‘बच्चा अपहरण’ अफवाहले महिला पीडित- समाचार - कान्तिपुर समाचार

‘बच्चा अपहरण’ अफवाहले महिला पीडित

नयाँ अनुहार देख्नेबित्तिकै ‘बच्चा चोर’ भन्दै कुटपिट, निर्दोष महिलाहरुलाई प्रताडना 
माधव ढुंगाना, भरत जर्घा मगर

भैरहवा, सिरहा — पाल्पाको तानसेन–११ की ज्योति रञ्जन आफ्नो काखे बच्चा बोकेर माइत जान भन्दै घरबाट निस्किइन् । भारत माइत भएकी उनी बुटवलस्थित नातेदारको घरमा एक रात बिताएपछि गत सोमबार रूपन्देहीको तिलोत्तमा नगर मंगलापुरमा पैदल यात्रा गर्दै भैरहवातर्फ आइरहेकी थिइन् ।

जिल्ला प्रहरीका अनुसार त्यसबेला उनको हिँडाइ अस्वाभाविक देखिएको थियो । भारतीय मूलकी भएकाले बोलीमा हिन्दी लबज थियो । एक्लै बच्चा बोकेर पैदल हिँडेको देखेपछि केही स्थानीयले उनलाई बच्चा चोरको आरोप लगाएर नजिकको प्रहरी कार्यालयमा खबर गरे । प्रहरीले सोधपुछका लागि बच्चासहित महिलालाई जिम्मा लियो । स्थानीय एक किशोरीले महिलालाई प्रहरीले नियन्त्रणमा लिएको तस्बिर खिचिन् । त्यसपछि उक्त तस्बिर ‘बच्चा अपहरण गर्ने महिला प्रहरीद्वारा नियन्त्रणमा’ क्याप्सन लेख्दै ती किशोरीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरिन् ।

उक्त तस्बिर पोस्ट भएलगत्तै सामाजिक सञ्जालमा व्यापक बन्यो । धेरैले उक्त पोस्टलाई विभिन्न व्यक्ति र निकायका सामाजिक सञ्जाल समूहमा ट्याग गरेर प्रचार गरे । केही दिनदेखि बच्चा अपहरण गर्ने समूह र विशेष गरी महिला गाउँ–गाउँ र सहरमा आएको भनी फैलिएको हल्लालाई यस घटनाले थप बल दियो । प्रहरीले बच्चासहित ती महिलालाई सोधपुछका लागि लिएको तस्बिरले प्रमाणको रूपमा त्यस घटनालाई लिन थालियो । जिल्लाभित्र र बाहिर आतंक मच्चिन थाल्यो ।

‘सोधपुछबाट ती महिला बच्चा अपहरणकारी नभएको र अरूको बच्चा लैजाने कुनै नियत नभएको यथार्थ खुल्यो,’ जिल्ला प्रहरीका डीएसपी श्यामु अर्यालले भने, ‘यथार्थ नबुझीकन सामाजिक सञ्जालको तस्बिर प्रयोग गरिनु र त्यसलाई सबैले पत्याइहाल्नाले निम्त्याएको परिणामको एउटा उदाहरण हो यो ।’ सामाजिक सञ्जालमा उक्त अफवाह पोस्ट गर्ने ती महिलाले पछि माफी मागेको अर्यालले बताए । उनका अनुसार ती महिलाले मादक पदार्थ सेवन गरेका कारण सडकमा पैदल हिँड्दा केही अस्वाभाविक अवस्थामा थिइन् । पाल्पाबाट रोजगारीका लागि भारत पुगेका व्यक्तिले उनीसँग भारतमै विवाह गरेका थिए ।

यो अफवाह फैलिएपछि तिलोत्तमा नगरपालिकाले सोमबार नै अत्यन्तै जरुरी सूचना भन्दै नगर क्षेत्रमा बच्चा अपहरणका घटना बढेकाले अभिभावकलाई सतर्क हुन अनुरोध सहितको सूचना जारी गर्‍यो । ती किशोरीले फेसबुकमा गरेको पोस्ट र तिलोत्तमा नगरपालिकाले जारी गरेको सूचनालाई कतिपय अनलाइन र सञ्चारमाध्यमले समेत समाचार बनाए । विगत केही सातायता विशेष गरी भारतसँग सिमाना जोडिएका सीमावर्ती नेपाली गाउँ र सहरका बस्तीमा बच्चा अपहरण गर्ने समूह सक्रिय भएको र बच्चाको अपहरण हुने गरेको हल्लाले आतंकित बनेको छ ।

अपहरणकारीले बच्चाको अपहरण गरेर भारतमा पुर्‍याउने र त्यहाँ बच्चाको मृगौला, आँखालगायत अंग निकालिदिने, सडकमा माग्न लगाउने जस्ता प्रयोजनका लागि अपहरण हुने गरेको हल्ला व्यापक छ । यस खालको हल्ला र आतंक रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुको दक्षिणी सीमावर्ती गाउँमा फैलिएको छ ।

यिनै हल्लालाई आधार मानेर सिद्धार्थनगर र तिलोत्तमा नगरपालिका क्षेत्रका आधा दर्जनभन्दा धेरै निजी विद्यालयले अभिभावकलाई सम्बोधन गर्दै सूचना जारी गरेका छन् । ती सूचनामा बच्चालाई विद्यालयको बसमा चढाउँदा, ओराल्दा र हिँडेर आफैं विद्यालय आउने विद्यार्थीलाई पनि सम्भव भएसम्म आफैंले ल्याउन लैजाने गरिदिन आग्रह गरिएको छ ।

विद्यालयले जारी गरेका यस्ता सूचनाले यो हल्ला र आतंकलाई घर–घरसम्म पुर्‍याएको छ । कुनै पनि गाउँ वा बस्तीमा विशेष गरी तराई मूलका महिला आफ्नै बच्चासहित हिँडे पनि अपहरणकारीको आरोपमा कुटपिट र दुर्व्यवहारबाट धेरै महिला प्रताडित हुने गरेका छन् । बच्चा अपहरण गर्ने हल्लाले धेरै सर्वसाधारण महिला प्रताडित हुनुपरेपछि रोकथामका लागि प्रहरीले पहल थालेको डीएसपी अर्यालले बताए ।

‘भीडभाड हुने ठाउँमा गस्तीसहित बढाएका छौं । यस्ता अफवाहको पछाडि नलाग्न सर्वसाधारणलाई अनुरोध पनि गर्न थालिएको छ,’ अर्यालले भने, ‘कतै यस्ता घटना भइहालेमा वा शंकास्पद गतिविधि देखेमा कुटपिट र दुर्व्यवहार नगरीकन तत्काल प्रहरीलाई खबर गर्नका लागि पनि आग्रह गरिएको छ ।’

भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा मंगलबार दिउँसो बच्चा अपहरण गर्न खोजेको विषयमा सिद्धार्थनगर–१३ शान्तिनगरमा झगडा भएपछि सोधपुछका लागि तीन जना महिला ल्याइएका थिए । जसमध्ये दुई जनाका आफ्नै साना बच्चा थिए । एक महिला गर्भवती थिइन् । प्रहरीका अनुसार ती तीनै जना भैरहवाका हाटबजारमा माछा बेच्नेहरू हुन् ।

शान्तिनगरस्थित एक घरमा उनीहरूका सानिमा भाडामा बस्थिन् । सानिमा बजार गएका बेला ती महिला सानिमा बसेको घरको कोठामा ढक–तराजु खोज्न गएका थिए । अपरिचित महिलालाई देखेपछि घरबेटीका तर्फबाट अपहरणकारीको शंका गरेपछि दोहोरो विवाद भयो । विवादका क्रममा हात हालाहाल भएपछि ती महिलाले अन्यको बच्चा खोसेर लैजान लागेको आरोप लगाउँदै अपहरणकारीको आरोप लगाइएको थियो ।

‘हाटबजारमा माछा बिक्री गरेर दुःख र संघर्ष गर्दै बालबच्चासहित परिवारको गुजारा गर्दै आएका छौं,’ सोधपुछका लागि प्रहरी परिसरमा ल्याइएकी उषा साहले रुँदै भनिन्, ‘आफ्नै बच्चालाई राम्ररी पाल्न सकिएको छैन । अर्काको बच्चा लगेर कसरी पाल्ने ?’ आफूहरू बच्चा अपहरणकारी नभएको र सानिमाको कोठामा हराएको ढक तराजु खोज्न आएको बताउँदा पनि आफूहरूमाथि कुटपिट र दुर्व्यवहार भएको पीडित अर्की महिला लक्ष्मी साहले बताइन् ।

यौनिक अल्पसंख्यकलाई कुटपिट

बिरामी दिदीलाई भेटेर फर्कंदै गरेकी यौनिक अल्पसंख्यक ४३ वर्षीया मुन्नी किन्नर र ४७ वर्षीया चन्दा राउतलाई सिरहाको विष्णुपुर–५ लक्ष्मीपुर चौकमा शनिबार बच्चा चोरको आरोपमा गाउँलेले कुटपिट गरे ।

लक्ष्मीपुर चोकमा दिदीलाई भेटेर फर्केकी सिरहा कल्याणपुर–९ डुमरीका किन्नर र धनुषा हंसपुर नगर मल्हनियाकी चन्दामाथि बच्चा चोरको आरोपमा अनाहकमै गाउँले कुटपिट गरे । इलाका प्रहरी कार्यालय विष्णुपुरले तत्काल उद्धार गरे पनि चोट लागेर मुन्नी घाइते भइन् । उनी अहिले हिँडडुलसमेत गर्न सक्दिनन् । ‘आफूहरू यौनिक अल्पसंख्यक भएको र नीलहीरा समाजमा आबद्ध रहेको परिचय दिँदासमेत स्थानीयले बच्चा चोर हो भन्दै कुटपिट गरे,’ मुन्नीले भनिन् ।

मुन्नीको जाहेरीका आधारमा प्रहरीले कुटपिटमा संलग्न एक जनालाई पक्राउ गरेको छ । सिरहाका डीएसपी सुवास बुढाथोकीले बच्चा चोरको हल्लाकै भरमा यौनिक अल्पसंख्यकमाथि कुटपिटमा संलग्नमध्ये लक्ष्मीपुरका मदन महतोलाई मंगलबार पक्राउ गरिएको बताए । उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरिएको छ ।

कुटपिटमा संलग्न अन्यको खोजी भइरहेको उनले बताए । मुन्नीसहित उनको समूहले बच्चा जन्मेका घरमा गीत गाएर बधाई दिने र दान लिने पेसा गर्दै आएका थिए । त्यसलाई तराई मधेसमा ‘पमरिया’ भनिन्छ । ‘तर घटना भएको दिन हामीले बच्चा पनि नचाएका थिएनौं,’ मुन्नीले भनिन्, ‘दिदीलाई भेटेर मात्रै फर्कंदै थियौं, हामीलाई देखेर गाउँलेले अनाहकमा कुटपिट गरे ।’

तराई मधेसमा कसैको घरमा छोरा जन्मेपछि शिशुका बाबुआमालगायत आफन्तलाई गीतको माध्यमले बधाई दिँदै लोकगाथा सुनाउँछन् । जसलाई पमरिया भनिन्छ । पमरियाहरूले बच्चालाई काखमा लिएर गीत गाएर नाचेबापत घरमूलीले खुसी भएर नगद, वस्त्र, गहना, अन्नपात र भाँडाकुँडा दिन्छन् । कसैले सन्तान पाए बधाई दिने र दान लिने धेरै पुरानै चलन हो ।

काँधमा ठूलो झोला, हातमा ढोलकी र झुनझुना (झ्याली) लगायतका परम्परागत बाजाको तालमा गीत गाउँदै पमरिया मिथिला क्षेत्रका छोरा जन्मेका घरमा पुग्ने गर्छन् । यो चलन छोरी जन्मेको घरमा हुँदैन । मुन्नीको समूहमा पाँच जना छन् । उनीहरू नगद, कपडा, गरगहना क्षमताअनुसार उपहारमा लिने परम्परा छ । यो उनको पुस्तौनी पेसा पनि हो । ‘मिथिला क्षेत्रको लोकसंस्कृति पमरिया नाच अहिले लोप हुने अवस्थामा छ, यसको हामीले जगेर्ना गरिरहेका छौं,’ मुन्नीले भनिन्, ‘त्यही आधारमा हामीलाई देख्नेबित्तिकै बच्चा चोर भनेर गाउँले कुटपिटमा उत्रिए ।’

यसैबीच लहानस्थित नीलहिरा समाजले यौनिक अल्पसंख्यक भएकै कारण बच्चा चोरको आरोप लगाएर कुटपिट गरिनु आफूहरूको मानव अधिकारको हनन भएको जनाएको छ । नीलहिरा समाजका कार्यक्रम संयोजक लक्ष्मेश्वरप्रसाद यादवले आफ्नो आबद्धता प्रमाण देखाउँदा पनि कुटपिट गरिएकाले असुरक्षित महसुस भएको भन्दै सुरक्षाको माग गरेका छन् ।

अयोध्याका राजा दशरथको घरमा राम, लक्ष्मण, भरत र शत्रुघन जन्मेपछि खुसियाली तथा बधाई उत्सव मनाउन बोलाएका पमरियालाई हीरामोती, सुनलगायतका बहुमूल्य सामग्री उपहार दिएदेखि नै मिथिला क्षेत्रमा यो परम्परागत रूपमा रहिआएको जानकारहरू बताउँछन् ।

प्रकाशित : भाद्र ३०, २०७९ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्री कार्यालय सचिवविहीन

प्रमुख सचिव राउत र सचिव मग्रंरातीको बिदा लम्बिँदै, अर्कोको सरुवा
सन्तोष सिंह

जनकपुर — एक प्रमुख सचिव र दुई सचिवको भरमा चलेको मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लामो समयदेखि सचिवविहीन बनेको छ । प्रमुख सचिवलगायत अन्य सचिव नहुँदा मधेस सरकारको गतिविधि प्राय: ठप्प छ । 

मधेस सरकारका प्रमुख सचिव कृष्णबहादुर राउत दुई सातादेखि जनकपुरबाहिर छन् । स्रोतका अनुसार उनी आफ्नो सरुवा अडान राखेर विराटनगरमा बसिरहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई सरुवा नहुञ्जेल जनकपुरमै बसेर काम गर्न आग्रह गरे पनि उनी भने सरुवाकै अडानमै कार्यक्षेत्रबाहिर लामो समयदेखि बसिरहेका छन् ।

‘केही महत्त्वपूर्ण निर्णय गर्न मन्त्रिपरिषद्को बैठक राख्नुपरेको छ । तर, मेरै कार्यालयमा प्रमुख सचिव र अरु अन्य सचिव नहुँदा समस्या भइरहेको छ,’ मुख्यमन्त्री राउतले कान्तिपुरसँग भने,‘प्रमुख सचिवज्यूलाई धरै पटक आउन आग्रह गरे । तर, उहाँ सरुवाका जिद्दी गरेर विराटनगरमा बसिरहेका छन् ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अर्का सचिव मेखबहादुर मंग्रराती पनि लामो समयदेखि बिदामा छन् । प्रमुख सचिव राउत नहुँदा मंग्रराती निमित्त प्रमुख सचिवको हैसियतमा मन्त्रिपरिषद्को बैठकमा बस्ने गरेका थिए । तर, सचिव मंग्रराती पनि जनकपुर नफर्किने गरी बिदामा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । ‘सचिवको सरुवा र बढुवा गर्ने निकाय हामी होइन,’ मुख्यमन्त्री राउतले भने,‘सरुवा नहुञ्जेलसम्म त आफ्नो कार्यक्षेत्रमा बस्नुपर्छ नि । कुनै पनि सचिव नहुँदा मुख्यमन्त्री कार्यालय मात्र होइन, मधेस सरकारकै काम प्रभावित बनेको छ ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अर्का सचिव शिवनाथ पौडेलको भने सरुवा भएको छ । उनी साताअघि नै जनकपुरबाट हिँडे पनि उनको स्थानमा अर्को सचिव आइपुगेका छैनन् । मधेस सरकारका प्रमुख सचिव राउतको भने मोबाइल स्विच अफ छ । उनले मुख्यमन्त्री राउतलाई एसएमएस पठाएर ‘सरुवाका लागि प्रयासरत छु । अर्कै प्रमुख सचिव ल्याउन जोडवल गर्नुहोला’ आशयको सन्देश पठाएका छन् । ‘कुनै पनि सचिव नहुँदा मुख्यमन्त्री कार्यालय बेकामे बनेको छ,’ मुख्यमन्त्री कार्यालयका एक अधिकृतले भने,‘हाम्रो काम पनि आउने, हाजिरी गर्ने र फर्किने नै भइरहेको छ । नयाँ आर्थिक वर्षको काम पनि थालिएको छैन ।’

सचिव नहुँदा मधेस प्रदेशका कर्मचारी वढुवासम्बन्धी निर्णयको प्रतिलिपि लिन जनकपुर प्रादेशिक अस्पतालका चिकित्सक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई दिनदेखि धाइरहेका छन् । कार्यालयमा प्रमुख सचिव र अन्य सचिव नहुँदा उनीहरू रित्तो हात फर्किन्छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवस्तरीय समितिले प्रशासनतर्फका कर्मचारीको बढुवा गरे पनि स्वास्थ्यतर्फका ८औं तहका चिकित्सकलाई बढुवा गरेको छैन ।

मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रयोग गर्ने सवारीसाधनको इन्धनको स्वीकृतिलगायत कार्यालयको सबै गतिविधि ठप्प छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव र अन्य दुई सचिव कार्यालयमा नहुँदा कार्यालय नै ठप्प छ । मधेस प्रदेशको मुख्यालय मुख्यमन्त्रीको कार्यालय सुनसान बनेको छ । कार्यालयमा सचिव नहुँदा अन्य फाँट पनि सुनसान छन् ।

प्रमुख सचिव राउत, प्रशासन तथा बैठकको जिम्मेवारी पाएका सचिव मंग्राती बिनाजानकारी कार्यालयमा अनुपस्थित छन् भने योजना महाशाखाका सचिव पौडेल सरुवा हुँदा मुख्यमन्त्री कार्यालय सचिवविहीन बनेको छ । मुख्यमन्त्री कार्यालयमा सचिव नभएकै कारण पटकपटक मन्त्री परिषद्को बैठकको मिति तोकिए पनि बस्न सकेको छैन ।

प्रकाशित : भाद्र ३०, २०७९ १०:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×