मिश्रको 'विचारभन्दा माथि देश'को लक्ष्य : 'ढिलो नगरी राजसंस्था पुन:स्थापना'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिश्रको 'विचारभन्दा माथि देश'को लक्ष्य : 'ढिलो नगरी राजसंस्था पुन:स्थापना'

कान्तिपुर संवाददाता

काठमाडौँ — संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका विवकेशील साझा पार्टीका नेता रवीन्द्र मिश्र राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन् ।  

मिश्रले प्रकाशोन्मुख पुस्तक 'विचार भन्दा माथि देश' मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन् । मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन् । उनले संवेदनशील हुँदै गएको नेपालको भूराजनीति र आन्तिक परिस्थितिको कारण यो विषयमा नेपालको दूरगामी हितमा नभएको दाबी गरेका छन् ।

ढिलो नगरिकन नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना तथा सङ्घीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’मा रूपान्तरण गर्नुपर्ने उल्लेख गर्दै उनले भनेका छन् , ‘कुनै विषय सैद्धान्तिक रूपमा राम्रो भएर मात्र हुँदैन, त्यसले धरातलीय यथार्थसँग तादात्म्य राख्नुपर्छ ।’

यसअघि संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमतसंग्रह माग गरेका मिश्रले पछिल्लो समयमा राजतन्त्रको पुन:स्थापना गरिनुपर्ने पक्षमा देखिएका हुन् । मिश्रले राप्रपाको अध्यक्षमा निर्वाचित हुनेबित्तिकै राजेन्द्र लिङ्देनसँग भेट गरेर सहकार्यको विषयमा छलफल गरेका थिए ।

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको उनको निष्कर्ष छ।

‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन। ६०-७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ,’ मिश्रले पुस्तकमा लेखेका छन्।

यसअघि पनि मिश्रले 'मार्ग परिवर्तन : विचारभन्दा माथि देश' दस्तावेज सार्वजनिक गर्दै स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।

प्रकाशित : श्रावण ३, २०७९ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्

मनसुन निस्क्रिय हुँदा गर्मी बढ्यो, एक/दुई दिनमै वर्षा हुन्छ : मौसमविद्‍

कान्तिपुर संवाददाता

काठमाडौँ — मौसमविद्हरूले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन् । उनीहरूले केही दिनयता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मी बढेको बताएका हुन् ।

जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूति पोखरेलले हाल देशका विभिन्न भागहरूमा तापक्रम बढी अत्यधिक गर्मी हुनु स्वभाविक रहेको बताएकी छन् ।

मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको उनको भनाइ छ । उनले मनसुन न्यून चापीय रेखा एक, दुई दिनभित्रै माथि आउने र वर्षा हुन सुरु हुनासाथ गर्मी हटेर जाने बताइन् ।

‘देशको विभिन्न भागमा तापक्रम बढेको, अत्यधिक गर्मीको जुन अनुभव गरिएको छ, यो मनसुनमा अलिकति ब्रेक हुने बित्तिकै, वर्षा नहुने बित्तिकै अलि गर्मीको अनुभव हुन्छ । यो दुईवटा लगभग सम्बन्धित जस्तै भन्नुपर्छ । वर्षा हुने बित्तिकै शीतल हुने, पानी नपर्ने लामै जस्तो भएको भएर पनि गर्मी बढेकै भयो । तापक्रम बढेको महसुस भइराखेको छ । वर्षाको क्रमसँगै बिस्तारै शीतल अनुभव गर्न सक्छौं,’ मौसमविद्‍ पोखरेलको भनाइ छ ।

मौसमविद्‍ पोखरेलका अनुसार प्रदेश नम्बर १, मधेश प्रदेश र वाग्मती प्रदेशमा हालसम्म सरदरभन्दा बढी वर्षा देखिएको छ । उस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने सरदरभन्दा कम वर्षा भइरहेको छ ।

यस्तै मनसुनको समयमा बाढी, पहिरोका कारण धनजनको क्षति हुनसक्ने भएकाले जल तथा मौसम विज्ञान विभागले दिने गरेका सूचनाहरूलाई ध्यान दिन पनि पोखरेलको आग्रह थियो।

प्रकाशित : श्रावण ३, २०७९ १३:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×