महालेखाले भनेको थियो– ‘अनुदान फिर्ता गर्नू’- समाचार - कान्तिपुर समाचार
महिला आयोग प्रमुखबाटै सरकारी कोष ‘दुरुपयोग’

महालेखाले भनेको थियो– ‘अनुदान फिर्ता गर्नू’

विद्या राई

काठमाडौँ — काठमाडौंको शंखरापुरमा निर्माण सुरु गरी अलपत्र ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’मा भएको अनियमिततामाथि महालेखा परीक्षकको कार्यालयले पनि पटक–पटक चासो दिएको पाइएको छ । ग्रामलाई बजेट अनुदान उपलब्ध गराए पनि सदुपयोग हुन नसकेको महालेखाले ठहर गरेको हो । महालेखाको आर्थिक वर्ष २०७२/७३ को लेखापरीक्षण प्रतिवेदनमा आवश्यक छानबिन गरी खर्च हुन नसकेको रकम फिर्ता गर्न पहल गर्नुपर्ने औंल्याइएको छ ।

पर्याप्त अध्ययन नै नगरी ‘अनुगमनबेगर’ संकल्प नेपाललाई सरकारी अनुदान दिइएको पनि महालेखाको भनाइ छ ।

‘हालसम्म संस्थालाई ६ करोड १ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भए तापनि अनुदानको सदुपयोग हुन नसकेको सम्बन्धमा आवश्यक छानबिन गरी खर्च हुन नसकेको अनुदान फिर्ता प्राप्त गर्न पहल गर्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार तत्कालीन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले शंखरापुर नगरपालिकाको इन्द्रायणीमा ज्येष्ठ नागरिक ग्राम बनाउन संकल्प नेपाल नामक संस्थालाई ५ करोड अनुदान दिने भनी आव २०७०/७१ मा सम्झौता गरेको थियो । जसमध्ये किस्ताकिस्तामा चार करोड संकल्पलाई निकासा भएको थियो ।

अर्को आर्थिक वर्षका लागि थप दुई करोड एक लाख रुपैयाँ विनियोजन भयो । महिला मन्त्रालयले यसको पहिलो किस्ता २०७१ चैत ९ मा संकल्प नेपाललाई निकासा गरेको थियो । बनिरहेको संरचनामा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पले असर पुर्‍यापछि मन्त्रालयले भूकम्पले क्षति पुगेकाले अर्को आदेश नभएसम्म निर्माण कार्य स्थगन गर्न २०७२ जेठ ६ मा पत्राचार गर्‍यो । सहरी विकास तथा भवन निर्माण विभागको २०७२ असार २० को स्थलगत प्रतिवेदनमा उक्त संरचनाका विभिन्न पिलर तथा बिम ७ इन्चदेखि १ फिटसम्म सरेको उल्लेख गरिएको थियो । महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘संरचनालाई रेट्रोफिटिङबाट समेत सुधार हुन नसक्ने भएकाले थप निर्माण कार्य गर्न उपयुक्त नभएको साथै अपरब्लकमा जमिनको बनावटका कारण स्लोप फेलर भइरहने र इन्जिनियरिङ प्रविधिबाट स्लोप फेलर रोकी निर्माण कार्य गर्न नसकिने, अपरब्लकमा संरचनागत परिमाण थप्दै जाँदा तल्लो ब्लकमा झुकाव अझ बढ्दै जाने भएकाले कुनै पनि समयमा हुने मानवीय क्षति रोक्न सावधानी अपनाउनुपर्ने प्रतिवेदन प्राप्त भएको देखिन्छ ।’

क्षति पुगेको संरचनाबारे प्राविधिक रूपमै प्रतिवेदन प्राप्त हुँदासमेत महिला मन्त्रालयले २०७२ असार ३० मा १ करोड एक लाख रुपैयाँ संकल्प नेपाललाई निकासा गरिदिएको थियो । क्षति पुगेको संरचनामा राज्यकोषको खर्च गर्नुले सदुपयोग भएको मान्न सक्ने आधार नभएको महालेखाले जनाएको छ । महालेखा परीक्षकको आव २०७१/७२ को प्रतिवेदनमा समेत महिला मन्त्रालयले संकल्प नेपाललाई ‘अनुमानबेगर’ २०७० असोज २३ मा ज्येष्ठ नागरिक ग्राम बनाउने नाममा अनुदान उपलब्ध गराउने सम्झौता गरेको उल्लेख गरेको थियो ।

हाल राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली त्यतिबेला संकल्प नेपालमा अध्यक्ष थिइन् । २० रोपनी सरकारी जग्गामा थालिएको संरचनाको यतिबेला भग्नावेशमात्रै छ । सरकारी ढुकुटीबाट त्यति ठूलो रकम खर्च भएको संरचनामा अनियमितता भएको भन्दै आयोगकी अध्यक्ष पराजुली विवादमा तानिएकी छन् । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । महिला मन्त्रालयले समेत छानबिन गरेको छ, तर प्रतिवेदन सार्वजनिक गरेको छैन । अनियमितता आरोप लागेकी पराजुलीलाई आयोगको अध्यक्ष जस्तो जिम्मेवार पदमा नियुक्त गरिएपछि छानबिन गर्न सरकारलाई दबाब परेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् ।

पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।

प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरेका छन् । २०६५ जेठ १५ गते संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।

उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्ने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते हुनु भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताएका छन् ।

उनले शुभकामना सन्देशमा भनेका छन्, 'संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।'

गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिमा संविधानसभाबाट संविधान जारी हुनु, संविधानले परिकल्पना गरेका विभिन्न संवैधानिक अंग तथा निकाय पूर्णरूपमा सञ्चालनमा आउनु तथा संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारको निर्वाचन सम्पन्न भई मुलुकमा विधिको शासन स्थापना हुनुजस्ता महत्त्वपूर्ण कार्य सम्पन्न भएको उनले जनाएका छन् । शासन प्रणालीमा सबै जनाको सहभागिता, स्वामित्व र अपनत्व स्थापित हुनसकेको र नागरिक स्वतन्त्रता र मौलिक हकको पूर्ण प्रत्याभूति भएर मुलुकमा राजनीतिक स्थिरता कायम भई देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपालको संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गरी जनताबाट नयाँ जनप्रतिनिधिहरूको छनोट गर्न सफल भएको उल्लेख गर्दै उनले यसबाट प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको जगलाई थप मजबुत बनाउँदै नागरिक उत्तरदायी शासन व्यवस्थालाई संस्थागत गर्न सहयोग पुगेको बताएका छन् ।

प्रधानमन्त्री देउवाले यस अवसरमा स्थानीय तहको निर्वाचनमा सक्रियरूपमा सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदातालाई धन्यवादका साथ निर्वाचित सम्पूर्ण जनप्रतिनिधिमा नेपाल सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित : जेष्ठ १५, २०७९ ०६:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×