कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

औसतभन्दा साताअघि भित्रियो मनसुन

नेपालमा जुन १३ मा मनसुन भित्रिने सरदर मिति भएपनि यस वर्ष जुन ५ मै भित्रिएको हो । गतवर्ष दुई दिनअघि भित्रिएको थियो

काठमाडौँ — यस वर्ष एक साताअघि नेपालमा मनसुन भित्रिएको छ । नेपालमा जुन १३ गतेदेखि मनसुन भित्रिने सरदर मिति हो । सरदर मिति भन्दा अगाडी नै नेपालको पूर्वी भू-भागमा आइतबारदेखि मनसुन प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

औसतभन्दा साताअघि भित्रियो मनसुन

मुलुकका अन्य भू-भागमा भने केही दिन पछि मनसुन प्रवेश हुने महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

फागुन १७ देखि जेठ १७ सम्मको अवधि प्रि–मनसुनको हो । यस वर्ष काठमाडौंमा फागुन पहिलो सातादेखि नै छिटपुट वर्षा भइरहेको छ । वैशाख १ पछि त झन् काठमाडौंमा बढी नै वर्षा भएको छ । तैपनि प्रि–मनसुनमा पर्नुपर्ने जति वर्षाको परिमाण पुग्न सकेको छैन ।

मार्च, अप्रिल र मे प्रि–मनसुन हुने महिना हुन् । यस पटक मे महिना सुरु भएपछि मात्र सबैतिर वर्षा भएको छ । ढिलो गरी प्रि–मनसुन सक्रिय भए पनि यो वर्षको मनसुन भने करिब साताअघि नै भित्रिने संकेत देखिएको विभागले जनाएको छ ।

विज्ञहरूका अनुसार बंगालको खाडी नजिकको निकोबार र एन्डमान टापु (भारतीय भाग) मा यस पटक औसत समयभन्दा करिब एक साताअघि (मे १६ अर्थात् सोमबार) नै मनसुनी गतिविधि सक्रिय भएकाले मनसुन एक साताअघि सुरु भएको बताएका हुन् ।

मौसमविद् इन्दिरा कँडेलका अनुसार गत वर्षहरूमा ती स्थानमा २२ मेमा मात्र मनसुनी गतिविधि सुरु हुन्थ्यो, त्यो हिसाबले नेपालमा जुन दोस्रो सातादेखि मात्र मनसुन प्रवेश गर्थ्यो । ‘निकोबार र एन्डमानमा सोमबारदेखि सुरु भएको गतिविधिले यो पटक जुन पहिलो साता नै मनसुन भित्रिने संकेत छ,’ कँडेलले भनिन् ।

सामान्यतः नेपालमा जेठ ३०, ३१ (१३ जुन) मा दक्षिण पूर्वी नेपालबाट मनसुन प्रवेश गर्छ । औपचारिक घोषणा नगरे पनि १५ जुनसम्ममा काठमाडौं र २० जुनभित्र नेपालभर मनसुन फैलने बताइने गरिन्थ्यो ।

तर, यो वर्ष निकोबार र एन्डमानमा सरदरभन्दा साताअघि देखिएको मनसुनी गतिविधिका कारण नेपालमा सदरभन्दा एक साताअघि प्रवेश गरेको हो । नेपालमा सामान्यतः ११२ दिन मनसुन रहन्छ । गत वर्ष जेठ ३० (जुन १२) मा मनसुन भित्रिनुपर्नेमा २ दिनअघि नै भित्रिएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७९ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?