निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

सुरज कुँवर

काठमाडौँ — नियमनकारी निकायले जारी गरेको शीतकालीन उडान तालिकालाई अवज्ञा गर्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आइतबार जबर्जस्ती काठमाडौं–दिल्ली उडान गर्न खोज्दा दुईतर्फ ४ सय ५० जना यात्रु अलपत्र परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ सय ५४ र दिल्लीमा १ सय ९६ जना अलपत्र परेका हुन् ।

निगमको दिल्ली उडान रोक्दा ४ सय यात्रु अलपत्र

बिहान ११ बजेदेखि त्रिभुवन विमानस्थलमा अलपत्र परेका यात्रु साँझ ७ बजेसम्म बसे । विमानस्थल परिसरमै विरोध प्रदर्शन गरे । उता भारतबाट काठमाडौं आउने यात्रु पनि नयाँदिल्लीबाट आउन पाएनन् । काठमाडौंबाट दिल्ली हुँदै तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुले उडान छुटाउनुपर्‍यो भने गन्तव्यमा जान विमानस्थल आइसकेका दर्जनौं यात्रुलाई निगमले आफ्नै खर्चमा दुवैतर्फ होटलमा बास दिनुपरेको छ । काठमाडौंमा ३० र दिल्लीमा १ सय ९६ जनालाई होटलमा राखिएको छ । यसबाट निगमले करोडौं रुपैयाँको नोक्सान व्यहोर्नुपरेको छ ।

निगमकै वाइडबडी जहाजबाट परीक्षण र न्यारोबडी जहाजबाट पहिलो उद्घाटन उडान गरिएको ३० अर्ब रुपैयाँ लगानीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अपेक्षित ‘बिजनेस’ पाएको छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्यहाँबाट उडान संख्या वृद्धि गर्न निगम र हिमालय एयरलाइन्सलाई सातामा दुई दिन भैरहवाबाट उडान राख्न तीन पटक ताकेता गरेको थियो । यी दुईपछि डिसेम्बरबाट विदेशी वायुसेवालाई भैरहवा पठाउने योजना प्राधिकरणले सार्वजनिक गरेको थियो ।

प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार अक्टोबरको अन्तिम आइतबारदेखि मार्चको अन्तिम शनिबारसम्म चल्ने शीतकालीन अन्तर्राष्ट्रिय उडान तालिकामा सबैभन्दा पहिले निगमले सातामा १४ वटा उडान गर्दै आएका नयाँदिल्लीका दुइटा नियमित उडान भैरहवा सारिएका थिए । भैरहवाको ग्राउन्ड ह्यान्डलिङ पनि आफैं गरिरहेको निगमले उक्त तालिकालाई बेवास्ता गरेर काठमाडौंबाटै उडान राखेको भन्दै आइतबार प्राधिकरणले रोकेको हो ।

हिमालय एयरलाइन्सले भने प्राधिकरणको नियम मान्ने जनाउँदै आगामी डिसेम्बरदेखि भैरहवाबाट पनि उडान सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाइसकेको सहायक प्रवक्ता भूलले बताए । निगमलाई तीन पटक पत्र र इमेलबाट पूर्वजानकारी पनि दिइएको दाबी उनको छ । निगमले आइतबार र शुक्रबारका लागि यात्रुलाई टिकट बिक्री गरेपछि दुई निकायको द्वन्द्वका कारण सयौं यात्रुले धोका पाएका छन् । कतिपय उड्डयनकर्मीले आइतबार निगमलाई ‘छोडिदिँदा हुने’ भने पनि प्राधिकरण कडाइका साथ उत्रिएको छ ।

उसले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई जबर्जस्ती उडान राखेको विषयमा २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ‘दिल्लीका लागि दिउँसो हुने उडान हप्तामा आइतबार र शुक्रबारबाहेक ५ दिन मात्रै गर्न स्वीकृति दिइएकोमा आइतबार काउन्टर खोलेर किन ७३ जनालाई बोर्डिङ पास दिइयो, २४ घण्टाभित्र लिखित जानकारी दिनू,’ पर्यटन मन्त्रालयलाई पनि बोधार्थ दिइएको स्पष्टीकरणपत्रमा लेखिएको छ ।

दिल्ली उडान स्थगनका विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शनिबार मात्रै जानकारी पाएको जनाएको छ । पर्यटन सचिव सुरेश अधिकारीले आफूलाई निगमका वाणिज्य निर्देशक जनकराज कालाखेती र कार्यकारी अध्यक्ष अधिकारीले शनिबार मात्रै यसबारे जानकारी दिएको बताए । ‘आइतबारको उडानबारे मलाई शनिबार मात्रै निगमका साथीहरूले जानकारी दिए,’ उनले भने, ‘मैले तत्कालै प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई संयोजन गर्न भनेको थिएँ तर उनले प्राधिकरणको निर्णय फिर्ता गर्न नसकिने भने । मन्त्रीलाई पनि जानकारी गराएँ ।’

प्राधिकरणले निर्णय हेरफेर गर्न नसकिने जनाएपछि निगमका अधिकारीहरूलाई आइतबारको तालिका सार्न भनेको दाबी सचिव अधिकारीको छ तर निगमले टिकट बेचेर यात्रुलाई बोलाई बोर्डिङ पास वितरण गर्न थालेपछि छठको बिदाका दिन घरमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले निगमको बोर्डिङ काउन्टरमै पुगेर दिल्लीको यात्रु चेकइन बन्द गराएका थिए ।

‘निगमलाई उडान तालिका नै दिइएको थिएन तर यात्रु सबैलाई बोर्डिङ पास दिइयो रे, एयर ट्राफिकले बिनातालिका कसरी उडान अनुमति दिन्छ ? यति सामान्य कुरा निगमका अधिकारीहरूले किन बुझ पचाएका हुन् ?’ महाप्रबन्धक ठाकुरले भने । उडान रोकिएपछि पर्यटन सचिवले प्राधिकरण महानिर्देशकलाई आइतबार निगमलाई उड्न दिन अनुरोध पनि गरेका थिए तर महानिर्देशकले निगमले नियम अवज्ञा गर्नुका साथै भैरहवाबाट गर्ने उडानबारे कार्ययोजना पनि नबुझाएको गुनासो गरेका थिए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दसैंतिहारको बिदा परेकाले कार्ययोजना बनाउन ढिलाइ भएको बताए । सरकारी वायुसेवाले नियम अनिवार्य पालना गर्ने दाबी पनि उनले गरे । आइतबारको उडानका लागि ६ महिनाअघि नै टिकट बिक्री गरिसकेकाले रद्द गर्न नसकिएको उनको जिकिर छ । ‘बीचमा बिदा पर्‍यो, कर्मचारी घर गए । हामीले भैरहवा नजाने भनेका छैनौं, जान्छौं । तर, हामीलाई उताबाट उडान थाल्न योजना बनाउन केही समय लाग्छ । तत्कालै जहाज लगेर भैरहवाबाट उडान गर्न सक्दैनौं,’ कार्यकारी अध्यक्ष अधिकारीले भने ।

आइतबारको घटनाबारे पर्यटनमन्त्री जीवनराम श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष अधिकारीले गैरजिम्मेवार काम गरेको बताए । ‘निगमलाई हिजै सचिवमार्फत दिल्लीको उडान सार्न भनिएको थियो,’ मन्त्री श्रेष्ठले भने, ‘यो कार्यकारी अध्यक्षको गैरजिम्मेवारपूर्ण काम हो । ७३ जनाको बोर्डिङ पास जारी भएपछि निगमका कर्मचारी विमानस्थलको बोर्डिङ पास जारी गर्ने काउन्टर छाडेर भागे । यात्रुहरूले नाराबाजी गरे । यो खबर सुनेपछि मैले कार्यकारी अध्यक्षलाई फोन गरें । तर, उनको फोन स्विचअफ थियो ।’ विमानस्थलले घटना छानबिन र स्पष्टीकरण सोध्ने निर्णय गरेको उनले बताए । यात्रुलाई भएको धोकाबारे आफूले पनि सोमबार मन्त्रालय पुगेर निर्णय लिने उनले बताएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?