कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नाममै अपमान

कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमहरुले निरक्षर दलितका नागरिकतामा लेखिदिएका नाम यस्तासम्म छन्– ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी’

दैलेख, बागलुङ — नागरिकताबिना कुनै सरकारी काम हुँदैन तर दैलेखको दुल्लु नगरपालिका–१ निवासी ३५ वर्षीय कुलबहादुर बादीलाई आफ्नै नागरिकता बोकेर हिँड्दा अपमानबोध हुन्छ । नहोस् पनि किन, २०४४ सालमा जन्मेका कुलबहादुरको नागरिकतामा नाम, थर ‘फ्याउरो बादी’ लेखिएको छ ।

नाममै अपमान

कुनै निरक्षर नागरिकको नाम ‘फ्याउरो’ लेखेर नागरिकताको कार्ड तयार भएपछि सोधखोज गर्नुपर्ने दायित्व ‘शिक्षित’ सरकारी अधिकारीको हो । तर, २०६४ मा बनाएको नागरिकतामा शाखा अधिकृत मेघनाथ पाध्याले निर्धक्क हस्ताक्षर धस्काएका छन् ।

कुलबहादुरको जस्तै समस्या श्रीमती मदनालाई पनि छ । किनकि उनको नागरिकतामा ‘हाकिम’ ले मदन लेखिदिए । बाबुको नाम फ्याउरो र आमाको नाम मदन भएको विषयमा नाबालक छोरा दीपेशले महँगो मूल्य चुकाउनुपरेको छ । ‘सबैले बाआमाको नाम लिएर जिस्क्याउँछन्, हेप्छन्, तेरा बाउको नाम के रे ? आमाको नाम के रे भनेर सताउँछन्, त्यसैले म त स्कुल जानै छोडिदिएँ,’ उनले भने । दीपेशका जेठा दाजु प्रकाश यही यातना छल्न गाउँको स्कुल छाडेर सुर्खेत झरेका छन् । नागरिकता टोलीलाई मदनाले सही नाम नै भनेकी थिइन् । तर असंवेदनशील टोलीले मदन लेखिदियो, यो पनि उनले धेरै पछि मात्रै थाहा पाइन् । जसका कारण उनले पाइलापाइला सफाइ दिनुपर्ने परिस्थिति बनेको छ । अझ श्रीमान्लाई झनै आपत् परिरहेको उनी बताउँछिन् ।

‘गाउँसमाजमा मेरा श्रीमान् अरूसँग बोल्न पनि सरम मान्छन्, ठूला हाकिमले हामी साना मान्छेलाई जे भने पनि भयो भनेर नाम बिगारिदिएका हुन् तर यसले हाम्रा बच्चाहरूलाई पनि पिरोलेको छ,’ उनी भन्छिन् । उता, कुलबहादुर पनि सामाजिक भेला हुने काममा श्रीमती पठाउने गरेका छन् । ‘फ्याउरो भनेर कसरी चिनिने ? त्यसैले सामाजिक काममा बड्डीलाई पठाउँछु,’ उनले भने ।

रुकुम पश्चिम आठबिस नगरपालिका–३ का एक नागरिकको प्रमाणपत्रमा त ‘कुत्ता बादी’ लेखिएको छ । ६१ वर्षीय उनी आफ्नै नागरिकताका कारण अपमानित छन् । दुर्गम भेग र निरक्षर पृष्ठभूमिका उनलाई आफ्नो असली नाम के थियो भन्ने पनि थाहा छैन । नागरिकतामै लेखिएको नाम काढेर उनलाई स्थानीयले बोलाउँछन् । तर उनी विरोध गर्न सक्दैनन् । कथित तल्लो जातका मानिसलाई हेयको दृष्टिले राखिदिएका नाममा सरकारी अधिकारीले ठप्पा लगाइदिए, जसले एक नागरिकको स्वाभिमानमा चोट लागेको छ ।

उनको पारिवारिक वियोग पनि दुःखदायी छ । १० छोरा र २ छोरी जन्माए पनि ११ जनाको सानैमा मृत्यु भयो, उनले एक छोरीलाई मात्र हुर्काउन पाए । केही वर्षअघि श्रीमती पनि गुमाएपछि उनको दुःख थपिएको छ । २०१८ सालमा जन्मेका उनले २०४४ माघ २७ मा नागरिकता बनाएका हुन् जसमा सरकारी अधिकृत दयाराम शर्माको हस्ताक्षर छ । ‘हामी त पहिलाका जमानाको नपढेको मान्छे । नागरिकता बनाउन आउने मान्छेले आफूखुसी नाम राखिदिएछन्,’ उनले दुःखको भावमा सुनाए, ‘जातले त हामीलाई तल्लो बनाइएको छ, नाम पनि तल्लै बनाएछन् ।’

दैलेखको नारायण नगरपालिका–१० ग्वात्तीका ६५ वर्षीय अर्का नागरिकको नाम ‘सिँगाने कामी’ लेखिएको छ । नागरिकको नाम ‘सिँगाने’ लेखिदिने हाकिमले लाज मान्नुपर्ने हो तर अपमानित छन् सर्वसाधारण । पहिले–पहिले त उनलाई नागरिकतामा लेखिएको नामले खासै पिरोल्दैनथ्यो तर हेपेरै यस्तो नाम राखिदिएका हुन् भन्ने जागरण आएको छ, त्यसैले आक्रोशित हुन्छन् । सानो छँदा धेरैजसो बालबालिकाजस्तै उनको पनि सिँगान धेरै आउने भएकाले घर समाजले सिँगाने भनेर बोलाउँथे भन्नेसम्म उनलाई सम्झना छ । तर नागरिकतामै यही नाम लेखिएको छ भन्ने उनले धेरैपछि थाहा पाए । २०४४ सालतिर गाउँमा जनगणना गर्न आउँदा उनका छिमेकीले टिपाएको नामका आधारमा नागरिकता बनेको उनले सुनाए ।

नामकै कारण हिजोआज उनलाई गाउँघरतिर हुने भेला र कार्यक्रममा जान मन लाग्दैन । ७ छोराछोरीले पनि आफ्नो नामकै कारण अपमानित हुनुपरेको उनी बताउँछन् । उनका छोराछोरीले शिक्षा आर्जन गर्न पाएका थिएनन् । जेठी छोरी प्रौढ शिक्षा पढ्न जान थालेकी थिइन् तर सबैले सिँगानेकी छोरी भनेर जिस्क्याएपछि उनले यो अवसर पनि छाडिदिइन् । तीन दशकभन्दा धेरै समय भारतको गुजरातमा बिताएका बेला उनले नामका कारण उस्तो धेरै अपमान खेप्नुपरेन । किनकि उनले काम गर्ने घरका सेठले उनको नाम सुरेन्द्र राखिदिएका थिए । गाउँ फर्केपछि भने उनले नामकै कारण हरेक पाइलामा अपमान खेप्नुपरेको छ ।

नाममा के छैन ?

बागलुङको ताराखोला गाउँपालिका–४ बिसौनाका हस्तराम कामी समाजबाट सताइएका छन् । निरक्षर उनले केही समयअघि मात्रै थाहा पाए, आफूले सावित्रा भनेर बोलाउने श्रीमतीको नागरिकतामा नाम त ‘कुकुर्नी कमिनी’ राखिएको रहेछ । २०२३ सालमा म्याग्दीको बाबियाचौरमा जन्मेकी सावित्रीले २०४८ सालमा गाउँमा घुम्ती शिविर आएका बेला नागरिकता बनाएकी थिइन् । बोल्न र सुन्न नसक्ने सावित्राले विरोध गर्न सकिनन् तर छिमेकीको नाममा ‘कुकुर्नी’ नाम राखिदिँदा कसैले पनि विरोध गरेनन् । उनीहरूका जेठा छोरा भविलाल ३० वर्षका पुगे । कक्षा ५ मात्रै पढेका उनी अहिले वैदेशिक रोजगारीका लागि साउदी अरब छन् । उनको नागरिकतामा भने बाबुको नाम हस्तराम र आमाको नाम भने सावित्रा नै छ ।

नागरिकताका आधारमा बनेको मतदाता परिचयपत्रमा समेत ‘कुकुर्नी’ राखिएको छ । कान नसुन्ने र बोल्न नसक्ने बहुअपांगता भएकी सावित्रालाई त यो अपमानका विषयमा अहिले पनि उति जानकारी छैन । तर विभिन्न तहमा उम्मेदवार बन्ने नेता र तिनका लागि मत माग्ने कार्यकर्ताले यो विषयमा चिन्ता गरेका छैनन् । नामकै आधारमा श्रीमतीको अपमान भएकाले हस्तरामले वडाध्यक्ष जितबहादुर खत्रीसँग अनुरोध गरेका थिए । ‘छोराछोरीको नागरिकता पनि बनिसक्यो अब किन सच्याउनुपर्‍यो, पर्दैन भनेर फर्काइदिनुभयो ।’

वडाध्यक्ष खत्रीले भने नामका विषयमा आफूले जानकारी पाए पनि उनीहरूसँग भेट नभएको दाबी गरे । ‘उहाँहरूलाई भेटेर कुरा गर्छु, संशोधन गर्दा धेरै समस्या आउन सक्छन्, के गर्न सकिन्छ, छलफल गरौंला,’ उनले भने, ‘नाम भने अपमान हुने खालको छ ।’ प्रमुख जिल्ला अधिकारी रमेश ढकालले नागरिकता संशोधन गर्न म्याग्दीदेखिकै कागजात मिलाएर आउनुपर्ने बाध्यता सुनाए । ‘नामै संशोधन गर्ने कानुन छैन, गृहको केही परिपत्र भए मात्रै हो,’ उनले भने ।

दैलेखमै २०१७ पुस २५ मा जन्मिएका कविराम विकले २०४६ जेठ ७ मा तत्कालीन मेहेलतोली गाउँ पञ्चायतका प्रधानपञ्च बखतबहादुर खड्काको सिफारिसमा नागरिकता पाए तर नाम लेखियो– कुकुर कामी । नागरिकको नाम ‘कुकुर’ लेखिदिएर सरकारी अधिकारी दुर्गाप्रसाद गिरीले हस्ताक्षर गरेका छन् । नागरिकता दिँदा असली मान्छे र नाम हो कि होइन भनेर सबैलाई केरकार गर्ने ‘हाकिम’ ले कुनै नागरिकको नाम ‘कुकुर’ कसरी हुन सक्छ भनेर सोच विचार गरेनन् जसले गर्दा कविरामको प्रतिष्ठामा हस्तक्षेप भएको मात्र होइन, उनका छोराछोरीको नागरिकताको हक पनि कुण्ठित भएको छ । बाबुको नाम अपमानजनक भएकैले उनका ७ मध्ये २ सन्तानले मात्रै नागरिकता बनाएका छन् । अन्यले भने बाबुको नाम ‘कुकुर’ राखेर नागरिकता नलिने अडान लिएका छन् ।

आमाले ‘तेरो राशिको नाम कविराम हो’ भनेको उनलाई अहिले पनि याद छ । ‘तर, नागरिकता बनाइदिनेले जनावरको नाम राखिदिएछन् । नामकै कारण सन्तानले नागरिकता बनाउन सकेका छैनन् । नामको इज्जत कति रहेछ भन्ने हामीलाई थाहा भयो तर सरकारी हाकिमलाई के चासो ?’ उनी खिन्न मान्छन् ।

निरक्षर कविरामले आफ्नो नागरिकतामा अपमानजनक नाम लेखिएको पनि धेरै पछि मात्रै थाहा पाए । बिहे दर्ता गर्न तत्कालीन गाविस कार्यालय पुगेपछि आफ्नो नागरिकता हेरेर कर्मचारी हाँस्न थालेको उनले सुनाए । ‘म मान्छ्या अनपढ हुँ, बिहे दर्ता गर्न जाँदा सबै कर्मचारी हाँस्न थालेपछि पो मेरो नाम कुकुर लेखिएको रहेछ भन्ने थाहा भयो,’ उनी भन्छन्, ‘हाकिमहरूलाई हाँसो मजाक भयो, हामीलाई भने चोट परेको छ ।’ यही कारण उनकी ६० वर्षीया श्रीमती शिला गाउँघर र माइतमा समेत खुलेर हिँड्न अप्ठ्यारो मान्छिन् । ‘बड्डा पनि आफ्नो नाम थाहा पाएको दिनबाट घरबाहिर निस्कन गाह्रो मान्छन्,’ उनले भनिन् । कविराममाथि हुने खिसीटिउरीले बुहारी निशा अपमानित हुनुपर्छ । उनले प्रौढशिक्षा सुरु गरेकी थिइन् । तर ‘कुकुरे कामीकी बुहारी आई’ भन्दै अपमान भइरहेपछि कक्षा छोडिन् ।

रुकुमको चौरजहारी नगरपालिका प्रमुख पुष्प बादी नामका कारण दलितहरूले अपमान भोग्नुपर्ने परिस्थितिमा ठूला जातका सरकारी अधिकृतहरू जिम्मेवार भएको बताउँछन् । हाकिमहरूले आफ्नो नाम रामबहादुर लेख्ने तर तल्लो जातिका मानिसको नाम रामे राखिदिने गरेको उदाहरण उनले दिए । ‘नामले नै मान्छेको आत्मसम्मानमा कति असर पार्छ, त्यो त भोग्नेलाई थाहा हुन्छ,’ उनले भने, ‘नामकै कारण अपमान भोगेकाहरूलाई न्याय दिलाउन सरकारले नागरिकता ऐनसमेत बदल्नुपर्छ,’ उनी भन्छन् ।

कर्णाली प्रदेशसभा सदस्य छन् रातो कामी । उनी राजनीतिक रूपमा सचेत भएकाले धेरैले आरटी सर वा आरटी कामरेड भनेर बोलाउँछन् । २०५४ सालमा माओवादीमा प्रवेश गरेर भूमिगत भएपछि उनलाई आरटी भनेर बोलाउन थालिएको हो । आफूअघिका ९ जना जन्मिँदै मर्ने भएकाले १० औं स्थानमा जन्मिएपछि आमा र बाले रातो कामी नाम राखिदिएको उनको भनाइ छ । ‘मलाई फरक नपरे पनि घर, समाज र साथीभाइलाई मेरो नाम उच्चारण गर्न समस्या हुँदो रहेछ, त्यसैले आरटी भन्छन्,’ उनी भन्छन् ।

नागरिकता टोलीमा आउने कथित माथिल्लो जातका अधिकारीले दलितहरूको नाम बिगारिदिएर अपमान गरेको उनको भनाइ छ । रुकुममा कुत्ता बादी, नौपुठे कामी, ढाले कामी, गाइने, काली गासे, गोप्लो, लाटो, लुखुरी, ठुम्री कामीजस्ता नाम रहेको उदाहरण सुनाउँदै उनले प्रश्न गरे, ‘प्रयोग गर्न नै नसक्ने खालका नाम नागरिकतामा राखिदिनु मानवको अस्तित्वलाई अस्वीकार गर्नु हो ।’

सुर्खेतका अधिवक्ता दुर्गा सापकोटाले नागरिकता टोलीमा खटिएका कर्मचारीको असंवेदनशीलता जिम्मेवार रहेको बताए । ‘दलित मात्रै हैन, अन्य जातिका मानिसहरूका नाममा पनि यस्तो लापरबाही भएको छ,’ उनले भने, ‘पहिलाका जमानामा छोराछोरी जन्मिँदै मर्ने भएपछि तल्लोस्तरको शब्दको नाम राखेपछि बाँच्छन् भन्ने थियो । तर त्यही आधारमा कतिपयको नागरिकतामा नाम राखिएको छ, नागरिकता टोली संवेदनशील भएको भए नाम यस्ता हुँदैनथे ।’

दलित अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था साझामञ्च नेपाल कर्णाली प्रदेश अध्यक्ष वसन्त विक दलितमाथि हरेक शैलीबाट अमानवीय व्यवहार भइरहेको बताउँछन् । भन्छन्, ‘गाउँका मानिसहरू अनपढ भए पनि सरकारी कार्यालयमा काम गर्ने कर्मचारी त पढे–लेखेका हुँदा हुन् नि,’ उनले भने, ‘तर राज्यबाटै नागरिकको अनादार भएको छ ।’

कर्णाली प्रदेशसभा सदस्य झोवा विक दलितमाथि धेरै शैलीले विभेद भइरहेको र अपमानजनक नाम पनि त्यसैको एउटा शृंखला भएको बताउँछिन् । दलितहरूले जातका कारण मात्रै होइन, नामका कारण पनि विभेद र हिंसा भोग्नुपरेको उनको भनाइ छ । उनले बुबाको नाम तुले छ भने छोराको जुठे र छोरीको जुठेनीसमेत राखिएको उदाहरण दिइन् ।

दलित अनुसन्धानकर्मी शिवहरि ज्ञवाली दलितको नामकरणमा अपमानको राजनीति हुने गरेको बताउँछन् । दलितको मानमर्दन गर्ने, स्वाभिमान उठ्न नदिने र शासन गर्ने तरिकाले अपमानजनक नाम राखिने गरेको उनको भनाइ छ । ‘दलितको नाम सम्मानजनक हुनुहुँदैन भनेर नियोजित तरिकाले यस्ता नाम राखिएको हो,’ उनी भन्छन् ।

ज्ञवालीले गरेको अध्ययनमा दलितहरूलाई ‘मांगलिक नामकरण’ नाम राख्न संस्थागत रूपमै निषेध गरिएको थियो, त्यस्तै आफ्ना सन्तानको नाम आफैं राख्न पनि उनीहरूलाई बन्देज थियो ।

कथंकदाचित् ‘मंगलवाचक’ नाम राखिएमा दण्डको व्यवस्थासमेत हुने गरेको विगत उनले उतारेका छन् । ‘शासन र प्रशासनमा एकछत्र राज गरेका कथित उच्च जातका अधिकारीहरूले प्रेमलाई प्रेमे, पराने, वीरलाई विर्या, रामलाई रामे बनाइदिएका उदाहरण प्रशस्त छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २१, २०७९ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?