कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समानुपातिक छाडेर प्रत्यक्ष भिड्दै ‘डीना’

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चार जना महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् ।

हेटौंडा — ‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । मैले जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हुँ’,नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो उम्मेदवारी दर्ता गराएसँगै यस्तो प्रतिक्रिया दिएकी थिइन् ।

समानुपातिक छाडेर प्रत्यक्ष भिड्दै ‘डीना’

उनी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट उम्मेदवार बनेकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चारजना महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका छन् ।

यस निर्वाचन क्षेत्रका स्थानीय तहमा कांग्रेस र माओवादीको उपस्थिति बलियो रहेका कारण उनलाई चुनावी नतिजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ । घरदैलो र कार्यकर्ता भेटघाटको क्रममा डीना अहिले गाउँगाउँमा पुगेकी छन् । कार्यकर्ता तथा स्थानीयको मायाबाट हौसिएकी उनलाई थापा र सिंहको चुनौती पन्छाउन अनुमान गरेजस्तो सहज भने छैन । थापा एमालेको संगठित मतको बलमा चुनाव जित्ने तयारी गरिरहँदा सिंह आफ्नो पक्षमा स्वत: जनताले मतदान गर्ने दाबी गरिरहेका छन् ।

डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन्। स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन्। विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन्। २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेकी उनी हाल तत्कालीन समयमा एमालेका उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन् । यस निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर डीनालाई पराजित गरेका थिए। त्यतिबेला डीनाले ११ हजार ५७६ मत पाएकी थिइन् ।

२०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी खतिवडासँगै पराजित भइन्। उक्त निर्वाचनमा खतिवडा १६ हजार १४४ मत पाएर निर्वाचित भएका थिए भने डीनाले ३ हजार ७९२ मत पाएर तेस्रो भइन्। त्यतिबेला राप्रपा अध्यक्ष थापा ११ हजार ८७८ मत ल्याएर दोस्रो भएका थिए। २०५६ मा भएको आमनिर्वाचनमा उनी उम्मेदवार बनिनन्। त्यतिबेला क्षेत्र नम्बर–२ बाट कांग्रेसका रामचन्द्र अर्याल ‘माइकल’ उम्मेदवार बनेका थिए। तर,उनी पनि खतिवडासँगै पराजित भए।

२०७४ सालमा भएको निर्वाचनमा पनि डीना पुन: एकपटक खतिवडासँगै पराजित हुन पुगिन्। हालसम्मको राजनीतिक जीवनमा कांग्रेस पार्टीभित्र राम्रो स्थान बनाए पनि उनले जनताबाट प्रत्यक्ष अनुमोदित हुने अवसर भने पाएकी छैनन्। २०७४ को निर्वाचनमा उनले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् भने खतिवडा ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए। उठेको जति सवै आम निर्वाचनमा पारजित भएकी डीनालाई यो पटक गठबन्धनको आड छ। तर, पनि उनी ढुक्क हुनसक्ने अवस्था भने छैन । यस क्षेत्रमा त्रिपक्षिय भिडन्त हुने आकंलन गरिएको छ । तीनै जना उमेदवार अहिले घरदैलोसहित मतदाता भेटघाटमा व्यस्त छन् ।

उनी लगातार रूपमा उठ्दै आएको मकवानपुर क्षेत्र नम्बर–२ बाट यसपटक पनि खतिवडा नै मैदानमा छन् । सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार डीनाले यसपटक क्षेत्र परिवर्तन गरेकी हुन् ।

यस निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वाग्मती गापाको ९ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ ।

चारवटा पालिकामै सत्तारुढ गठबन्धनको मात्र मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । यसक्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य चार गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन् । उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् ।

प्रकाशित : कार्तिक ८, २०७९ ०६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?