कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ

काठमाडौँ — काठमाडौंको तीनकुनेको कल सेन्टरबाट प्रहरीले १ चिनियाँ, २ भारतीयसहित ३६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगर–९ तीनकुनेस्थित वल्र्ड सर्भिस सेन्टर (कल सेन्टर) मा अवैध तवरले कामदारहरू राखी कल सेन्टर सञ्चालन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । 

कल सेन्टरबाट १ चिनियाँ र २ भारतीयसहित ३६ जना पक्राउ

कल सेन्टरमा सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं र नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरुसमेतबाट खटिएको प्रहरी टोलीद्वारा विद्युतीय उपकरणसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट प्रहरीले ल्यापटप, कम्प्युटरलगायत विद्युतीय उपकरणहरु बरामद गरेको र थप विवरण आउन बाँकी रहेको एसपी मैनालीले जानकारी दिए ।

यसअघि २०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीयले चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो । प्रहरीले कल सेन्टरबाट अवैध गतिविधि गरेको आरोपमा ९ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

ब्लु स्काई बिजनेस सोलुसन प्रालि नामक कल सेन्टरबाट अश्लील म्यासेज पठाउने, चिठ्ठा पर्‍यो भनी ठगी गर्ने काम भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?