साइकलमै ७० दिन

यात्राबारे मंगलकृष्ण लामा भन्छन्, ‘हिमाली जिल्ला र बस्ती भन्नेबित्तिकै हिमालहरु मात्र छैन, प्रकृतिको सुन्दरतासँगै उनीहरुको आफ्नै संस्कृति, बाँच्ने शैली र परम्पराहरु छन्’
सुशीला तामा‌ङ

काठमाडौँ — माउन्टेन बाइक रेसर मंगलकृष्ण लामाले नेपालको पूर्वदेखि पश्चिमसम्मका उच्च हिमाली शृंखलाहरू समेटिएको ‘ग्रेट हिमालय ट्रेल’ यात्रा साइकलमा पूरा गरेका छन् । हिमाली पदमार्गमा साइकल लिएर एक्लै निस्किएका उनले गत असार ३२ को राति ८ बजेर १२ मिनेटमा हुम्लाको हिल्सामा पुगेर आफ्नो यात्रा पूरा गरेका हुन् ।

साइकलमै ७० दिन

पाकिस्तान, भारत, नेपाल, भुटान र चीनको तिब्बत जोड्ने हिमाली बाटो ‘ग्रेट हिमालयन ट्रेल’लाई निकै साहसिक पदमार्ग मानिन्छ । यो बाटो भएको सजिलो क्षेत्र भने होइन । नुवाकोटको ककनीका ३७ वर्षीय लामाले साइकल लिएर एक्लै नेपालतर्फको यात्रा पूरा गर्ने पहिलो हिमाली यात्रीका रूपमा आफूलाई उभ्याएका छन् ।

‘जीएचटी अन ह्वील्ज’ परियोजनाका साथ ७० दिनमा ताप्लेजुङबाट हुम्लासम्मको १ हजार ७ सय किलोमिटरको दूरी पूरा गर्ने लक्ष्यका साथ कञ्चनजंघाको उत्तरी मोहडाबाट गत चैत १८ मा उनले यात्रा सुरु गरेका थिए । लामाको यात्रा ८८ दिन लम्बियो ।

हिमाली जोखिमपूर्ण यात्रा, खाद्यान्न, आवश्यक सामग्री तथा खर्चको जोहो गर्दै जाँदा तोकिएकै समयमा यात्रा पूरा गर्न नसकेको उनले बताए । ‘पश्चिमभन्दा पूर्वतिरको यात्रा सजिलै थियो,’ उनले भने,‘ एक्लै हिँड्दा चोरडाकाले गर्दा ज्यान जोखिम हुने क्षेत्रमा रुटै परिवर्तन गर्दा केही दिन ढिला भयो ।’ पश्चिमतिर घुन्सा नांगोला, ओलाङ्चुंगोला जस्ता थुप्रै ‘हाइ अल्टिच्युट’ क्षेत्रहरूमा यात्रा अत्यन्तै कठिन भएको उनले सुनाए । निरन्तर हिम पहिरो झरिरहने, भर्खरै मान्छे मरेका घटनाहरू नियाल्दै उनले यात्रा अघि बढाए ।

‘कति ठाउँमा कसरी बाँचेर फर्केने भन्ने भयो । ४/५ दिनको अनकन्टार क्षेत्र, असाध्यै चिसोमा साइकल बोकेरै बाटोमा जे भेटियो त्यही खाएर रात बिताएँ,’ उनले भने । पूर्वतिरको हिमाली यात्रामा उनले त्यति कष्ट बेहोर्नु परेन । भोटेकोसी लिस्ती हुँदै लाङटाङ, गोसाइँकुण्ड, स्याफ्रुबेंसी, पार्वतीकुण्ड, रुवीभ्याली, हुँदै डोल्पा, जुम्ला र हुम्ला, सिमकोट हिल्सा पुगेका उनले मनाङदेखि नै अधिकांश ठाउँमा साइकलमै यात्रा गर्न सके ।

साइकलमा ‘ग्रेट हिमालय ट्रेल’

यात्रा पूरा गरेर अहिले काठमाडौं आइपुगेका लामाले हिमाली क्षेत्रकै सपना देखिरहेका छन् । यात्रामा नजिकैबाट नियालेका हिमालय जनजीवन, संस्कृति, बाँच्नकै लागि गरेको संघर्ष र त्यसैमा खुसी अंगालेका अनुहारहरू उनको अगाडि झल्झली आइरहेका छन् । उनले भने ‘हिमाली जिल्ला र बस्ती भन्नेबित्तिकै त्यहाँ हिमालहरू र सगरमाथा मात्र छैन । त्यहाँ प्रकृतिको सुन्दरतासँगै उनीहरूको आफ्नै संस्कृति, बाँच्ने शैली र परम्पराहरू छन् । जुन कुरा हामी धेरैलाई थाहा छैन ।’ यातायातको अभावले चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य त्यहाँका बासिन्दा जलवायु परिवर्तनसँगै भूकम्प, मौसमी बाढी, पहिरो जस्ता जोखिम मोलेर बसेको यात्रामा देखिएको उनले सुनाए ।

यात्राका फोटो र भिडियो उनले संग्रह गरेका ल्याएका छन् । पुस्तक, भिडियो डकुमेन्ट्री बनाएर विश्वसामु नेपाल देखाउने उनको समूहले योजना अगाडि बढाइरहेको परियोजनाका अध्यक्ष राल्बा लामाले बताए । उनको यात्रालाई विश्व गिनिज बुकमा रेकर्ड दस्तावेज गराउने योजनालाई समूहले अगाडि बढाइरहेको अध्यक्ष लामाले बताए । उनले भने, ‘त्यति लामो र जोखिमपूर्ण यात्रा साइकलमा पूरा गरेर मंगलकृष्णले वर्ल्ड रेकर्ड बनाएका छन् । जुन कुरा हाम्रा लागि गर्वको विषय हो । वर्ल्ड रेकर्डकै लागि हामीले प्रक्रिया अगाडि बढाउने योजना बनाएका छौं ।’ पूरै परियोजनाका लागि ८० लाख रुपैयाँभन्दा बढी लागत खर्च अनुमान गरिएको छ ।

प्रकाशित : श्रावण ११, २०७९ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?