कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निगमले सोमबार पनि रद्द गर्‍यो दिल्लीका २ उडान

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमले दिल्लीका लागि सोमबार बिहान ‘राखेका’ दुइटा उडान रद्द गरेको छ । निगमले सोमबार बिहानको नियमित र दिउँसोका लागि राखेको चार्टर गरी दुइटा दिल्ली उडान रद्द गरेको हो । 

निगमले सोमबार पनि रद्द गर्‍यो दिल्लीका २ उडान

निगमको वाणिज्य विभागले मातहतका विभागीय प्रमुख, उपप्रमुख तथा उडानसँग सम्बन्धित इकाईहरुलाई अहिले बिहान (सोमबार) को आरए२०५/२०६ काठमाडौं–दिल्ली–काठमाडौं र आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रोकेको आरए२१७/२१८ काठमाडौं–दिल्ली–काठमाडौंको उडानका यात्रुहरुका लागि सोमबार तय गरेको चार्टर उडान पनि रद्द भएको जानकारी गराएको छ । आफ्ना मातहतका कर्मचारीलाई वाणिज्य विभागले यी दुई उडान रद्द गर्नुको कारण ‘अपरेसनल’ भनेको छ ।

निगम प्रवक्ता अर्चना खड्काका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले जाडोयाम (विन्टर सेड्युल) का लागि जारी गरेको उडान अनुमतिमा आइतबार र शुक्रबारको दिउँसोको उडान र सोमबार र बिहीबारको बिहानको उडान कटौतीमा पारेकाले निगमले सोमबार बिहानको नियमित उडान रद्द गर्नुपरेको हो । त्यस्तै आइतबार काठमाडौंमा अलपत्र परेका यात्रुहरुका लागि तय गरेको चार्टर उडानको अनुमति नपाइएपछि निगमले उक्त उडान पनि नगर्ने इमेल कर्मचारीहरुलाई गरेको एक अधिकारीले बताए ।

निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

प्रवक्ता खड्काका अनुसार, आइतबार दिउँसोको उडानका लागि टिकट काटेका २ सय ५४ मध्ये १ सय ४ जनालाई अन्य वायुसेवामार्फत पठाइसकेकाले बाँकी रहेका १ सय ५० जनालाई निगमले सोमबार दिउँसो गर्न लागेको आरए२१७/२१८ नम्बरको उडानबाट दिल्ली पठाउँदै छ ।

त्यस्तै बिहानका लागि तय गरिएको तर रद्द गरिएको आरए२०५/२०६ नम्बरको उडानका लागि टिकट लिइसकेका १ सय ५० जनालाई पनि दिउँसोकै उडानबाट पठाइने भएको छ । दिउँसोको वाइडबडीमा यात्रु क्षमता २ सय ७४ जना मात्रै भएको तर यात्रु बढी भएकाले अन्यलाई रि–रुटीङ गर्नुपरेको निगमले भनेको छ ।

निगमले आइतबारअघि काठमाडौं–दिल्ली–काठमाडौं बिहान र दिउसो गरी दैनिक दुइटा गर्दै आएको थियो । खड्काका अनुसार, आइतबारदेखि प्राधिकरणले जारी गरेको ग्रीष्मकालीन तालिकामा निगमका बिहानका दुइटा र दिउँसोका दुइटा गरी चारवटा उडान कटौती गरिएको छ । तालिका कटौतीपछि यात्रु सेवाप्रवाह गर्ने निगम र हवाई नियमनकारी निकाय प्राधिकरणबीच विवाद उत्पन्न भएको छ ।

काठमाडौं विमानस्थलका निर्देशक टेकनाथ सिटौलाले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई तालिकाको नियमपालना नगरेकोमा २४ घन्टे स्पष्टीकरण सोधेका छन्। यसैबीच प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आइतबारको घटनाको विषयमा निगमका कार्यकारी अध्यक्षसहितको बैठक बोलाएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?