कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिनियाँ नेता फर्केलगत्तै दाहाल दिल्लीतिर

प्रधानमन्त्री पत्नी आरजुसमेत दिल्लीमा रहेका बेला हुन लागेकाले भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिँदै
माओवादी–भाजपा सम्बन्ध विस्तारदेखि सत्ता गठबन्धनसम्मका विषयमा छलफल तयारी

काठमाडौँ — चिनियाँ उच्चस्तरीय टोली चारदिने नेपाल भ्रमण सकेर फर्केलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दिल्ली यात्रामा निस्कँदै छन् । सत्तारूढ भारतीय जनता पार्टीको निमन्त्रणामा दाहाल शुक्रबार दिल्ली जान लागेका हुन् । प्रधानमन्त्री पत्नी आरजु देउवा राणासमेत दिल्लीमा रहेका बेला हुन लागेकाले दाहालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

चिनियाँ नेता फर्केलगत्तै दाहाल दिल्लीतिर

दाहालको भ्रमण माओवादी–भाजपा सम्बन्ध सुधारमा केन्द्रित हुने औपचारिक जानकारी दिइए पनि सत्ता गठबन्धनको निरन्तरतासँग समेत जोडिएको स्रोतले जनाएको छ । ‘भारत अहिलेकै गठबन्धनको निरन्तरता चाहन्छ, आगामी निर्वाचनपछि पनि गठबन्धनको सुनिश्चितता चाहन्छ,’ स्रोतले भन्यो । नरेन्द्र मोदी दोस्रोपटक प्रधानमन्त्री चयन भएपछि माओवादीसँग सम्बन्ध सुमधुर थिएन ।

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठका अनुसार तीनदिने दिल्ली भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, विदेश सचिव विनयमोहन क्वात्रा, भारतीय सुरक्षा सल्लाहकार अजित डोभल र भाजपा अध्यक्ष जेपी नड्डासहितका नेतासँग भेटघाट गर्नेछन् । भाजपानिकट थिंक ट्यांक इन्डिया फाउन्डेसनले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । आइतबार बिहान प्रधानमन्त्री मोदी र त्यसलगत्तै भाजपा अध्यक्ष जेपी नड्डालाई भेट्ने तयारी छ । ‘भाजपाले नेपालको सत्तारूढ दलको महत्त्वपूर्ण पार्टीको नेता र पूर्वप्रधानमन्त्रीका रूपमा अध्यक्षलाई भ्रमणको निम्तो गरेको हो । यो सद्भावना भ्रमण हो,’ श्रेष्ठले भने । प्रधानमन्त्री पत्नी राणा उपचार गर्न भन्दै असार २६ मा दिल्ली गएकी हुन् ।

उनी यसअघि जेठ र पुसमा पनि स्वास्थ्य उपचारका लागि दिल्ली गएकी थिइन् । त्यस दौरान राणा र भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेको भेटवार्ता भएको थियो । गत चैतमा उनी प्रधानमन्त्री शेरबहादुर देउवासँग भ्रमणमा गएकी थिइन् ।

दाहालसँगै दिल्ली भ्रमणमा स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल पनि सहभागी हुनेछन् । दाहालका स्वकीय सचिव मल्लले भ्रमण पूर्वनिर्धारित रहेको दाबी गरे । ‘करिब साढे दुई महिना पहिले नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले अध्यक्ष प्रचण्डलाई भारतका तर्फबाट भ्रमणको निम्तो दिनुभएको थियो,’ उनले भने, ‘अध्यक्षले जुलाई दोस्रो सातासम्म भ्रमण सम्भव हुने बताएअनुसार भाजपा अध्यक्ष जगतप्रकाश नड्डाले भ्रमणको औपचारिक निम्तो दिनुभएको हो ।’

तर माओवादी नेताहरूका अनुसार दाहालको दिल्ली भ्रमण पूर्वनिर्धारित होइन । भ्रमणबारे दाहालले पार्टी नेताहरूलाई यसअघि केही बताएका थिएनन् । उनले बिहीबार साँझमात्रै पार्टीका स्थायी समिति सदस्यहरूलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानछाओको भ्रमण र आफ्नो दिल्ली भ्रमणबारे जानकारी गराएका हुन् । चिनियाँ नेता लिउ नेपाल भ्रमणबाट बुधबार फर्केका छन् । माओवादी स्रोतका अनुसार भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार दाहाललाई भेटेर शुक्रबारदेखि भ्रमण हुने जानकारी गराएका थिए । ‘चिनियाँ टोलीले अध्यक्षलाई भेटेको भोलिपल्ट मंगलबार भारतीय राजदूतले अध्यक्षलाई निम्ता दिनुभएको हो । यो आकस्मिक भ्रमण हो,’ माओवादीका एक स्थायी समिति सदस्यले भने ।

स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने पहिले नै गरिएको आग्रहअनुसार दाहालको दिल्ली भ्रमण तय भएको दाबी गरे । ‘तत्कालीन राजदूत विनयमोहन क्वात्राले नेपाल छाड्नुअघि अध्यक्षलाई भेटेर एकपटक राजनीतिक भ्रमण गर्नुपर्छ, त्यसको तयारी गर्छु भन्नुभएको रहेछ,’ गजुरेलले कान्तिपुरसँग भने, ‘उहाँ (क्वात्रा) ले नेपालबाट गएको २० दिनपछि कहिले मिलाउने भनेर फोन गर्नुभएछ । अध्यक्षले जुलाई दोस्रो वा तेस्रो हप्तातिर ठीक होला भन्नुभएको रहेछ ।’

चिनियाँ प्रतिनिधिसँगको भेटलगत्तै दाहाल दिल्ली जान लागेकामा माओवादीभित्रै प्रश्न उठेका छन् । माओवादी स्थायी समितिका अर्का एक सदस्यले चिनियाँ टोलीको भ्रमण र भेटवार्तापछि दिल्ली भ्रमणको सूचना बाहिर आउनु स्वाभाविक नदेखिएको बताए । ‘सुन्दा पनि त्यति स्वाभाविक छैन । कि त पहिला नै भारत भ्रमण हुँदै छ भनेर सार्वजनिक गरेको भए ठीक हुन्थ्यो,’ उनले भने, ‘चिनियाँहरू बुधबार राति बिदा भए, बिहीबार प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने खबर आयो । त्यति राम्रो भएन । भाजपालाई एक हप्तापछि आउँछु भन्न सक्नुपर्थ्यो ।’

संघीय एवं प्रदेश निर्वाचनको मिति घोषणाको तयारी भइरहेको र पाँचदलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने वा अन्य सम्भावना खोज्ने विषयमा दलहरूबीच विमर्श भइरहेका बेला भारतको सत्तारूढ दलको निमन्त्रणामा दाहालको भ्रमण हुनुलाई अर्थपूर्ण रूपमा लिइएको छ । कूटनीतिक मामिलाका जानकारका अनुसार दाहालको दिल्ली यात्रा तय हुनुमा दुवै पक्षका चासो छन् ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएयता दाहालको भारतसँगको सम्बन्ध उतारचढावपूर्ण छ । हिन्दु धर्मप्रति उदार भाजपा र धर्म निरपेक्षताको पक्षधर वामपन्थी माओवादीबीच पार्टीगत तहमा सम्बन्ध त्यति राम्रो छैन । दाहालले २०६४ मा पहिलोपटक प्रधानमन्त्री हुँदा ओलम्पिक खेल समापनका क्रममा चीन भ्रमण गरेका थिए । त्यसबाट भारत असन्तुष्ट बनेको संकेत बुझेपछि पहिलो राजनीतिक भ्रमण भारतबाटै हुने बताएका थिए र पछि भारत भ्रमणमा पनि निस्किए ।

दाहालको यस भ्रमणले माओवादी–भाजपा सम्बन्धमा सुधार ल्याउने र त्यसले दुई देशको सम्बन्ध पनि राम्रो बनाउने कतिपयको बुझाइ छ । दाहालनिकट एक नेता भन्छन्, ‘विश्वासको वातावरण बनाउने प्रयास हुनेछ । सम्भवतः दाहाललाई दिल्लीले भावी प्रधानमन्त्रीका रूपमा हेरेको पनि हुन सक्छ ।’ दाहाल पनि दिल्लीसँग सम्बन्ध बिगार्दा सत्ता राजनीतिमा हुन सक्ने क्षति पहिला नै रोक्न चाहन्छन् । बीचमा माओवादीसँग भाजपाको सम्बन्ध त्यति सहज नभएको र अहिले सम्बन्ध सुधार गर्न खोजिएको स्थायी समिति सदस्य गजुरेलले बताए ।

स्रोतका अनुसार चिनियाँ सद्भावमा २०७४ को निर्वाचन पूर्वजस्तै अहिले पनि नेपालका वामपन्थी शक्तिहरू एक ठाउँमा आए भारतका लागि अनुकूल हुन नसक्ने देखिएपछि दिल्लीले वैकल्पिक ढोकाबाट संवादको थालनी गरेको हो । पाँचदलीय गठबन्धनप्रति सुरुमा भारत असन्तुष्ट थियो । अहिलेकै गठबन्धन कायम रहे आम निर्वाचनपछि आलोपालो प्रधानमन्त्रीका लागि दाहाल पनि दावेदार हुन् । भाजपाले यसअघि प्रधानमन्त्री देउवाको भ्रमण गराएर कांग्रेससँगको सम्बन्ध सुधार गरेको छ । दिल्ली भ्रमणका बेला भाजपाले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवालाई आफ्नो मुख्यालयमा स्वागत गरेको थियो । भारत भ्रमणको दौरान गत चैत १८ मा दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा उत्रनेबित्तिकै भाजपाको मुख्यालयमा पुगेको विषयमा आलोचना भएपछि देउवाले पार्टी–पार्टी सम्बन्ध विस्तारका लागि त्यहाँ गएको बताएका थिए । देउवा पाँचौंपटक प्रधानमन्त्री भएलगतै गत वर्ष भदौमा नेपाल भ्रमणमा आएका चौथाइवालेलाई देउवा पत्नी राणाले राखी बाँधिदिएकी थिइन् ।

भारत सन् १९४७ मा स्वतन्त्र भएपछि नै कांग्रेसको भारतीय कंग्रेस आईसँग राम्रो सम्बन्ध थियो । सन् २०१४ मा भाजपा नेता नरेन्द्र मोदीको नेतृत्वमा दिल्लीमा सरकार बनेपछि भारतमा कांग्रेस कमजोर हुँदै गएको छ । त्यही कारण कांग्रेस र माओवादी दुवैले भाजपासँग सम्बन्ध सुमधुर बनाउन खोजिरहेका छन् । चीनले नेपालका वामपन्थीमात्र होइन, कांग्रेससँग पनि सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला भाजपा पनि यहाँको कांग्रेस मात्र होइन, वामपन्थीसँग पनि नजिकको सम्बन्ध कायम गर्न चाहेको छ ।

माओवादी केन्द्रका विदेश विभाग सदस्य तथा भूराजनीतिक जानकार रूपक सापकोटा आम निर्वाचन अगाडि वा पछाडि जुनसुकै राजनीतिक समीकरण बन्न सक्ने स्थितिलाई ख्याल गरेर सबै जस्तो शक्ति राष्ट्रले नेपालका सबै राजनीतिक दल र शीर्ष नेतासँग सुमधुर सम्बन्ध विकास गर्न खोजेको बताउँछन् । ‘निर्वाचनअघि वा पछि कुन समीकरण बन्छ भन्ने कसैलाई थाहा छैन । तर माओवादी मेकर बन्न सक्छ भन्ने पछिल्लो स्थानीय तहको निर्वाचनले प्रस्ट पारेको छ,’ उनले भने, ‘त्यस कारण पनि भारतीयहरू अहिले माओवादीसँग नजिक हुन चाहेका हुन् ।’

गत वर्ष भदौमा नेपाल भ्रमणमा आउँदा भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले दाहाललाई उनकै निवास खुमलटार पुगेर भेटेका थिए । देउवाले भाजपाको मुख्यालय भ्रमण गर्दा माओवादी नेत्री ऊर्जामन्त्री पम्फा भुसाल पनि साथै थिइन् । भुसालले बनारसमा देउवासँग पूजाआजा पनि गरेकी थिइन् ।

नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की नेपालमा पछिल्लो समय दक्षिण र उत्तर दुवैतिर पार्टी–पार्टी सम्बन्ध बढेको बताउँछन् । ‘कांग्रेस र सीपीसीको सम्बन्ध पनि बढ्यो । यसको नतिजा कसरी आउँछ, भविष्यले देखाउला,’ उनले भने, ‘उत्तर र दक्षिणसँग पार्टी–पार्टी सम्बन्धमा भइरहेका गृहकार्य, एमसीसी सम्झौताको अनुमोदन, स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय र चिनियाँहरूको भेटवार्ताले नेपाल भाइब्रेन्ट मुलुक भएको प्रस्ट्याएको छ ।’ कार्कीले आगामी निर्वाचनमा माओवादी जतापट्टि गयो, त्यतै पल्लाभारी हुने अनुमान गरे । ‘त्यसैले पनि दाहालले चीनसँग कुरा गरेपछि भारतले नेगोसिएसन गर्न लागेको देखिन्छ,’ उनले भने, ‘चीनको आशय बुझेका दाहाल भारतको कुरा बुझ्न जान लागेको पनि हुन सक्छ ।’

प्रकाशित : असार ३१, २०७९ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?