले जितेकामध्ये ६ वटा क्षेत्र त्यस्ता थिए, जहाँ प्रतिस्पर्धीसँगको मतान्तर १ हजारभन्दा कम थियो । मोरङ–६, धादिङ–२, काठमाडौं–८, मनाङ, मुस्ताङ र कञ्चनपुर–३ मा एमाले उम्मेदवारले एक हजारभन्दा कम मतान्तरले जितेका थिए ।

यी सबै क्षेत्रमा ०७४ मा कांग्रेस प्रमुख प्रतिस्पर्धी दल थियो । अहिले यीमध्ये ५ वटा क्षेत्र कांग्रेसले एमालेबाट फुत्काएको छ भने एउटा क्षेत्र (काठमाडौं–८) राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जितेका छन् । अर्थात् अघिल्लो चुनावमा एक हजारभन्दा कम मतान्तरले जितेका सबै क्षेत्र यस पटक एमालेले गुमाएको छ ।

यो निर्वाचनमा एमालेका ४२ मध्ये ५ सांसद एक हजारभन्दा कम मतान्तरले विजयी भएका छन् । तीमध्ये तीनवटा क्षेत्र (काठमाडौं–९, ताप्लेजुङ र पाँचथर) ०७४ मा एमालेले ठूलो मतान्तरमा जितेको थियो । ०७४ मा माओवादीले जितेको सर्लाही–३ र तत्कालीन संघीय समाजवादी फोरम (हालको जसपा) ले जितेको पर्सा–३ एमालेले फुत्काएको हो ।

त्यस्तै ०७४ मा एमालेले एक हजारभन्दा बढी तर ५ हजारभन्दा कम मतान्तरले जितेका २० क्षेत्र थिए, तीमध्ये १९ वटामा कांग्रेस र एउटामा तत्कालीन संघीय समाजवादी फोरम प्रमुख प्रतिस्पर्धी थिए । यी २० मध्ये एमालेले यस पटक सिरहा–३ मात्रै जोगाउन सक्यो । आफू प्रमुख प्रतिस्पर्धी रहेका १९ मध्ये कांग्रेसले १४ क्षेत्र (संखुवासभा, तेह्रथुम, मोरङ–३, काठमाडौं–३, तनहुँ–२, नवलपरासी पूर्व–२, म्याग्दी, कपिलवस्तु–२, बाँके–३, नवलपरासी पश्चिम–१, मुगु, सुर्खेत–१, अछाम–२ र कैलाली–५) जितेको छ । बाँकी ५ मध्ये तीन क्षेत्र (धनुषा–४, स्याङ्जा–२ र बाजुरा) को नतिजा आउन बाँकी छ । कैलाली–२ मा नागरिक उन्मुक्ति र डोटीमा एकीकृत समाजवादीले जितेका छन् । नतिजा आउन बाँकी धनुषा–४ मा एमालेका सचिव रघुवीर महासेठ प्रतिस्पर्धामा छन् भने स्याङ्जा–२ र बाजुरामा विवादले मतगणना सुरु हुन सकेको छैन । एकीकृत समाजवादीका प्रेम आलेले जितेको डोटीमा अघिल्लो पटक एमालेबाट आलेले नै जितेका थिए ।

यो निर्वाचनमा एमालेले १ हजारभन्दा बढी तर ५ हजारभन्दा कम मतान्तरले जितेका क्षेत्र २३ वटा छन् । जसमध्ये १४ क्षेत्र (इलाम–१, इलाम–२, झापा–२, धनकुटा, सिरहा–३, मकवानपुर–२, कास्की–१, कास्की–२, पर्वत, गुल्मी–२, पाल्पा–२, रूपन्देही–१, रूपन्देही–२ र बैतडी) अघिल्लो पटक आफूले जितेकामध्येबाट एमालेले जोगाएको हो । एमालेले माओवादीबाट ५ (सोलुखुम्बु, उदयपुर–२, महोत्तरी–१, लमजुङ र अर्घाखाँची), कांग्रेसबाट ३ (मोरङ–२, सिरहा–१ र कपिलवस्तु–३) र तत्कालीन संघीय समाजवादी फोरमबाट बारा–३ खोस्न सफल भएको हो । सोलुखुम्बुमा एमालेले पहिलो पटक जितेको हो ।

पहिले माओवादीबाट जितेका टोपबहादुर रायमाझी एमाले प्रवेश गरेर अर्घाखाँचीबाट जित निकाले भने लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादीका महासचिव देव गुरुङलाई हराए । वाम गठबन्धनसँग एक्लै लडेर करिब ५ हजार मतान्तरले कांग्रेसले जितेको कपिलवस्तु–३ पनि अहिले एमालेले फुत्काएको छ । एमालेले ०७४ मा जितेका ८० मध्ये यो निर्वाचनमा २३ क्षेत्रमात्रै जोगाउन सक्यो, ५७ वटा गुमायो । अघिल्लो निर्वाचनमा जित्न नसकेका १९ वटा नयाँ क्षेत्र भने एमालेले अरू दलबाट तानेको छ । एमालेका नयाँ १९ क्षेत्रमध्ये माओवादीले ९, कांग्रेसले ६, तत्कालीन संघीय समाजवादी फोरमले २, राष्ट्रिय जनमोर्चा र तत्कालीन राजपाले एक/एक वटा जितेका थिए ।

अघिल्लो निर्वाचनमा जितेको तर एमालेले अहिले गुमाएका ५७ क्षेत्रमध्ये कांग्रेसले ३५, एकीकृत समाजवादीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राप्रपाले २, नागरिक उन्मुक्तिले १, राष्ट्रिय जनमोर्चाले १ र माओवादीले १ क्षेत्र बाँडेका छन् ।

फैलियो कांग्रेस

कांग्रेसले पाँच वर्षअघिको तुलनामा उल्लेखनीय प्रगति गरेको छ । ०७४ मा शक्तिशाली वाम गठबन्धनसँग एक्लै लड्दा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चिएको कांग्रेस अहिले अघिल्लो चुनावमा एमालेसँगको गठबन्धनमा रहेका दलहरूलाई समेत मिलाएर चुनावमा गएको थियो । कांग्रेसले अघिल्लो पटक जितेकामध्ये चारवटा क्षेत्रको मतान्तर १ हजारभन्दा कम थियो । तीनवटा (सुनसरी–३, उदयपुर–१ र बर्दिया–१) एमाले तथा एउटा (काठमाडौं–१) मा विवेकशील साझा प्रमुख प्रतिस्पर्धी थिए । बर्दिया–१ र काठमाडौं–१ कांग्रेसले जोगाएको छ भने सुनसरी–३ र उदयपुर–१ को मतगणना सकिएको छैन । सुनसरीमा कांग्रेसका विजयकुमार गच्छदारलाई एमालेकी भगवती चौधरीले फराकिलो अन्तरमा पछाडि पारेकी छन् । उदयपुरमा परराष्ट्रमन्त्री नारायण खड्कालाई एमालेकै मञ्जुकुमारी चौधरीले पछ्याइरहेकी छन् ।

अघिल्लो चुनावमा कांग्रेसले जितेकामध्ये मतान्तर ५ हजारभन्दा कम तर एक हजारभन्दा बढी भएका क्षेत्र १२ थिए । जसमध्ये सातवटामा एमाले निकटतम प्रतिद्वन्द्वी थियो । ती सात क्षेत्रमध्ये तीनवटा (रौतहट–४, रसुवा र काठमाडौं–४) कांग्रेसले जोगाएको छ । तीनवटा (मोरङ–२, सिरहा–१ र बारा–१) एमालेले र एउटा (काठमाडौं–६) राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । ०७४ मा कांग्रेस उम्मेदवारले ५ हजारभन्दा कम मतान्तरले जितेकामध्ये दुईवटा (काठमाडौं–१० र नवलपरासी सुस्ता बर्दघाटपूर्व–१) मा माओवादी, दुईवटा (रौतहट–२ र कपिलवस्तु–३) मा फोरम र एउटा (सर्लाही–४) मा राजपाका उम्मेदवार प्रमुख प्रतिस्पर्धी थिए । माओवादी प्रमुख प्रतिस्पर्धी रहेका दुवै क्षेत्र कांग्रेसले जोगाएको छ । फोरम प्रतिस्पर्धी रहेकामध्ये एउटामा स्वतन्त्र उम्मेदवार (रौतहट–२) तथा एउटामा एमालेका उम्मेदवार (कपिलवस्तु–३) विजयी भएका छन् । तत्कालीन राजपा प्रमुख प्रतिस्पर्धी रहेको सर्लाही–४ मा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका अमरेशकुमार सिंहले चुनाव जितेका छन् ।

कांग्रेसले ०७४ मा जितेका २३ क्षेत्रमध्ये १० वटा मात्र अहिले जोगाउन सक्यो । बचेका १४ क्षेत्रमध्ये एमालेले ६ वटा (मोरङ–२, सुनसरी–२, सिरहा–१, बारा–१, रूपन्देही–५ र कपिलवस्तु–३) कांग्रेसबाट खोस्न सफल भयो । सुनसरी–३, सुनसरी–४ र उदयपुर–१ को नतिजा आइसकेको छैन । स्वतन्त्र उम्मेदवारले सर्लाही–४ र रौतहट–२, राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं–६, राप्रपाले नवलपरासी बर्दघाट पश्चिम सुस्ता–२ र लोसपाले रूपन्देही–४ मा जितेका छन् । कांग्रेसले जितेका ५३ क्षेत्रमध्ये आफूले अघिल्लो पटक जितेकाबाट १० वटा जोगाएको छ भने ४३ वटा नयाँ क्षेत्र जितेको छ । जसमध्ये एमालेबाट ३२ वटा, माओवादीबाट ५ वटा, तत्कालीन फोरमबाट ४ वटा र तत्कालीन राजपाबाट दुईवटा प्राप्त गरेको हो ।

खुम्चिँदै माओवादी

शान्ति प्रक्रियामा आएपछि माओवादीले पहिलो पटक ०६४ को संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो । प्रत्यक्षतर्फ २४० मध्ये आधा अर्थात् १२० वटामा जित निकालेको माओवादीले त्यसको ६ वर्षपछि भएको संविधानसभाको दोस्रो निर्वाचनमा भने उक्त जितको एक चौथाइ पनि जोगाउन सकेन । ०७० को निर्वाचनमा २६ सिट (करिब ११ प्रतिशत) मा खुम्चियो । त्यसपछि माओवादीले संसदीय निर्वाचनमा पार्टीको अस्तित्व बचाउने उपायका रूपमा गठबन्धन संस्कृतिलाई अंगाल्ने नीति लिएको देखिन्छ ।

०७४ मा एमालेसँगको गठबन्धनबाट माओवादीले १६५ सिटमध्ये ३६ वटामा जित निकालेको थियो । हुम्लाबाट स्वतन्त्र रूपमा जितेका छक्कबहादुर लामा प्रवेश गरेपछि माओवादीको प्रत्यक्षतर्फको सिट संख्या ३७ पुगेको थियो । चुनावपछि भएको एमालेसँगको एकीकरण नटिकेपछि माओवादीले यस पटक कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चासँग गठबन्धन गरेको थियो तर उसले ५ वर्षअघिको भन्दा आधा अर्थात् १७ सिटमा मात्रै जित निकाल्न सक्यो ।

माओवादीले जितेका यी १७ क्षेत्र हेर्दा कांग्रेस र एमालेको भन्दा फरक तस्बिर देखिन्छ । माओवादीले जितेका १४ (भोजपुर, मोरङ–४, सिन्धुली–२, नुवाकोट–१, काभ्रे–१, सिन्धुपाल्चोक–१, बागलुङ–२, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, दाङ–२, हुम्ला, कालीकोट र जाजरकोट) वटा पुरानै क्षेत्र हुन् । यस पटक माओवादीले तीनवटा नयाँ क्षेत्र (गोरखा–२, सर्लाही–२ र खोटाङ) जितेको छ । जसमा गोरखा–२ कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुराम भट्टराईले जितेको क्षेत्र हो भने सर्लाही–२ तत्कालीन राजपाका उम्मेदवार महिन्द्र राय यादवले जितेको क्षेत्र हो । अहिले भट्टराई र यादव दुवै आबद्ध नेपाल समाजवादी पार्टीले माओवादीसँग एकीकरण गर्ने प्रक्रिया सुरु गरेको छ । भट्टराईले छाडेपछि गोरखा–२ मा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जितेका छन् भने सर्लाही–२ मा माओवादीकै चुनाव चिह्नबाट यादवले नै जितेका छन् । माओवादीले यो निर्वाचनमा विस्तार गरेको नयाँ क्षेत्र खोटाङ मात्रै हो, जहाँ कांग्रेसको समर्थनमा माओवादीका रामकुमार राईले एमालेका विशाल भट्टराईलाई करिब २६ सय मतान्तरले हराए । माओवादीले अघिल्लो निर्वाचनमा ३६ क्षेत्र जित्दा १ हजारभन्दा कम मतान्तरले जितेको केबल एउटा क्षेत्र (कपिलवस्तु–१) थियो । त्यहाँ एमालेको समर्थनमा माओवादीका चक्रपाणि खनालले कांग्रेसका दीपकुमार उपाध्यायलाई हराएका थिए । अहिले कांग्रेसको समर्थनमा खडा भएका खनाललाई एमालेका बलराम अधिकारीले १५ हजारभन्दा बढी मतान्तरले हराएका छन् ।

माओवादीले ०७४ मा १ हजारभन्दा बढी तर ५ हजारभन्दा कम मतान्तरले जितेका ११ क्षेत्र थिए । तीमध्ये अहिले एमालेले ३ (सोलुखुम्बु, महोत्तरी–१ र बाँके–१), कांग्रेसले २ (झापा–१ र गोरखा–१), जसपाले १ (सिरहा–२), नागरिक उन्मुक्ति पार्टीले १ (कैलाली–३) र राष्ट्रिय स्वतन्त्र पार्टीले १ (ललितपुर–३) क्षेत्र जितेका छन् । मोरङ–५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने माओवादीले केवल दुई क्षेत्र (काभ्रे–१ र कालीकोट) जोगाउन सकेको छ ।

माओवादीले ०७४ मा जितेकामध्ये अहिले २३ वटा क्षेत्र गुमाएको छ । तीमध्ये एमालेले ९, कांग्रेसले ४, राप्रपाले २, स्वतन्त्रले ३, जसपाले २ र राष्ट्रिय स्वतन्त्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक/एक वटा फुत्काएका छन् ।

मधेसकेन्द्रित दल कमजोर

०७४ मा प्रत्यक्षतर्फ १० सिट जितेको तत्कालीन संघीय समाजवादी फोरम विभिन्न पार्टीसँगको एकीकरण र फुटबाट गुज्रँदै अहिले जनता समाजवादी पार्टी (जसपा) बनेको छ । जसपाले अहिले सात क्षेत्र जितेको छ । सातमध्ये तीनवटा जसपाले ०७४ मै जितेका क्षेत्र हुन् । तत्कालीन संघीय समाजवादी फोरमले जितेका १० मध्ये ३ (सप्तरी–१, बारा–२ र पर्सा–१) क्षेत्र मात्रै अहिले जसपाले जितेको छ । बाँकी तीनवटा कांग्रेसले, दुईवटा एमालेले र एक/एक वटा राप्रपा र जनमत पार्टीले जितेका छन् ।

जसपाले यस पटक जितेका सातमध्ये चारवटा नयाँ क्षेत्र हुन् । माओवादीबाट दुई (सिरहा–२ र धनुषा–१), तत्कालीन राजपाबाट एउटा (सिरहा–४) र एमालेबाट एउटा (सुनसरी–१) फुत्काएको छ । जनमत पार्टीका सभापति सीके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई नै सप्तरी–२ बाट भारी मतान्तरले पराजित गरेका छन् ।

प्रतिनिधिसभातर्फ जनमत पार्टी प्रत्यक्षमा यही एउटा क्षेत्रमा सीमित हुन पुगेको छ । सोमबार रातिसम्म सकिएको गणनामा जनमत पार्टी समानुपातिकतर्फ तीन प्रतिशतको थ्रेसहोल्ड नजिकै छ । उसले उक्त थ्रेसहोल्ड पार गरेमा राष्ट्रिय पार्टी त हुने नै छ, समानुपातिकबाट पनि कम्तीमा तीन जना सांसद पठाउनेछ । मधेस प्रदेशसभाका ६४ वटा प्रत्यक्ष सिटमध्ये जनमत पार्टीले ६ वटा जितेको छ । मधेस प्रदेशसभामा सोमबार रातिसम्म करिब १८ लाख मतगणना सकिँदा साढे दुई लाख मत (१४ प्रतिशत) ल्याएर कांग्रेस र एमालेपछि तेस्रो ठूलो दल बनेको छ । प्रदेशसभामा ६ जना प्रत्यक्ष र समानुपातिकबाट पनि करिब त्यति नै संख्यामा सांसद पठाउन सक्ने हैसियत बनाइरहेको जनमत पार्टी प्रदेश सरकार निर्माणमा निर्णायक बन्ने अवस्थामा देखिन्छ ।

गत निर्वाचनमा प्रत्यक्षतर्फ ११ सिटसहित प्रतिनिधिसभा प्रवेश गरेको राष्ट्रिय जनता पार्टी पनि विभिन्न एकीकरण र फुटबाट गुज्रँदै अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको छ । सत्तारूढ गठबन्धनसँग मिसिएर पनि लोसपाले केवल चार सिट (महोत्तरी–२, महोत्तरी–३, सर्लाही–१ र रूपन्देही–४) जितेको छ । यी चारमध्ये तीनवटा तत्कालीन राजपा (हालको लोसपा) ले नै जितेका क्षेत्र हुन् भने रूपन्देही–४ मात्र लोसपाले कांग्रेसबाट खोसेको हो । राजपाले ०७४ मा जितेका ११ सिटमध्ये यस पटक कांग्रेसले दुई (सप्तरी–३ र पर्सा–४) र एकीकृत समाजवादीले पनि दुई (रौतहट–१ र बारा–४) फुत्काएका छन् ।

बाँकी चार सिट जसपा, एमाले, माओवादी र नागरिक उन्मुक्ति पार्टीले एक–एकवटा बाँडेका छन् । जसमा लोसपाबाट जसपाले सिरहा–४, एमालेले धनुषा–३, माओवादीले सर्लाही–२ र नागरिक उन्मुक्तिले कैलाली–१ जितेका छन् । सर्लाही–२ मा तत्कालीन राजपाबाट जितेका महिन्द्र राय यादव अहिले माओवादी केन्द्रबाट लडेको र कैलाली–१ मा तत्कालीन राजपाबाट जितेका रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीबाट जितेकी छन् ।

नागरिक उन्मुक्ति पश्चिम तराईको नयाँ शक्ति

पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टीले तीनवटा सिट जितेको छ । तीमध्ये कैलाली–१ उक्त पार्टीका संरक्षक (हाल डिल्लीबजार कारागारमा रहेका) रेशम चौधरीले तत्कालीन राजपाबाट जितेको क्षेत्र हो । बाँकीमध्ये एउटा एमालेबाट (कैलाली–२) र एउटा माओवादीबाट (कैलाली–३) उन्मुक्ति पार्टीले फुत्काएको हो ।

कैलाली–३ मा सुरुमा निर्वाचित भएका माओवादीका गौरीशंकर चौधरी पछि एमाले प्रवेश गरेका थिए, उनी अहिले पनि प्रतिस्पर्धी थिए । त्यस्तै बर्दिया–२ पनि घुमाउरो बाटोबाट उन्मुक्ति पार्टीको पोल्टामा पुगेको छ । यसअघि माओवादीले जितेको उक्त क्षेत्रमा अहिले रेशम चौधरीले उम्मेदवारी दिएका थिए । तर, जन्मकैद भुक्तान गर्दै गरेका उनको उम्मेदवारी बदर भएपछि रेशमका बाबु लालवीर चौधरीले स्वतन्त्र उम्मेदवारका रूपमा त्यहाँ जिते निकालेका छन् । उनी नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सल्लाहकार छन्, प्राविधिक रूपमा उनी स्वतन्त्र उम्मेदवार बनेका भए पनि उनीसमेत उन्मुक्ति पार्टीको संसदीय दलमा सामेल हुनेछन् ।

चुनावको सरप्राइज– राष्ट्रिय स्वतन्त्र पार्टी

०७९ को निर्वाचनबाट सबैभन्दा लाभ पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हो । यसले प्रत्यक्षतर्फबाट प्रतिनिधिसभामा सात जना सांसद पठाउँदै छ भने समानुपातिकबाट त्यसको दोब्बर पठाउन सक्ने सम्भावना देखिन्छ । यो पार्टीबाट जितेका सातमध्ये अघिल्लो पटक एमालेले जितेका ५ (काठमाडौं–२, काठमाडौं–७, काठमाडौं–८, चितवन–१ र चितवन–२), माओवादीले जितेको १ (ललितपुर–३) र कांग्रेसले जितेको १ (काठमाडौं–६) क्षेत्र छन् ।

राप्रपा

अघिल्लो चुनावमा एक क्षेत्र (झापा–३) मात्र जितेको पूर्वपञ्चहरूको पार्टी राप्रपा यस पटक जुम्लासमेत गरी सात क्षेत्रमा विस्तार भएको छ । प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा राप्रपाका एक्ला सांसद राजेन्द्र लिङ्देन पार्टी नेतृत्वमा पुगेपछि राप्रपालाई अभूतपूर्व रूपमा विस्तार गरेका छन् । राप्रपाले माओवादीका २ (चितवन–३ र जुम्ला), एमालेका २ (मकवानपुर–१ र रूपन्देही–३), कांग्रेसको १ (नवलपरासी सुस्ता पश्चिम–२) र तत्कालीन फोरमको १ (बाँके–२) क्षेत्रमा यस पटक प्रभुत्व जमाएको छ ।

एकीकृत समाजवादी पार्टी

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० क्षेत्र जिते पनि समानुपातिकतर्फ उसले तीन प्रतिशतको ‘थ्रेसहोल्ड’ पार गर्ने सम्भावना सोमबार रातिसम्मको परिणामले देखाएको छैन । थ्रेसहोल्ड पार नभएमा राष्ट्रिय मान्यता प्राप्त पार्टी बन्न सक्दैन । एकीकृत समाजवादीले जितेका १० मध्ये ७ क्षेत्र अघिल्लो पटक एमालेले जितेका (धादिङ–१, दाङ–१, डोल्पा, दैलेख–१, अछाम–१, डोटी र बझाङ) हुन् । त्यस्तै माओवादीबाट १ (सल्यान) र तत्कालीन राजपाबाट दुईवटा (बारा–४ र रौतहट–१) खोस्न सफल भएको हो ।

२० स्थानमा उम्मेदवारी दिएकामा आफ्नो सांगठनिक आधार कमजोर हुँदाहुँदै पनि १० स्थान (५० प्रतिशत) मा एकीकृत समाजवादीले जित निकाल्यो । त्यसमध्ये कर्णाली र सुदूरपश्चिम प्रदेश दुवैमा उसले शतप्रतिशत (तीन/तीन सिट) नतिजा निकालेको छ ।

राष्ट्रिय जनमोर्चा (पहिले प्यूठान जितेकामा यस पटक बागलुङ–१ जितेको) र नेमकिपा (भक्तपुर–१) ०७४ र यसपालि दुवै पटक एक/एक सिटमा कायम छन् । सोमबार रातिसम्म सुनसरी–३, सुनसरी–४, उदयपुर–१ र धनुषा–४ मा मतगणना जारी छ भने दोलखा, स्याङ्जा–२ र बाजुरामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।

प्रकाशित : मंसिर १३, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×