जन्मदिनमा बोलाएर सामूहिक बलात्कार- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जन्मदिनमा बोलाएर सामूहिक बलात्कार

घटनामा संलग्न आरोपमा ७ जना पक्राउ
पीडित किशोरी संस्थाको सेल्टरमा
ठाकुरसिंह थारू, रमेशचन्द्र अधिकारी

बाँके‚ धनकुटा — उनीहरूबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भयो । मित्रता झाँगिँदै गएपछि दैनिकजसो ‘भिडियो च्याट’ हुन्थ्यो । बाँकेको राप्ती सोनारीकी १६ वर्षीया किशोरी र बैजनाथ गाउँपालिका–८, झिँगौराका हेमराज थारूबीच सामाजिक सञ्जालबाट ‘प्रेम’ गाँसिएको थियो । त्यही प्रेमको बदलामा किशोरीले ठूलो पीडा भोग्नुपरेको छ । 

पीडित किशोरीले प्रहरीलाई दिएको प्रारम्भिक बयानअनुसार हेमराजले शनिबार फोन गरेर ‘मेरो जन्मदिन छ’ भन्दै निम्तो दिए । किशोरी बस चढेर नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत मानखोलानजिकै पुगिन् । त्यतिबेला अपराह्न ४ बजिसकेको थियो । किशोरीलाई लिन हेम र उनका साथीहरू त्यहाँ आए । किशोरीलाई मोटरसाइकलमा चढाएर बर्दियाको पर्यटकीय क्षेत्र बढैयाताल पुर्‍याए ।

‘अब जन्मदिन मनाउनुपर्छ भनेर हेमराजले विक्रान्त थारूमार्फत घरेलु मदिरा मगाए,’ पीडित किशोरीले बयानमा उल्लेख गरेकी छन्, ‘विक्रान्तले आफ्ना लागि बियर ल्याएर खाए । मैले नाइँ खादिनँ भन्दै प्रतिकार गर्दा जबर्जस्ती खुवाइदिए । मदिरा नखाने बानी भएकाले बेहोस भएछु, त्यसपछि मलाई तीन जनाले सामूहिक बलात्कार गरे । मैले केही गर्न सकिनँ ।’ प्रहरीका अनुसार मानखोला जंगलमा सामूहिक बलात्कारपछि किशोरी बेहोस भइन् । हेमराजका साथी नीरज र विक्रान्तले बेहोस किशोरीलाई मानखोलामा पुर्‍याएको खुलेको छ । शरीरमा पानी छम्केपछि अलिअलि होसमा आएको किशोरीले बयानमा उल्लेख गरेकी छन् ।

बाँके र बर्दियाको सीमा मानखोलाबाट उनीहरूले किशोरीलाई बैजनाथ–८ पिपरी गाउँस्थित विक्रान्तले बंगुरपालन गरेको टहरामा पुर्‍याएको खुलेको छ । ‘टहरामा पनि बेहोसी अवस्थामै रहेका बेला विक्रान्तलगायत तीन जनाले फेरि पनि सामूहिक बलात्कार गरे । म फेरि बेहोस भएँ,’ किशोरीको बयानमा उल्लेख छ, ‘रातभरि मदिराको नशा र सामूहिक बलात्कारले थला परेजस्तै भएको थिएँ ।’ होस खुलेपछि हेमराजले गाउँकै साथीहरू विश्वनाथ र निर्देशन थारूलाई बोलाएर घर छाडिदिनु भन्दै त्यहाँबाट भागेको किशोरीले उल्लेख गरेकी छन् । जिल्ला प्रहरी प्रवक्ता डीएसी मधुसूदन न्यौपानेका अनुसार पीडित किशोरी अर्को दिन बिहानसम्म लट्ठिएको अवस्थामा थिइन् । ‘मदिरा र बलात्कारका कारण मानसिक तनावमा छिन्,’ उनले भने, ‘घटनाको गम्भीर अनुसन्धान भइरहेको छ ।’ पीडित किशोरी एक संस्थाको सेल्टरमा छिन् ।

आइतबार बिहान करिब ४ बजे इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोली नेपालगन्ज–गुलरिया राजमार्गको खजुरा–५ स्थित प्रतीक्षालयमा ड्युटीमा थियो । पछाडि निर्देशन, बीचमा किशोरी राखेर विश्वनाथले मोटरसाइकल हाँकिरहेका थिए । प्रहरी टोलीले रोकेर केरकार गर्दा किशोरी राम्रोसँग बोल्न सक्ने अवस्थामा थिइनन् । त्यसपछि उनीहरूलाई धनौली चौकी पुर्‍याइयो । ‘पहिले किशोरी बोल्न चाहेकी थिइनन् । केरकार गर्दै जाँदा सामूहिक बलात्कारमा परेको घटना सुनाइन्,’ धनौली प्रहरी प्रमुख प्रेम रेग्मीले भने, ‘सामूहिक बलात्कार गर्ने हेमराज, विक्रान्त, नीरजलगायत पाँच जना र किशोरीलाई घरमा पुर्‍याउन जाने दुई जनालाई पक्राउ गरेका छौं ।’ थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइसकेको उनले बताए ।

बलात्कार आरोपितलाई पक्राउ गर्न माग

आफ्नै साथीको बुबाबाट बलात्कृत धनकुटाकी एक बालिकाका परिवार न्याय माग्दै निरन्तर प्रदर्शनमा छन् । अनुसन्धान फितलो भएको भन्दै पछिल्लो समय पीडित परिवारका साथ विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन जारी राखेका हुन् । गत फागुन ६ मा घटनामा संलग्नविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारले जाहेरी दिएका थिए । तर आरोपित पक्राउ परेका छैनन् ।

धनकुटा नगरपालिका–६ बस्दै आएका मिलन भनिने ४२ वर्षीय लीलबहादुर भुजेलले ११ वर्षीयालाई बलात्कार गरेको जाहेरी दर्ता भएको थियो । ०७७ वैशाख ४ देखि विभिन्न समयमा भुजेलबाट बालिका बलात्कृत हुँदै आएको जाहेरीमा उल्लेख छ । हदम्याद नाघेका कारण जाहेरीमा ‘बालयौन दुरुपयोगसम्बन्धी कसुर’ उल्लेख गरिएको प्रहरीले जनाएको छ । ०७८ माघ २३ मा श्रीपञ्चमीको दिन आफ्नै घरतर्फ भुजेल आउँदै गरेको देखेपछि बालिका आत्तिएर चिच्याएपछि परिवारका सदस्यले सोधखोज गर्दा घटनाबारे रहस्य खुलेको थियो । घटनाबारे प्रहरीमा जाहेरी दिएको चार महिना पुग्दा पनि आरोपित पक्राउ गर्न प्रहरीले तदारुकता नदेखाएका पीडित परिवारको गुनासो छ ।

बालिकाले सुरुमा साथीहरूलाई घटनाबारे सुनाएकी थिइन् । प्रहरीलाई जाहेरी दिन लागेको अग्रिम जानकारी पाएकै कारण आरोपित अघिल्लै दिन फरार भएको स्थानीयले बताए । धनकुटा प्रहरीका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जाहेरीअनुसार अनुसन्धान भइरहेको दाबी गरे । ‘अनुसन्धान प्रभावित पार्ने गरी प्रदर्शन नगरिएको भए हुन्थ्यो,’ उनले भने । प्रहरी कार्यालयको मुख्यद्वारमा प्रदर्शनको तयारी गरिरहेका विद्यार्थी पेशल निरौला र कुशल खनाललाई आइतबार बिहान प्रहरीले दुई घण्टा नियन्त्रणमा लिएर छाडेको छ । जघन्य घटनामा पनि अनुसन्धान कार्य फितलो हुनुले आफूहरू सुरक्षित छैनौं भन्ने चिन्ता लागेको सहभागी सष्टिका विशंखेले बताइन् । अपराधमा संलग्नलाई तत्काल पक्राउ नगरे चरणबद्ध आन्दोलनमा उत्रने उनको भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख लक्ष्मीराज अधिकारीले घटनाप्रति आफूहरू गम्भीर रहेको र निर्वाचनलगायत काममा जुट्नुपरेकाले ढिलाइ भएको बताए । ‘आरोपित भुजेलले अहिले पनि सामाजिक सञ्जाल र मोबाइलसमेत प्रयोग गरिरहेकाले पक्राउ गर्न समस्या नहुनुपर्ने हो,’ एक स्थानीयले भने, ‘खै किन प्रहरीले चासो देखाएन, बुझ्न सकिएन ।’

प्रकाशित : जेष्ठ २४, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्

जोखिममा हिमाल

सन् २१०० मा दुई तिहाइ हिमनदी मासिने आकलन
अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालमा वार्षिक ०.०५६ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ । यो जल तथा मौसम विज्ञान विभागको अध्ययन (१९७१–२०१४) हो । सन् २०१७ को अध्ययनअनुसार यो दर हिमाली क्षेत्रमा ०.०८६ डिग्रीसम्म छ ।

तापक्रम वृद्धिको प्रत्यक्ष असर हिमाल, हिमताल, हिमनदी, वनस्पति र वन्यजन्तुमा परेको छ । जलवायुजन्य जोखिमको असर बढ्दा मानवीय जीवनयापनमा असर पर्ने नै भयो । काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ डा. रिजनभक्त कायस्थका अनुसार ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदी छिटोछिटो पग्लिरहेको छ । हिमनदी छिटो पग्लिँदा नयाँ हिमताल बन्ने सम्भावना हुन्छ र यसले बाढीको जोखिम निम्त्याउँछ ।

अर्का जलवायु परिवर्तनविज्ञ राजु पण्डित क्षत्री जलवायु परिवर्तनका कारण तापक्रम बढ्दा हिमाल आरोहण र पदयात्रामा जोखिम बढिरहेको बताउँछन् । तल्लो तटीय क्षेत्रमा हिमबाढी र हिमपहिरोको समस्या बढिरहेको छ । पछिल्लो पटक गत वर्ष मुस्ताङमा हिमबाढीले क्षति निम्त्याएको थियो । मुस्ताङबाहेकका हिमाली जिल्लामा पनि हिमपहिरो, हिम आँधी र अकस्मात् उत्पन्न हुने मौसमी गतिविधिमा बढोत्तरी भइरहेको छ । उच्च हिमाली क्षेत्रमा छिटोछिटो मौसम बदलिरहे पनि पूर्वसूचना प्रणाली जडान नहुँदा त्रास बढिरहेको छ ।

अध्ययनअनुसार नेपाल, भारत र चीनको तिब्बतमा गरी हिमतालको संख्या ३ हजार ६ सय २४ छ । तीमध्ये ४७ वटा विस्फोटको जोखिममा रहेको वैज्ञानिकहरूको निष्कर्ष छ । ४७ हिमतालमध्ये ४२ वटा कोसी जलाधार, ३ वटा गण्डकी जलाधार र २ वटा कर्णाली जलाधारमा छन् । तिब्बतबाट सुरु भएर बग्ने कोसी, गण्डकी र कर्णाली सबै भारतको गंगा नदीका प्रमुख सहायक नदी हुन्न् । अध्ययनले ती हिमताल जतिबेलै फुट्न सक्ने र त्यसले तल्लो तटीय क्षेत्रका बस्ती ध्वस्त पार्ने चेतावनीसमेत दिएको छ ।

विस्फोटको जोखिममा रहेका ४७ मध्ये नेपालतिर २१ र एउटा हिमताल भारतीय भू–भागमा पर्छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को अध्ययनअनुसार विस्फोटको जोखिममा रहेका हिमतालमध्ये ३१ वटा पहिलो, १२ वटा दोस्रो र ४ वटा तेस्रो श्रेणीमा छन् । नेपालमा २ हजार ७० र भारतमा ४५ हिमताल छन् । १ हजार ४ सय १० हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूला र त्यस आसपासका छन् ।

तापक्रम वृद्धिका कारण हिमनदी पग्लिने क्रम बढ्दा नयाँ हिमताल बनिरहेको र पुराना ताल विस्तार हुँदा विस्फोटको जोखिम बढेको कायस्थ बताउँछन् । नेपालले सन् १९७७ पछि हिमताल विस्फोटले निम्त्याउने विपद् सामना गर्न थालेको हो । नेपालले अहिलेसम्म हिमताल विस्फोटका २६ घटना व्यहोरेको छ । तीमध्ये १४ वटा नेपालको भागबाटै विस्फोट भएका थिए, ११ वटा हिमतालले अन्तरदेशीय समस्या निम्त्याएका थिए ।

पूर्वमा म्यान्मारदेखि पश्चिममा अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्र (एचकेएच) मा भने ५० वटा हिमताल विस्फोट भइसकेका छन् । चीन, नेपाल, भुटान र पाकिस्तानमा मात्र हिमताल विस्फोटका घटना भएका छन् । सन् १९४० देखि सन् २००० सम्म त्यस्ता घटना बढेको देखिन्छ । हिमताल विस्फोटपछि आउने आकस्मिक बाढीले मानव क्षतिसहित जलविद्युत् आयोजना, सडक, मोटर पुल, झोलुंगे पुल र मानव बस्तीलगायतमा ठूलो क्षति गर्ने गरेको छ । त्यससँगै जैविक विविधतामा पनि क्षति हुने गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) ले पृथ्वीको औसत तापक्रम वृद्धि अनुमान गरिएको मितिभन्दा अगावै बढेका कारण हिमालय क्षेत्र, हिमताल, हिमनदी पग्लिने क्रम विगतमा भन्दा बढेको उल्लेख प्रतिवेदन गत भदौमा सार्वजनिक गरेको छ । आईपीसीसीले अहिले नै नियन्त्रण गर्नेतिर ध्यान नदिने हो भने आगामी वर्षहरूमा खडेरी, बाढी, पहिरो, हिमपहिरो, हिम आँधी, हिमताल विस्फोट, अनियन्त्रित डढेलो, अति वर्षाजस्ता घटना बढ्ने चेतावनीसमेत दिइसकेको छ । हिमाली क्षेत्र पग्लिँदा समुद्री सतहसमेत आकलन गरेभन्दा द्रुत गतिमा बढिरहेको आईपीसीसीले उल्लेख गरेको छ । यही हिसाबले तापक्रम बढ्ने र हिउँ पग्लने हो भने हिमाल नाङ्गा हुने र समुद्री सतह ३ मिटरसम्म बढ्ने उसको चेतावनी छ ।

इसिमोडको प्रतिवेदनमा सन् २१०० मा विश्वको वायुमण्डलको औसत तापक्रम १.५ डिग्रीले बढ्ने, हिमाली क्षेत्रमा तापक्रम वृद्धि १.८ डिग्रीले हुने र विश्व वायुमण्डलको तापक्रम २ डिग्री भएमा दुई तिहाइ हिमनदी मासिने आकलन गरेको छ ।

जलवायु परिवर्तनविज्ञ क्षत्री विकसित मुलुकहरूले उल्लेख्य मात्रामा हरितगृह ग्यास कटौती गर्न जरुरी रहेको बताउँछन् । चीन, अमेरिका, भारत, रुस, फ्रान्सलगायतका मुलुकले बढी हरितगृह ग्यास उत्सर्जन गर्छन् । ‘वैज्ञानिकहरूले कार्बन उत्सर्जनको अवस्था अहिलेजस्तै भइरहे तापक्रम ३.५ देखि ४ डिग्री बढ्नेतिर उन्मुख छ भनेर चेतावनी दिइरहेका छन्,’ क्षत्रीले भने, ‘विकसित देशहरूले हरितगृह ग्यास उत्सर्जन अझै बढी घटाउँछु भनेर थप प्रतिबद्धता जनाउनुपर्ने देखिन्छ ।’

प्रकाशित : जेष्ठ २४, २०७९ ०७:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×