कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दार्चुला घटनाबारे ओलीको प्रश्न- 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेका छन् । उनले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा मौन रहेको बताएका छन् ।

दार्चुला घटनाबारे ओलीको प्रश्न- 'प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा शुक्रबार विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालक पवन महराको मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको थियो ।

एमाले अध्यक्ष ओलीले शनिबार सामाजिक संजाल फेसबुकमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवामाथि प्रश्न उठाएका हुन् ।

'नेपालसँगको सीमा क्षेत्रमा भारतले सडक विस्तार गर्दा दार्चुलाको व्यास गाउँपालिका– २ का बालक पवन महराले ज्यान गुमाएको घटनाले अत्यन्त दुःखी छु । ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरा सहित स्थानीय नागरिक घाइते भएका छन्,' ओलीले देउवालाई सोधेका छन्, 'घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु । तुइन काटेर गतवर्ष जयसिंह धामीलाई मारिएको घटनामाजस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?'

गत वर्ष महाकालीमाथिको तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएका थिए । उक्त तुइन भारतीय एसएसबीले काटेको प्रत्यक्षदर्शीले बताएका थिए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका सांसद दिलेन्द्र बडूले भने उक्त घटनाको छानबिन गर्नका लागि जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशन दिएका छन् ।

प्रकाशित : कार्तिक १२, २०७९ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?