२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

भूकम्पले ६ को मृत्युपछि गैरागाउँ शोकमा

खप्तडमा ६.६ म्याग्निच्युड , ७ घाइते, १० घर पूर्ण क्षति, बझाङमा दुई दर्जन घर भत्किए

डोटी, बझाङ — डोटी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँकी भगवती बोहरा संधैं ११ वर्षीया छोरी बिस्ना सँगै सुत्थिन् । मंगलबार राति भने बिस्ना दिदी सीतासँग सुतिन् । आमा भगवती र छोरा हर्क (बिस्नाका भाइ) अर्को कोठामा सुते । बिस्ना एकै पटक मध्यरातमा झस्किन् । सँगै सुतेकी दिदीको केहीबेरको कोलाहल र छटपटी रोकियो । उनी बेहोस भइन् ।

भूकम्पले ६ को मृत्युपछि गैरागाउँ शोकमा

राति २:१२ बजे राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबाआश्रमनजिक केन्द्रबिन्दु बनाएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । दुई घण्टापछि स्थानीयले उद्धार गर्दा भने सीता छाँगाबाट खसेझैं भइन् । बेलुकीसँगै खाना खाएर सुतेका आमा, दिदी र भाइले उनलाई सधैंका लागि छाडेर गइसकेका थिए ।

भूकम्पले घर भत्काउँदा एकै टोलमा ६ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् । घर भत्किएर च्यापिँदा मृत्यु हुनेमा ४० वर्षीया भगवती, उनकी १३ वर्षीया छोरी सीता, ८ वर्षीय छोरा हर्कको ज्यान गयो । यस्तै ५० वर्षीय प्रेम बोहरा, उनकी छोरी १४ वर्षीया तुलसी र १४ वर्षीया धनसरी बोहराको पनि मृत्यु भएको छ् । घाइतेमध्ये चना बोहरा र बिस्ना बोहरालाई थप उपचारका लागि हेलिकोप्टरबाट धनगढी पठाइएको पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । भूकम्पले १० घर ढालेको छ ।

सुरुमा मंगलबार राति ९:७ बजे ५.७ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसपछि पनि पटक–पटक परकम्पन गएको थियो । सुरुमा भूकम्प आएपछि स्थानीय बाहिर बसेका थिए । मृतकका दुई घरमा भने केहीबेर बाहिर बसिसकेपछि भित्र सुत्न गएका थिए । एकै टोलका ६ जनाको ज्यान गएपछि गैरागाउँ शोकमा डुबेको छ । खप्तड राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्रभित्र गैरागाउँमा बढी क्षति पुगेको हो ।

हात र छातीमा सामान्य चोट लागेर घाइते भएकी बिस्ना बुधबार जिल्ला अस्पताल डोटीमा टोलाइरहेकी थिइन् । एकोहोरो टोलाइरहेकी उनका बेलाबेला आँखा रसाउँथे । ‘के भयो थाहा नै भएन, एकै पटक गर्ल्याम्म घर आफूमाथि खस्दा झस्किएँ,’ उनले रुँदै भनिन्, ‘सँगै सुतेकी दिदी र म अत्तालिएर केहीबेर करायौं, पछि दिदीले त बोल्नै छाडी ।’ यतिबेला बिस्ना एक्ली भएकी छन् । उनका बुबा रोजगारीका लागि भारतमा छन् ।

भारतमै काम गर्ने गैरागाउँका प्रेमसिंह बोहरा पनि मंगलबार साँझमात्र घर फर्केका थिए । जीवनको लामो समय उतै बिताएका उनले ल्याएका झोलासमेत सडक किनारको साजघाट चौराहास्थित पसलमै छाडेर आएका थिए । साँझ परिसकेकाले उनी सामान बोकेर घर लैजान सकेनन् । हिँडेर अबेर भए पनि परदेशबाट घर पुग्दा टोलमा खुसीयाली छाएको थियो । छिमेकी बाजे भारतबाट आएको खुसीमा प्रेमसिंहकी नातिनी नाता पर्ने धनसरी पनि उतै सुत्ने गरी गएकी थिइन् ।

धनसरीका दाजु नरेन्द्र बोहराका अनुसार उतै खाना खान गएकी बहिनी प्रेमसिंहकी छोरी तुलसीसँगै सुतेकी रहिछन् । मध्यरातमा आएको भूकम्पले बाजे प्रेमसिंह, फुपू तुलसी र बहिनी धनसरीले अकालमै मृत्युवरण गर्नुपरेको नरेन्द्रले बताए । प्रेमसिंहकी श्रीमती गम्भीर घाइते छिन् । उनलाई उपचारका लागि धनगढी लगिएको छ । ‘आज यतै बस्नु अबेर भइसक्यो भन्दा पनि मानेनन्,’ साजघाटमा रहेका प्रेमसिंहका आफन्तहरूले भने, ‘यतै सामान छोडेर गए । उता काल ढुकेर बसेको रहेछ ।’

भूकम्पले गैरागाउँका ३९ मध्ये १० घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । स्थानीय भरत बोहराका अनुसार गाउँका कुनै पनि घर बस्नलायक छैनन् । चर्केका, भत्केकाले घरभित्र बस्न जोखिम रहेको उनले बताए । पूर्ण विस्थापित भएका ३९ परिवारका २ सय ३५ जना खुला आकाशमुनि बसेका छन् । गाउँले भूकम्प फेरि आउने त्रासमा छन् । नजिकैका गाउँहरूमा समेत त्रास बढेकाले खुला ठाउँमा बस्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोलाप्रसाद भट्टले बताए ।

‘खुला ठाउँमा बस्नेका लागि अस्थायी प्रबन्ध गरिएको छ । रेडक्रससँग भएका टेन्ट र पाल लगेर केही परिवारलाई बन्दोबस्त गरिसकेका छौं,’ उनले भने, ‘विस्थापितको व्यवस्थापनका लागि जनप्रतिनिधिहरूसँग समन्वय गरिरहेका छौं ।’ प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले केही विस्थापितलाई विद्यालयमा राखिएको जानकारी दिइन् । उनका अनुसार खाद्यान्न वितरणका लागि पूर्वीचौकी गाउँपालिका र अन्य राहत सामग्रीको व्यवस्थापनका लागि रेडक्रस सोसाइटीलाई जिम्मा दिइएको छ ।

मंगलबार रातिको भूकम्पले बझाङमा दुई दर्जन बढी घर भत्किएका छन् । जिल्लाभरि दर्जनौं घर र सार्वजनिक भवन चर्किएको स्थानीयले बताएका छन् । मानवीय क्षति भने भएको छैन । मध्यरातको भूकम्पले बुधबार दिनभर पनि जिल्लामा त्रास रह्यो । बझाङको खप्तडछान्ना–६, थलारा–७, केदारस्युँ–१, छबिस पाथीभेरा–६ र मस्टामा ५ घर भत्किएको प्रहरीले जनाएको छ । भूकम्पको धक्काले जिल्लाभर दर्जनौं घर चर्किएको खबर आएको र क्षतिको पूर्ण विवरण तयार हुन बाँकी रहेको प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । उनका अनुसार जिल्ला कारागारको पर्खाल चर्किएको छ । भूकम्पका कारण सदरमुकाम चैनपुरनजिक जयपृथ्वी बहुमुखी क्याम्पसका भवनहरू चर्किएर धराप बनेका छन् ।

घर भत्किएपछि आफूसहित पाँच जनाको परिवार बिचल्लीमा परेको थलारा–१ सिरेटाकी अम्बु दमाईले बताइन् । ‘भूकम्पबाट ज्यान त जोगाइयो, अब कहाँ गएर टाउको लुकाउने होला,’ उनले भनिन्, ‘हामी त बिचल्लीमा पर्‍यौं ।’ छिमेकीहरूका घर पनि भत्किएको र केहीको चर्किएर बस्न नमिल्ने भएकाले आश्रय लिन सुरक्षित ठाउँ अभाव भएको उनले बताइन् । सिरेटामा मात्रै सातवटा घर भत्किएका छन् भने खानी, सिरेटा र राउलीमा ७० भन्दा बढी घर बस्न नमिल्ने गरी चर्किएका छन् । जिल्लाका अन्य पालिकामा पनि क्षति भएको र विस्थापितको व्यवस्थापनका लागि स्थानीय तहहरूसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

प्रभावित गाउँमा नेता–उम्मेदवारको लर्को

निर्वाचनको मुखमा भएको दुःखद घटनामा सहानुभूति दिन भूकम्प प्रभावित गाउँमा नेता तथा उम्मेदवारहरू पुगेका छन् । गैरागाउँमा मृतकका आफन्तलाई भेट्न डोटीका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेमबहादुर आले बिहान ६ बजे नै पूर्वीचौकी गाउँपालिका पुगेका थिए । घटनास्थल पुग्न सडकबाट अढाई घण्टा लाग्ने भएकाले आले जान सकेनन् ।

उपचारका लागि ल्याउँदै गरेका घाइतेलाई बीच बाटोमै भेटेर फर्किए । उनले पीडित परिवारलाई डेढ लाख रुपैयाँ नगद राहत दिने घोषणा गरे । यता एमालेका प्रदेश (१) का उम्मेदवार चक्र मल्ल भने घटना भएकै ठाउँमा पैदल पुगे । उनले पीडित परिवारका लागि एक लाख रुपैयाँ राहत दिने घोषणा गरे । कांग्रेसका प्रदेश (१) का उम्मेदवार नरेन्द्रबहादुर सिंहले घाइतेहरूलाई जिल्ला अस्पताल डोटीमा भेट्नुका साथै मृतकको दाहसंस्कारमा समेत सहभागी भए । समानुपातिक उम्मेदवारहरूसमेत सहानुभूति प्रकट गर्नका लागि पुगेका थिए ।

प्रकाशित : कार्तिक २४, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?