३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४
भारतद्वारा सीमा क्षेत्रमा सूचना नै नदिई विस्फोट

ढुंगा उछिट्टिएर नेपालतर्फ बालकको मृत्यु

मनोज बडू, मातृका दाहाल

दार्चुला, काठमाडौं — महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको हो । उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए । 

ढुंगा उछिट्टिएर नेपालतर्फ बालकको मृत्यु

ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए । उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए । उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा पुर्‍याइएको छ ।

डीएसपी पाण्डेका अनुसार व्यासकै तम्बाकु क्षेत्रबाट बुबा हिक्मतसँगै पवन र सरिना दुम्लिङस्थित घर फर्कंदै थिए ।

दसैंतिहारको बिदामा थी गाउँमा तरकारी लगाउन गएका उनीहरू स्कुल खुल्ने समय भएकाले घर फर्किएका थिए । ‘यसअघि विस्फोट गराउँदा सिटी बजाउँथ्यो, पारि सिटी बजेपछि सबै सचेत हुन्थे, विस्फोट अवधिभर कोही पनि बाटोमा निस्कँदैनथे,’ हिक्मतको भनाइ उद्धृत गर्दै वडाध्यक्ष बुढाथोकीले भने, ‘आज बजाएन । सिटी नबजाएपछि बाटैबाटो घर आउने क्रममा थियौं । त्यही बेला ढुंगा उछिट्टिएर आएर छोराको ज्यान लियो ।’

भारत पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा काम गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले विस्फोट गराएको थियो । विस्फोटअघि कम्पनीले कुनै सूचना नदिएको हिक्मतको भनाइ छ । ‘सीमा क्षेत्रमा कुनै जानकारी नदिई विस्फोट गराउँदा घटना भएको हो,’ उनले भने ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनैपर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ । त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै दिएन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घराज उपाध्यायले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकले ज्यान गुमाउनुपरेको बताए ।

‘महाकाली वारि नेपाली सेनाले पनि बाटो खनिरहेको छ, बाटो निर्माणका क्रममा हाम्रो पक्षबाट विस्फोट गराउनुअघि सिटी फुक्ने, माइकिङ गर्नेलगायत सम्भव भएसम्म प्रभावकारी रूपमा सूचना प्रवाह गर्ने गरेका छौं,’ प्रजिअ उपाध्यायले कान्तिपुरसँग भने, ‘भारतीय पक्षले पनि प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने थियो तर शुक्रबारको विस्फोटमा उनीहरूले सावधानी अपनाएको देखिएन ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेको बताए । यस विषयमा कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति दिलाउन र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पनि लापरबाही गर्ने पक्षलाई कानुनी कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रजिअ उपाध्यायले नेपालको बाटो भारतीय सडकभन्दा निकै तल पर्ने भएकाले पारि निर्माण कार्य हुँदा नेपालको बाटोमा सधैं असर पुग्ने गरेको बताए । गत वर्ष नेपाली सेनाले टिंकर जोड्ने महाकाली लोकमार्गको काम थाल्नुअघि भारतीय पक्षसँग समन्वय गरेको थियो ।

व्यास–२ मा पर्ने कोठेधारदेखि नेपाल–चीन सीमा नाका टिंकरसम्मको ८७ किमि प्रस्तावित रणनीतिक सडकमध्ये ५५ किमि महाकाली नदी वारि पर्छ । कोठेधारदेखि महाकाली नदी किनार र कतै भित्री क्षेत्र हुँदै बनाइने सडकले व्यास–१, छाङरु (गागा) स्थित नेपाल–भारत सीमाको सीतापुल वारिसम्म जोड्छ ।

बालकको ज्यान गएको घटना जानकारी पाएलगत्तै प्रजिअ उपाध्यायले भारतीय समकक्षी पिथौरागढका जिल्लाधिकारी (डिस्ट्रिक्ट मजिस्ट्रेट) आशिष चौहानलाई फोन गरेर आपत्ति जनाएका थिए । जवाफमा जिल्लाधिकारी चौहानले घटना दु:खद भएको र विस्फोटबाट ज्यान गुमाएका बालकका परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने प्रतिबद्धता जनाएको प्रजिअ उपाध्यायले बताए । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले दार्चुला घटना गम्भीर रहेको बताए । ‘मानवीय क्षति हुने गरी भएको घटनालाई हामीले गम्भीर रूपमा लिएका छौं, दार्चुला प्रशासनले पनि यसबारे पत्र पठाइसकेको छ,’ प्रवक्ता पोखरेलले भने, ‘पत्र छिट्टै परराष्ट्र मन्त्रालय पठाउँछौं, बाँकी विषय कूटनीतिक माध्यमबाट गर्नुपर्ने भएकाले के–कसो गर्नुपर्ने हो, परराष्ट्रबाटै हुन्छ ।’

२०७८ जेठ २५ मा पनि व्यास गाउँपालिकाका दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तार गर्ने क्रममा गराएको विस्फोटले चट्टान खसेर नेपालतर्फको बाटो महाकालीले भत्काएको थियो । दुम्लिङबाट करिब २ सय मिटर उत्तरतर्फको घोडेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै चीनसँगको सीमा जोडिएको टिंकर गाउँ आउजाउमा व्यवधान पुगेको थियो ।

भारतीय विस्फोटका कारण महाकालीको धार नेपालतर्फ धकेलिएको थियो । त्यस क्षेत्रमा पारि विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगाले केही नेपाली घाइते पनि भएका थिए । सोही क्षेत्रमा चार वर्षअगाडि पनि भारतले सडकको ट्रयाक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।

भारतले निर्माण गरिरहेको सडक महाकाली नदीबाट करिब ५ सय मिटर उचाइमा छ । तर, महाकाली किनारैकिनारको नेपाली बाटो १५ देखि २० मिटरको मात्रै उचाइमा पर्छ । दुवै देशले चट्टान फोर्न वा सीमा क्षेत्रलाई असर पुग्ने खालका विस्फोट गराउँदा दुवै देशका स्थानीय सुरक्षा संयन्त्रसँग सहमति लिने र समन्वय गर्नुपर्ने हो । तर, भारतीयले उक्त सडक खन्दा होस वा विस्तार गर्दा नेपाल पक्षसँग समन्वय गरेको छैन । यही सडक हुँदै कालापानी क्षेत्रको नेपाली भूभाग अतिक्रमण गरेर भारतले चीनको मानसरोवर जोड्ने बाटो खन्नुका साथै विस्तार गरिरहेको छ ।

२०७८ साउन १५ मा दार्चुलाको मालघाटमै भारतीयले तुइनको लट्ठा खुस्काइदिँदा व्यास गाउँपालिका–२, खाङदाङका ३३ वर्षीय जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । धामी अहिलेसम्म फेला परेका छैनन् । तुइनको लट्ठा सशस्त्र सीमा बल (एसएसबी) का जवानले खुस्काइदिएको किटानीका साथ नेपालले भारतलाई कूटनीतिक नोट पठाउँदै संलग्नलाई कारबाही र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्तिको पहल गरिदिन आग्रह गरेको थियो । तर, उक्त घटनाको वर्ष दिन बितिसक्दा पनि भारतले तुइन घटनामा संलग्नमाथि कारबाही र धामीका परिवारलाई क्षतिपूर्ति दिनेबारे कुनै निर्णय गरेको छैन ।

दार्चुलामा खलंगादेखि छाङरुसम्मका एक दर्जनभन्दा बढी स्थानमा भारतीय पक्षबाट कतै पुलबाट आउजाउमा अवरोध पुर्‍याउने, कतै नदीको धार फेरिदिने, कतै तुइनबाट वारपार तर्न नदिनेदेखि पारि सडक निर्माण गर्दा नेपालतर्फको बाटो भत्काइदिनेसम्मका गतिविधि हुँदै आएका छन् ।

सीमा क्षेत्रमा भारतीय पक्षले ठूला पहाड फुटाउन विस्फोट गराएर महाकाली नदी किनारमा खसाउँदा नदीको बहाव नेपालतर्फ धकेलिने र व्यास जोड्ने घोडेटो बाटो भत्किने गरेको छ । बर्सेनि सरकारी निकायहरूले व्यास जोड्ने बाटो मर्मत गर्दै आए पनि नदीको बहावले कटान गरेर बाटोमा क्षति पुगेको स्थानीय बताउँछन् । दुम्लिङदेखि दोपखे बुदीसम्मको घोरेटो बाटो भारतीय सडककै कारण बर्सेनि भत्किँदै आएको दुम्लिङका स्थानीय वीरेन्द्रसिह बुढाथोकीले बताए । उनले नेपालतर्फ निर्माण गरेको बाटो केही ठाउँमा मात्र छ । अधिकांश क्षेत्रमा बाटो महाकालीले कटान गरेर भत्किएको छ । कुनै ठाउँमा बनाउन नै नमिल्ने गरी नदीको बहाव नेपाल मोडिएको उनको भनाइ छ । यसका सबै कारण भारतीय पक्ष भएको बुढाथोकीको भनाइ छ ।

क्षतिपूर्तिका लगि पहल हुन्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भारतीय सडक खन्दा उछिट्टिएर आएको ढुंगा लागी ज्यान गुमाएका पवन महराको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । मन्त्री बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएको र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन् ।

मन्त्री बडू पनि दार्चुलाकै स्थानीय हुन् । उनले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए ।

प्रकाशित : कार्तिक १२, २०७९ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?