कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
छिन्ताङ हत्याकाण्डका ४३ वर्ष

सालिकमा सीमित सम्मान

विद्रोही कम्युनिस्ट भनेर मारिएका १६ किसान–श्रमजीवीका परिवार कम्युनिस्ट सरकारहरुले नै केही नगरेकामा निराश
सहिद घोषणा गरेर घर–आँगनमै सालिक राखिए पनि रोजीरोटीका अवसरमा सरकारको बेवास्ता

धनकुटा — छिन्ताङमा बनिबुतो गर्दै जीवन निर्वाह गरिरहेका गम्भीरमान र भजना दमाईको काखमा तीन वर्षका छोरा थिए । दु:खसुख चलिरहेको जीवनमा २०३६ कात्तिक २५ को साँझ बज्र पर्‍यो, जब पञ्चायती शासनले गम्भीरमानलाई गोली हानेर मार्‍यो ।

सालिकमा सीमित सम्मान

व्यवस्थाविरुद्ध भुसको आगोसरह फैलिएको राजनीतिक विद्रोह र त्यसमाथि दमनमा उत्रिएको शासनको चेपुवामा परेका गम्भीरमानजस्ता १६ जना किसान–श्रमजीवीको हत्या भयो । यो घटनामा सुत्केरी श्रीमाया राई (हांखिमा साइँली) मात्रै होइन, ७ कक्षामा पढ्दै गरेका १४ वर्षीय केशरमान राईलाई पनि प्रहरीले यातना दिएर ज्यान लिएको थियो ।

सहिदको सम्मानमा खोकु, छिन्ताङ र आँखिसल्ला क्षेत्र (जसलाई खाल्सा क्षेत्र भनिन्छ) समेटेर सहिदभूमि गाउँपालिका नामकरण गरिएको छ । आफन्तलाई ‘सहिदका परिवार र छोराछोरी’ भनिन्छ । तर आधारभूत रोजीरोटी पनि नपाएपछि सहिदका छोराछोरी छिन्ताङ गाउँ छाडिसकेका छन् । गम्भीरमानका छोरा सूर्य परियार पनि केही वर्षयता यूएईको दुबईमा श्रम गरिरहेका छन् ।

सहिदभूमि–३ की ६६ वर्षीया भजना भन्दै थिइन्, ‘त्यसबेला मारिने हाम्रा आफन्त र गाउँलेको सालिक बनाएर घर–आँगनमै राखिएको छ, मेरा श्रीमान्सहित सबैलाई राष्ट्रिय सहिद पनि घोषणा गरिएको छ । तर हाम्रो परिवार र देशका छोराछोरीको जीवनमा के परिवर्तन भयो ? मैले बुझ्न सकेकी छैन ।’

तस्बिरहरू : प्रकाशचन्द्र तिमल्सेना/कान्तिपुर

छिन्ताङ गाउँवासी धनवीर दर्जीका छोरा सोमबहादुर अहिले ६५ वर्षका भए । ‘कम्युनिस्ट विद्रोही’ भनेर २०३६ कात्तिक २७ मा पञ्चायती सत्ताले धनवीरको पनि हत्या गरेको थियो । ‘बुबा मारिँदा म २२ वर्षको थिएँ, हाम्रो गाउँका १६ जना साधारण किसान र दैनिक हाजिरामा जीवन धान्नेहरू मारिएपछि गाउँमा त्रास फैलिएको थियो,’ सोमबहादुर सम्झन्छन्, ‘मारिनेका सन्तान हामीलाई पनि पञ्चहरूले दागा धर्न थाले, बसिनसक्नु बनाए । सधैं सुराकी हुन थालेपछि म २०३७ सालमा भारततिर लागें, मिजोरम, मेघालयतिर रोजगारी गरेर केही वर्षअघि मात्र गाउँ फर्केको हुँ ।’

सोमबहादुरका बुझाइमा कम्युनिस्ट भनेर उनका बाबु र गाउँले मारिए, तर व्यवस्था परिवर्तनपछि बनेका कम्युनिस्ट सरकारले सहिद परिवारलाई सम्झेनन्, फगत सालिक बनाएर माल्यार्पण गर्दैमा जिम्मेवारी पूरा भएको ठाने । चारो छरेझैं नगद दिए, तर स्वावलम्बी बन्ने बाटो दिएनन्, राजनीतिमा अघि सार्ने प्रयास गरेनन् । सोमबहादुर अहिले पनि ज्यालादारीमा निर्वाह गर्छन् ।

सहिदको स्मृतिमा छिन्ताङमा २०५२ सालमा सहिद पार्क तथा सालिक स्थापना गरिएको छ । सहिद स्मृति दिवसमा औपचारिक कार्यक्रम हुने भएकाले यहाँ पनि चहलपहल बढ्छ । ‘सहिदका नाममा अर्थहीन भाषण गरेर नेताहरूले कुर्सी बचाइरहेको प्रतिक्रिया दिन्छन् सहिद स्मृति प्रतिष्ठान छिन्ताङका अध्यक्ष रूपलाल राई । ‘सहिद परिवारका हकमा एक घर एक रोजगारको घोषणा गरिएको थियो, त्योभन्दा ठूला कुरा यो क्षेत्रमा पानी, बिजुली, सडकको सबै सुविधा ल्याउने वाचा गरिएको थियो,’ राई भन्छन्, ‘तर, अहिले त १ रुपैयाँ पनि बजेट यो शीर्षक र यो प्रयोजनमा राखिएको रहेनछ ।’

‘छिन्ताङको राजनीतिक हत्याकाण्ड’ कृतिका लेखक एवं प्राध्यापक गोपालबहादुर भट्टराईले २०३६ सालको छिन्ताङ काण्डपछि गाउँमा सुरक्षा–प्रहरी तैनाथ गरिएको र कम्युनिस्ट नामका जोकोहीलाई निगरानीको तारो बनाइएको सम्झन्छन् । ‘त्यो बेलाको दमनले कतिपय युवालाई विस्थापित गरायो, उनीहरू शिक्षाबाट वञ्चित भए । समग्र जीवन नै प्रभावित भयो,’ उनी भन्छन् ।

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार छिन्ताङ काण्डको चार दशकसम्म सहिद परिवारका निम्ति सामान्य राहत प्रदान गर्ने सनातनी कामकुराबाहेक ठोस योजना बन्न सकेको छैन । ‘गाउँमा अवसर र सुविधा नपाएरै बर्सेनि यो क्षेत्रको जनसंख्या घट्ने क्रममा छ,’ उनी भन्छन् ।

धनकुटा क्षेत्रलाई प्रतिनिधित्व गरेर इतिहासमा पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाकै पाला (२०३६) मा छिन्ताङमा १६ सर्वसाधारण मारिएका थिए । उक्त घटनापछि ३ दशकभन्दा बढी समय छिन्ताङ क्षेत्र प्रवेश गर्न नसकेका थापा २०७० सालमा मात्रै सुरक्षा प्रबन्धसहित गाउँ जान सकेका थिए । हालै प्रकाशित थापाको कृतिमा छिन्ताङ घटनाबारे लेखिएको छ, ‘देशमा राष्ट्रिय जनमत संग्रहको सरगर्मी बढिरहँदा धनकुटाको निकै दुर्गम र पिछडिएको मानिने छिन्ताङमा राज्यको सुरक्षा कारबाहीमा १६ जनाको निधन भयो । त्यो निकै दुर्भाग्यपूर्ण घटना थियो । कम्युनिस्टहरूले त्यसलाई वर्गसंघर्षको प्रयोग भनेका छन् । खासमा झापाली कम्युनिस्टहरूका कारण त्यो घटना हुन पुगेको थियो । जनताको जीउधनको सुरक्षा गर्ने विषय राज्यको प्राथमिक कर्तव्य र दायित्व हुने हुँदा सो दायित्व निर्वाहका क्रममा कतैबाट अवरोध हुँदा अकल्पनीय घटना हुन्छ नै । समय–समयमा यस किसिमका घटना हुँदै आएका छन् । छिन्ताङमा पनि भएको त्यही हो । यसमा जहाँसम्म जिम्मेवारीको प्रश्न छ, यो त सिधै राज्यको कर्तव्य र दायित्वअन्तर्गतको विषय हो । यो वा त्यो भन्ने सवाल आउँदैन । राज्यको सुरक्षा नीतिअनुसार जे हुनुपर्ने हो, त्यही हुन्छ । त्यतिबेला पनि त्यही भएको हो ।’

अहिले धनकुटाबाट गठबन्धन उम्मेदवार सूर्यबहादुरका छोरा सुनील थापा छिन्ताङ भूमि र त्यहाँका सहिदलाई सम्झेर आफ्नै प्रस्तावमा ‘राष्ट्रिय सहिद’ घोषणा गरिएको दाबी गर्छन् । ‘राष्ट्रिय सहिदसँगै जनही परिवारलाई १० लाख दिने भनेर निर्णय पारित गरिएको थियो तर सरकार बदलियो । लगत्तै आएको केपी ओली नेतृत्वको सरकारले यो निर्णय खारेज गरिदिएको थियो,’ चुनावी प्रचारमा पितापुर्खाको थलो मुगा, धनकुटामा रहेका थापाले भने ।

सहिद परिवार भने केही जीविकाका लागि आर्थिक सहयोग महत्त्वपूर्ण भए पनि आफूहरूलाई स्वावलम्बी बनाउने कार्यक्रमको माग गर्दै छन् । ‘प्रजातन्त्र आएपछि गिरिजाप्रसाद कोइराला सरकारका बेला प्रतिसहिद परिवार १ लाख र हालै प्रदेश सरकारबाट प्रतिपरिवार ५ लाख रुपैयाँ दिइएको थियो, माधवकुमार नेपाल प्रधानमन्त्री भएका बेला २५ हजार रुपैयाँ प्रतिपरिवारलाई दिइयो,’ सहिद धनवीरका छोरा सोमबहादुर भन्छन्, ‘नगद जसरी आउँछ, त्यसैगरी जान्छ । तर हामीले शिक्षा, दीक्षा र रोजगारीको आशा गरेका छौं, अझ हाम्रो मात्र नभएर समग्र जिल्ला र देशको बारेमा नेताहरूले असल योजना बनाउनुपर्‍यो, त्यो नभएसम्म बुबाहरूले बगाएको रगतको सम्मान भएन ।’

छिन्ताङ हत्याकाण्ड (२०३६) का सहिदहरू :

१. गोपालआनन्द राई (कात्तिक २४)

२. भैरवबहादुर खालिङ (कात्तिक २६)

३. बलबहादुर खत्री (कात्तिक २६)

४. चन्द्रबहादुर दमाई (कात्तिक २७)

५. गम्भीरमान दर्जी (कात्तिक २५)

६. गंगाबहादुर राई (कात्तिक २५)

७. टंकबहादुर विश्वकर्मा (कात्तिक २७)

८. धनवीर दमाई (कात्तिक २७)

९. लाखमान साधु राई (कात्तिक २७)

१०. केशरमान राई (कात्तिक २८)

११. गणेशबहादुर विश्वकर्मा (कात्तिक २८)

१२. पुत्रमान थुलङ (कात्तिक २९)

१३. श्रीमाया राई (हांखिमा साइँली) (कात्तिक २९)

१४. झगेन्द्र राई (माघ १८)

१५. रामकुमारी राई (कात्तिक २९)

१६. रणध्वज पुमा राई (कात्तिक २७)

प्रकाशित : कार्तिक २०, २०७९ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?