कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक फिर्ता हुनुपर्छ

जनकपुर — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक ‘काम’ नलाग्ने बताएका छन् । उनले विधेयकमा धेरै प्रावधान गलत रहेको उल्लेख गर्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् ।

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक फिर्ता हुनुपर्छ

जन्मसिद्ध सन्तानलाई वंशजको नागरिकता दिइने प्रावधान समेटे एक/दुई दिनमै पारित हुन सक्ने पनि ओलीको भनाइ छ ।

‘नागरिकता विधेयकबारे देशको ठूला पार्टी(एमाले)सँग सरसल्लाह नगर्ने । संसद्‍मा छलफल गर्न नदिने,’ एमाले धनुषाद्वारा जनकपुरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले भने, ‘राष्ट्रपतिको कुरा नमान्ने । विचार गरौँ भन्दा छलफलै नगरी बहुमतको बलमा राष्ट्रपतिको प्रस्ताव अस्वीकार गर्न मिल्छ ? बाहिरका अनाडीको कुरा सुनेर विधेयक ल्याइयो छ ।’ एमालेले नागरिकता दिएन र विधेयक रोकेर राखेको भनेर मधेसमा भ्रम छरिएको आरोप लगाउँदै नेता ओलीले नागरिकता समस्या समाधानका लागि आफू र एमाले पार्टी नै बढी लडेको दाबी गरे ।

‘०५२ सालमा मेरै पहलमा नागरिकता समस्या बुझ्न समिति बनाएँ,’ ओलीले भने,‘नागरिकता समस्या हल गर्न संसद‍्‍मा मैले नै विधेयक लगेँ । तर, एउटा संसदीय समितिका सभापति अड्काएर बसिदिएँ । अनि मैले वंशजको आधारमा नागरिकता पाउनुपर्छ भने अध्यादेश ल्याए । त्यो पनि अदालतमा मुद्दा हालेर फिर्ता गराइयो ।’ उनले नागरिकता समस्यालाई लिएर गठबन्धन दलले झुटको खेती गरिरहेको आरोप लगाए । ‘जन्मसिद्धको सन्तानले नागरिकता पाउनुपर्छ भनेर म ७ वर्षदेखि कराउँदैछु । तर, उनीहरु भ्रम र झुटको खेती गरेका छन् ।’

सरकार फास्ट ट्रयाकबाट ल्याएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि सुझावसहित संसद्‍मा फर्काइदिएकी थिइन् । तर संसद्को दुवै सदनको बहुमतले विधेयक जस्ताको त्यस्तै पारित गरेर प्रमाणीकरणका लागि पुन: राष्ट्रपतिकहाँ पठाएको छ । भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको थियो ।

कालोझण्डा देखाउने पक्राउ

एमाले अध्यक्ष ओलीलाई जनकपुरमा कालो झण्डा देखाउने११ जनालाई प्रहरीले प्रक्राउ गरेका छन् । नागरिकताविहीन युवाहरूले ओलीलाई कालो झण्डा देखाउने प्रयास गरेको थियो । ओली सोमबार जनकपुर आउँदा क्याम्पस चोकमा नागरिकताविहीन युवाहरुले कालो भण्डा देखाएका हुन् । जनकपुर विमानस्थलबाट कार्यक्रमस्थल तिरुहुतिया गाछी जान लागेका बेला क्याम्पस चोकमा जम्मा भएका नागरिकताविहीन युवाले कालो झण्डा देखाएका हुन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेले पूर्व प्रधानमन्त्री ओली सवार सवारी अवरुद्ध र कालो झण्डा देखाउने योजना बनाएको आरोपमा ११ जनालाई पक्राउ गरिएको बताए ।

नागरिकताविहीन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीर महतोले नागरिकता विधेयक पारित गर्न नेकपा एमालेका अध्यक्ष ओली सहयोग नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न नमानेको विरोध कालो झण्डा देखाउने प्रयास गरिएको बताए । उनले महादेव महरा, अशोक महतो, प्रमोद यादवलगायतका युवालाई प्रहरीले पक्राउ गरेको बताए ।

प्रकाशित : भाद्र २७, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?